यशैया 64:5-7
यशैया 64:5-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले खुशीसित ठीक काम गर्छ, र जसले तपाईंको बाटो स्मरण गर्छ, तिनीहरूको सहायता गर्न तपाईं आउनुहुन्छ। तर जब हामीले तिनीहरूका विरुद्धमा पाप गर्दैरह्यौं तब तपाईं रिसाउनुभयो। कसरी हामीहरू बचाइन सक्छौं र? हामी सबै अशुद्ध मानिसझैँ भएका छौं, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन्। हामी सबै पातझैँ ओइलाइहाल्छौं, र हाम्रा पापले हामीलाई बतासले झैँ उड़ाइलैजान्छन्। तपाईंको नाउँ लिने कोही पनि छैन, तपाईंलाई समात्न कसैले प्रयत्न गर्दैन, किनकि तपाईंले आफ्नो मुख हामीदेखि लुकाउनुभएको छ, र हाम्रा पापले गर्दा बेकम्मा पार्नुभएको छ।
यशैया 64:5-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले खुशीसाथ ठिक काम गर्छन्, जसले तपाईंका मार्गहरू सधैँ सम्झन्छन्; तपाईं तिनीहरूको सहायताको निम्ति आउनुहुन्छ। तर जब हामीले तपाईंका मार्गहरूको विरुद्ध पाप गरिरह्यौँ, तब तपाईं हामीसित रिसाउनुभयो। अब हामी कसरी बचाइन सक्छौँ? हामी सबै अशुद्ध थोकझैँ भएका छौँ, र हाम्रा सबै धार्मिक कामहरू फोहोर झुत्राझैँ छन्; हामी सबै पातझैँ ओइलाइहाल्छौँ, र हाम्रा पापहरूले हामीलाई हावाझैँ उडाइलैजान्छन्। कसैले पनि तपाईंको नाम पुकार्दैनन्, न त तपाईंलाई पक्रिरहने उत्कट प्रयास गर्छन्; किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ, र हामीलाई हाम्रा पापहरूकै हातमा छोडिदिनुभएको छ।
यशैया 64:5-7 पवित्र बाइबल (NERV)
तपाईं त्यस्ता मानिसहरूसित हुनुहुन्थ्यो जो काम गर्न मन पराउँथे। ती मानिसहरूले तपाईंले बताउनु भएको बाटो अनुसार गर्दै तपाईंलाई सम्झना गर्छन्। तर अतीतमा हामीले तपाईंको विरूद्ध पाप गर्यौ। यसैकारण तपाईं हामीसित क्रोधित हुनुभयो। अब हामीहरू कसरी बचाइन सक्नेछौं? हामी सबै पापले अशुद्ध भएका छौं। हाम्रा असल कामहरू पनि शुद्ध छैनन्। तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्। हामी ओइलएर झरेका पातहरू झैं छौं। हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ। हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुशरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।
यशैया 64:5-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ठीक कुरो गर्न आनन्द पाउनेहरू र तपाईंको बाटोमा हिँड्नेहरूलाई तपाईंले सहायता गर्नुहुन्छ, तपाईं हामीहरूसित रिसाउनुभयो तर हामीले पाप गरिरह्यौं, तपाईंको महान् क्रोध छँदाछँदै पनि हामीले उहिलेको समयदेखि खराबी गर्दै आएका छौं, हामीले कसरी उद्धार पाउन सक्छौं? हामी सबैले पाप गरेका छौं। हाम्रा उत्तम सम्पूर्ण कार्यहरू पनि पूरै नै मैला थाङ्नाझैँ छन्। हाम्रा पापका कारणले गर्दा हामी ओइलिजाने र बतासले उडाइलैजाने पातझैँ छौं। कोही प्रार्थना गर्न तपाईंतिर फर्कंदैनन्। कोही मद्दतको लागि तपाईंकहाँ जाँदैनन्। हाम्रा पापले गर्दा तपाईं हामीदेखि लुक्नुभएको छ र हामीलाई त्याग्नुभएको छ।