याकूब 5:1-5

याकूब 5:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्‍टहरूका निम्‍ति रोओ र विलाप गर। तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्‌। तिमीहरूका सुनचाँदीमा कस लागेको छ, र त्‍यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ, र आगोले जस्‍तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्‍ति धन साँचेका छौ। जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्‍याला नै कराउँछ, र ती बाली काट्‌नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्‍मै पुगेको छ। तिमीहरू यस पृथ्‍वीका सुख-विलास र मोजमज्‍जामा मस्‍त भएर बसेका छौ। बलिका दिनको निम्‍ति तिमीहरूले आफैलाई पुष्‍टाई राखेका छौ।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्

याकूब 5:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्‍ट आइरहेको छ। तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्। तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैँ खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धनसम्पत्ति साँच्दैछौ। हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूको विलाप सर्वशक्तिमान् प्रभुको कानमा पुगेको छ। तिमीहरू यस संसारमा सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनको लागि आफैँलाई पुष्‍टाइराखेका छौ।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्

याकूब 5:1-5 पवित्र बाइबल (NERV)

तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ। तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ। तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरूले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ। मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरूलाई ज्याला दिएनौ। ती मानिसहरू तिमीहरूको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने। पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्

याकूब 5:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अब तिमी धनीहरू हो, मेरा कुरा सुन! तिमीहरूमाथि आइपर्ने दु:ख सम्‍झेर तिमीहरूले डाँको छोडी रुँदै विलाप गर। तिमीहरूका धन-सम्‍पत्ति काम नलाग्‍ने भइसकेको छ। लुगाफाटामा लुगा खाने किरा लागिसकेको छ। सुनचाँदीमा कस परिसकेको छ। त्‍यही कस नै तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले झैँ त्‍यसले शरीरलाई नाश गर्नेछ। यी अन्‍तिम दिनहरूमा तिमीहरूले धन-सम्‍पत्ति थुपारेका छौ। तिमीहरूका खेतमा काम गर्नेहरूलाई दिनुपर्ने ज्‍याला दिएका छैनौ। उनीहरूको बिलौना सुन। तिम्रा बाली उठाउने खेतालाहरूका रुवाइ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको कानसम्‍म पुगिसकेको छ। पृथ्‍वीमा तिमीहरूले खुब मोज-मज्‍जा गरेका छौ र काटी मारिने दिनको निम्‍ति तिमीहरू मोटाएका छौ।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्