यर्मिया 4:1-4 - Compare All Versions
यर्मिया 4:1-4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“हे इस्राएल, यदि तिमीहरू फर्किआउँछौ भने, मतिरै फर्किआओ,” परमप्रभु भन्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट हटायौ र तिमीहरू बरालिएनौ भने, र तिमीहरूले सत्य, न्याय र धर्मसित ‘जीवित परमेश्वरको नाउँमा’ भन्ने शपथ खायौ भने, जाति-जातिहरू उहाँद्वारा आशिषित हुनेछन् र उनीहरूले उहाँमा महिमा गर्नेछन्।” यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका बाँझो भूमिमा डल्ला फोर, र काँढ़ाहरूका बीचमा नछर। परमप्रभुमा आफूलाई खतना गर। हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्टताले गर्दा मेरो क्रोध आगोझैँ दन्केर निस्कनेछ, र कसैले ननिभाउने गरी त्यो जल्नेछ।
यर्मिया 4:1-4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे इस्राएल, यदि तिमीहरू फर्किआउन चाहन्छौ भने, मकहाँ फर्किआओ,” याहवेह घोषणा गर्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट टाढा राख्यौ र फेरि बरालिएनौ भने, अनि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित याहवेहलाई साक्षी’ राखेर शपथ खायौ भने, तब उहाँद्वारा जातिहरू आशिषित हुनेछन्; अनि तिनीहरूले उहाँमा नै गर्व गर्नेछन्।” यरूशलेम र यहूदाका मानिसहरूलाई याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूको बाँझो जमिनमा खनजोत गर, र काँडाहरूको बीचमा बिउ नछर। हे यरूशलेम र यहूदाका मानिसहरू हो, याहवेहका निम्ति आ-आफ्नो खतना गर, तिमीहरूका आफ्नो हृदयको खतना गर। नत्रता तिमीहरूले गरेका दुष्टताको कारण मेरो क्रोध दन्केर निस्कनेछ, र आगोझैँ बल्नेछ, अर्थात् यसरी बल्नेछ, कि कसैले पनि निभाउन सक्नेछैन।
यर्मिया 4:1-4 NERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “हे इस्राएलका मानिसहरू! यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ। तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ। मदेखि नबरालिओ। ‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ, र त्यसलाई सरलता, ईमान्दारी, अनि धार्मिकतासित पालन गर्छौ भने, जाति-जातिहरू परमप्रभुको नाउँद्वारा आफैं धन्य हुनेछन्, अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।” परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो: “तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर। परमप्रभु अघि आफ्नै खतना गर अनि हृदयको अपवित्रता आफैं हटाऊ। हे यहूदा र यरूशलेमका मानिसहरू हो! तिमीहरू परिवर्तित भएनौ भने मेरो क्रोध अग्नि झैं फैलिनेछ। कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन। यो तिमीहरूको दुष्टकार्यको कारण यस्तो हुनेछ।”
यर्मिया 4:1-4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरू फर्किआउन चाहन्छौ भने मकहाँ फर्किआओ। तिमीहरूले ती घिनलाग्दा मूर्तिहरू मेरो सामुन्नेबाट हटायौ र मप्रति विश्वासयोग्य भयौ भने, यदि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित परमप्रभुलाई साक्षी राखी’ शपथ खायौ भने जाति-जातिहरूले उहाँद्वारा आशिष् पाउनेछन् अनि उहाँमा नै तिनीहरूले गर्व गर्नेछन्।” यहूदा र यरूशलेमका मानिसहरूलाई परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूले आफ्नो बाँझो जमिन जोत र काँडाहरूका बीच बीउ नछर। हे यहूदा र यरूशलेमका मानिसहरू हो, परमप्रभुसँग बाँधेको करारको चिन्ह अथवा खतना फेरि लगाओ तर यो चिन्ह हृदयमा लगाओ। होइन भने त तिमीहरूका दुष्कर्महरूले गर्दा मेरो क्रोध आगोझैँ दन्कनेछ र कसैले त्यसलाई निभाउन सक्नेछैन।”