यर्मिया 14:7-11
यर्मिया 14:7-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा अधर्मले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे परमप्रभु, तपाईंकै नाउँको खातिर केही काम गर्नुहोस्। किनकि हाम्रो धर्म-त्याग साह्रै ठूलो भयो। हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। हे इस्राएलको आशा, दु:खको बेलामा त्यसलाई उद्धार गर्नुहुने, यस देशमा तपाईं किन एक परदेशीजस्तै हुनुहुन्छ? एक रातको निम्ति मात्र अड़िने यात्रीजस्तै किन हुनुहुन्छ? आश्चर्यमा परेको मानिसझैँ तपाईं किन हुनुहुन्छ? बचाउन नसक्ने वीर पुरुषझैँ किन हुनुहुन्छ? हे परमप्रभु, तपाईं हाम्रा माझमा हुनुहुन्छ। हामी तपाईंकै नाउँले कहलाइएका हौं। हामीलाई नत्याग्नुहोस्! यस प्रजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “तिनीहरू त बरालिएर हिँड्न साह्रै मन पराउँछन्। तिनीहरूले आफ्ना खुट्टालाई वशमा राख्दैनन्। यसैले परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूका अधर्मको सम्झना गर्नुहुनेछ, र तिनीहरूका पापको दण्ड तिनीहरूलाई दिनुहुनेछ।” तब परमप्रभुले मलाई भन्नुभयो, “यस जातिका भलाइको निम्ति प्रार्थना नगर्।
यर्मिया 14:7-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे याहवेह, तपाईंको नामको खातिर हामीलाई सहायता गर्नुहोस्। किनकि हामीले तपाईंको विरुद्धमा बारम्बार पाप गरेका छौँ; हामीले धेरै अपराधहरू गरेका छौँ। हे याहवेह, तपाईं इस्राएलको आशा हुनुहुन्छ, सङ्कष्टको समयमा इस्राएलको उद्धारकर्ता, एक रातको लागि मात्र बास बस्ने यात्रीजस्तै, तपाईं किन यस देशमा एक परदेशीजस्तो हुनुहुन्छ? तपाईं किन अचम्ममा परेको मानिसजस्तै, बचाउन नसक्ने शक्तिहीन योद्धाजस्तै हुनुहुन्छ? हे याहवेह, तपाईं हाम्रा बीचमा हुनुहुन्छ, र हामी तपाईंको नामले चिनिएका प्रजा हौँ; हामीलाई नत्याग्नुहोस्! यस जातिको विषयमा याहवेह यसो भन्नुहुन्छ: “तिनीहरू बाटो बिराएर हिँड्न साह्रै मन पराउँछन्; तिनीहरूले आफ्ना खुट्टाहरूलाई वशमा राख्दैनन्। यसकारण याहवेहले तिनीहरूलाई स्वीकार गर्नुहुन्न; अब उहाँले तिनीहरूका दुष्टतालाई सम्झनुहुन्छ, र तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिनुहुनेछ।” तब याहवेहले मलाई भन्नुभयो, “यी मानिसहरूको भलाइको निम्ति प्रार्थना नगर्।
यर्मिया 14:7-11 पवित्र बाइबल (NERV)
“हे परमप्रभु! हाम्रो अधर्मले हामीलाई खेदे तापनि, आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं। हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। सङ्कटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ। किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ। तर हे परमप्रभु, तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोडनु होस्।” यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्याग्नु र टाढा जान मन पराउँछन्। मलाई त्याग्नु तिनीहरू आफैंलाई रोक्दैनन्। यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुष्टकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु हुनेछ।” तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यी मानिसहरूको लागि मलाई प्रार्थना नगर।
यर्मिया 14:7-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो प्रजाले यसो भन्दै मेरो पुकारा गर्दछ, ‘हाम्रा पापले हामीलाई नै दोषी ठहराए तापनि, हे परमप्रभु, आफ्नै नामको खातिर हामीलाई मद्दत गर्नुहोस्। धेरै पल्ट हामी तपाईंदेखि तर्किगएका छौं, तपाईंका विरुद्धमा हामीले पाप गरेका छौं। तपाईं इस्राएलका एक मात्र आशा हुनुहुन्छ, तपाईंले हामीलाई विपत्तिबाट बचाउनुहुन्छ। किन तपाईं हाम्रो देशमा एउटा बिरानो मानिसझैँ हुनुभएको? किन एकै रात मात्र अडिने बटुवाझैँ हुनुभएको? किन तपाईं अलमल्ल परेको मानिसझैँ अथवा केही मद्दत गर्न नसक्ने सिपाहीझैँ हुनुभएको? परमप्रभु, तपाईं अवश्य नै हाम्रो माझमा हुनुहुन्छ। हामी तपाईंका प्रजा हौं, हामीलाई नत्याग्नुहोस्।” यी मानिसहरूबारे परमप्रभु यसो भन्नुहुन्छ, “तिनीहरू मदेखि टाढा हुन रुचाउँछन् र आफैंलाई वशमा राख्दैनन्। यसैले म तिनीहरूसित प्रसन्न छैनँ। म तिनीहरूका अधर्मका कामको सम्झना गर्नेछु र तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिनेछु।” परमप्रभुले मलाई भन्नुभयो, “यी मानिसहरूका मद्दतको निम्ति मलाई बिन्ती नगर्।