होशे 9:10-17 - Compare All Versions

होशे 9:10-17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“मैले इस्राएललाई पाउनुचाहिँ उजाड़-स्‍थानमा दाख पाउनु बराबर थियो। मैले तिमीहरूका पिता-पुर्खालाई देख्‍नुचाहिँ नेभाराका अगौटे फल देख्‍नु बराबर थियो। तर जब तिनीहरू बाल-पोरमा गए, तब तिनीहरूले आफैलाई त्‍यस घिनलाग्‍दो मूर्तिमा अर्पण गरे, र तिनीहरूले रुचाएको मूर्तिझैँ तिनीहरू घिनलाग्‍दा भए। एफ्राइमको गौरव पक्षी झैँ उड़िजानेछ। तिनीहरूमा न त कुनै जन्‍म, न कुनै गर्भवास, न गर्भधारण हुनेछ। तिनीहरूले छोराछोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरी म तिनीहरूलाई निस्‍सन्‍तान तुल्‍याउनेछु। हाय! तिनीहरूलाई, जब म तिनीहरूबाट फर्केर जानेछु! मैले एफ्राइमलाई टुरोसजस्‍तै सुन्‍दर स्‍थलमा रोपिएको देखें, तर एफ्राइमले आफ्‍नो छोराछोरीहरूलाई संहारको निम्‍ति डोर्‍याएर ल्‍याउनेछ।” हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्‌— तपाईं तिनीहरूलाई के दिनुहुन्‍छ? तिनीहरूको गर्भ तुहोस्‌ र स्‍तन सुकिजाने होस्‌। “गिलगालमा गरेका तिनीहरूका सारा खराबीको कारण मैले तिनीहरूलाई घृणा गरें। तिनीहरूका पापका कामले गर्दा म तिनीहरूलाई मेरो भवनबाट लघारिदिनेछु। म तिनीहरूलाई अब कहिल्‍यै प्रेम गर्नेछैनँ। तिनीहरूका सबै अगुवाहरू बागीहरू हुन्‌। एफ्राइममाथि प्रहार परेको छ! तिनीहरूको जरो सुक्‍यो। तिनीहरूमा फल लाग्‍दैनन्‌। तिनीहरूले छोराछोरी जन्‍माए तापनि तिनीहरूका प्रिय बालकहरू म मार्नेछु। मेरा परमेश्‍वरले तिनीहरूलाई इन्‍कार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँका कुरा पालन गरेका छैनन्‌। जाति-जातिहरूका बीचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन्‌।

शेयर गर्नुहोस्
होशे 9 NNRV

होशे 9:10-17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“जब मैले इस्राएललाई भेट्टाएँ, त्यो त मरुभूमिमा अङ्‌गुर भेट्टाएझैँ थियो, जब मैले तिमीहरूका पितापुर्खाहरूलाई देखेँ, त्यो नेभाराको रूखमा भएको पहिलो फलझैँ थियो। तर जब तिनीहरू बाल-पिओरमा आए, तब तिनीहरूले आफूलाई त्यस घिनलाग्दो मूर्तिमा समर्पण गरे, र तिनीहरू ती घृणित वस्तुझैँ बने, जसलाई तिनीहरूले प्रेम गर्थे। एफ्राइमको महिमा चराझैँ उडेर जानेछ, अर्थात् तिनीहरूमा न त कसैको जन्म, न कोही गर्भावस्था, न त कसैको गर्भधारण हुनेछ। यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूलाई प्रत्येक बालकको निम्ति शोकित तुल्याउनेछु। तिनीहरूलाई धिक्‍कार! जब म तिनीहरूबाट टाढा जान्छु। मैले एफ्राइमलाई टायरजस्तै सुन्दर ठाउँमा रोपिएको देखेको छु। तर एफ्राइमले आफ्ना छोराछोरीहरूलाई वधशालामा मारिनका निम्ति ल्याउनेछ।” हे याहवेह, तिनीहरूलाई दण्ड दिनुहोस्, अर्थात् तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहुने गर्भहरू, र सुकेका स्तनहरू दिनुहोस्। “गिलगालमा तिनीहरूका सबै दुष्‍टताहरूको कारण मैले तिनीहरूलाई घृणा गरेँ। तिनीहरूका दुष्‍ट कामहरूको कारण म तिनीहरूलाई मेरो भवनदेखि निकालिदिनेछु। अब उसो म तिनीहरूलाई प्रेम गर्नेछैनँ; तिनीहरूका सबै अगुवाहरू विद्रोही छन्। एफ्राइम काटिएर ढलेको छ, तिनीहरूका जरा ओइलाएका छन्; तिनीहरूले कुनै पनि फल फलाउँदैनन्। यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूका प्रिय सन्तानहरूलाई मारिदिनेछु।” मेरा परमेश्‍वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ; किनकि तिनीहरूले उहाँका वचनहरू पालन गरेनन्; तिनीहरू राष्ट्रहरूबीच भौँतारिँदै हिँड्नेछन्।

शेयर गर्नुहोस्
होशे 9 NCV

होशे 9:10-17 NERV (पवित्र बाइबल)

