यशैया 2:1-15
यशैया 2:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेका कुरा यही हो: पछिल्ला दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र सबै जातिहरू त्यहीँ ओइरिएर आउनेछन्। धेरै मानिसहरूले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौं।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन्। उहाँले जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्। हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्योतिमा हिँड़ौं। तपाईंले आफ्नो प्रजा, अर्थात् याकूबको घरानालाई त्याग्नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्धविश्वासले भरिएका छन्। तिनीहरू पलिश्तीहरूझैँ जोखना हेराउँछन्। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्। तिनीहरूको देश सुन र चाँदीले भरिएको छ, तिनीहरूका धनको अन्तै छैन। तिनीहरूको देश घोड़ाहरूले भरिएको छ। तिनीहरूका रथहरूको केही गन्ती नै छैन। तिनीहरूको देश मूर्तिले भरिएको छ। आफ्नै हातका कामलाई तिनीहरू पुज्दछन्, तिनीहरूका आफ्नै औँलाले बनाएका कुरालाई। यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्। परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक! मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ। सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्नेहरूमाथि सर्वशक्तिमान् परमप्रभुको यस्तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्याइनेछन्), लेबनानका सारा अग्ला र उच्च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि, सबै पर्वतहरू, र अग्ला डाँड़ाहरूमाथि, हरेक उच्च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि
यशैया 2:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो: अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ, र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्। धेरै जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्। उहाँले राष्ट्रहरूका बीचमा न्याय गर्नुहुनेछ; अनि धेरै जतिहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्। हे याकोबका घराना, आओ, र हामी याहवेहको ज्योतिमा हिँडौँ। हे याहवेह, तपाईंले आफ्नो प्रजा याकोबका घरानालाई त्याग्नुभएको छ। तिनीहरू पूर्वका अन्धविश्वासले भरिएका छन्; तिनीहरू पलिश्तीहरूले झैँ जोखना हेर्छन् र तिनीहरूका रीतिरिवाज अपनाउँछन्। तिनीहरूको देश चाँदी र सुनले भरिएको छ, तिनीहरूको धनसम्पत्ति अपार छ। तिनीहरूको देशमा घोडाहरू प्रशस्त छन्; तिनीहरूका रथहरूको गन्ती छैन। तिनीहरूको देशभरि मूर्तिहरू छन्; तिनीहरू आफ्ना हातका कामहरू, र आफ्ना औँलाले बनाएका कुराहरूका सामु निहुरिन्छन्। यसकारण मानिस होच्याइनेछ, र हरेकलाई नम्र तुल्याइनेछ— यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्! याहवेहको डरबाट र उहाँको सर्वश्रेष्ठताको प्रतापबाट चट्टानभित्र पस्, माटोमुनि लुक्! घमण्डीका आँखालाई नम्र तुल्याइनेछ; अनि मानिसहरूको अहङ्कार तल झारिनेछ। त्यस दिन याहवेह मात्र उच्च पारिनुहुनेछ। सबै अभिमानी र वैभवशालीहरूका निम्ति, र उच्च पारिएकाहरू सबैका निम्ति, सेनाहरूका याहवेहले एउटा दिन साँचेर राख्नुभएको छ। त्यस दिन तिनीहरू विनम्र तुल्याइनेछन्। लेबनानका सबै अग्ला र ठूला देवदारु, र बाशानका सबै फलाँटका रूखहरूका निम्ति, धरहराझैँ उठेका सबै पर्वत, र सबै अग्ला डाँडाहरूका निम्ति, प्रत्येक ठूला धरहरा, र प्रत्येक सुरक्षित पर्खालका निम्ति
यशैया 2:1-15 पवित्र बाइबल (NERV)
