न्यायकर्ताहरू 6:11-32
न्यायकर्ताहरू 6:11-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब परमप्रभुका दूत आएर अबीएजेरी योआशको, ओप्रा भन्ने ठाउँको फलाँटको रूखमुनि बसे। योआशका छोरा गिदोनचाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहूँ चुट्दैथिए। तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।” गिदोनले तिनलाई भने, “हजूर, सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको? उहाँका ती सबै आश्चर्य कामहरू के भए, जो हामीले आफ्ना पिता-पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्याउनुभएको होइन?’ तर अब त परमप्रभुले हामीलाई त्याग्नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।” तब तिनीतिर फर्केर परमप्रभुले भन्नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्। तँलाई पठाउने म नै हुँ।” गिदोनले उत्तर दिए, “हजूर, सुन्नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस् त्यो त मनश्शेमा सबैभन्दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।” परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु, र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैँ मार्नेछस्।” तिनले भने, “यदि म तपाईंको निगाह-पात्र भएको छु भने, तपाईं नै मसँग बोल्नुभएको हो भन्ने मलाई एउटा चिन्ह दिनुहोस्। बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढ़ाउञ्जेल तपाईं यहाँबाट नजानुहोला।” उहाँले भन्नुभयो, “तँ नआउञ्जेल म यहीँ बस्नेछु।” तब गिदोन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे, र पाँच पाथी पीठोको अखमिरी रोटी बनाए। तिनले मासुचाहिँ एउटा टोकरीमा हालेर र झोलचाहिँ एउटा बटुकोमा हाले बाहिर फलाँटको रूखमुनि उहाँको सामु चढ़ाए। परमेश्वरका दूतले तिनलाई भने, “त्यो मासु र अखमिरी रोटी लिएर यहाँ चट्टानमाथि राखिदे, र झोलचाहिँ खन्याइदे।” अनि तिनले त्यसै गरे। तब परमप्रभुका दूतले आफ्नो हातमा भएको लहुरो पसारेर त्यसको टुप्पाले त्यो मासु र रोटीलाई छोए। तब चट्टानबाट आगो निस्केर त्यो मासु र रोटीलाई भस्म पार्यो। अनि परमप्रभुका दूत अलप भए। तब गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन् भनी थाहा पाए, र भने, “हाय, परमप्रभु परमेश्वर यो त साँच्चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें।” तर परमप्रभुले तिनलाई भन्नुभयो, “शान्ति! नडरा, तँ मर्नेछैनस्।” गिदोनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए, र त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो आजको दिनसम्म पनि अबीएजेरीको ओप्रामा छ। त्यसै रात परमप्रभुले गिदोनलाई भन्नुभयो, “तेरा बुबाको बगालबाट सात वर्षे दोस्रो साँढ़े ले, तेरा बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति ढालिदे। तब यही अल्गो स्थानमा परमप्रभु तेरा परमेश्वरको निम्ति ठीक ढाँचाको एउटा वेदी बना, र त्यो दोस्रोचाहिँ साँढ़े लिएर तैंले ढालेको अशेराको मूर्तिको काठले होमबलि चढ़ा।” तब गिदोनले आफ्ना नोकरहरूमध्येका दश जनालाई लिएर परमप्रभुले तिनलाई भन्नुभएबमोजिम गरे। तर तिनी आफ्ना पिताका घराना र नगरवासीहरूसँग डराउँदथे, यसैकारण तिनले यो काम दिउँसो होइन तर राती गरे। जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको वेदीमा त्यो