याकूब 5:1-12
याकूब 5:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रोओ र विलाप गर। तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्। तिमीहरूका सुनचाँदीमा कस लागेको छ, र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ, र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्ति धन साँचेका छौ। जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ, र ती बाली काट्नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्मै पुगेको छ। तिमीहरू यस पृथ्वीका सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। बलिका दिनको निम्ति तिमीहरूले आफैलाई पुष्टाई राखेका छौ। तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ। यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ। तिमीहरूले पनि धैर्य धारण गर। आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ। भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ। भाइ हो, कष्ट-भोग र धैर्यको उदाहरण कस्तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूलाई हेर। हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ। मेरा भाइ हो, सबै कुराभन्दा पहिले स्वर्गको वा पृथ्वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्।
याकूब 5:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्ट आइरहेको छ। तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्। तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैँ खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धनसम्पत्ति साँच्दैछौ। हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूको विलाप सर्वशक्तिमान् प्रभुको कानमा पुगेको छ। तिमीहरू यस संसारमा सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनको लागि आफैँलाई पुष्टाइराखेका छौ। तिमीहरूको विरोध नगर्ने निर्दोष मानिसहरूलाई तिमीहरूले दोषी ठहराएर हत्या गरेका छौ। त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्लो र पछिल्लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ। तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ। हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ! हे दाजुभाइ-दिदीबहिनीहरू हो, कष्टहरूका माझमा धैर्यको उदाहरणको लागि प्रभुको नाममा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ। तिमीहरूलाई थाहै छ, कि कष्ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ। हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ हो अनि “होइन” चाहिँ होइन रहोस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ।
याकूब 5:1-12 पवित्र बाइबल (NERV)
तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ। तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ। तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरूले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ। मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरूलाई ज्याला दिएनौ। ती मानिसहरू तिमीहरूको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने। पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ। तिमीहरूले निर्देष मानिसहरूको भर्त्सना गर्यौ, र मारी दियौ कसैले प्रतिरोध गरेनन्। दाज्यू-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरून्जेल प्रतीक्षा गर्छ। तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँडै आउनु हुँदैछ। दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा गनगनगर्न छाडेनौ भने तिमीहरू दोषी जाँचिने छौ यादगर न्यायकर्ता आउँदै हुनुहुन्छ। दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, अगमवक्ताहरूलाई अनुशरण गर जसले परमप्रभुको निम्ति बोले। तिनीहरूले अनेक अप्ठ्यारो परिस्थितिको सामना गरे। तर तिनीहरूले धैर्य धारण गरे। हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ। मेरा दज्यू-भाइ औ दिदी-बहिनीहरू, जब केही गर्न वचन दिन्छौ, तिमीहरूले कसम खानु हुँदैँन। तिमीहरूको वचन प्रमाण गर्न स्वर्ग, पृथ्वी अथवा कुनै चीजको नाउँको उपयोग नगर। जब तिमी बुझ्छौ हो, भने केवल “हो” मात्र भन। यदि तिमी बुझ्छौ होइन, भन्ने “होइन” मात्र भन। त्यो गर ताकि तिमीहरू दोषी ठहरिने छैनौ।
याकूब 5:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब तिमी धनीहरू हो, मेरा कुरा सुन! तिमीहरूमाथि आइपर्ने दु:ख सम्झेर तिमीहरूले डाँको छोडी रुँदै विलाप गर। तिमीहरूका धन-सम्पत्ति काम नलाग्ने भइसकेको छ। लुगाफाटामा लुगा खाने किरा लागिसकेको छ। सुनचाँदीमा कस परिसकेको छ। त्यही कस नै तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले झैँ त्यसले शरीरलाई नाश गर्नेछ। यी अन्तिम दिनहरूमा तिमीहरूले धन-सम्पत्ति थुपारेका छौ। तिमीहरूका खेतमा काम गर्नेहरूलाई दिनुपर्ने ज्याला दिएका छैनौ। उनीहरूको बिलौना सुन। तिम्रा बाली उठाउने खेतालाहरूका रुवाइ सर्वशक्तिमान् परमप्रभु परमेश्वरको कानसम्म पुगिसकेको छ। पृथ्वीमा तिमीहरूले खुब मोज-मज्जा गरेका छौ र काटी मारिने दिनको निम्ति तिमीहरू मोटाएका छौ। विरोध पनि नगर्ने निर्दोषलाई दोष लगाएर तिमीहरूले मार्यौ। त्यसो हुँदा दाजुभाइहरू, प्रभु नआउञ्जेलसम्म धीरजी बस। हेर, खेती गर्नेले बहुमूल्य बाली उब्जाउन कति धीरज धर्छ। उसले वर्षा र हिउँदको पानी पर्खन्छ। तिमीहरू पनि त्यसै गरी पर्खेर दह्रो भई बस। आफ्नो आशा नमार, प्रभु आउनुहुने दिन नजिकै छ। दाजुभाइहरू, एक-अर्काको विरुद्धमा गनगन नगर। यसरी परमेश्वरले तिमीहरूलाई न्याय गर्नुहुनेछैन। ‘न्याय गर्नुहुने नजिकै हुनुहुन्छ र उहाँ आउन तयार हुनुभएको छ। दाजुभाइहरू, धैर्य लिने र दु:ख सहनेहरूका नमुनाका रूपमा प्रभुका नाउँमा शिक्षा दिने अगमवक्ताहरूलाई सम्झ। तिनीहरूलाई हामीले सुखी सम्झन्छौं, कारण तिनीहरूले अन्तसम्मै दिगो रहेर सहे। अय्यूबको धैर्यको बारेमा तिमीहरूले सुनेका छौ। आखिरमा प्रभुले कसरी उनलाई भरिदिनुभयो, त्यो पनि जान्दछौ। प्रभु दया र मायाले भरिएको हुनुहुन्छ। मेरा दाजुभाइहरू, सबैभन्दा ठूलो कुराचाहिँ प्रतिज्ञा गर्दा शपथ कहिले पनि नहाल। स्वर्ग, पृथ्वी वा कुनै कुराको पनि नाउँ लिएर शपथ नहाल। हो भने हो भन्नू, होइन भने होइन भन्नू। त्यसो भए परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुन्न।