यशैया 43:11-28
यशैया 43:11-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन। मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूका बीचमा मैले यो गरेको हुँ, अन्य ईश्वरले होइन। तिमीहरू मेरा साक्षी हौ, कि म नै परमेश्वर हुँ,” परमप्रभु भन्नुहुन्छ। “हो, प्राचीन समयदेखि नै म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, त्यसलाई कसले उल्टाउन सक्छ?” परमप्रभु तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ: “तिमीहरूका खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु। म सबै बेबिलोनीहरूलाई उनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्याउनेछु। म परमप्रभु, तिमीहरूका परमपवित्र, इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।” परमप्रभु यही भन्नुहुन्छ— “समुद्रमा बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू जो फेरि उठ्न नसक्ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए: “बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु। जङ्गली जनावरहरू, स्यालहरू र लाटोकोसेराहरूले मेरो इज्जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्छु, त्यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून् भनेर मेरो निम्ति मैले बनाएँ। “तापनि हे याकूब, तैंले मलाई पुकारा गरेको छैनस्। हे इस्राएल, तँ मेरो निम्ति थकित भएको छैनस्। तैंले होमबलिको लागि भेड़ा ल्याएको छैनस्, न त आफ्ना बलिदानले तैंले मलाई मेरो इज्जत गरेको छस्। अन्नबलि चढ़ाएर मेरो सेवा गर्नलाई मैले तँलाई भार लगाएको छैनँ, न त धूप मागेर तँलाई थकाएको छु। तैंले मेरो निम्ति बास्ना आउने बोझो किनेर ल्याएको छैनस्, तेरा बलिदानहरूको बोसोले मलाई तृप्त पारेको छैनस्। तर तैंले मलाई तेरा पापले भार लगाएको छस्। तेरा अधर्मले गर्दा मलाई तैंले थकाएको छस्। “म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्नै खातिर मेटिदिन्छ, र तेरा पापहरूलाई सम्झँदैन। मेरो निम्ति बितेको कुराको पुनर्विलोकन गर। हामी आपसमा यी कुरा छलफल गरौं। तँ निर्दोष ठहरिनलाई आफ्नो कुरा पेश गर्। पहिलेको तेरो पिताले पाप गर्यो, र तेरा प्रवक्ताहरू मेरो विरुद्धमा बागी भए। यसैले तेरो मन्दिरका उच्च पदाधिकारीहरूलाई म शर्ममा पार्नेछु, र याकूबलाई नष्ट र इस्राएललाई निन्दित हुनलाई म सुम्पिदिनेछु।
यशैया 43:11-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म हुँ, म नै याहवेह हुँ। मबाहेक अरू कुनै उद्धारकर्ता छैन। मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूबीच भएको कुनै परदेशी देवताले होइन। मेरा साक्षी तिमीहरू नै हौ,” भनी याहवेह घोषणा गर्नुहुन्छ, कि, “म नै परमेश्वर हुँ, हो, प्राचीनकालदेखि म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?” याहवेह, तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्वर भन्नुहुन्छ— “तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु; अनि सबै बेबिलोनीहरूलाई तिनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्याउनेछु। म नै याहवेह, तिमीहरूका पवित्र परमेश्वर, इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।” याहवेह यसो भन्नुहुन्छ, जो समुद्रबाट बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, रथ र घोडाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए; सलेदो निभाइएझैँ निभाइएका थिए: “पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ। हेर, म एउटा नयाँ काम गर्दैछु! अहिले नै यो प्रष्ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र