यशैया 14:3-14

यशैया 14:3-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब परमप्रभुले तिमीहरूको दु:ख, कष्‍ट र कठोर बन्‍धनबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ, तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: अत्‍याचारीको कसरी पतन भयो! त्‍यसको रीसको अन्‍त कसरी भयो! परमप्रभुले दुष्‍टहरूको लहुरो भाँचिदिनुभयो, शासन गर्नेहरूको राजदण्‍ड, जसले मानिसहरूलाई रीसमा लगातार हिर्काइरहन्‍थ्‍यो र रोक्‍न नसक्‍ने सतावटसाथ झोँकमा जाति-जातिहरूलाई दमन गर्थ्‍यो। सबै देशहरूले विश्राम र शान्‍ति पाएका छन्‌। तिनीहरू गाउन लागेका छन्‌। सल्‍लाका रूखहरू र लेबनानका देवदारुहरू तँलाई हेरी यसो भनेर रमाउँछन्, “तँ ढालिएकोदेखि यसो हामीलाई काट्‌न कोही रूख काट्‌ने आएको छैन।” तेरो आगमनमा तँलाई भेट्‌न चिहान पनि तेरो निम्‍ति चलमलाएको छ। त्‍यसले मरेर बिदा भइसकेका आत्‍माहरूलाई पनि तँलाई स्‍वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्‍यसले उनीहरूलाई आफ्‍ना सिंहासनबाट उठ्‌न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए। उनीहरू सबैले तँलाई जवाफ दिएर भन्‍नेछन्, “तँ पनि हामीजस्‍तै निर्बल भएको छस्‌। तँ हामीजस्‍तै भएको छस्‌।” तेरा सबै रवाफ त तेरा वीणाको गुञ्‍जनसँगै चिहानमा झारिएका छन्‌। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्‌ने भएका छन्‌। ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌। तैंले आफ्‍नो हृदयमा भनिस्, “म स्‍वर्गमा उक्‍लनेछु। परमेश्‍वरका ताराहरूभन्‍दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु। पवित्र पर्वतको सबैभन्‍दा उच्‍च टाकुरामा सभासद्‌को पर्वतमा म विराजमान हुनेछु। म बादलको टुप्‍पाभन्‍दा माथि उक्‍लनेछु, म आफूलाई सर्वोच्‍च परमेश्‍वर जत्तिकै बनाउनेछु।”

शेयर गर्नुहोस्
यशैया 14 पढ्नुहोस्

यशैया 14:3-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले तिमीहरूलाई कष्‍ट, चिन्ता र कठिन परिश्रमबाट मुक्त गर्नुभएको दिन, तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: अत्याचारी कसरी नाश भयो! त्यसको अत्याचार कसरी समाप्‍त भयो! याहवेहले दुष्‍टको लहुरो, शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ। जसले रिसमा मानिसहरूलाई लगातार मुक्‍का लगाइरहन्थ्यो; अनि रिसमा राष्ट्रहरूलाई लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो। सारा देश विश्राम र शान्तिमा छ; तिनीहरू गीत गाइउठ्छन्। सल्‍लाका रूखहरू र लेबनानका देवदारुसमेत तिमीहरूको अवस्था देखेर रमाउँछन् र भन्छन्, “अब तँ ढलिगएको कारणले काठको काम गर्ने कोही पनि आएर हामीलाई ढाल्दैनन्।” तेरो आगमनको प्रतीक्षामा पाताल पनि उत्प्रेरित भएको छ; त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— संसारका अगुवा भएर रहेका थिए; यसले एक पल्ट जातिहरूमाथि राजा भएकाहरूलाई तिनीहरूका सिंहासनबाट उठाउँछ। तिनीहरू सबैले जवाफ दिएर तँलाई यसो भन्‍नेछन्, “तँ अब हामीजस्तै कमजोर भएको छस्; तँ हामीजस्तै भइस्।” तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्। हे बिहानको तारा, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसेको छस्! जातिहरूलाई होच्याउने, तँ पृथ्वीमा फ्याँकिएको छस्! तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्‍वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्‍च स्थानमा विराजमान हुनेछु। म बादलहरूभन्दा माथि उक्लनेछु; म आफैँलाई सर्वोच्‍च परमेश्‍वर बराबर बनाउनेछु।”

शेयर गर्नुहोस्
यशैया 14 पढ्नुहोस्

यशैया 14:3-14 पवित्र बाइबल (NERV)

