यशैया 65:1-25
यशैया 65:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मलाई नसोध्नेहरूलाई मैले स्वयम् प्रकट गरें। जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए। मेरो नाम नै नलिने जातिलाई मैले भनें, ‘म यहाँ छु। म यहाँ छु’। मैले मेरो हात दिनभरि नै एउटा अटेरी प्रजाको अगि फैलाएँ, जो आफ्नै कल्पनामा यस्तो बाटोमा हिँड्छन् जो असल छैन— एउटा यस्ता प्रजा, जसले निरन्तर मेरै सामुन्ने मलाई रीस उठाउँछन्, बगैँचाहरूमा बलिदान चढ़ाउँछन्, र इँटाले बनाएका वेदीमा धूप बाल्छन्, जो चिहानहरूमा बस्छन्, र गुप्त ठाउँहरूमा कुरेर रात बिताउँछन्, जसले सुँगुरको मासु खान्छन्, र जसका भाँड़ामा घिनलाग्दा कुराहरूको झोल हुन्छ, जसले भन्छन्, ‘पर जा, मेरो नजिक नआइज, किनकि म तेरो निम्ति अति पवित्र छु’। यस्ता मानिसहरू त मेरा नाकमा धूवाँ, र दिनभरि बलिरहने आगो हुन्। “हेर, मेरो सामुन्ने यस्तो लेखिएको छ, म चूप रहनेछैनँ, तर पूरै साटो लिनेछु। निश्चय नै म तिनीहरूकै काखमा साटो लिनेछु— तिमीहरूका र तिमीहरूका पिता-पुर्खाहरूका पापको साटो म लिनेछु” परमप्रभु भन्नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँड़ाहरूमा मेरो विरोध गरे। म तिनीहरूका पहिलेका कामको बदला तिनीहरूकै काखमा पूरा भरिदिनेछु।” परमप्रभु यसो भन्नुहुन्छ, “जसरी दाखको झुप्पामा रस पाएर, मानिसहरूले भन्छन्, ‘त्यसलाई नबिगार्, किनकि त्यसमा अझै राम्रो रस होला,’ त्यसरी नै म मेरा सेवकहरूको पक्षमा गर्नेछु, म तिनीहरू सबैलाई नष्ट गर्नेछैनँ। म याकूबबाट सन्तान-दरसन्तान र यहूदाबाट मेरा पर्वतहरूका उत्तराधिकारीहरू उत्पन्न गर्नेछु। मेरा चुनिएकाहरूले त्यसको अधिकार गर्नेछन्, र मेरा दासहरू त्यहाँ बस्नेछन्। मलाई खोज्ने मेरा प्रजाहरूका निम्ति, शारोनचाहिँ भेड़ाबाख्राहरूको चरन, र आकोरको बेँसीचाहिँ गाईबस्तुहरूका विश्रामको ठाउँ हुनेछ। “तर तिमीहरू, जसले परमप्रभुलाई त्याग्छौ, र मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबिल तयार गर्छौ, र भावी-देवीको निम्ति मिसाएको दाखमद्यले बाटाहरू भर्छौ, म तिमीहरूलाई तरवारको निम्ति खटाउनेछु, र तिमीहरू सबै काटिनलाई निहुरनेछौ। किनकि जब मैले तिमीहरूलाई बोलाएँ, तब तिमीहरूले जवाफ दिएनौ। जब म बोलें, तब तिमीहरूले ध्यानसित सुनेनौ। मेरो दृष्टिमा जे खराब थियो, तिमीहरूले त्यही काम गर्यौ, र मलाई मन नपर्ने काम गर्न तिमीहरूले रोज्यौ।” यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरू भने भोकै बस्नेछौ। मेरा दासहरूले पिउनेछन्, तर तिमीहरू भने तिर्खाउनेछौ। मेरा दासहरूले हर्ष मनाउनेछन्, तर तिमीहरूचाहिँ लाजमा पर्नेछौ। मेरा दासहरू हृदयको आनन्दले गाउनेछन्, तर तिमीहरूचाहिँ हृदयमा चिन्ता भएकोले रुनेछौ, र आत्मामा खिन्न भएकोले चिच्च्याई-चिच्च्याई रुनेछौ। तिमीहरूले आफ्नो नाउँ मेरा छानिएकाहरूका निम्ति सरापको रूपमा छोड्नेछौ, र परमप्रभु परमेश्वरले तिमीहरूलाई मार्नुहुनेछ। तर उहाँले आफ्ना दासहरूलाई अर्को नाउँ दिनुहुनेछ। जसले यस देशमा आशिष्को आह्वान गर्नेछ, त्यसले साँचो परमेश्वरको नाउँमा यसो गर्नेछ, र यस देशमा शपथ खानेले परमेश्वरको नाउँमा शपथ खानेछ, किनभने अघि-अघिका दु:खहरू बिर्सिसकिएका