न्यायकर्ताहरू 2:10-19

न्यायकर्ताहरू 2:10-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस जम्‍मै पुस्‍ताका सबै जना आफ्‍ना पिता-पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्‍ता आयो जसले परमप्रभुलाई चिन्‍दैनथ्‍यो न त उहाँले इस्राएलको निम्‍ति गर्नुभएको कामलाई पनि जान्‍दथ्‍यो। जे परमप्रभुको दृष्‍टिमा खराब थियो, इस्राएलीहरूले त्‍यही गर्न लागे, र बाल देवतालाई पूजा गर्न लागे। तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने आफ्‍ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई त्‍यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्‍ना वरिपरि बस्‍ने जातिहरूका देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूका सामुन्‍ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्‍याए। तिनीहरूले परमप्रभुलाई त्‍यागेर बाल र अश्‍तोरेत देवताहरूलाई पुजे। परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई डाँकूहरू र लुट्‌नेहरूका शिकार तुल्‍याउनुभयो। उहाँले तिनीहरूलाई तिनीहरूका वरिपरिका शत्रुहरूका हातमा बेचिदिनुभयो, र तिनीहरू आफ्‍ना शत्रुहरूका सामुन्‍ने टिक्‍न सकेनन्‌। हरेक पल्‍ट तिनीहरू लड़ाइँ गर्न निस्‍कँदा परमप्रभुले आफ्‍नो गम्‍भीर चेताउनी दिनुभएअनुसार तिनीहरूमाथि विपत्ति ल्‍याउनुभयो, र तिनीहरू साह्रै सङ्कष्‍टमा परे। त्‍यसपछि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ताहरू खड़ा गर्नुभयो, जसले तिनीहरूलाई यी डाँकाहरूका हातबाट बचाए। तर तिनीहरूले यी न्‍यायकर्ताहरूका कुरा पनि सुनेनन्‌। तिनीहरू व्‍यभिचारीसरह अरू देवताहरूको पूजा गर्न र उनीहरूका सामु निहुरन लागे। तिनीहरूले आफ्‍ना पिता-पुर्खाहरू हिँडेका परमेश्‍वरका आज्ञापालनको बाटो चाँड़ै नै छोड़िदिए। जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्‍यो न्‍यायकर्तासँग हुनुहुन्‍थ्‍यो, र तिनी बाँचुञ्‍जेल उहाँले तिनीहरूलाई शत्रुहरूका हातदेखि बचाइराख्‍नुहुन्‍थ्‍यो। किनकि दुर्व्‍यवहार र अत्‍याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्‍केरा मार्दथे परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्‍थ्‍यो। तर ती न्‍यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्‍ना पुर्खाहरूभन्‍दा पनि अझ बढ्‌ता भ्रष्‍टाचारमा पर्दथे, र अरू देवताहरूलाई पुज्‍दै र उनीहरूका सामु निहुरिँदै आफ्‍नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्‍ना दुष्‍ट व्‍यवहार र हठी चाललाई छोड्‌न अस्‍वीकार गरे।

न्यायकर्ताहरू 2:10-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यो सम्पूर्ण पुस्ता आफ्ना पितापुर्खाहरूसित मिल्न गए। अनि अर्को पुस्ता बढेर आयो, जसले न त याहवेहलाई चिन्दथ्यो, न त उहाँले इस्राएलका निम्ति गर्नुभएका कुराहरू नै जान्दथ्यो। तब इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे, र बालको सेवा गरे। तिनीहरूले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, जसले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको थियो। तिनीहरू आफ्ना वरिपरिका मानिसहरूका देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्न थाले। तिनीहरूले याहवेहलाई रिस उठाए; किनकि तिनीहरूले याहवेहलाई त्यागे; अनि बाल र अश्तोरेत देवी-देवताहरूको सेवा गरे। इस्राएलप्रति आफ्नो क्रोधमा याहवेहले तिनीहरूलाई आक्रमणकारीहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूलाई लुटे। उहाँले तिनीहरूलाई आफ्ना चारैतिरका शत्रुहरूकहाँ बेचिदिनुभयो, जसलाई तिनीहरूले रोक्न सकेनन्। जहाँ-जहाँ इस्राएलीहरू लडाइँ गर्न निस्कन्थे, त्यहीँ नै याहवेहले तिनीहरूसित शपथ खानुभएझैँ उहाँका हात तिनीहरूलाई पराजित पार्न तिनीहरूको विरुद्धमा हुन्थ्यो। त्यसैले तिनीहरू ठूलो सङ्कष्‍टमा परे। तब याहवेहले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूलाई ती आक्रमणकारीहरूका हातबाट बचाए। तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन्, तर अरू देवी-देवताहरूसित व्यभिचार गरे र तिनीहरूलाई पुजिरहे। तिनीहरू आफ्ना पितापुर्खाहरूका मार्ग, जसले याहवेहका आज्ञापालन गर्दथे, तिनीहरूका मार्गलाई चाँडै छोडिदिए। जब-जब याहवेहले कुनै न्यायकर्तालाई तिनीहरूका निम्ति खडा गर्नुभयो, तब उहाँ त्यस न्यायकर्ताको साथमा रहनुहुन्थ्यो, र त्यो न्यायकर्ता बाँचुन्जेल उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट बचाउनुहुन्थ्यो; किनकि तिनीहरूलाई थिचोमिचो गर्ने र सताउनेहरूको अधीनमा तिनीहरूले जहिले सुस्केरा हाले तापनि याहवेहले तिनीहरूलाई दया देखाउनुभयो। तर त्यो न्यायकर्ता मरेपछि ती मानिसहरू अरू देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्दै आफ्ना पितापुर्खाहरूभन्दा बढी भ्रष्‍ट चालतिर फर्कन्थे। तिनीहरूले आफ्ना दुष्‍ट कामहरू र हठी मार्गलाई त्याग्न अस्वीकार गरे।

