यशैया 46:1-13

यशैया 46:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बेल देवता झुक्‍छ, नेबो देवता निहुरिन्‍छ। भारी बोक्‍ने पशुहरूले तिनीहरूका मूर्तिहरू बोक्‍छन्‌। तिनीहरूले लिएर हिँड़ेका मूर्तिहरू थाकेकाहरूका लागि गह्रौँ बोझजस्‍तै छन्‌। ती निहुरिन्‍छन्, र सँगसँगै झुक्‍छन्‌। तिनीहरूले भारी छुटाउन नसक्‍दा तिनीहरू आफै कैदमा पर्छन्‌। “हे याकूबका घराना, ध्‍यानसित सुन, इस्राएलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेको छु र तँलाई जन्‍मैदेखि बोकेको छु। तिमीहरूको बुढ़ेसकालसम्‍म र कपाल फुलेको अवस्‍थासम्‍म म त्‍यही हुँ, म त्‍यही हुँ जसले तँलाई थाम्‍नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु। “तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ, अथवा कसको बराबरी गन्‍नेछौ? मलाई कोसित दाँज्‍छौ र हामी तुलना गरिनेछौं। कसै-कसैले थैलाबाट सुन खन्‍याउँछन्‌ र चाँदी तराजूमा जोख्‍छन्‌ र एउटा सुनारलाई ज्‍यालामा लगाएर त्‍यसबाट तिनीहरू देवता बनाउँछन्‌ र तिनीहरू त्‍यसको सामुन्‍ने घोप्‍टो पर्छन्‌ र त्‍यसलाई पुज्‍छन्‌। तिनीहरू त्‍यसलाई काँधमा हाली बोकेर लैजान्‍छन्, र त्‍यसलाई त्‍यसको स्‍थानमा राख्‍छन्, र त्‍यो त्‍यहाँ खड़ा रहन्‍छ। त्‍यस ठाउँबाट त्‍यो आफै सर्न सक्‍दैन। कसैले त्‍यसको सामुन्‍ने पुकारा गरे तापनि त्‍यसले जवाफ दिँदैन, त्‍यसले त्‍यसको दु:खदेखि बचाउन सक्‍दैन। “हे बागी हो, यस कुरालाई सम्‍झ, र मनमा दृढ़ पार र हृदयमा राख। अघि-अघिका पुराना कुराहरूलाई सम्‍झ। म परमेश्‍वर हुँ, र अरू कोही छैनँ। म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन। आदिदेखि अन्‍तसम्‍मको, र प्राचीन समयदेखि हुन आउनेसम्‍मको जानकारी म दिन्‍छु। म भन्‍छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु। पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढ़ा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्‍यो म गर्नेछु। मैले जे योजना बनाएको छु, म त्‍यो गर्ने नै छु। हे हठी हृदयका र धार्मिकताबाट टाढ़ा रहेका हो, मेरो कुरा ध्‍यानसित सुन। म आफ्‍नो धार्मिकता नजिक ल्‍याइरहेछु, त्‍यो टाढ़ा छैन, र मेरो उद्धारले बियाँलो गर्नेछैन। म सियोनलाई उद्धार प्रदान गर्नेछु। मेरो ऐश्‍वर्य इस्राएललाई प्रदान गर्नेछु।

शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्

यशैया 46:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ; तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्। तिनीहरूले लिएर हिँडेका मूर्तिहरू थाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्। त्यस भारबाट मुक्त हुन नसकेर तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्; तिनीहरू आफैँ कैदमा गइहाल्छन्। “हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्, इस्राएलका घरानाका बाँचेकाहरू सबै, जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु, र जन्मेको घडीदेखि नै मैले बोकेको छु। तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ; म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ। मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु; म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु। “तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ? मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ? कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन् र तराजुमा चाँदी जोख्छन्; तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्, र घोप्टेर त्यसलाई पुज्छन्। त्यसलाई काँधमा उठाएर बोक्छन्; अनि त्यसलाई त्यसको ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ। त्यस ठाउँबाट त्यो यताउता चल्न सक्दैन। कसैले त्यसलाई पुकार गर्‍यो भने तापनि त्यसले जवाफ दिन सक्दैन; त्यसले तिनीहरूलाई विपत्तिबाट बचाउन सक्दैन। “हे बागीहरू हो, यो याद राख, मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख। ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ; किनकि म परमेश्‍वर हुँ, अरू कोही पनि छैन; म परमेश्‍वर हुँ, मजस्तो अरू कोही पनि छैन। म अन्तिमका कुराहरू पहिल्यैदेखि नै; र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु। म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ, र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’ पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु; मेरो उद्देश्य पूरा गर्नलाई टाढा देशबाट मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्यो म गर्नेछु; मैले जे योजना गरेको छु, त्यो म गर्नेछु। हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन; तिमीहरू, जो धार्मिकताबाट टाढा छौ। म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु; यो टाढा छैन, र मेरो उद्धार ढिलो हुनेछैन। मेरो उद्धार सियोनलाई दिनेछु, मेरो गौरव इस्राएललाई दिनेछु।

शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्

यशैया 46:1-13 पवित्र बाइबल (NERV)

बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्। “मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्। ती झूटा देवताहरू झुक्नेछन तिनीहरू सबै पतन हुनेछन्। ती झूटा देवताहरू उम्किन पाउने छैनन्। तिनीहरू सबैलाई कैदीहरू सरह ल्याइनेछ। “हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ। जब तिमीहरू जन्मियौ मैले बोकेर ल्याएँ अनि जब तिमीहरू वृद्ध हुनेछौ म बोकी नै रहनेछु। तिमीहरूका कपालहरू सेतै पाकी सक्नेछ, त्यति बेला पनि म तिमीहरूलाई बोकी नै रहने छु, किनभने मैले तिमीहरूलाई बनाएको हुँ। म लगातार तिनीहरूलाई बोकी रहनेछु अनि म तिमीहरूलाई बचाउनेछु। “के तिमीहरू मलाई अरू कुनै चीजसित तुलना गर्न सक्छौ? अँहँ कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन्। कतिपय मानिसहरू सुन र चाँदीको धनी छन्। सुन तिनीहरूको थैलोबाट झर्छ, अनि तिनीहरूले चाँदी तराजुमा तौलन्छन्। ती मानिसहरूले काठबाट झूटा देवताहरू बनाउनलाई शिल्पकारहरूलाई पैसा दिँदछन्। त्यसपछि ती मानिसहरू नतमस्तक भएर झूटा देवता पूज्दछ। ती मानिसहरू आफ्ना काँधमा ती झूटा देवताहरू बोक्छन्। झूटो देवता अर्थहीन हो। मानिसहरूले यसलाई बोक्नु पर्छ। मानिसहरू भूईंमा मूर्ति उभ्याउँछन्। अनि झूटो देवता त्यहाँबाट हिँडन सक्तैन्। झूटा देवता मूर्ति मात्र हो। यसले मानिसहरूलाई सङ्कटबाट रक्षा गर्न सक्दैन्। मानिसहरू त्यससित चिच्याउँछन् तर कुनै उत्तर पाउँदैनन्। झूटो देवता मात्र मूर्ति हो। यसले मानिसहरूलाई तिनीहरूको समस्याबाट रक्षा गर्न सक्तैन्। “तिमीहरूले पाप गरेकाछौ, तिमीहरूले ती कुराहरूको बारेमा फेरि विचार गर्नुपर्छ। ती कुराहरूलाई सम्झ र बलियो हौ। त्यो धेरै बर्ष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्। “शुरूमा मैले जो कुराहरू भनें ती अन्तमा हुनेछन्। धेरै बर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु। अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। ऊ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनिरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु। “तिनीहरू कतिजनाले सोच्छौ कि तिमीसँग ठूलो शक्ति छ, मलाई ध्यान दिएर सुन्। तर तिमीले राम्रो कामहरू गरेनौ। म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”

शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्

यशैया 46:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“बेबिलोनका देवताहरूको अन्‍त यही हो! एक समयमा बेल र नेबो देवताको पूजा गरिन्‍थ्‍यो, तर अहिले ती गधाहरूमाथि लादिएका छन्, थाकेका पशुहरूका पिठ्युँमा ती बोझ बनेका छन्। मूर्तिहरूले आफैंलाई बचाउन सक्‍दैनन्, ती कब्‍जा गरिएर लगिंदै छन्। बेबिलोनका देवी-देवताहरूको अन्‍त यही हो! “हे याकूबका सन्‍तानहरू हो, मेरो कुरा सुन। मेरा प्रजाबाट बाँकी रहेका सबैले सुन। तिमीहरू जन्‍मेको घडीदेखि मैले तिमीहरूको हेरचाह गरेको छु। म तिमीहरूका परमेश्‍वर हुँ, तिमीहरू बुढो भएर केश पाक्‍दा पनि म तिमीहरूको हेरचाह गर्नेछु। मैले तिमीहरूलाई बनाएँ र तिमीहरूको हेरचाह गर्नेछु, म तिमीहरूलाई मद्दत गर्नेछु र छुटकारा दिनेछु। “तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ?” परमप्रभु सोध्‍नुहुन्‍छ, “के मजस्‍तो अरू कोही छ? मानिसहरूले आफ्‍ना थैलाहरू खोल्‍छन् र सुन निकाल्‍छन्, तराजुमा चाँदी जोख्‍छन्। सुनारलाई ज्‍याला दिएर देवताको मूर्ति बनाउन लगाउँछन् र घोप्‍टेर त्‍यसलाई पुज्‍छन्! तिनीहरूले त्‍यसलाई काँधमा लिएर बोक्‍छन्, त्‍यसका ठाउँमा राख्‍छन् र त्‍यो त्‍यहाँ खडा रहन्‍छ। त्‍यहाँबाट त्‍यो यताउता सर्न सक्‍दैन। कसैले त्‍यसलाई प्रार्थना गर्‍यो भने त्‍यसले उत्तर दिन सक्‍दैन वा कुनै आपत्-विपत्तिबाट जोगाउन सक्‍दैन। “हे पापीहरू हो, याद राख। मैले के गरें, सो विचार गर। धेरै अघि नै के भएको थियो, त्‍यो याद गर। म मात्र परमेश्‍वर हुँ र अरू कोही मजस्‍तो छैन भनी स्‍वीकार गर। सुरुदेखि नै अन्‍तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु, मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन् र आफ्‍नो इच्‍छाअनुसार म सबै कुरा गर्नेछु। मैले एउटा मानिसलाई पूर्वबाट बोलाएको छु, बाजझैँ झम्‍टेर आउनेछ र मेरो युक्ति पूरा गरिदिँदछ। म बोलेको छु र यो हुन्‍छ नै। “ए ढिट मानिसहरू हो, मेरो कुरा सुन। उद्धार टाढै छ भनी तिमीहरू ठान्‍छौ। म उद्धारको दिन नजिक ल्‍याउँदै छु, त्‍यो टाढा छँदैछैन। मेरो उद्धार ढीलो हुनेछैन, म यरूशलेमलाई बचाउनेछु र इस्राएललाई आदर दिनेछु।”

शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्