हुनेछन्, र ती मेरो नजरबाट लुकिएका हुनेछन्। “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु। अघि-अघिका कुराहरूको सम्झना हुनेछैन, न त ती मनमा आउनेछन्। तर मैले सृष्टि गर्ने कुरामा सदासर्वदा आनन्द गर र हर्ष मनाओ। किनकि म यरूशलेमलाई हर्षदायक र त्यसका मानिसहरूलाई आनन्ददायक तुल्याउनेछु। म यरूशलेमदेखि हर्षित हुनेछु, र मेरो प्रजामा खुशी हुनेछु, र त्यहाँ रुवाइ र कराइको आवाज फेरि कहिल्यै सुनिनेछैन। “थोरै दिनसम्म बाँच्ने बालक वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन। सय वर्षसम्म बाँचेर मर्नेचाहिँ जवान मानिनेछ, र सय वर्षसम्म नबाँच्नेचाहिँ श्रापित मानिनेछ। तिनीहरूले घर बनाएर तिनमा वास गर्नेछन्। तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्। तिनीहरूले घरहरू बनाएर तिनमा अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने कहिल्यै हुनेछैन। किनकि रूखको आयु जस्तै मेरा प्रजाको आयु हुनेछ, र मेरा छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्। तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, अथवा विपत्तिको निम्ति बालकहरू जन्माउनेछैनन्। किनकि तिनीहरू, तिनीहरूका वंशसमेत परमप्रभुको आशिष् पाएका प्रजा हुनेछन्। तिनीहरूले बिन्ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्दाबोल्दै तिनीहरूका कुरा म सुन्नेछु। ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ, तर सर्पको आहारा धूलो हुनेछ। मेरो सारा पवित्र पर्वतमा तिनीहरूले न त नोक्सानी गर्नेछन्, न नष्ट गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।”
यशैया 65:1-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले भन्नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु; मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्। मेरो नाम पुकार नगर्ने जातिलाई, मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’ दिनभरि मैले यस्तो अटेरी जातितिर आफ्ना हात पसारेँ, जो आफ्नै कल्पनाको पछि लागेर कुबाटोमा हिँड्छन्; यस्तो जाति, जसले मेरो सामु मलाई निरन्तर रिस उठाउँछन्, जसले बगैँचाहरूमा बलिदान चढाउँछन्, र इँटाका वेदीहरूमा धूप बाल्छन्; जो चिहानहरूका बीचमा बस्दछन्, र गुप्त ठाउँमा रात बिताउँछन्; जसले सुँगुरको मासु खान्छन्, र जसका भाँडाहरूमा अशुद्ध मासुका झोल राखिएका हुन्छन्; जसले भन्छन्, ‘टाढै बस्; मेरो नजिक नआइज; किनकि म तेरो निम्ति अति पवित्र छु!’ यस्ता मानिसहरू मेरो नाकका धुवाँजस्ता हुन्, जुन धुवाँ दिनभरि आगोजस्तै जलिरहन्छ। “हेर, मेरो सामु यस्तो लेखिएको छ: म चुपचाप रहनेछैनँ, तर पूरै बदला लिनेछु; निश्चय नै म तिनीहरूकै काखमा साटो लिनेछु— तिमीहरूका र तिमीहरूका पितापुर्खाहरूका पापको बदला म लिनेछु,” याहवेह भन्नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँडाहरूमा मेरो निन्दा गरे। म तिनीहरूका पहिलेका कामहरूको बदला तिनीहरूकै काखमा हालिदिनेछु।” याहवेह यसो भन्नुहुन्छ: “अङ्गुरको झुप्पामा अझ रसिलो अङ्गुर छँदै मानिसहरूले भने, ‘त्यसलाई नष्ट नगर; किनकि त्यसमा अझ दाखरस असल छ,’ यसरी नै म मेरा सेवकहरूको पक्षमा त्यसै गर्नेछु; म तिनीहरू सबैलाई