अय्‍यूब 24:1-25

अय्‍यूब 24:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“सर्वशक्तिमान्‌ले दण्‍डको दिन किन ठहराउनुहुन्‍न? उहाँलाई चिन्‍नेहरूले किन त्‍यस्‍ता दिनहरूलाई व्‍यर्थमा खोजी गर्नुपर्छ? मानिसहरू साँधसिमानाको ढुङ्गा हटाउँछन्, तिनीहरूले चोरेको भेड़ाका बगाल तिनीहरू चराउँछन्‌। तिनीहरू टुहुरा-टुहुरीहरूको गधा धपाएर लान्‍छन्, र विधवाको गोरु बन्‍धकमा लान्‍छन्‌। तिनीहरू गरीबहरूलाई आफ्‍नो बाटोदेखि धक्‍का दिँदै हिँड्‌छन्, तिनीहरू कङ्गालीहरूलाई जबरदस्‍ती लुक्‍ने ठाउँमा पठाउँछन्‌। आहारको लागि वन-गधा वनमा घुमफिर गरेझैँ गरीबहरू खाना खोज्‍न जान्‍छन्, उजाड़-स्‍थानले तिनीहरूका छोराछोरीहरूको लागि भोजन जुटाउँछ। गरीबहरू खेतमा सुक्‍खा अन्‍न टिप्‍छन्, दुष्‍ट मानिसको दाखबारीबाट तिनीहरू अङ्‌गूर बटुल्‍छन्‌। लुगा नभएको हुनाले तिनीहरू नाङ्गो भएर रात बिताउँछन्, जाड़ोमा ढाक्‍नलाई तिनीहरूको केही हुँदैन। पहाड़बाट आएको वृष्‍टिले तिनीहरू निथ्रुक्‍क भिज्‍छन्, शरणस्‍थान नभएको हुनाले चट्टाननेर तिनीहरू थुप्रन्‍छन्‌। बुबा नभएका नानीहरूलाई दुष्‍टहरूले आमाको काखबाट खोसेर लान्‍छन्, र गरीब मानिसको बालकलाई तिनीहरू ऋणको सट्टा लैजान्‍छन्‌। लुगा नभएका हुनाले तिनीहरू नाङ्गै जान्‍छन्‌। तिनीहरू आफ्‍ना अन्‍नका बिटा बोक्‍छन्‌ तर पनि भोकै हुन्‍छन्‌। तिनीहरू कौसीमा जैतून पेल्‍छन्, तिनीहरू कोल ता पेल्‍छन्‌ तापनि तिर्खाउँछन्‌। सहरबाट मर्न लागेको मानिसको आर्तनाद निस्‍कन्‍छ, र चोट लागेको मानिस सहायताको लागि कराउँछ, तर पनि परमेश्‍वर भूल गरेको दोष लाउनुहुन्‍न। “कोही मानिसहरू ज्‍योतिको विरुद्धमा विद्रोह गर्छन्, तिनीहरू त्‍यसको विषयमा केही जान्‍दैनन्‌ र त्‍यसको ज्‍योतिमा हिँड्‌दैनन्‌। हत्‍याराचाहिँ साँझ परेपछि उठेर गरीब र आवश्‍यकतामा परेकाहरूलाई मार्छ र रातीचाहिँ त्‍यसले चोरले झैँ लूटपीट गर्छ। व्‍यभिचारीले उत्‍सुकतासित साँझको प्रतीक्षा गर्छ, त्‍यसलाई कसैले नदेखोस्‌ भनेर आफ्‍नो भेष त्‍यसले बद्‌लन्‍छ। राती चोर घर फोरेर पस्‍छन्, तर दिनमा तिनीहरू लुक्‍छन्‌ र उज्‍यालोदेखि अलग बस्‍छन्‌। तिनीहरू सबैका निम्‍ति निस्‍पट्ट अँध्‍यारोचाहिँ तिनीहरूको बिहानी हो, तिनीहरूले अन्‍धकारको त्रासलाई मन पराउँछन्‌। “त्‍यस्‍ता मानिसहरू पानीको सतहमा फिँज जस्‍तै हुन्, तिनीहरूका खेतले देशभरि नै श्राप पाएको हुन्‍छ। यसरी कोही पनि दाखबारीमा जाँदैन। जसरी पग्‍लेको हिउँलाई खड़ेरी र तापले सुकाउँछ, त्‍यसरी नै चिहानले पापीलाई विनाश पार्छ। कोखले त्‍यसलाई बिसर्नेछ, कीराले त्‍यसलाई खाइहाल्‍छ, दुष्‍ट मानिसहरूको सम्‍झना गरिनेछैन, र तिनीहरू रूखझैँ भाँचिनेछन्‌। तिनीहरूले बाँझी र बालक नभएकी स्‍त्रीलाई अत्‍याचार गर्छन्‌ र विधवालाई कुनै दया देखाउँदैनन्‌। परमेश्‍वरले आफ्‍नो सामर्थ्‍यमा शक्तिशालीलाई पनि नाश गर्नुहुन्‍छ, तिनीहरू उठे तापनि तिनीहरूको जीवनको आशा हुँदैन। परमेश्‍वरले तिनीहरूलाई सुरक्षाको अभासमा रहन दिनुभए तापनि, उहाँले हरसमय तिनीहरूको चालमाथि आफ्‍नो नजर राख्‍नुहुन्‍छ। केही क्षणको निम्‍ति दुष्‍ट मानिस उचालिन्‍छ, त्‍यसपछि त्‍यो नाश हुन्‍छ, अरूहरूलाई झैँ त्‍यसलाई तल झारिन्‍छ र जम्‍मा गरिन्‍छ र काटेर राखेको अन्‍नको बालाझैँ त्‍यो ओइलाइहाल्‍छ। “यदि यो होइन भने, कसले मलाई झूटा ठहराउन सक्‍छ र? मेरा वचन निरर्थक भनी कसैले प्रमाण गर्न सक्‍छ र?”