“उजाड जमीनमा कसैले अङ्गुर पाए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्टाएँ जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल-पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडेको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे त्यस्तै भए। “इस्राएलको वैभव कतै त्यसरी उडिजाने छ जसरी जुनै पंक्षी उडिजान्छ। तिनीहरूमा न त कुनै जन्म न कोही गर्भवती न गर्भधारण हुनेछ। तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फँसाउँनेछु।” एकसमय एप्रैमको विषयमा मैले हरियो चौरमा रोपेको कलिलो खजूरको रूख जस्तौ सोचेको थिएँ। तर अहिले एफ्रैमले छोराहरूलाई मार्नको लागि डोर्याउँनेछ। हे परमप्रभु! तपाईले उनीहरूलाईं जे चाहनुहुन्छ त्यो उनीहरूलाई दिनुहोस। उनीहरूलाई एउटा यस्तो गर्भ दिनुहोस् जुन तुयोस् र स्तन पनि यस्तो दिनुहोस् जसद्वारा दूध खुवाउनु नसकोस्। तिनीहरूको सबै दुष्टता गिलगालमा छ। त्यही मैले तिनीहरूलाई धृणा गर्न शुरू गरें। म तिनीहरूलाई तिनीहरूको कु-कर्मले गर्दा मेरो राजमहलबाट मिल्काई दिनेछु। म तिनीहरूलाई फेरि कहिल्यै पनि प्रेम गर्ने छैन। तिनीहरूका सबै अगुवाहरू बागी भए। एप्रैमलाई दण्ड दिइनेछ, तिनीहरूको जरा सुकि हाल्यो। तिनीहरूमा फल लाग्नेछैन, उनीहरूको अब धेरै सन्तान हुने छैनन्। यदि तिनीहरूले सन्तान जन्माए पनि, म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु, जो तिनीहरूबाट जन्मलिनेछन्। मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँलाई सुनेन्। तिनीहरू फेरि अरू देशहरूमा बरालिनेछन्।

शेयर गर्नुहोस्
होशे 9 NERV

होशे 9:10-17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभु भन्‍नुहुन्‍छ, “जब मैले पहिलो पटक इस्राएललाई भेट्टाएँ, मलाई मरुभूमिमा उम्रेको दाख भेट्टाएजस्‍तै लाग्‍यो। जब पहिलो चोटि मैले तिमीहरूका पुर्खाहरूलाई देखें, तब मलाई ऋतुमा पाकेको नेभाराको पहिलो फल पाएजस्‍तो लाग्‍यो। तर जब तिनीहरू बाल-पोरमा आए, तिनीहरूले त्‍यो बाल देवताको पूजा गर्न थाले र चाँडै तिनीहरू आफूले पुजेका देवताझैँ घिनलाग्‍दा भए। इस्राएलको महान्‌ता चराझैँ उडिजानेछ। त्‍यहाँ फेरि तिनीहरूकहाँ बच्‍चा जन्‍मनेछैन, कुनै स्‍त्री गर्भवती हुनेछैन, कुनै पनि नारीले गर्भधारण गर्नेछैन। तिनीहरूले छोरा-छोरीहरू हुर्काए भने पनि म तिनीहरूलाई रहन दिनेछैनँ र एउटै पनि जिउँदो छोड्‍नेछैनँ। जब म यी मानिसहरूलाई त्‍याग्‍नेछु, तब तिनीहरूमाथि डरलाग्‍दा कुराहरू आइलाग्‍नेछन्।” हे परमप्रभु, मैले इस्राएललाई एउटा कलिलो खजुरको बोटजस्‍तै मलिलो जमिनमा रोपेको देखें, तर अहिले त्‍यसका छोरा-छोरीहरू खोजी-खोजी मारिनुपर्छ। यी मानिसहरूको लागि तपाईंले के गरिदिनोस् भनी म बिन्‍ती गरूँ? तिनीहरूका स्‍त्रीहरूलाई बाँझी बनाइदिनुहोस्। तिनीहरूका दूध सुकाइदिनुहोस्। परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूले गिलगालमा दुष्‍ट काम गरेकोले मैले तिनीहरूलाई घृणा गर्न थालें। तिनीहरूका दुष्‍ट कामले गर्दा म तिनीहरूलाई मेरा देशबाट धपाइदिनेछु। म फेरि तिनीहरूलाई प्रेम गर्नेछैनँ। तिनीहरूका सबै अगुवाहरू मेरो विरुद्धमा उठेका छन्। इस्राएलका मानिसहरू जरा सुकेका र फल नफल्‍ने रूखझैँ भएका छन्। तिनीहरूका छोरा-छोरीहरू जन्‍मनेछैनन्, ती जन्‍मिहाले पनि म तिनीहरूका प्‍यारा छोरा-छोरीहरूलाई मारिदिनेछु।” जुन परमेश्‍वरको म सेवा गर्दछु, उहाँले आफ्‍ना प्रजालाई अस्‍वीकार गर्नुहुनेछ किनभने तिनीहरूले उहाँको वचन सुनेनन्। तिनीहरूले अन्‍यजातिहरूका माझमा बाटो बिराएर घुमफिर गरी हिँड्‍नेछन्।

शेयर गर्नुहोस्
होशे 9 सरल नेपाली