यर्मिया 8:1-13
यर्मिया 8:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘परमप्रभु भन्नुहुन्छ, त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरूका हाड़हरू, पूजाहारीहरू र अगमवक्ताहरूका हाड़हरू र यरूशलेमका बासिन्दाहरूका हाड़हरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्। तिनीहरूले प्रेम गरेका, सेवा गरेका तथा तिनीहरूले पछ्याएका, मन्त्रणा गरेका र पूजा गरेका सूर्य, चन्द्र र आकाशका सारा नक्षत्रहरूकै सामुन्ने ती हाड़हरू खुला राखिनेछन्। ती जम्मा गरिनेछैनन्, न गाड़िनेछन्, तर ती जमिनमा मलजस्तै पड़िरहनेछन्। यस दुष्ट प्रजाका सबै बाँकी रहेकाहरूले मैले तिनीहरूलाई धपाइदिएका सबै ठाउँहरूमा जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ’। “तिनीहरूलाई भन्, ‘परमेश्वर यसो भन्नुहुन्छ, ‘जब मानिसहरू लोट्दछन्, के तिनीहरू फेरि उठ्दैनन् र? जब कोही तर्किजान्छ, के त्यो फर्केर आउँदैन र? त्यसो भए यी मानिसहरू किन तर्केर गएका छन् त? तिनीहरू छलमै टाँसिरहन्छन्, फर्किआउन तिनीहरू इन्कार गर्दछन्। मैले ध्यान दिएर सुनेको छु, तर तिनीहरू ठीक कुरा बोल्दैनन्। “मैले के गरेको छु र?” भनी कुनै मानिस पनि आफ्नो दुष्टतादेखि पश्चात्ताप गर्दैन। घोड़ा लड़ाइँमा अगि कुदेर गएझैँ, हरेक आफ्नै बाटोतिर लाग्दछ। आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्नो फर्कने समय जान्दछ। तर मेरो प्रजाले त आफ्ना परमप्रभुका मागहरूलाई जान्दैनन्। “‘तिमीहरू कसरी भन्न सक्छौ, “हामी बुद्धिमान् छौं, किनकि परमप्रभुको व्यवस्था हामीसितै छ।” साँच्चै भनौं भने, शास्त्रीहरूको झूटो कलमले त्यसलाई झूट बनाइदिएको छ। बुद्धिमान् मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्। तिनीहरूले परमप्रभुको वचनलाई इन्कार गरेका हुनाले तिनीहरूमा कस्तो बुद्धि छ? यसकारण म तिनीहरूका पत्नी अरूहरूलाई र तिनीहरूका खेत नयाँ मालिकहरूलाई दिनेछु। सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म धनसम्पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्। मेरो प्रजाको चोट साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्। के तिनीहरू आफ्ना घिनलाग्दो चालचलनदेखि लज्जित छन् र? अँहँ, तिनीहरू कत्ति पनि लज्जित छैनन्। लाजले रातो हुनु के हो, तिनीहरू जान्दैनन्। यसैले पतन हुनेहरूसँग तिनीहरूको पतन हुनेछ। तिनीहरूलाई दण्ड दिँदा तिनीहरू नष्ट हुनेछन्, परमप्रभु भन्नुहुन्छ। “‘म तिनीहरूका फसल लैजानेछु, परमप्रभु भन्नुहुन्छ। दाखको बोटमा दाख हुनेछैन, न त अञ्जीरको बोटमा अञ्जीर हुनेछ। तिनका पातहरू पनि ओइलाइहाल्नेछन्। मैले तिनीहरूलाई दिएको पनि तिनीहरूदेखि खोसिनेछ’।”
यर्मिया 8:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘याहवेह घोषणा गर्नुहुन्छ: त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरू, पुजारीहरू र अगमवक्ताहरूका हड्डीहरू र यरूशलेमका मानिसहरूका हड्डीहरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्। तिनीहरूका हड्डीहरू घाम, जुन र आकाशका ताराहरूमुनि फिँजाइनेछन्, जसलाई तिनीहरूले प्रेम गरेका थिए, सेवा गरेका थिए; अनि जसलाई तिनीहरूले पछ्याएका थिए, त्यससँग सल्लाह मागेका थिए र पूजा गरेका थिए। ती हड्डीहरू बटुलिने छैनन्, अथवा गाडिनेछैनन्, तर ती हड्डीहरू जमिनमा जनावरका मलजस्तै फिँजाइनेछन्। म जहाँ-जहाँ तिनीहरूलाई निर्वासनमा पठाउँछु, यस दुष्ट जातिका बाँचेकाहरू सबैले जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’ “तिनीहरूलाई यो पनि भन्, ‘याहवेह यसो भन्नुहुन्छ: “ ‘जब मानिसहरू लड्दछन्, के तिनीहरू उठ्दैनन् र? जब कोही मानिस तर्केर जान्छ, के त्यो फेरि फर्कंदैन र? त्यसो भए यी मानिसहरू किन तर्किगएका छन्? यरूशलेम किन सधैँ तर्किएर जान्छ? तिनीहरू झूटा कुराहरूमा अल्झिरहन्छन्; तिनीहरू फर्कन अस्वीकार गर्दछन्। मैले ध्यानपूर्वक सुनेको छु, तर तिनीहरूले सही के हो, त्यो