याकूब 4:1-6

याकूब 4:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र? तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ। तिमीहरू माग्‍छौ तर पाउँदैनौ, किनकि आफ्‍ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्‍छौ। व्‍यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको शत्रुता हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्‍छ त्‍यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ। के तिमीहरू यो सम्‍झन्‍छौ, कि पवित्र-धर्मशास्‍त्रले व्‍यर्थमा यसो भन्‍दछ, हामीमा परमेश्‍वरले राख्‍नुभएका आत्‍माको निम्‍ति उहाँ तीव्र डाह राख्‍नुहुन्‍छ, तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्

याकूब 4:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र सङ्घर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र? तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्‍वरसित माग्दैनौ। तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ। तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्‍वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्‍वरको शत्रु बन्छ। अथवा उहाँले हामीभित्र राखिदिनुभएका आत्माले धेरै डाह गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ? तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।”

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्

याकूब 4:1-6 पवित्र बाइबल (NERV)

के तिमीहरूलाई तिमीहरूको झगड़ा र लडाँईँको श्रोत थाहा छ? तिमीहरूका झगड़ा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउँछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ, तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ। अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति। अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्

याकूब 4:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूका बीचमा लडाइँ र झैझगडा कहाँबाट आउँछन्? मोजमज्‍जा गर्ने चाहनाले होइन र? जुनचाहिँ तिमीहरूका मनभित्र तँछाड र मछाड गरिरहेका हुन्‍छन्। आफूले चाहना गरेको कुरा नभेट्दा नै मारकाट चल्‍छ। तिमीहरूलाई कुनै कुरा नभई हुँदैन अनि त्‍यो पाउन नसक्‍दा लडाइँ र झैझगडा गर्छौ। परमेश्‍वरसँग नमागेकोले तिमीहरूले खोजेको कुरा पाउँदैनौ। माग्‍यौ भने पनि तिमीहरू मोज-मज्‍जा गर्ने दुष्‍ट विचारले माग्‍छौ र पाउँदैनौ। अविश्‍वासी मानिसहरू हो! संसारलाई माया गर्ने परमेश्‍वरको शत्रु हुन्‍छ भनी तिमीहरूलाई थाहा छैन? संसारलाई मित्र बनाउन खोज्‍नेले परमेश्‍वरलाई आफ्‍नो शत्रु बनाउँछ। “परमेश्‍वरले हामीभित्र राखिदिनुभएको आत्‍माचाहिँ तृष्‍णाले भरिएको हुन्‍छ,” भन्‍ने धर्मशास्‍त्रमा लेखिएको कुरा व्‍यर्थको नठान। तर उहाँले गर्नुभएको अनुग्रह अझ बलियो छ। धर्मशास्‍त्रमा लेखिएको छ, “परमेश्‍वरले घमण्‍डीहरूको विरोध गर्नुहुन्‍छ तर नम्रहरूमाथि अनुग्रह खन्‍याउनुहुन्‍छ।”

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्