दोस्रोचाहिँ साँढ़े होमबलि चढ़ाइएको देखे। उनीहरूले एक-अर्कालाई “यो कसले गरेको होला?” भनी सोधपूछ गर्न लागे, र धेरै सोधपूछ गर्दा योआशका छोरा गिदोनले गरेको हो भनी पत्ता लगाए। तब सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यसले बालको वेदी भत्काइदिएछ, र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिदिएछ। त्यो मारिनैपर्छ।” तर योआशले तिनको चारैतिर भएको विरोधी भीड़लाई भने, “तपाईंहरू बाल देवताको पक्षमा कराउनुभएको? बाललाई बचाउने हामीहरूको काम हो भनी तपाईंहरू सम्झनुहुन्छ? त्यसको पक्षमा कराउने बिहानसम्ममा मारिनेछ। यदि बालचाहिँ देवता नै हो रहेछ र त्यसको वेदी कसैले भत्काइदिएको हो भने, त्यो आफ्नो लागि आफै बोलोस्।” त्यस दिन उनीहरूले गिदोनको नाउँ यसो भनेर यरूब-बाल राखिदिए, “यस मानिसको विरुद्धमा बाल आफै लड़ोस्, किनभने त्यसको वेदी यसैले भत्काइदिएको छ।”
न्यायकर्ताहरू 6:11-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहका दूत आएर अबीएजरी योआशको ओप्रा भन्ने ठाउँको फलाँटको रूखमुनि बसे, जहाँ तिनका छोरा गिदोनले मिद्यानीहरूबाट जोगाउनलाई दाखको कोलमा गहुँ झाँट्दैथिए। याहवेहका दूत गिदोनकहाँ देखा परेर भने, “हे वीर योद्धा, याहवेह तँसित हुनुहुन्छ।” गिदोनले जवाफ दिए, “माफ गर्नुहोला मालिक, यदि याहवेह हामीसित हुनुहुन्छ भने हामीमाथि यी सबै किन हुन आए? उहाँका ती सबै अद्भुत कार्यहरू के भए, जो हामीले आफ्ना पितापुर्खाहरूबाट सुनेका छौँ, जसले भन्थे, ‘के याहवेहले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभएको होइन र?’ तर अब याहवेहले हामीलाई त्याग्नुभएको छ; मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।” तब याहवेह तिनीतिर फर्कनुभयो र भन्नुभयो: “तँसित भएको शक्ति प्रयोग गर्, र इस्राएललाई मिद्यानीहरूका हातबाट बचा। तँलाई पठाउने के म नै होइनँ र?” तर गिदोनले सोधे, “तर प्रभु म इस्राएललाई कसरी बचाउन सकूँला? मेरो वंश त मनश्शेमा सबैभन्दा कमजोर छ। अनि मेरो परिवारमा म सबैभन्दा सानो छु।” याहवेहले जवाफ दिनुभयो, “म तँसित हुनेछु, र तैँले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैँ मार्नेछस्।” गिदोनले जवाफ दिए, “अब यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मसित बोल्नुहुने साँच्चै तपाईं नै हुनुहुन्छ भनी मलाई एउटा चिन्ह दिनुहोस्। बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढाउन्जेल तपाईं यहाँबाट नजानुहोला।” अनि याहवेहले भन्नुभयो: “तँ नफर्केसम्म म पर्खिरहनेछु।” तब गिदोन भित्र गए, र एउटा पाठो तयार गरे। एक एपाभरिको पिठोबाट अखमिरी रोटी बनाए। त्यो मासु एउटा डालोमा र त्यसको झोलचाहिँ एउटा बटुकोमा हालेर तिनले ती बाहिर ल्याए। अनि फलाँटको रूखमुनि उहाँलाई चढाए। तब परमेश्वरका दूतले तिनलाई भने, “यो मासु र ती अखमिरी रोटी लिएर त्यस चट्टानमाथि राखिदे, र झोलचाहिँ त्यसमाथि खन्याइदे।” अनि गिदोनले त्यसै गरे। आफ्नो हातमा भएको लहुरोको टुप्पोले याहवेहका दूतले मासु र अखमिरी रोटीलाई छोए। चट्टानबाट आगो दन्केर निस्क्यो। अनि त्यस मासु र रोटीलाई भस्म पारिदियो। त्यसपछि याहवेहका दूत अल्पिहाले। गिदोनले तिनी त याहवेहका दूत रहेछन् भनी थाहा पाए, तब तिनले लामो सास तानेर भने, “अहो, सार्वभौम याहवेह! मैले याहवेहका दूतलाई