याकूब 1:17-22
याकूब 1:17-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन। उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्टिको एक अगौटे फलजस्तो बन्न सकौं। मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन। यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ। तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ।
याकूब 1:17-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न। सृष्टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्नुभयो। मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्; किनकि मानिसको रिसले परमेश्वरले चाहनुभएको धार्मिकताको काम गर्दैन। यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्टतालाई त्याग; अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ। वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर।
याकूब 1:17-22 पवित्र बाइबल (NERV)
सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ। सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो। मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ, चाँडो सुन्ने, बिस्तारै बोल्ने र ढिलो रिसाउने गर। एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन। यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ। परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ।
याकूब 1:17-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्डलमा ज्योतिहरू सृजना गर्नुहुने परमेश्वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्न, उहाँ नता बदलिने छायाजस्तो हुनुहुन्छ। हामी सृष्टिका पहिला फलहरूजस्तै हुन सकौं भनेर उहाँले आफ्नै इच्छाद्वारा सत्य वचनले हामीलाई सिर्जनुभएको छ। मेरा प्यारा भाइहरू, यो कुरा तिमीहरू सम्झिराख। सुन्नमा चनाखो, बोल्नमा होशियार र कम रिसाउने होओ किनभने मानिसको रिसले परमेश्वरको मनपर्ने काममा बाधा दिन्छ। यसकारण सबै यस्ता नराम्रा स्वभाव र घिनलाग्दा बानीबाट अलग होओ। नम्र भएर तिमीहरूका हृदयमा राखिएका परमेश्वरका वचनलाई आफ्नो पार किनभने तिमीहरूलाई जोगाउने त त्यसैले हो। तर यो वचन पालन गर्ने होओ, आफूलाई धोखा दिंदै सुन्ने मात्र होइन।