बोल्दैनन्। तिनीहरू, “मैले के गरेको छु र?” भन्दै, कसैले पनि आफ्नो दुष्टताको पश्चात्ताप गर्दैनन्। युद्धको निम्ति घोडा जाइलागेझैँ, तिनीहरू हरेक आफ्नै मार्गमा चलेका छन्। आकाशका सारसले पनि आफ्नो तोकिएको ऋतुहरू जान्दछ; अनि ढुकुर, गौँथली र मैनाले पनि आफ्नो बसाइँ सर्ने समय जान्दछन्, तर मेरा मानिसहरूले याहवेहले आज्ञा गर्नुभएका कुराहरू पालन गर्न जान्दैनन्। “ ‘तिमीहरूले कसरी भन्न सक्छौ, “हामी बुद्धिमान् छौँ, किनकि हामीसँग याहवेहको व्यवस्था छ,” जबकि वास्तवमा शास्त्रीहरूको झूटो कलमले व्यवस्थालाई झूटो तुल्याएको छ? बुद्धिमान्हरू शर्ममा पर्नेछन्; तिनीहरू हताश हुनेछन् र पासोमा पर्नेछन्। किनभने तिनीहरूले याहवेहको वचनलाई अस्वीकार गरेका छन्। तिनीहरूसँग कस्तो बुद्धि छ? यसकारण म तिनीहरूका पत्नीहरू अरू मानिसहरूलाई र तिनीहरूका खेतहरू नयाँ मालिकलाई दिनेछु। सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ताहरू र पुजारीहरूसमेत सबैले छल गर्दछन्। तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि, तिनीहरूले, “शान्ति, शान्ति,” भन्दछन्। के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र? अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। तिनीहरू कसरी लाज मान्ने भन्ने पनि जान्दैनन्। यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्। जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्ट हुनेछन्, याहवेह भन्नुहुन्छ। “ ‘याहवेह घोषणा गर्नुहुन्छ: म तिनीहरूका फसलहरू लैजानेछु। दाखका बोटहरूमा अङ्गुरहरू हुनेछैनन्। नेभाराको बोटमा फल हुनेछैन; अनि तिनीहरूका पातहरू ओइलाउनेछन्। मैले तिनीहरूलाई जे जति दिएको छु, ती तिनीहरूबाट खोसिनेछन्।’ ”
यर्मिया 8:1-13 पवित्र बाइबल (NERV)
यो सन्देश परमेश्वरबाट आएको हो, “त्यस बेला मानिसहरूले यहूदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरूशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्। तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुशरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिंजाएको गाईको गोबर जस्तै हुनेछ। “म यहूदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाड्न बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछ। यहूदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाइँमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो। “यर्मिया, यो यहूदाका मानिसहरूलाई भन: ‘परमप्रभु यी कुराहरू भन्नुहुन्छ: “‘तिमी जान्दछौ कि जब एकजना मानिस तल झर्छ, फेरि माथि उठ्छ, यदि एकजना मानिस विग्रन्छ भने, फेरि सप्रिनेछ। यहूदाका मानिसहरूले भूल बाटो समाते। तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्? तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन्। तिनीहरू फर्की आउन अस्वीकार गर्छन। मैले तिनीहरूलाई खुब होशियारीसित हेरेको छु अनि सुनेको छु। तिनीहरू सही कुरा बोल्दैनन्। तिनीहरू आफूले गरेको पापमा दु:खी छैनन्, अनि भन्दैनन्, मैले के गरें? युद्ध भूमिमा दौडिरहेको घोडाहरू जस्तै तिनीहरू आफ्नै बाटोमा हिँडिरहेका छन्। आकाशमा उड्ने चरा-चुरूङ्गीहरूले पनि आफ्नो ठीक समय जान्दछन्, अनि साँरस, ढुकुर, गौंथली कर्याङ्ग-कुरूङ्गहरूले, आफ्नो नयाँ घरमा जाने समय जान्दछन्, तर मेरा मानिसहरू जान्दैनन्, परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ। “‘तिमीहरू भन्छौ, “हामीसँग परमेश्वरको शिक्षाहरूछन् यसर्थ हामी ज्ञानी छौं!” तर यो सत्य होइन, किनभने शास्त्रीहरूले आफ्ना कलमलाई झूटो बनाएका छन्। “ज्ञानी मानिसहरूले” परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे। यसकारण तिनीहरू वास्तवमा “ज्ञानी मानिसहरू” होइनन्। ती “ज्ञानी मानिसहरूलाई” जालमा फँसाइएका छन्, अपमान गराइएका छन् र लज्जित पारिएका