परमेश्वरले तिमीहरूका अप्ठेरा कामहरू लिनु हुनेछ र तिमीहरूलाई आराम दिनुहुनेछ। पहिले तिमीहरू कमारा-कमारीहरू थियौ। मानिस जातिहरूले तिमीहरूलाई जबरजस्ती नसक्ने कामहरू गर्न लगाए। तर परमप्रभुले ती दुःखका दिनहरू अन्त गरिदिनु भयो। त्यस बेला तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो। तर अब उसको शासन समाप्त भयो। परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ। परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ। बाबेलका राजा रिसाउँदा मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो। ती दुष्ट शासकहरूले, मानिसहरूलाई लगातर कष्ट दिइरहे। तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्। अहिले जनताहरूले उत्सव मनाउन थाले। तिमी एकजना पापी राजा हौ, र अहिले तिमी समाप्त भएकाछौ। सल्लाका रूखहरूसमेत आनन्दित छन्। लबानोनको देवदारका रूखहरू पनि आनन्दित छन्। ती रूखहरू भन्दछन्, “राजाले हामीलाई ढाले। तर अहिले राजा आफै ढलेका छन् फेरि कहिल्यै उठ्नु हुने छैन्।” पातल उत्तेजित छ, किनभने तिमीहरू आइरहेका छौ। तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ। पातलले राजाहरूलाई, तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउँछ, पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ। सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्। तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ। अब तिमीहरू खाली हामीहरू जस्तै हौ।” तिम्रो रवाफ पातालमा पठाइएकोछ। वीणाबाट गुन्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ। औंसाहरूले तिम्रो शरीर खानेछ, तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ। कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्। तिमी बिहानको तारा जस्तो थियौ, तर तिमी आकाशबाट खस्यौ। पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो। तर अहिले तिमी काटिएर ढल्यौ। तिमीले सधैँ आफैंले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु, म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत सापोनको टापुमा बस्नेछु, म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु। म बादलहरूको बेदी सम्म जानेछु, म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।”

शेयर गर्नुहोस्
यशैया 14 पढ्नुहोस्

यशैया 14:3-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले इस्राएलका प्रजालाई दु:ख-कष्‍ट र तिनीहरूले गर्नुपरेको कठिन परिश्रमबाट छुटकारा दिनुहुनेछ। त्‍यसो भएको दिन तिनीहरूले बेबिलोनका राजालाई यसो भन्‍दै गिल्‍ला गर्नेछन्, “निष्ठुर राजा लड्यो! त्‍यसले फेरि कसैलाई अत्‍याचार गर्नेछैन! परमप्रभुले ती दुष्‍ट राजाहरूको बलको अन्‍त गरिदिनुभयो। जसले रिसमा प्रजाहरूमाथि अत्‍याचार गर्दथे र आफूले जितेका राष्‍ट्रहरूलाई कहिल्‍यै सताउन छोडेका थिएनन्। अन्‍तमा सारा संसार अब विश्राम र शान्‍तिमा रमाउनेछ। हरेक व्यक्तिले खुसीले गाउनेछ। सल्‍लाका रूखहरू र लेबनानका देवदारुका रूखहरू राजा पतन भएकोमा रमाउनेछन् किनभने उनी मरेकाले अब उसो ती रूखहरू काटी ढालिनेछैनन्। “मरेकाहरूका देशले बेबिलोनका राजालाई स्‍वागत गर्न तयारी गर्दै छ। पृथ्‍वीका शक्तिशाली अगुवाहरूका आत्‍माहरू यताउता घुमिरहेका छन्। राजाहरूका आत्‍माहरू सिंहासनबाट उठ्दै छन्। तिनीहरूले उसलाई यसो भन्‍दछन्, ‘तिमी अब हामीजस्‍तै दुर्बल भएका छौ! तिमी हामीजस्‍तै भयौ! वीणा बजाएर तिम्रो सम्‍मान गरिन्‍थ्‍यो तर अब यहाँ मृत्‍यु-लोकमा आइपुगेका छौ। औँसा तिम्रो ओछ्यान र किरा तिम्रो ओढ्‍ने भएको छ’।” हे बेबिलोनका राजा, बिहानको चम्‍किलो तारा, प्रभातको पुत्र तँ आकाशबाट खसिस्‌! अघि तैँले जाति-जातिलाई जितिस्‌ तर अहिले आफैं भूइँमा ढलेको छस्‌। तैँले स्‍वर्गमा पुग्‍ने र सबैभन्दा अग्‍लो ताराभन्दा पनि अरू उच्‍चमा आफ्‍नो सिंहासन राख्‍ने पक्‍का विचार गरेको थिइस्‌। उत्तरमा देव-देवता भेला हुने पर्वतमा राजाजस्‍तै विराजमान् गर्छु भन्‍ने विचार गरेको थिइस्‌। बादलको माथि चढी सर्वशक्तिमान् बराबर हुन्‍छु भनी तैँले ठानेका थिइस्‌।

शेयर गर्नुहोस्
यशैया 14 पढ्नुहोस्