नाश गर्नेछैनँ। म याकोबका सन्तानहरूलाई ल्याउनेछु, र यहूदाका सन्तानहरूलाई मेरो पर्वतहरूमाथि उत्तराधिकार बनाउनेछु; मेरा छानिएका मानिसहरूले ती पर्वतहरूमाथि अधिकार गर्नेछन्, र मेरा सेवकहरू त्यहाँ बस्नेछन्। मलाई खोज्ने मानिसहरूका निम्ति, शारोनको मैदान बगालहरूको लागि खर्क र आकोरको बेँसी विश्रामस्थल हुनेछ। “तर याहवेहलाई त्याग्नेहरूका निम्ति, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छन्, जसले गाद देवताको निम्ति टेबुल तयार गर्छन्, र मेनी देवीको निम्ति मिसाएको मद्यको कचौरा भर्छन्; म तिमीहरूलाई तरवारको निम्ति दिनेछु, र तिमीहरू सबै काटिनलाई घुँडा टेक्नेछौ; किनकि मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ; मैले बोलाएँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले मेरो नजरमा दुष्ट काम गर्यौ र मलाई मन नपर्ने कुराहरू रोज्यौ।” यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “मेरा सेवकहरूले खानेछन्, तर तिमीहरूचाहिँ भोकै रहनेछौ; मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरूचाहिँ तिर्खाउनेछौ; मेरा सेवकहरू रमाउनेछन्, तर तिमीहरूचाहिँ शर्ममा पर्नेछौ। मेरा सेवकहरूले आफ्ना हृदयको आनन्दमा गाउनेछन्; तर तिमीहरू हृदयको वेदनामा कराएर रुनेछौ, र हृदयको वेदनामा विलाप गर्नेछौ। तिमीहरूले आफ्नो नाम मेरा चुनिएका मानिसहरूका निम्ति सरापको रूपमा छोड्नेछौ; प्रभु याहवेहले तिमीहरूलाई मृत्युमा पार्नुहुनेछ, तर उहाँले आफ्ना सेवकहरूलाई अर्को नाम दिनुहुनेछ। जब देशमा कसैले आशिष्को माग गर्छ, त्यसले सत्य परमेश्वरको नामद्वारा माग गर्नेछ; जसले देशमा शपथ खान्छ; त्यसले सत्य परमेश्वरको नामद्वारा शपथ खानेछ। किनकि बितेका दुःखहरू भुलिनेछन्, र मेरा आँखाबाट लुकाइनेछन्। “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु। बितेका कुराहरू स्मरण गरिनेछैनन्, न त तिनीहरू मनमा नै आउनेछन्। तर म जे सृष्टि गर्नेछु, त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ; किनकि म यरूशलेमलाई हर्षोल्लास र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु। म यरूशलेमसँग खुशी हुनेछु, र मेरा प्रजामा हर्षित हुनेछु; यरूशलेममा रोएको र कराएको सोर फेरि कहिल्यै सुनिनेछैन। “थोरै दिनसम्म बाँच्ने बालक, वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन; सय वर्ष बाँच्ने मानिस जवान मानिनेछ; र सय वर्षसम्म नबाँच्ने मानिसचाहिँ श्रापित मानिनेछ। तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्नेछन्; तिनीहरूले दाखबारी लगाउनेछन्, र त्यसका फल खानेछन्। तिनीहरूले बनाएका घरहरूमा अरूहरू नै आएर बस्नेछैनन्, वा तिनीहरूले लगाएका दाखबारीको फल फेरि कहिल्यै अरूहरूले खानेछैनन्। किनकि रूखको आयु जति लामो हुन्छ, त्यति नै धेरै आयु मेरा प्रजाको हुनेछ; मेरा चुनिएका प्रजाले आफ्ना हातका काम लामो समयसम्म उपभोग गर्नेछन्। तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त तिनीहरूले विपत्तिको निम्ति छोराछोरीहरू जन्माउनेछन्; किनकि तिनीहरू र तिनीहरूका सन्तानहरूसमेत याहवेहद्वारा आशिष् पाएका मानिसहरू हुनेछन्। तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु; तिनीहरूले बोल्दाबोल्दै म सुन्नेछु। ब्वाँसो र थुमाले एउटै ठाउँमा एकैसाथ खानेछन्, सिंहले गोरुले झैँ पराल खानेछ; अनि सर्पको आहारा धुलो हुनेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतहरूमा न त हानि गर्नेछन्, न त नाश गर्नेछन्,” याहवेह भन्नुहुन्छ।
