याकूब 3:5-10

याकूब 3:5-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस्‍तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्‍काले ठूलो वन पनि स्‍वाहा पार्दछ। जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्‍ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्‍काइदिन्‍छ र नरकको आगोमा त्‍यो जल्‍छ! हरेक किसिमका पशुपक्षी, घस्रने जन्‍तु र समुद्रका जीवजन्‍तुलाई तह लगाउन सकिन्‍छ, र मानिस जातिबाट नै तह लगाइएको छ। तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्‍दैन। घातक विषले भरिएको यो चञ्‍चल दुष्‍ट हो। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्‍वरको स्‍वरूपमा बनेका मानिसहरूलाई हामी सराप्‍तछौं। एउटै मुखबाट आशीर्वाद र सराप निस्‍कन्‍छन्‌। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:5-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस्तै किसिमले हाम्रो जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तर यसले धेरै घमण्ड गर्छ। आगोको सानो झिल्काले ठूलो जङ्गल नै डढेलो लगाउँछ भनी विचार गर। जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्‍टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ। सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्; तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्‍ट हो। जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्‍वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ। अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:5-10 पवित्र बाइबल (NERV)

हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ। एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ। जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ। मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्। कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ। हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ। स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:5-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जिब्रो पनि यस्‍तै हो। यो यति सानो भएर पनि ठूला-ठूला कुराको घमण्‍ड गर्न सक्‍छ। सानोभन्दा सानो झिल्‍काले पनि ठूलोभन्दा ठूलो जङ्गलै डढेलो लाउन सक्‍छ। जिब्रोचाहिँ आगोजस्‍तो हो। यो शरीरका अङ्‌गहरूमध्‍ये सबैभन्दा दुष्‍ट हो। यसले सिङ्गै शरीरमा कलङ्क लाउँछ। यसले नरकको आगो लिएर हाम्रो पूरै जिन्‍दगीमा आगो लगाउँछ। मानिसले सबै जङ्गली पशु-पक्षी वा जीवजन्‍तुलाई तह लाउन सक्‍छ र तह लाएको पनि छ। तर जिब्रोलाई कसैले पनि तह लाउन सकेको छैन। जिब्रोचाहिँ दुष्‍ट, तह नलाग्‍ने र डरलाग्‍दो विषले भरिएको हुन्‍छ अनि हामीहरूले हाम्रा परमेश्‍वर पितालाई यही जिब्रोले धन्‍यवाद दिन्‍छौं र यही जिब्रोले फेरि परमेश्‍वरको स्‍वरूपमा सृष्‍टि गरिएको मानिसलाई श्राप दिन्‍छौं। एउटै मुखबाट प्रशंसा र गाली पनि निस्‍कन्‍छ। मेरा भाइहरू, यस्‍तो हुनुहुँदैन!

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्