छन्। यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु। म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु। सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्। सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्। तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्। मेरो मानिसहरूका गहिरो घाउहरूलाई तिनीहरूले केही जस्तो मानेनन्। तिनीहरू भन्छन्, “यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।” तर वास्तवमा केही पनि ठीक छैन। तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ। तर तिनीहरू पटक्कै लज्जित छैनन्। कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्। यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।’” परमप्रभु यसो भन्नुहुन्छ। “परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूका अन्नबलि लैजानेछु। तिनीहरूका झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन, नेभाराको बोटमा एउटै पनि फल रहने छैन। पातहरू पनि ओइलिनेछन र सूख्खा हुनेछन्। मैले दिएका प्रत्येक वस्तु लैजानेछु।’”
यर्मिया 8:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“त्यस बेला शत्रुहरूले यहूदाका राजाहरू र भारदारहरूका साथ पूजाहारीहरू, अगमवक्ताहरू र अरू यरूशलेमबासीहरूका हाडहरू चिहानबाट निकाल्नेछन्। बटुलेर गाड्नुको सट्टा ती हाडहरू जमिनमा मलजस्तै पडिरहनेछन्। मानिसहरूले प्रेम गरी सेवा गरेका, सर-सल्लाह लिएका र पूजा गरेका घाम, जून र ताराहरूका सामुन्ने ती हाडहरू फिंजाइनेछन्। तब यस दुष्ट देशका बाँकी रहेका मानिसहरू, जसलाई मैले धपाई पठाएकोले छरिएर बसेका हुन्छन्, तिनीहरूले बाँच्नभन्दा मर्न नै रुचाउनेछन्। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।” परमप्रभु भन्नुहुन्छ, “तैँले मेरा प्रजालाई यसो भन्, जब कोही मानिस लड्दछ, के त्यो झट्ट उठ्दैन? कसैले बाटो बिरायो भने के त्यो फर्केर आउँदैन? तर, ए मेरा प्रजा, किन तिमीहरूचाहिँ मबाट तर्केका-तर्केकै हुन्छौ र कहिल्यै मकहाँ फर्किआउँदैनौ? तिमीहरू आफ्ना मूर्तिहरूमा टाँसिरहन्छौ र फर्कन इन्कार गर्छौ। मैले ध्यान दिएर कुरा सुनें, तिमीहरूले साँचो कुरा गर्दै गरेनौ। तिमीहरूमध्ये एक जनाले पनि आफ्नो दुष्ट्याइँको निम्ति पश्चात्ताप गरेका छैनौ, एक जनाले पनि ‘मैले के दुष्ट्याइँ गरें’ भनी सोचेको छैन। घोडा लडाइँमा सोझै कुदेर गएझैँ हरेक आफ्नै बाटोमा लागेको लाग्यै छौ। सारसले पनि घर फर्कने बेला जान्दछ। ढुकुर, गौंथली र कर्याङकुरुङ चराले पनि बसाइँ सर्ने समय भएको थाहा पाउँदछन् तर मेरा प्रजाले मेरा शासन विधि जान्दैनन्। हामी बुद्धिमान् छौं र परमप्रभुका व्यवस्थाबारे हामी जान्दछौं भनेर कसरी तिमीहरू भन्न सक्छौ? हेर, बेइमान शास्त्रीहरूले व्यवस्थालाई अदल-बदल गरेका छन्। तिम्रा बुद्धिमान् मानिसहरू लाजमा पारिएका छन्, तिनीहरू अलमलिएका छन् र पासोमा परेका छन्। तिनीहरूले मेरो वचन इन्कार गरेका छन्, अब तिनीहरूको बुद्धि कस्तो होला? यसकारण म तिनीहरूका स्वास्नीहरू अरू मानिसहरूलाई र तिनीहरूका खेतबारी अर्कै मालिकहरूलाई दिनेछु। ठूला-साना सबैले अधर्मले धन कमाउन चेष्टा गर्दछन्। अगमवक्ता र पूजाहारीहरूले पनि मानिसहरूलाई ठग्दछन्। तिनीहरूले मेरा प्रजालाई अलि-अलि मात्र कोतरिएजस्तै गरी पट्टी बाँधिदिन्छन्। तिनीहरू भन्छन्, ‘शान्ति, शान्ति, सबै ठीक छ’ तर खास सुख-शान्ति कहीं पनि छैन। ए मेरा प्रजा, यी घिनलाग्दा काम गरेकोमा के तिमीहरूलाई लाज लागेन? अँहँ, तिमीहरू ठ्याम्मै लज्जित भएनौ। लाज भनेको के कुरा हो, तिमीहरूले जान्दै-जानेनौ। यसकारण अरू नाश हुनेहरूझैँ तिमीहरू पनि नाश हुनेछौ। मैले तिमीहरूलाई दण्ड दिएको समयमा तिमीहरू नष्ट हुनेछौ। म परमप्रभु बोलेको छु। “मानिसहरूले अन्न बटुलेझैँ म मेरा प्रजालाई बटुल्न चाहन्थें तर तिनीहरू दाखबिनाका दाखका बोटहरू र फलबिनाका नेभाराका बोटहरूझैँ छन्। तिनीहरूका पातहरूसमेत सुकिसकेका छन्। यसकारण मैले तिनीहरूलाई जे जति दिएँ, ती सबै तिनीहरूका हातबाट खोसिए।”