याकूब 3:1-18

याकूब 3:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भाइ हो, तिमीहरूमध्‍ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्‍दछौ, हामी शिक्षा दिनेहरूको न्‍याय अझ कठोर रूपले हुनेछ। किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्‍ने कुरामा भूल गर्दैन, त्‍यसले आफ्‍ना सारा शरीरमा पनि लगाम लगाउन सक्‍छ, र त्‍यो सिद्ध मानिस हुन्‍छ। यदि घोडाहरूलाई वशमा राख्‍नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्‍यो त्‍यतै लान सक्‍छौं। हेर त, जहाजहरू जो तेज हावाले चल्‍दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्‍नो इच्‍छाअनुसार जता मन पर्‍यो त्‍यतै लान्‍छ। त्‍यस्‍तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्‍काले ठूलो वन पनि स्‍वाहा पार्दछ। जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्‍ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्‍काइदिन्‍छ र नरकको आगोमा त्‍यो जल्‍छ! हरेक किसिमका पशुपक्षी, घस्रने जन्‍तु र समुद्रका जीवजन्‍तुलाई तह लगाउन सकिन्‍छ, र मानिस जातिबाट नै तह लगाइएको छ। तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्‍दैन। घातक विषले भरिएको यो चञ्‍चल दुष्‍ट हो। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्‍वरको स्‍वरूपमा बनेका मानिसहरूलाई हामी सराप्‍तछौं। एउटै मुखबाट आशीर्वाद र सराप निस्‍कन्‍छन्‌। मेरा भाइ हो, यसो नहुनुपर्ने हो। के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्‍कन्‍छ र? मेरा भाइ हो, के अञ्‍जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्‍जीर फल्‍न सक्‍छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्‍कन सक्‍दैन। तिमीहरूमध्‍ये बुद्धिमान्‌ र ज्ञानी को छ? आफ्‍नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्‍यसले आफ्‍ना कामहरू देखाओस्‌। तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्‍या र स्‍वार्थी अभिलाषा छन्‌ भने यी कुरामा अभिमान नगर, र सत्‍यतालाई झूटा नबनाओ। यो बुद्धि स्‍वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्‍मिक र शैतानिक हो। किनकि जहाँ डाह र स्‍वार्थपूर्ण अभिलाषा हुन्‍छ, त्‍यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्‍ट काम हुन्‍छ। तर जुन बुद्धि स्‍वर्गबाट आउँछ त्‍यो पहिले शुद्ध हुन्‍छ, तब त्‍यो शान्‍तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्‍छ। शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ; किनकि हामी सिकाउनेहरूको न्याय झन् कडाइकासाथ गरिनेछ। हामी धेरै प्रकारले ठक्‍कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ। जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौँ, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौँ। अथवा उदाहरणको लागि जहाजलाई लिऔँ—तिनीहरू यति ठूला र तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतैतिर लैजान्छ। त्यस्तै किसिमले हाम्रो जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तर यसले धेरै घमण्ड गर्छ। आगोको सानो झिल्काले ठूलो जङ्गल नै डढेलो लगाउँछ भनी विचार गर। जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्‍टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ। सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्; तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्‍ट हो। जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्‍वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ। अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन। के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र? हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्‌गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ। तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्। तर यदि तिमीहरू आफ्ना हृदयमा तितो डाह र स्वार्थपूर्ण अभिलाषा राख्छौ भने बुद्धिको घमण्ड नगर अथवा सत्यतालाई इन्कार नगर। यस्तो “बुद्धि” स्वर्गबाट आएको होइन, तर यो त सांसारिक, अनात्मिक र शैतानबाटको हो। किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्‍ट कामहरू हुन्छन्। तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:1-18 पवित्र बाइबल (NERV)

मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं। हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। ऊ आफ्ना सम्पूर्ण सरीरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्। घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ। जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ। हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ। एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ। जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ। मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्। कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ। हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ। स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन। के पानीको मूलबाट एउटै मिठो र तितो पानी एकैचोटी बग्छ? अँहँ। मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गूरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो कुवाबाट मिठो पानी निस्कन सक्छ। यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ। यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्। तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क सँगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ। मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरा भाइहरू, तिमीहरूमा धेरै जना शिक्षा दिनेहरू बन्‍न नखोज किनभने शिक्षा दिनेलाई अरूलाई भन्दा कडासँग न्‍याय हुन्‍छ भनी तिमीहरूलाई थाहै छ। हामी सबैले धेरै भुल गर्दछौं। तर आफूले भनेका कुरामा गल्‍ती नै नगर्नेचाहिँ साँच्‍चै सिद्ध मानिस हो। त्‍यस्‍ता मानिसले नै आफूलाई वशमा राख्‍न सक्‍छ। आफूले भनेको मानोस् भनेर घोडालाई लगाम लगाइदिन्‍छौं अनि जता मन लाग्‍यो, उतै हामी लैजान सक्‍छौं। त्‍यसै गरी ठूलो जहाज पनि कडा बतासको वेगले गइरहेको भए पनि यसलाई साना कर्णधारले फनक्‍कै फर्काउन सक्‍छ। जहाज चालकले आफूले भनेतिर यसलाई फर्काउन सक्‍छ। जिब्रो पनि यस्‍तै हो। यो यति सानो भएर पनि ठूला-ठूला कुराको घमण्‍ड गर्न सक्‍छ। सानोभन्दा सानो झिल्‍काले पनि ठूलोभन्दा ठूलो जङ्गलै डढेलो लाउन सक्‍छ। जिब्रोचाहिँ आगोजस्‍तो हो। यो शरीरका अङ्‌गहरूमध्‍ये सबैभन्दा दुष्‍ट हो। यसले सिङ्गै शरीरमा कलङ्क लाउँछ। यसले नरकको आगो लिएर हाम्रो पूरै जिन्‍दगीमा आगो लगाउँछ। मानिसले सबै जङ्गली पशु-पक्षी वा जीवजन्‍तुलाई तह लाउन सक्‍छ र तह लाएको पनि छ। तर जिब्रोलाई कसैले पनि तह लाउन सकेको छैन। जिब्रोचाहिँ दुष्‍ट, तह नलाग्‍ने र डरलाग्‍दो विषले भरिएको हुन्‍छ अनि हामीहरूले हाम्रा परमेश्‍वर पितालाई यही जिब्रोले धन्‍यवाद दिन्‍छौं र यही जिब्रोले फेरि परमेश्‍वरको स्‍वरूपमा सृष्‍टि गरिएको मानिसलाई श्राप दिन्‍छौं। एउटै मुखबाट प्रशंसा र गाली पनि निस्‍कन्‍छ। मेरा भाइहरू, यस्‍तो हुनुहुँदैन! के एउटै मुहानबाट तीतो र मीठो पानी निस्‍कन्‍छ? मेरा भाइहरू, अञ्‍जीरको बोटमा भद्राक्ष फल्‍न सक्‍दैन अनि अङ्‌गुरको बोटमा अञ्‍जीर फल्‍न सक्‍दैन। नुनिलो पानीको मुहानबाट मीठो पानी उम्रन सक्‍दैन। तिमीहरूका बीचमा कोही बुद्धिमानी र बुझ्झकी मानिस छ भने उसले त्‍यो आफ्‍नो असल चालचलनबाट र बुद्धिमानीसँग काम गरेर देखाउनुपर्छ। तर यदि तिमीहरूका मनमा तीतोपना, आरिस र स्‍वार्थ छ भने आफ्‍नो बुद्धिको घमण्‍ड गरेर सत्‍यको विरुद्धमा पाप नगर। यस्‍तो बुद्धि माथि परमेश्‍वरबाट आएको होइन, यो त यहीं तल उब्‍जेको संसारकै अनि शैतानको बुद्धि हो। जहाँ आरिस र स्‍वार्थ छ, त्‍यहाँ सबै किसिमका गोलमाल र सबै किसिमका दुष्‍ट कुराहरू हुन्‍छन्। तर माथिबाट आएको बुद्धि त चोखो, शान्‍ति दिने, सोझो र मिलनसार हुन्‍छ। यस्‍तो बुद्धि दया नै दयाले भरिएको हुन्‍छ अनि असल कामको फल फलाउँछ। यो पक्षपाती र कपटी हुँदैन। शान्‍ति ल्‍याउनेले मेलमिलापको काम गरेर धार्मिकताको फल फलाउँछ।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्