उजाडभूमिमा खोलाहरू बनाउँदैछु। जङ्गली जनावरहरू, स्यालहरू र उल्लुहरूले मलाई आदर गर्छन्; किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति मरुभूमिमा पानी र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु। मैले आफ्नै निम्ति रचेको जातिको निम्ति, ताकि तिनीहरूले मेरो प्रशंसा घोषणा गरून्। “तापनि हे याकोब, तैँले मलाई पुकार गरेको छैनस्; हे इस्राएल, तैँले मेरो निम्ति आफैँलाई थकित पारेको छैनस्। तैँले मेरो निम्ति होमबलिको भेडा ल्याएको छैनस्, न त आफ्ना बलिदानहरूद्वारा मेरो आदर नै गरेको छस्। मैले तँलाई अन्नबलिको बोझ बोकाएको छैनँ, न त धूपको माग गरेर तँलाई थकित पारेको छु। तैँले मेरा निम्ति बास्ना आउने बोझो ल्याएको छैनस्, न त बलिदानका बोसोहरूमा धेरै खर्च गरेको छस्। तर तैँले मलाई आफ्ना पाप बोकाएको छस्; अनि तेरा अपराधहरूले मलाई थकित पारेको छस्। “म उही हुँ, जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु, र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ। मेरो निम्ति पहिलेका कुरा विचार गर्, हामी आपसमा यस विषयमा तर्क गरौँ; तेरो निर्दोषताको मुद्दा बता। पहिलेका तेरो पुर्खाले पाप गरे; तेरा प्रवक्ताहरूले मेरो विद्रोह गरे। यसकारण म तेरो मन्दिरका उच्च शासकहरूलाई अपमान गर्नेछु; अनि याकोबलाई नाशको निम्ति र इस्राएललाई गिल्लाहका निम्ति सुम्पिदिनेछु।
यशैया 43:11-28 पवित्र बाइबल (NERV)
म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही पनि मुक्तिदाता छैन। म एकजना हुँ जसले तिनीहरूसित बोल्यो। मैले तिमीलाई बचाएँ, मैले ती कुराहरू भनें। त्यो तिमीसित जो थियो नयाँ वस्तु होइन। तिमी म साक्षी हौ अनि मेरो तिम्रो परमेश्वर हुँ।” परमप्रभु आफैंले यी कुरा भन्नुभयो, “म सधैँ नै परमेश्वर रहेको छु। जब म कुनै काम गर्छु, कसैले पनि त्यो मैले गरेको कुरा बद्लिन सक्तैनँ। अनि कसैले पनि मानिसहरूलाई मेरो शक्तिबाट बचाउनँ सक्तैन।” परमप्रभु, इस्राएलका परम-पवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। (कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।) म परमप्रभु तिमीहरूका परम-पवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।” परमप्रभुले समुद्रमा बाटोहरू बनाउनु हुनेछ। उहाँले धमिलो पानीबाट पनि आफ्ना मानिसहरूको लागि बाटो बनाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “मानिसहरू ज-जसले मेरो विरूद्ध तिनीहरूको रथहरू, घोडाहरू, र सेनाहरू सहित लड्ने छन तिनीहरू पराजित हुनेछन्। तिनीहरू फेरि उठ्न सक्ने छैनन तिनीहरू नष्ट हुनेछन्। तिनीहरू मैनबत्ती जस्तो थामिने छन्। यसकारण जो शुरूमा भएको थियो त्यसलाई नसम्झ। धेरै बर्ष अगडी जे भइसकेको छ त्यसलाई नसोच। किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पालुवा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चि नै मरुभूमिमा बाटो बनाउने छु। म साँच्चि नै सुख्खा जग्गाहरूमा नदीहरू बगाउनेछु। यसले गर्दा जङ्गली पशुहरू सम्मले मलाई धन्यवाद प्रकट गर्नेछन्। विशाल पशुहरू र चराहरूले पनि मप्रति धन्यवाद प्रकट गर्नेछ। तिनीहरूले मलाई सम्मान गर्नेछन् जब म मरुभूमिमा पानी पार्नेछु। म यसो गर्नेछु मेरा मानिसहरूलाई पानी दिनलाई-जसलाई मैले रोजे। ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्। “याकूब, तिमीले मेरो पुकारा गरेनौ। किनभने तिमी इस्राएलीहरू मसँग थकित भएकाछौ। तिमीहरूले मेरो लागि होमबलि चढाउनलाई आफ्नो भेंडा़ ल्याएनौ। तिमीहरूले मेरो सम्मान गरेनौ। तिमीहरूले मेरोलागि बलि चढाएनौ। मैले बलिहरू चढाऊ भनेर जबरजस्ती गरिनँ। मैले धूपहरू सत्काउनु भनेर कर लगाइन जब सम्म तिमीहरू थकित भयौ। यसर्थ मेरो सम्मानकोलागि तिमीहरूले आफ्नो पैसाले केही पनि किनेनौ, तर तिमीहरूले मलाई आफ्नो पापको भारी बोकायौ। तिमीहरूले त्यतिन्जेल पाप गर्यौ जब सम्म म तिमीहरूका नराम्रा कुराहरूले अत्यन्त कमजोर भईन्। “म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्। तर तिमीहरूले मलाई सम्झनु पर्छ। हामी एकै साथ भेला हुनुपर्छ अनि निर्णय लिनुपर्छ जसले गर्दा तिमीहरू आफ्नो स्थिति प्रस्तुत गर्न सक्छौ अनि हामी के सही हो निर्णय लिनु सक्छौं। तिमीहरूका पहिले पिता-पुर्खा पापी थिए। अनि तिमीहरूका वकीलहरूले मेरो विरूद्ध कुराहरू गरे। यसकारण म पवित्र शासकहरूलाई अपवित्र बनाउनेछु अनि याकूबलाई गाली गर्नेछु। नराम्रा घटनाहरू इस्राएलमा हुनेछन्।”
यशैया 43:11-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“म एक मात्र परमप्रभु हुँ, मबाहेक बचाउन सक्ने अरू कोही पनि छैन। के-के हुनेछ, त्यो मैले अघिबाटै भनें र तिमीहरूलाई मद्दत गर्न आएँ। कुनै विदेशी देवताले त्यसो कहिल्यै गरेको छैन– तिमीहरू मेरा साक्षी हौ। म परमेश्वर हुँ र सदा रहिरहनेछु। कोही मेरो शक्तिबाट भाग्न सक्दैन, कसैले मेरो काम बदल्न सक्दैन।” इस्राएलका पवित्र परमेश्वर, तिमीहरूलाई बचाउनुहुने परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई बचाउन म बेबिलोनको विरुद्धमा एउटा सेना पठाउनेछु, म सहरका मूल-ढोकाहरू फोडिदिनेछु र त्यहाँका मानिसहरूको सोर रुवाइमा फेरिनेछ। म परमप्रभु, तिमीहरूका पवित्र परमेश्वर हुँ। हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूको सृष्टि गरें, म तिमीहरूको राजा हुँ।” उहिल्यै परमप्रभुले सागर बीचबाट भएर जाने एउटा बाटो बनाउनुभयो, उर्लंदो पानीको बीच भएर जाने एउटा मार्ग। एउटा शक्तिशाली सेनालाई रथ र घोडाहरूका सेनालाई उहाँले नाश पार्नुभयो। तिनीहरू कहिल्यै नउठ्ने गरी लोटे, दियोको ज्वाला निभाएझैँ तिनीहरू निभाइए! तर परमप्रभु भन्नुहुन्छ, “बितेका कुराहरू याद नगर, उहिलेका घटनाहरू सम्झिनबस्। मैले के नयाँ कुरा गर्दै छु, त्यो हेर। त्यो कुरा भइरहेको छ, त्यो अहिले तिमीहरू देख्न सक्छौ! म उजाड-भूमिका बीचबाट एउटा बाटो निकाल्नेछु, त्यहाँ खोला बहाउनेछु। जङ्गली जनावरहरूले पनि मलाई आदर गर्नेछन् अनि स्याल र शुतुरमुर्गले मेरो प्रशंसा गाउनेछन्, जुन बेला आफ्ना छानेको प्रजालाई पानी दिन म मरुभूमिमा खोलाहरू बहाउनेछु। ती मैले आफ्नै निम्ति सृजेका मानिसहरू हुन् र तिनीहरूले मेरो प्रशंसा गाउनेछन्!” परमप्रभु भन्नुहुन्छ, “ए इस्राएल, तँ मसित थाकिसकेको थिइस्, तैँले मलाई पुकार्दैनथिस्, तैँले मलाई भेडाको होमबलि चढाउँदैनथिस् तैँले बलि चढाएर मेरो आदर गर्दैनथिस्। मैले भेटीहरू मागेर तँलाई भार दिएको थिइनँ, न त धूप-बत्ती मागेर तँलाई थकाउँथें। तैँले मेरो निम्ति धूप किन्दैनथिस् न त तेरो बलिका बोसोले मलाई सन्तुष्ट पार्दथिस्। त्यसका सट्टामा तैँले मलाई तेरो पापको बोझ बोकाउँथिस्, आफूले गरेको अपराधले तैँले मलाई थकाउँथिस्। तर पनि म तेरा पाप क्षमा दिने परमेश्वर हुँ, म मेरै खातिर यो सबै गर्दछु, म तेरा पापको कति पनि याद गर्नेछैनँ। “आइज, हामी बितेका कुराहरू दोहोर्याएर छलफल गरौं! तँ ठीक छस् भनी प्रमाण दिन आफ्ना मुद्दा पेश गर्! तेरा पहिलेका पुर्खाले पाप गरे, तेरा अगुवाहरूले मेरो विरुद्ध पाप गरे, यसकारण मैले पवित्रस्थानका अधिकारीहरूलाई लाजमा पारेको थिएँ। मैले इस्राएलमाथि विनाश ल्याएको थिएँ, मैले आफ्नै प्रजालाई बदनाम हुन दिएको थिएँ।”