न्यायकर्ताहरू 6:11-14

न्यायकर्ताहरू 6:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब परमप्रभुका दूत आएर अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे। योआशका छोरा गिदोनचाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहूँ चुट्‌दैथिए। तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्‍छ।” गिदोनले तिनलाई भने, “हजूर, सुन्‍नुहोस्, परमप्रभु साँच्‍ची नै हामीसँग हुनुहुन्‍छ भनेता यी सबै किन हामीलाई भएको? उहाँका ती सबै आश्‍चर्य कामहरू के भए, जो हामीले आफ्‍ना पिता-पुर्खाहरूबाट सुनेका छौं, जसले भन्‍थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभएको होइन?’ तर अब त परमप्रभुले हामीलाई त्‍याग्‍नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्‍पिदिनुभएको छ।” तब तिनीतिर फर्केर परमप्रभुले भन्‍नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्‌। तँलाई पठाउने म नै हुँ।”

न्यायकर्ताहरू 6:11-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब याहवेहका दूत आएर अबीएजरी योआशको ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जहाँ तिनका छोरा गिदोनले मिद्यानीहरूबाट जोगाउनलाई दाखको कोलमा गहुँ झाँट्दैथिए। याहवेहका दूत गिदोनकहाँ देखा परेर भने, “हे वीर योद्धा, याहवेह तँसित हुनुहुन्छ।” गिदोनले जवाफ दिए, “माफ गर्नुहोला मालिक, यदि याहवेह हामीसित हुनुहुन्छ भने हामीमाथि यी सबै किन हुन आए? उहाँका ती सबै अद्‌भुत कार्यहरू के भए, जो हामीले आफ्ना पितापुर्खाहरूबाट सुनेका छौँ, जसले भन्थे, ‘के याहवेहले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभएको होइन र?’ तर अब याहवेहले हामीलाई त्याग्नुभएको छ; मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।” तब याहवेह तिनीतिर फर्कनुभयो र भन्‍नुभयो: “तँसित भएको शक्ति प्रयोग गर्, र इस्राएललाई मिद्यानीहरूका हातबाट बचा। तँलाई पठाउने के म नै होइनँ र?”

न्यायकर्ताहरू 6:11-14 पवित्र बाइबल (NERV)

त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए। परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।” तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं? हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।” परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।”

न्यायकर्ताहरू 6:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब ओप्राका गाउँमा आएर एउटा फलाँटको रूखमुनि परमप्रभुका दूत बसे। त्‍यो फलाँटको रूख अबीएजेरीका कुलका योआश नाम गरेको मानिसको थियो। मिद्यानीहरूले थाहा नपाऊन् भनी एउटा दाखको कोलमा लुकेर उनको छोरो गिदोन गहुँ कुट्दै थिए। परमप्रभुका दूत त्‍यहाँ देखा परेर उनलाई भने, “ए साहसी र वीर पुरुष! परमप्रभु तँसँग हुनुहुन्‍छ।” गिदोनले भने, “हजुर, यदि परमप्रभु हामीसँग हुनुहुन्‍छ भने यी सब कुरा किन हामीमाथि आइलागे? के यो सोध्‍न सक्‍छु? ती सबै उदेकका कुराहरू, जुन परमप्रभुले गर्नुभएको थियो भनी हाम्रा पिता-पुर्खाहरूले भन्‍थे– कसरी उहाँले हामीलाई मिश्रबाट निकाली ल्‍याउनुभएको थियो– ती सबै के भए? परमप्रभुले हामीलाई त्‍याग्‍नुभएको छ र हामीलाई मिद्यानीहरूका कृपामा छोडिदिनुभएको छ।” तब परमप्रभुले उसलाई आज्ञा गर्नुभयो, “आफ्‍ना पूरा शक्तिका साथ गएर मिद्यानीहरूबाट इस्राएलीहरूलाई छुटाउने काम गर्‌। म आफैं तँलाई यस काममा पठाउँदै छु।”