आमने-सामने देखेको छु!” तर याहवेहले तिनलाई भन्नुभयो: “शान्ति! भयभीत नहो, तँ मर्नेछैनस्।” यसकारण गिदोनले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए, र त्यसलाई याहवेह शान्ति हुनुहुन्छ भनेर नाम राखे। आजको दिनसम्मै त्यो अबीएजरीको ओप्रामा छँदैछ। त्यही रात याहवेहले तिनलाई भन्नुभयो: “तेरा पिताको बथानबाट सात वर्षको दोस्रो साँढे लिनू। तेरा पिताको बालको वेदी भत्काइदिनू, र त्यसको छेउमा भएको अशेराको खाँबो काटेर ढालिदिनू। त्यसपछि एउटा उच्च स्थानमा याहवेह तेरा परमेश्वरका निम्ति एउटा उपयुक्त वेदी बनाउनू। तैँले काटेर ढालेको अशेराको खाँबो प्रयोग गरेर त्यो दोस्रो साँढेलाई होमबलिस्वरुप चढाउनू।” यसकारण गिदोनले आफ्ना दश जना नोकरहरू लिएर याहवेहले तिनलाई भन्नुभएझैँ गरे। तर आफ्नो परिवार र सहरका मानिसहरूका डरको कारण तिनले त्यो दिउँसो होइन, तर राति गरे। जब सहरका मानिसहरू बिहानै उठे, तब उनीहरूले बाल-देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको नयाँ वेदीमा त्यो दोस्रोचाहिँ साँढे होमबलि चढाइएको देखे। तिनीहरूले आपसमा सोधे, “यो कसले गरेको हो?” तिनीहरूले होसियारीसाथ खोजी गरेपछि तिनीहरूलाई भनियो, “योआशको छोरा गिदोनले नै यो गरेको हो।” सहरका मानिसहरूले योआशासित यो माग गरे, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यो मर्नैपर्छ; किनकि त्यसले बालको वेदीलाई भत्काइदिएको छ, र त्यसको छेउको अशेराको खाँबोलाई काटेर ढालिदिएको छ।” तर योआशले आफ्ना चारैतिरका विरोधी भीडलाई जवाफ दिए, “के तिमीहरू बालको पक्षमा बोल्दछौ? के तिमीहरू त्यसलाई बचाउने कोसिस गर्दैछौ? त्यसको पक्षमा लड्ने जोसुकै पनि बिहानसम्ममा मारिनेछ! यदि बाल साँच्चै देवता हो भने कसैले उसको वेदी भत्काउँदा उसले आफ्नो रक्षा गर्न सक्छ?” यसकारण त्यस दिन तिनीहरूले गिदोनलाई यसो भनेर यरूब-बाल नाम राखिदिए, “यस मानिस विरुद्ध बाल आफैँले लडाइँ गरोस्”, किनकि तिनले बालको वेदी भत्काइदिएका थिए।
न्यायकर्ताहरू 6:11-32 पवित्र बाइबल (NERV)
त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए। परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।” तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं? हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।” परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।” तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।” परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।” तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्। कृपया यो प्रतिक्षा गर्नुहोस्। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस्। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस्।” अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पर्खीरहने छु।” यसर्थ गिदोन भित्र गए अनि एउटा सानो पाठो उम्लेको पानीमा पकाए। गिदोनले लगभग एक एपा जस्तो पीठो लिएर अखमीरे रोटी बनाए। त्यसपछि गिदोनले एउटा ढाकीमा मासु हाले अनि मासु उमालेको पानी एउटा भाँडमा हाले। गिदोनले मासु, उमालेको मासुको झोल अनि अखमिरे बिनाको रोटी पकाएर बाहिर ल्याए। गिदोनले त्यो भोजन फलाँटको रूखमुनि परमप्रभुको दूतलाई दिए। परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चट्टान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले