याकूब 4:7-12
याकूब 4:7-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ। परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार। दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्द खिन्नतामा परिणत होस्। प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्नो भाइको विरुद्धमा खराब बोल्छ, अथवा आफ्नो भाइलाई दोष लाउँछ, त्यो व्यवस्थाको विरुद्धमा बोल्छ, र त्यसले व्यवस्थाको दोष देखाउँछ। तर यदि तिमीले व्यवस्थाको दोष देखाउँछौ भने त तिमी व्यवस्थाबमोजिम चल्ने भएनौ, तर व्यवस्थाको न्यायकर्ता पो भयौ। व्यवस्था दिने र न्यायकर्ता त एउटै हुनुहुन्छ, जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ। तर आफ्नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?
याकूब 4:7-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ। परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार! दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्। प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ, र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ। व्यवस्था दिने र न्यायकर्ता त एउटै मात्र हुनुहुन्छ; परमेश्वर जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ; तर आफ्नो छिमेकीको न्याय गर्ने तिमीहरू को हौ?
याकूब 4:7-12 पवित्र बाइबल (NERV)
यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ। उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर। परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ। भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुशरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुशरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ। परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।
याकूब 4:7-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसैकारण परमेश्वरको अधीनमा बस। शैतानको विरोध गर र त्यो तिमीहरूदेखि भाग्नेछ। तिमीहरू परमेश्वरको नजिक आओ र परमेश्वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्ना हात धोई सफा गर। कपटीहरू हो, आफ्नो मन शुद्ध पार। तिमीहरू रोओ, चिच्याओ र विलाप गर। तिमीहरूका हाँसोको खित्का रुवाइमा बदल। तिमीहरूका आनन्द दु:खमा बदलिओस्। प्रभुको अघि नम्र बन र उहाँले तिमीहरूलाई उचाल्नुहुनेछ। दाजुभाइहरू, कसैको विरुद्ध नराम्रो नभन। आफ्ना विश्वासी दाजु वा भाइको विरुद्ध नराम्रो भन्ने र दोष लगाउने व्यक्ति व्यवस्थाकै विरोधमा बोल्छ र व्यवस्थालाई दोष लगाउँछ। तिमीले व्यवस्थाको न्याय गर्यौ भने तिमी यसको पालना गर्ने होइन तर न्याय गर्ने बन्छौ। परमेश्वर मात्र व्यवस्था दिने र न्याय गर्ने हुनुहुन्छ। बचाउने र नाश गर्न सक्ने उहाँ मात्र हुनुहुन्छ। आफैंलाई के सम्झन्छौ र आफ्नो छिमेकीहरूलाई दोष लगाउँछौ?