याकूब 2:8-13

याकूब 2:8-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यदि “आफ्‍ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र-धर्मशास्‍त्रको राजकीय व्‍यवस्‍थालाई साँच्‍चै पूरा गर्दछौ भनेता असलै गर्दछौ। यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्‍यवस्‍थाद्वारा अपराधी ठहरिन्‍छौ। किनकि जसले सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्छ तर एउटै कुरामा चुक्‍छ भने, व्‍यवस्‍थाका सबै कुरामा त्‍यो दोषी ठहरिएको हुन्‍छ। किनकि जसले “व्‍यभिचार नगर्‌” भन्‍नुभयो, उहाँले “हत्‍या नगर्‌” पनि भन्‍नुभयो। तसर्थ यदि तिमीले व्‍यभिचार गर्दैनौ तर हत्‍या गर्दछौ भने, तिमी व्‍यवस्‍थाका अपराधी भएका छौ। यसकारण तिमीहरूको बोली र व्‍यवहार स्‍वतन्‍त्रताको व्‍यवस्‍थाबमोजिम न्‍याय पाउनेहरूका जस्‍तै होस्‌। किनकि जुन मानिसले कृपा गरेको छैन, त्‍यसको न्‍याय कृपाविना नै हुन्‍छ। कृपा न्‍यायमाथि विजयी हुन्‍छ।

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्

याकूब 2:8-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ। तर तिमीहरूले पक्षपात गर्‍यौ भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उल्‍लङ्घन गरेको दोष लगाउँछ। किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्‍लङ्घन गर्नेजस्तै दोषी हुनेछ। किनकि जसले “व्यभिचार नगर्नू” भन्‍नुभयो, उहाँले “हत्या नगर्नू” पनि भन्‍नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्‍लङ्घन गर्नेहरू भयौ। स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर; किनकि दया नगर्ने हरेकलाई दयाविना नै न्याय गरिनेछ। दया न्यायमाथि विजयी हुन्छ।

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्

याकूब 2:8-13 पवित्र बाइबल (NERV)

बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।” यदि तिमीहरूले यो नियम पालन गर्यौ भने तब तिमीहरूले ठिक काम गर्छौ। तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ। कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ। परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।” उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।” यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङ्ग गरेका दोषी ठहरिन्छौ। तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ। यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा ऊ निर्भय भएर रहन सक्ने छ।

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्

याकूब 2:8-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

छिमेकीलाई आफैंलाई झैँ माया गर्नू भनी लेखिएको परमेश्‍वरको राज्‍यको नियमलाई पालन गर्‍यौ भने तिमीहरूले ठीक काम गर्नेछौ। तर बाहिरी रूप हेरेर मानिसहरूसँग व्‍यवहार गर्‍यौ भने तिमीहरू पाप गर्दछौ र यसरी तिमीहरूलाई व्यवस्था मिचेको दोष लाग्‍नेछ। यदि कसैले व्यवस्थाको एउटै कुरा मिच्‍तछ भने उसलाई पूरै व्यवस्था मिचेको दोष लाग्‍दछ किनभने ‘व्‍यभिचार नगर्नू’ भन्‍नेले नै ‘मान्‍छे नमार्नू’ पनि भनेका हुन्। हुन सक्‍छ, व्‍यभिचार नगरौला तर मान्‍छे मार्‍यौ भने पूरै व्यवस्थालाई मिच्‍दछौ। मानिसलाई स्‍वतन्‍त्र गराउने व्यवस्थाले खारिएका मानिसले झैँ बोल्‍ने र काम गर्ने गर। दया नगर्ने मानिसलाई परमेश्‍वरले दया नराखी न्‍याय गर्नुहुन्‍छ। तर दया गर्नाले न्‍यायलाई जित्‍न सकिन्‍छ।

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्