शेयर गर्नुहोस्
अय्‍यूब 24 पढ्नुहोस्

अय्‍यूब 24:1-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन? किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ? जमिनका सिमानाका ढुङ्गाहरू हटाउने मानिसहरू पनि त्यहाँ छन्; तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्। तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्, र विधवाको गोरु बन्धकमा लैजान्छन्, तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्; र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्। मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै, गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्; तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ। तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्, र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्। लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्; जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन। तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्, र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्। अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ; गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ। लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्; तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्। तिनीहरूले खेतका गराहरूमा जैतुनको तेल पेल्छन्; तिनीहरूले कोलमा दाखरस पेल्छन्, तर आफू भने तिर्खाले छटपटाउछन्। मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ, र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ; तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ। “ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्, जसले ज्योतिका मार्गहरू जान्दैनन्, अथवा ज्योतिको मार्गमा रहँदैनन्। जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्; तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्, र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्। व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ; त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’ र त्यसले आफ्नो अनुहार लुकाउँछ। रातमा चोरहरूले घरहरू फोर्छन्, तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्; तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्। तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो; तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्। “तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्; तिनीहरूको जमिनको भाग श्रापित छ; त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्। गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ, चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ। गर्भले तिनीहरूलाई भूलिहाल्छ; किराले तिनीहरूमाथि भोज गर्छन्; दुष्‍ट मानिसहरूको सम्झना रहँदैन, र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्। तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्, र विधवालाई कुनै दया देखाउँदैनन्। तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ; तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन। उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला, तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्। केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्; तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ; तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्। “यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ, र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”

शेयर गर्नुहोस्
अय्‍यूब 24 पढ्नुहोस्

अय्‍यूब 24:1-25 पवित्र बाइबल (NERV)

“यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन, तर को आँउदैछ भनेर उनका अनुवाईहरूलाई थाहा हुँदैन। “मानिसले आफ्नो जमीन बढाउन सिमाना सार्छन्, अनि अर्काको बगाल चोरेर टाढा खर्कमा चराउँछन्। तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ, जबसम्म उसले ऋण तिर्न सक्तिनँ। तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्। तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमि हिँड्न बाध्य गराउँछन्। सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्। “गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरुभूमिमा घुमिरहेका छन। भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुन्जेलसम्म काम गर्छन्। गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन् अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्। गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ। जाडोबाट जोगिनँ तिनीहरूसित केही हुँदैन्। तिनीहरू पर्वतहरूमा बर्षाले निथ्रुक्क भिज्छन्। चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीने कुनै उपाय छैन। खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन। तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्। गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन यसैले तिनीहरू नाङ्गै छन्। तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सधैँ भोको हुन्छन्। गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्। मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ। ती पीडित मानिसहरू गुहार माग्दै चिच्याउँछन् तर परमेश्वरले सुन्नुहुन्न। “कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन। तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ। तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्। हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ। एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ। उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’ तरै पनि, उसले आफ्नो अनुहार छोप्छ। जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन, अनि मानिसहरूको घरहरू फोर्छन्। तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ अनि प्रकाशलाई मन पराउँदैन। ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो। हो, तिनीहरू डरलाग्दो अँध्यारो रात मन पराउँछन्। “तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्। तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन। तिनीहरूको निम्ति हिउँदको हिउँबाट पानी आउँछ तर गरमको सुख्खा मौसमले सुकाइदिन्छ। अनि ती पापीहरू चिहानमा लगिन्छन्। त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे। कीराहरू उसको प्रियसी हुन्छन् जसले शरीर खान्छन्। मानिसहरूले उसलाई सम्झने छैनन्। त्यो दुष्ट मानिस कुहेको लट्ठी जस्तै भाँचिएको छ। दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन्। अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्। दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्। दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्। दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्। उसले आफैंमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्। नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन। तिनीहरू बाली काटे जस्तै काटिन्छन्। “म कसम खान्छु कि ती कुराहरू सत्य हुन्। कसले प्रमाणित गर्ला मैले ढाँटे भनेर? कसले देखाउन सक्छ म गल्ती छु भनेर?”