त्यसै गरे जस्तो स्वर्गदूतले भने। परमप्रभुको दूतसित हातमा एउटा हिँड्दा टेक्ने लट्ठी थियो। परमप्रभुका दूतले त्यो लट्ठीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए। तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!” तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “शान्त होऊ! भयभीत नहोऊ। तिमी मर्ने छैनौ!” यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्। त्यही राती परमप्रभुले गिदोनसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो बाबुले पालेको सात बर्ष पुगेको जवान साँढे ले। तेरा बाबुको झूटो देवता बालको एउटा वेदीमा छ। त्यो वेदीको छेउमा एउटा काठको खम्बा पनि छ। त्यो खम्बा झूटा देवी अशेराको सम्मानमा बनाएको छ। त्यो बाल-वेदी ढाल्न साँढेको प्रयोग गर अनि अशेरका खम्बा काटिदे। त्यसपछि परमप्रभु तेरो परमेश्वरको निम्ति ठीक प्रकारको वेदी निर्माण गर। त्यो वेदी यो उच्च भूमिमा निर्माण गर। त्यसपछि त्यो वेदीमा त्यो जवान साँढेलाई मारेर होमबलि दे। तिमीहरूको भेटी जलाउनलाई अशेरको खम्बाको काठ प्रयोग गर।” यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे। शहरका मानिसहरू भोलिपल्ट बिहान उठे। अनि तिनीहरूले बालको वेदी नष्ट पारिएको देखे। तिनीहरूले अशेरका खम्बा पनि काटिएका देखे। त्यो अशेराको खम्बा बालको वेदीको छेउमै थियो। ती मानिसहरूले वेदी पनि देखे जो गिदोनले निर्माण गरेका थिए। अनि तिनीहरूले त्यो साँढेहरू देखे जसलाई वेदीमा बलिदान चढाइएको थियो। शहरका मानिसहरूले एक अर्कालाई हेरे अनि सोधे, “हाम्रो वेदीलाई कसले ढाली दियो? कसले हाम्रो अशेराको खम्बा काटिदियो? कसले यो साँढेलाई यो नयाँ वेदीमा बलिदान चढायो?” तिनीहरूले अनेक प्रश्नहरू सोधे अनि ती कुराहरू कसले गरे भनी जान्ने कोशिश गरे। कसैले तिनीहरूलाई भने, “योआशका छोरा गिदोनले यसो गरे।” यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्नै पर्छ।” तब योआशले त्यो भीडलाई भन्यो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिंदैछौ? के तिमीहरू बालको उद्धार गर्न खोज्दै छौ? यदि कसैले बालको पक्ष लिन्छौ भने उसलाई बिहान हुँदा मारिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफैँ गर्नु पर्ने।” योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई “यरूब्बाल” भने।
न्यायकर्ताहरू 6:11-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब ओप्राका गाउँमा आएर एउटा फलाँटको रूखमुनि परमप्रभुका दूत बसे। त्यो फलाँटको रूख अबीएजेरीका कुलका योआश नाम गरेको मानिसको थियो। मिद्यानीहरूले थाहा नपाऊन् भनी एउटा दाखको कोलमा लुकेर उनको छोरो गिदोन गहुँ कुट्दै थिए। परमप्रभुका दूत त्यहाँ देखा परेर उनलाई भने, “ए साहसी र वीर पुरुष! परमप्रभु तँसँग हुनुहुन्छ।” गिदोनले भने, “हजुर, यदि परमप्रभु हामीसँग हुनुहुन्छ भने यी सब कुरा किन हामीमाथि आइलागे? के यो सोध्न सक्छु? ती सबै उदेकका कुराहरू, जुन परमप्रभुले गर्नुभएको थियो भनी हाम्रा पिता-पुर्खाहरूले भन्थे– कसरी उहाँले हामीलाई मिश्रबाट निकाली ल्याउनुभएको थियो– ती सबै के भए? परमप्रभुले हामीलाई त्याग्नुभएको छ र हामीलाई मिद्यानीहरूका कृपामा छोडिदिनुभएको छ।” तब परमप्रभुले उसलाई