यशैया 65:1-25 पवित्र बाइबल (NERV)
परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरें जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नामै लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’ “म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे। ती मानिसहरू मसित छन अनि मलाई सधैँ रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्। ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्खन्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू सुँगुरको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मैला छन्। तर ती मानिसहरूले अरूलाई भन्दछन, ‘मेरो नजिक नआऊ! मैले तिमीहरूलाई शुद्ध नपारून्जेलसम्म मलाई नछोऊ।’ ती मानिसहरू मेरो नाकको धूवाँ जस्तै छन्, अनि सब समय तिनीहरूको आगो बल्दछ।” “हेर, यहाँ एक हिसाब छ त्यो तिर्नै पर्छ। यो हिसाबले तिमीहरू आफ्ना पापहरूका दोषी भएको दर्शाउँछ। यो हिसाब नतिरून्जेल सम्म म चूपचाप बस्ने छैन अनि म दण्ड दिएर तिनीहरूलाई हिसाब तिर्न लगाउनेछु। तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।” परमप्रभु भन्नुहुन्छ, “जब अङ्गुरका झुप्पाहरूमा दाखरस रहन्छ, मानिसहरूले त्यसबाट निचोरेर दाखरस निकाल्छन्। तर तिनीहरू अङ्गुर नष्ट गर्दैनन्। म आफ्ना सेवकहरूलाई त्यसै नै गर्नेछु। म तिनीहरूलाई पूरै ध्वंश पार्ने छैन। म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौ। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छान्ने छु जो त्यहाँ बस्नेछ। तब शारोनका बेंसी भेंडाहरूलाई चर्ने चरन हुनेछ। आकोरका बेंसी आराम गर्ने ठाउँ हुनेछ। यी सम्पूर्ण थोकहरू मेरा मानिसहरूका लागि हुन् जसले मलाई खोज्दछन्। “तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ। तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।” यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो: “मेरा दासहरूले खानेछन्। तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ। मेरा दासहरूले पिउनेछन् तर दुष्ट मानिसहरू तिर्खाउनेछन्। मेरा दासहरू खुशी हुनेछन्, तर दुष्ट मानिसहरू लज्जित हुनेछन्। मेरा दासहरू आनन्दले खुशी हुनेछन्, तर दुष्ट मानिसहरू दु:खले रूनेछन्। तिमीहरूका आत्माहरू टुटेका छन् अनि तिमीहरू दु:खी छौ। तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ। परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ, अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले बोलाउनु हुन्छ। अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशीर्वाद दिइरहेका छन्। तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ, उहाँको नाउँमा आशीर्वाद दिनेछन्। मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्, तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्। किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ। मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।” “म