आमोसको छोरो यशैयाले यहूदा र यरूशलेमको विषयमा यो सन्देश देखे। अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर, सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्। धेरै मानिसहरू त्यहाँ जानेछन् र तिनीहरूले भन्नेछन्, “आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊँ, माथि याकूबको परमेश्वरको मन्दिरमा। अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ। अनि हामीले उहाँलाई पछ्याउनेछौं।” परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ। त्यसपछि परमेश्वर नै सबै जातिहरूकालागि न्यायाधिश हुनुहुनेछ। उहाँले विवादका कुराहरू मानिसहरूकै लागि अन्त गर्नुहुनेछ। ती मानिसहरूले लडाइँ गर्ने आफ्ना हात-हतियारहरू बन्द गर्नेछन्। तिनीहरूले आफ्ना तरवारबाट हलोको फाली बनाउनेछन्। अनि तिनीहरूका आफ्ना चलाउने भालाहरूबाट घाँस काट्ने हँसिया बनाउनेछन्। मानिसहरू एक अर्कोको विरूद्धमा लडाइँ लड्न छाड्ने छन्। मानिसहरूले फेरि कहिल्यै पनि युद्धकालागि तालिम लिने छैनन्। याकूबको सन्तानहरू, तिमीहरूले परमप्रभुलाई पछ्याउनु नै पर्छ। म तिमीलाई यो भन्छु किनभने तिमीले आफ्ना सन्तानहरू छोड्यौ। तिम्रा मानिसहरू पूर्वका मानिसहरू जस्तो भूल विचारले भरिएकाछन्। तिम्रा मानिसहरू पलिश्तीहरूले जस्तै भविष्यवाणी गर्ने चेष्टा गर्दैछन्। तिम्रा मानिसहरूले विदेशी विचार सम्पूर्ण रूपले स्वीकार गरिरहेका छन्। अन्य देश भन्दा तिमीहरूको देश सुन र चाँदीले भरिएको छ। त्यहाँ धेरै भन्दा धरै राजकोषहरू छन्। तिमीहरूका देश घोडाहरूले भरिएका छन्। त्यहाँ अनगन्ती रथहरू छन्। तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्। मानिसहरू तुच्छ भन्दा पनि तुच्छ बनिए। मानिसहरू अत्यन्त नीच भए। परमेश्वर निःसन्देह तपाईंले तिनीहरूलाई क्षमा दिनु हुने छैन? जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लुक्नु पर्नेछ! घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफैं आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ। परमप्रभुसँग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्। ती घमण्डीहरू लबानोनका देवदारूको अग्ला रूखहरू जस्ता हुन्। तिनीहरू बाशानका फलाँट जस्ता हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। ती घमण्डी मानिसहरू अग्ला पर्वतहरू र उच्च पहाडहरू जस्ता हुन्। ती घमण्डी मानिसहरू अल्गो धरहरा र दरिलो पर्खालहरू जस्तै हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने छ।
यशैया 2:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आमोजक छोरो यशैयालाई यहूदा र यरूशलेमबारे परमेश्वरले दर्शनमा दिनुभएको सन्देश यही हो: आउँदा दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबैभन्दा उच्च पर्वत हुनेछ। त्यो सबै डाँडाहरूभन्दा अग्लो हुनेछ। सबै जातिहरू ओइरिएर त्यहाँ आउनेछन् र ती मानिसहरूले यसो भन्नेछन्, “हामी परमप्रभुको पर्वत उक्लेर इस्राएलका परमेश्वरको मन्दिरमा जाऔं। उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाई दिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिँड्नेछौं किनभने परमप्रभुको शिक्षा यरूशलेमबाट आउँदछ र सियोनबाट फैलिनेछ र उहाँ आफ्ना प्रजासँग बोल्नुहुनेछ।” जातिहरू बीचका मुद्दाहरू उहाँले छिनोफानो गर्नुहुनेछ। तिनीहरूले आ-आफ्ना तरवार पिटेर हलोको फाली र भाला पिटेर हँसिया बनाउनेछन्। जाति-जातिहरूका बीच लडाइँ हुनेछैन, तिनीहरूले फेरि कहिल्यै युद्धको तयारी गर्नेछैनन्। अब हे याकूबका सन्तान हो, परमप्रभुले दिनुभएको ज्योतिमा हामी हिँडौं! हे परमेश्वर, तपाईंले आफ्ना प्रजा याकूबका सन्तानलाई त्याग्नुभएको छ! त्यो देश पूर्वका र पलिश्तीहरूका जादूगरीका रीतिथितिले भरिएको छ। त्यहाँका बासिन्दाहरूले विदेशीहरूसँग सम्बन्ध राख्छन्। तिनीहरूको देश सुन र चाँदीले भरिएको छ र तिनीहरूलाई धनको केही कमी छैन। तिनीहरूको देश घोडाहरूले भरिभराउ छ र तिनीहरूका रथहरूको केही हिसाबै छैन। तिनीहरूको देश मूर्तिले भरिएको छ र तिनीहरूले आफ्ना हातले बनाएका मूर्तिको पूजा गर्दछन्। त्यसले गर्दा सबैको अपमान र बदनाम हुनेछ। हे परमप्रभु, तिनीहरू कसैलाई क्षमा नगर्नुहोस्! परमप्रभुको क्रोधबाट बाँच्न र उहाँका महिमा र शक्तिबाट लुक्न तिनीहरू चट्टान र पहराका गुफामा पस्नेछन्। त्यो दिन आउँदै छ, जब मानिसको घमण्डको अन्त हुनेछ र अहङ्कार नाश हुनेछ। तब परमप्रभुको मात्र बढिबढाउ हुनेछ। त्यस दिन सर्वशक्तिमान् परमप्रभुले शक्तिशाली, घमण्डी र अहङ्कारी हरेकको सेखी झार्नुहुनेछ। उहाँले लेबनानका अग्ला देवदारुहरू र बाशान देशका सारा फलाँटका रूखहरू नाश गर्नुहुनेछ। अग्ला पर्वत र डाँडाहरू उहाँले सम्म पार्नुहुनेछ। हरेक धरहरा र हरेक किल्लाका पर्खाल उहाँले होच्याउनुहुनेछ।