शेयर गर्नुहोस्
अय्‍यूब 24 पढ्नुहोस्

अय्‍यूब 24:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आफूलाई चिन्‍नेहरूको निम्‍ति सर्वशक्तिमान्‌ले न्‍याय गरिदिनुहुन्‍न र? परमेश्‍वरले किन न्‍यायको दिन तोकिदिनुहुन्‍न? मानिसहरूले साँध-सिमाना हटाएर आफ्‍नो जमिन बढाउँछन् र अर्काको भेडा चोरेर आफ्‍नो बगालहरूसित मिसाउँछन्। तिनीहरूले टुहुरा-टुहुरीका गधाहरू लैजान्‍छन् र विधवाको गोरु उसको ऋण तिरिनसकेसम्‍म बन्‍धकी राख्‍छन्। तिनीहरूले गरीबहरूको हक खोस्‍छन्, बञ्‍चित गर्छन् र तिनीहरूलाई लुकेर बस्‍न कर लाउँछन्। गरीबहरूले जङ्गली गधाहरूझैँ सुख्‍खा उजाड-स्‍थानहरूमा खानेकुरा खोज्‍दछन्। आफ्‍ना छोरा-छोरीको निम्‍ति तिनीहरूले कतै खानेकुरा पाउन सक्‍दैनन्। तिनीहरूले अर्काको खेतमा अन्‍न बटुल्‍छन् र दुष्‍टका दाखबारीमा अङ्‌गुर टिप्‍छन्। तिनीहरूले केही नओडी रात काट्छन्, जाडोमा शरीर ढाक्‍न तिनीहरूसित केही हुँदैन। पहाडहरूमा आएको वर्षाले तिनीहरू निथ्रुक्‍कै भिज्‍छन् र ओत लिन चट्टानहरूनिर थुप्रन्‍छन्। बुबा नभएका बालकहरूलाई आमाको छातीबाट चुँडेर लगिन्‍छ। गरीबका सन्‍तानहरूलाई ऋणमा बन्‍धकी राखिन्‍छ। लुगा नभएर तिनीहरू नाङ्गै हिँड्डुल गर्छन् र भोकै अन्‍नका बिटा बटुल्‍छन्। तिनीहरूले जैतुनको तेल र दाख पेलेर रस निकाल्‍छन्, तर आफैं भने तिर्खाले व्‍याकुल भएका हुन्‍छन्। सहरहरूमा मर्न लागेका र घाइते मानिसहरू कराउँछन्, तर परमेश्‍वरले तिनीहरूका बिन्‍ती सुन्‍नुहुन्‍न। ज्‍योतिलाई इन्‍कार गर्ने मानिसहरू पनि छन्, जसले ज्‍योतिको अर्थ बुझ्‍दैनन् र ज्‍योतिको मार्गमा हिँड्दैनन्। झिसमिसे उज्‍यालोअघि नै हत्‍यारा उठेर दरिद्र र निर्धनलाई मार्न जान्‍छ र रातीचाहिँ उसले चोरले झैँ लुट्दछ। व्‍यभिचारीले साँझको बाटो कुर्दछ र कसैले नचिनोस् भनेर त्‍यसले आफ्‍नो मुख लुकाउँछ। राती ती दुष्‍टहरू घर फोरेर पस्‍दछन्, तर दिउँसोचाहिँ लुक्‍छन् र उज्‍यालोमा देखा पर्दैनन्। दिनको उज्‍यालोदेखि तिनीहरू डराउँछन्। तर रातको अन्‍धकारदेखि भने तिनीहरू डराउँदैनन्। सोपर भन्‍दछन्: दुष्‍ट मानिसहरू त पानीमा लाग्‍ने कसिङ्गर हुन्, तिनको जमिनलाई परमेश्‍वरले सराप दिनुहुन्‍छ, तिनीहरू आफ्‍ना दाखबारीमा काम गर्न जान पाउँदैनन्। खडेरीले र गर्मीले हिँउ बिलाएर हराएझैँ पापी मानिस जिउँदाहरूको देशबाट हराउँछन्। त्‍यसकी आमाले पनि त्‍यसलाई सम्‍झिदिनन्। त्‍यसलाई किराले खान्‍छ, कसैले त्‍यसको नाम पनि याद राख्‍दैन। ढलेको रूखझैँ त्‍यो नाश हुन्‍छ। त्‍यसले सन्‍तान नभएका बाँझी स्‍त्रीहरूलाई हानि गर्छ र विधवाहरूलाई केही दया देखाउँदैन। परमेश्‍वरले आफ्‍नो सामर्थ्‍यमा शक्तिमान्‌हरूलाई नाश गर्नुहुन्‍छ, परमेश्‍वरले काम गर्नुहुन्‍छ र दुष्‍टको मृत्‍यु हुन्‍छ। परमेश्‍वरले तिनीहरूलाई झूटो सुरक्षामा जिउन दिनुहुन्‍छ र हरेक समय तिनीहरूको चालमा नजर राख्‍नुहुन्‍छ। केही समयको लागि दुष्‍ट सप्रन्‍छ, तर त्‍यसपछि त्‍यो झारपात र काटेका अन्‍नको बालाझैँ ओइलिजान्‍छ। यसो होइन भनेर कसले इन्‍कार गर्न सक्‍छ त? मेरा वचन सत्‍य होइनन् भनेर कसले प्रमाण दिन सक्‍छ?

शेयर गर्नुहोस्
अय्‍यूब 24 पढ्नुहोस्