आज्ञा गर्नुभयो, “आफ्ना पूरा शक्तिका साथ गएर मिद्यानीहरूबाट इस्राएलीहरूलाई छुटाउने काम गर्। म आफैं तँलाई यस काममा पठाउँदै छु।” गिदोनले उत्तर दिए, “परमप्रभु तर कसरी म इस्राएलीहरूलाई छुटाउन सक्छु? मनश्शे कुलमा सबैभन्दा कमजोर मेरो गोत्र छ अनि हाम्रा परिवारमा म सबैभन्दा सानो छु।” परमप्रभुले जवाफ दिनुभयो, “म तँलाई मद्दत गर्नेछु र तैँले यो काम गर्न सक्नेछस्। एक जना मानिसलाई जस्तै तैँले सबै मिद्यानीहरूलाई सजिलै नाश पार्नेछस्।” गिदोनले भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने तपाईं साँच्चै परमप्रभु हुनुहुन्छ भनी मलाई केही प्रमाण दिनुहोस्। तपाईंलाई केही भोजन टक्र्याउनलाई लिएर आउनेछु, त्यतिञ्जेल तपाईं यहाँबाट नजानुहोला।” उहाँले भन्नुभयो, “तँ नफर्कुञ्जेल म पर्खनेछु।” तब गिदोनले घर गएर एउटा पाठोको मासु र दश किलो पीठोको खमिरबिनाको रोटी बनाए। त्यसपछि मासु टोकरीमा राखे र झोल एउटा बटुकामा हाले। ती सबै खानेकुरा उनले फलाँटको रूखमुनि लिई आए र परमप्रभुको दूतलाई टक्र्याए। ती दूतले भने, “रोटी र मासु यहाँ चट्टानमाथि राख् र झोल त्यसमाथि खन्याइदे।” गिदोनले त्यसै गरे। तब दूतले हात अघि बढाएर हातमा भएको लौराको टुप्पाले रोटी र मासु छोए। चट्टानबाट आगोको ज्वाला निस्केर रोटी र मासु भस्म पार्यो। तब ती दूत लोप भए। मैले देखेका परमप्रभुका दूत नै हुनुहुँदोरहेछ भनी थाहा पाएर गिदोनले डराएर भने, “सार्वभौम परमप्रभु, मैले तपाईंको दूतलाई पो मुखामुख देखेछु।” तर परमप्रभुले भन्नुभयो, “शान्ति! नडरा, तँ मर्नेछैनस्।” परमेश्वरको निम्ति गिदोनले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाम यहवे-शालोम राखे। (त्यो वेदी आजसम्म अबीएजेर कुलको ओप्रा गाउँमा छँदैछ।) त्यस रात परमप्रभुले गिदोनलाई भन्नुभयो, “तेरा बुबाको साँढे र अर्को सात-वर्षे साँढे ले। तेरा बुबाले बाल-देवतालाई बनाएको वेदी भत्काइदे र त्यसका छेउमा भएको अशेरा-देवीको मूर्ति ढालिदे। त्यस डाँडामाथि तेरा परमप्रभु परमेश्वरको निम्ति एउटा वेदी ठीकसँग बना। त्यसपछि अशेरादेवीका मूर्तिका काठले आगो बालेर दोस्रो साँढे सबै होमबलि चढा।” तब गिदोनले दश जना चाकरहरू लिएर परमप्रभुले भन्नुभएअनुसार गरे। दिउँसो आफ्ना परिवार र सहरका मानिसहरूअघि त्यसो गर्न उनले डर माने र सो काम उनले राती नै गरे। भोलिपल्ट बिहानै सहरका मानिसहरू उठे। तिनीहरूले बालदेवताको वेदी र अशेरा-देवीको मूर्ति काटी ढालेका र त्यहाँ बनेका वेदीमा दोस्रो साँढे होमबलि भएको देखे। तिनीहरूले आपसमा सोधपुछ गरे, “यो कसले गरेको हो?” तिनीहरूले पत्ता लगाए र त्यो काम योआशको छोरो गिदोनले गरेको रहेछन् भनी चाल पाए। तब तिनीहरूले योआशलाई भने, “तिम्रा छोरालाई यहाँ बाहिर ल्याऊ। हामी त्यसलाई मार्नेछौं। त्यसले बाल-देवताको वेदी भत्काई, छेउका अशेरा-देवीको मूर्ति ढालिदिएछ।” तर आफ्ना सामुन्ने आएका सबैलाई योआशले भने, “के तिमीहरू बाल-देवताका पक्षमा बोलिरहेका छौ? के तिमीहरू उसको बचाउ गर्दछौ? उसको पक्षमा बोल्नेहरू आज बिहानसम्म मारिनेछन्। यदि बाल-देवता परमेश्वर हुन् भने आफ्नो रक्षा ऊ आफैंले गरून्। यो भत्काई फ्याँकिएको वेदी उनैको हो।” त्यस दिनदेखि गिदोनको नाम यरूब-बाल भयो, कारण योआशले भनेका थिए, “बालले आफ्नो रक्षा आफैं गरून्, भत्काई फ्याँकिएको वेदी उनैको हो।”