नयाँ आकाश र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन। मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा-सर्वदा आनन्दित हुनेछन्। किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु, अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु। “तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन्। त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन, जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ, अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय बर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय बर्ष सम्म पनि बाँच्दैन, उसलाई श्रापित भएको ठानिन्छ। “त्यस शहरमा यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीं बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने, त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ। कहिल्यै पनि एकजनाले घर बनाउने छैन, अनि अर्को मानिस त्यसमा बस्ने छैन्। कहिल्यै पनि एकजनाले बगैंचा लगाउने छैन अनि अर्को मानिसले बगैंचाको फलफूल खाने छैन्। मेरा मानिसहरू रूखहरू बाँचुन्जेल सम्म बाँच्नेछन्। मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्। स्त्रीहरू मरेका नानी जन्माउँनका लागि कहिल्ये पनि फेरि कष्ट गर्ने छैनन्। स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्। मेरा सारा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्। तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु। ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन्।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
यशैया 65:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले भन्नुभयो, “म मेरा प्रजाले मलाई खोजी गरेको चाहन्थें तर तिनीहरूले खोजी गरेनन्। तिनीहरूले मलाई भेट्टाऊन् भनी म तयार थिएँ तर तिनीहरूले भेट्टाउने चेष्टा नै गरेनन्। तरै पनि मेरो पुकारा नगर्ने जातिलाई ‘म यहाँ छु,’ भनी मैले भनें। मेरो प्रजालाई स्वागत गर्न म सदा तयार रहेको छु तर मेरा प्रजा ढिट भई जे खराब छ, त्यही गर्दछ र आफ्नै बाटोमा जाँदछ। तिनीहरूले लाज नमानी मलाई रिस उठाइरहन्छन्। तिनीहरूले पूजा-स्थलमा बलिहरू चढाउँदछन् र मूर्ति पुज्ने वेदीमा धूप बाल्दछन्। राती तिनीहरू गुफाहरूमा र चिहानहरूमा मरेका आत्माहरूसित कुरा गर्न जान्छन्। तिनीहरूले सुँगुरको मासु खान्छन् र अशुद्ध कुराको झोल बनाई पिउँछन्। अनि अरू मानिसहरूलाई तिनीहरूले भन्छन्, ‘तिमीहरू हाम्रो नजिक नआओ। हामी तिमीहरूभन्दा पवित्र छौं!’ म त्यस्ता मानिसहरूलाई सहन सक्दिनँ। तिनीहरू मेरो लागि दिनभरि बल्ने आगो र वाक्क पार्ने धुवाँजस्ता हुन्। “तिनीहरूलाई कस्तो सजायँ दिनुपर्ने हो, मैले अघि नै निर्णय गरिसकेको छु, मेरो फैसला लेखिसकेको छु। म अब चुप रहनेछैनँ। म तिनीहरूलाई पूरा साटो फेर्नेछु। तिनीहरूका पापका निम्ति र तिनीहरूका पुर्खाका निम्ति साटो फेर्नेछु। तिनीहरूले डाँडाका मूर्ति पुज्नेहरूका पूजा-स्थलहरूमा धूप बालेका छन् र मेरा विरुद्धमा कुरा गरेका छन्। बितेका दिनका तिनीहरूका पाप सुहाउँदो म तिनीहरूलाई दण्ड दिनेछु।” परमप्रभु भन्नुहुन्छ, “कसैले राम्रा दाख नष्ट गर्दैन तर सट्टामा तिनीहरूले आफ्नो लागि दाखमद्य बनाउँछ। म पनि आफ्नो सारा प्रजालाई मार्नेछैनँ, मेरो सेवा गर्नेहरू जतिलाई म बचाउनेछु। यहूदाका कुलमा भएका इस्राएलीहरूलाई म आशीर्वाद दिनेछु र तिनीहरूका सन्तानले मेरा पहाडी मुलुक अधिकार गर्नेछन्। मेरा चुनेका प्रजा, जसले मेरो सेवा गर्छ, त्यहाँ बसोबास गर्नेछन्। तिनीहरूले मलाई खोजी गर्नेछन् र पश्चिममा शारोनको मैदान अनि पूर्वमा आकोरको बेसी तिनीहरूका भेडा र गाई-गोरुहरू चराउने चरन हुनेछ। “तर मलाई त्याग्नेहरू, जसले मेरो पवित्र डाँडा सियोनको वास्ता गर्दैनन् र भाग्यका देवताहरू गाद र मेनीलाई पुज्नेछन्, तिनीहरूको भाग्यमा मैले निष्ठुर मृत्यु लेखिदिएको छु किनभने मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ वा म बोल्दा मेरो कुरा सुनेनौ। मेरो आज्ञा नमान्न र दुष्कर्म गर्न नै तिमीहरूले रोज्यौ। यसकारण म तिमीहरूलाई भन्दछु कि जसले मलाई पुज्दछन् र मेरा आज्ञा मान्दछन्, तिनीहरूले प्रशस्त खान-पान पाउनेछन् तर तिमीहरूचाहिँ भोका र प्यासा हुनेछौ। तिनीहरू खुसी हुनेछन् तर तिमीहरूको अपमान हुनेछ। तिनीहरू आनन्दले गाउनेछन् तर तिमीहरू टुटेका हृदय लिएर रुनेछौ। मेरो चुनेको प्रजाले तिमीहरूको नाम सरापका रूपमा चलाउनेछन्। म सार्वभौम परमप्रभुले तिमीहरूलाई मार्नेछु। तर मेरा आज्ञा मान्नेहरूलाई म एउटा नयाँ नाम दिनेछु। यस देशमा जसले आशिष् माग्दछ, त्यसले विश्वासयोग्य परमेश्वरबाट आशिष् पाउनेछ। जसले शपथ खाँदछ, त्यसले विश्वासयोग्य परमेश्वरको नाममा शपथ खानेछ। बिगत दिनका दु:खहरू बितिजानेछन् र बिर्सिजानेछन्।” परमप्रभु भन्नुहुन्छ, “म नयाँ पृथ्वी र नयाँ आकाश बनाउनेछु। बितेका दिनका कुराहरूको बिलकुलै सम्झना गरिनेछैन। म जे सृजना गर्छु, त्यसमा सधैँ आनन्द गर र रमाओ। मैले सृजना गरेको नयाँ यरूशलेम आनन्दले भरिभराउ हुनेछ र त्यहाँका बासिन्दाहरू खुसी रहनेछन्। यरूशलेम र त्यसका बासिन्दाहरूका कारणले म आफैं पनि खुसी हुनेछु। त्यहाँ रोएका वा सहायता मागेका सोर सुनिनेछैन। “बच्चाहरू सानैमा मर्नेछैनन्, सबै मानिसहरूले पूरा आयु पाउनेछन्। सय वर्ष पुग्नेहरू जवान ठानिनेछन्। त्योभन्दा अघि मर्नुचाहिँ मेरो दण्डको चिनो हुनेछ। मानिसहरू घर बनाएर आफैं बास गर्नेछन्, तिनीहरूलाई धपाएर त्यहाँ अरू कोही बास गर्न पाउनेछैन। तिनीहरूले दाखबारी लाउनेछन् तर दाखमद्य आफैं पिउनेछन्, त्यो अरूले पिउन पाउनेछैन। मेरा मानिसहरू, रूखझैँ धेरै दिन बाँच्नेछन्। आफ्ना मेहनतका फलको तिनीहरूले पूरा आनन्द लिनेछन्। तिनीहरूले हात हालेका काममा तिनीहरू सफल हुनेछन् र तिनीहरूका छोरा-छोरीहरू विपत्तिमा पर्नेछैनन्। तिनीहरू र तिनीहरूका सन्तानलाई म आउँदा दिनमा सदासर्वदा आशिष् दिनेछु। तिनीहरूले मलाई प्रार्थना गर्नु अघि नै म तिनीहरूको प्रार्थनाको उत्तर दिनेछु। ब्वाँसाहरू र थुमाहरूले एकसाथ खानेछन्। सिंहहरूले गाई-गोरुहरूले झैँ पराल खानेछन् र सर्पहरूले धुलो खानेछन् र तिनीहरूले केही हानि गर्नेछैनन्। हे सियोन, मेरो पवित्र डाँडामा केही दुष्ट वा हानि गर्ने कुरा रहनेछैन।”