न्यायकर्ताहरू 2:10-19 पवित्र बाइबल (NERV)

त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो। यसकारण इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए। परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुशरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्रोधित तुल्यायो। इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुशरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले। परमप्रभु इस्राएलीहरूसित क्रोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्राएलीहरूमाथि आक्रमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्रमण विरूद्ध आफ्नो रक्षा गर्न सकेनन्। यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाइँ गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए। तब परमप्रभुले न्यायकर्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए। तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुशरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे। धेरै पल्ट इस्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो। तर जब हरेक न्यायकर्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठ्ठी थिए। तिनीहरूले आफ्ना कु-कर्म छोडन् अस्वीकार गरे।

न्यायकर्ताहरू 2:10-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहोशूका पुस्‍ताका सबै मानिसहरू मरेर गए। त्‍यसपछिका पुस्‍ताले परमप्रभु र उहाँले इस्राएलीहरूका निम्‍ति गर्नुभएका सारा कामलाई बिर्से। तब इस्राएलीहरूले बालदेवतालाई पुज्‍न थाले र परमप्रभुको विरुद्धमा पाप गरे। पिता-पुर्खाका परमेश्‍वर परमप्रभु, जसले तिनीहरूलाई मिश्रदेशदेखि उद्धार गर्नुभएको थियो, तिनीहरूले उहाँलाई पुज्‍न छोडे। अरू देवताहरू, आफ्‍ना चारैपट्टि बास गर्ने मानिसहरूका देवताहरू, तिनीहरूले पुज्‍न थाले। देवताहरूका अघि तिनीहरू शिर निहुराउँथे र परमप्रभुलाई क्रोधित गराउँथे। परमप्रभुको भक्ति छोडेर बाल र अश्‍तोरेत देवतालाई तिनीहरूले पुज्‍थे। यसकारण इस्राएलीहरूसँग परमप्रभु औधी रिसाउनुभयो र दुश्‍मन र डाँकाहरूलाई तिनीहरूमाथि लुटमार गर्न दिनुभयो। अनि उहाँले चारैतिरका शत्रुहरूलाई तिनीहरूमाथि दमन गर्नलाई छोडिदिनुभयो। इस्राएलीहरू अब आफ्‍नै रक्षा गर्न नसक्‍ने भए। जतिचोटि तिनीहरू युद्ध गर्न निस्‍कन्‍थे, उहाँले भनेअनुसार परमप्रभु तिनीहरूका विरुद्धमा खडा हुनुहुन्‍थ्‍यो। इस्राएलीहरू महासङ्कष्‍टमा परे। तब परमप्रभुले इस्राएलीहरूलाई यस्‍ता अगुवाहरू दिनुभयो, जसले तिनीहरूलाई आक्रमणकारीदेखि रक्षा गर्न सक्‍थे। तर इस्राएलीहरूले ती अगुवाहरूको वास्‍ता गरेनन्। तिनीहरू परमप्रभुप्रति विश्‍वासयोग्‍य भएनन् र अन्‍य देवताहरू पुजिरहे। तिनका पिता-पुर्खाले परमप्रभुको आज्ञापालन गरेका थिए; तर नयाँ पिँढीले त्‍यसो गर्न छोड्यो। जहिले-जहिले परमप्रभुले इस्राएलकहाँ अगुवा पठाइदिनुहुन्‍थ्‍यो, उहाँले उसलाई मद्दत गर्नुहुन्‍थ्‍यो र उसको जीवनकालभरि शत्रुहरूदेखि तिनीहरूको रक्षा गर्नुहुन्‍थ्‍यो। परमेश्‍वरले तिनीहरूमाथि कृपा गर्नुहुन्‍थ्‍यो किनभने पीडा र सङ्कष्‍टमा तिनीहरू विलाप गर्दै कराउँथे। तर अगुवा मरेपछि इस्राएलीहरू पुराना चालमा नै फर्किजान्‍थे र पछिल्‍लो पीडा अघिल्‍लो पीडाभन्दा अझ दुष्‍ट हुन्‍थ्‍यो। तिनीहरू अरू देवता मान्‍थे अनि आफ्‍ना दुष्‍कर्ममा हठी बनेर लागिरहन्‍थे।