होशे 14:1-9
होशे 14:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ए इस्राएल, परमप्रभु आफ्ना परमेश्वरतिर फर्केर आओ। तिम्रा पापहरू नै तिम्रो पतनका कारण हुन्। वचनहरू लिएर परमप्रभुतिर फर्क। उहाँलाई भन, “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र अनुग्रहपूर्वक हामीलाई ग्रहण गर्नुहोस्, र हामी आफ्ना ओठको फल चढ़ाउन सकौं। अश्शूरले हामीलाई बचाउन सक्दैन। हामी युद्धका घोड़ाहरूमाथि सवार हुनेछैनौं। हामी फेरि कहिल्यै आफ्नै हातले बनाएका थोकलाई ‘हाम्रा देवताहरू’ भनी भन्नेछैनौं, किनकि टुहुराहरूले तपाईंबाट कृपा पाउँदछन्।” “तिनीहरू मबाट तर्किगएकामा म तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई सित्तैँमा प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि फर्केको छ। म इस्राएलको निम्ति शीतझैँ हुनेछु। त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसका जरा गड्नेछन्। त्यसका भर्खरै पलाएका मुनाहरू बढ्नेछन्। त्यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ। मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्। मकैझैँ त्यो लहलह बढ्नेछ र दाखको बोटझैँ त्यो फुल्नेछ, र त्यसको ख्याति लेबनानको दाखमद्यजस्तै हुनेछ। हे एफ्राइम, मूर्तिहरूसित मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु। म एउटा हरियो सल्लोको रूखझैँ छु। मबाटै तँ फलवन्त हुनेछस्।” को बुद्धिमान् छ? उसले यी कुराहरू याद गर्नेछ। को समझदार छ? त्यसले यी कुराहरू बुझ्नेछ। परमप्रभुका मार्ग ठीक छन्। धर्मी जन तिनैमा हिँड्छन्, तर बागीहरू तिनमा ठेस खान्छन्।
होशे 14:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे इस्राएल, याहवेह आफ्ना परमेश्वरकहाँ फर्की। तेरा पापहरू नै तेरा पतनका कारण हुन्! आफूसँग वचनहरू लिएर याहवेहतिर फर्क। उहाँलाई भन: “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र हामीलाई अनुग्रहसाथ स्वीकार गर्नुहोस्, ताकि हामी हाम्रा ओठका भेटीहरू चढाउन सकौँ। अश्शूर देशले हामीलाई बचाउन सक्दैन; हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ। हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई ‘हाम्रा देवताहरू’ भन्ने छैनौँ; किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।” “म तिनीहरूको पथभ्रष्टतालाई निको पार्नेछु, र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु; किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ। म इस्राएलको निम्ति शीतजस्तो बन्नेछु; त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ; त्यसका कलिला मुनाहरू बढ्नेछन्। त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ, र त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ। मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्; तिनीहरू अन्नझैँ लहलहाउने छन्; तिनीहरू दाखको बोटझैँ फक्रनेछन्; इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ। हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु। म हरियो धूपी सल्लाको रूखझैँ छु; तेरो फल मबाट नै आउँछ।” बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्। समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्। याहवेहका मार्गहरू ठिक छन्; धर्मी जनहरू त्यसैमा हिँड्छन्, तर विद्रोहीहरूले भने त्यसैमा ठक्कर खान्छन्।
होशे 14:1-9 पवित्र बाइबल (NERV)
हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ। जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन, “हाम्रा सबै पापहरू टाढा गरेर, जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर, जुन हामीले भनिरहेकाछौ। हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौं। अश्शूरले हामीलाई बँचाउन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौं। किनकि बिना आमा बाबुका सन्तानहरूप्रति दया गर्ने, केवल तपाईं मात्र हुनुहुन्छ।” परमप्रभु भन्नुहुन्छ, “उनीहरूले मलाई त्यागे। म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु। म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन। म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ। त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्। त्यो सुन्दर हुनेछ। त्यो त्यस सुगन्ध झैं हुनेछ जुन लबानोनको रूखको जराबाट आउँछ। इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्। तिनीहरू अन्न झैं बढ्नेछन्। तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन। अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ। “हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन। म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु। म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु। म सधैँ हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।” यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। परमप्रभुको बाटो ठीक छ। असल मानिसहरू तिनीहरूद्वारा बाँच्छन्। पापीहरू तिनीहरूद्वारा मर्छन्।
होशे 14:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे इस्राएलका मानिसहरू हो, परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्की आओ। तिम्रा पापले तिमीहरूलाई ठोकर दिएर पतन गराएको छ। परमप्रभुकहाँ फर्क र उहाँलाई यस्तो प्रार्थना चढाओ, “हामीहरूका सबै पाप क्षमा गर्नुहोस् र हाम्रा प्रार्थना ग्रहण गर्नुहोस् र हामीले गरेका प्रतिज्ञाअनुसार हामी तपाईंको प्रशंसा गर्नेछौं। अश्शूरले कहिल्यै हामीलाई बचाउन सक्दैन र युद्धका घोडाहरूले हाम्रो रक्षा गर्न सक्दैनन्। हामीसित भएका हाम्रा हातले बनाएका मूर्तिहरूलाई फेरि कहिल्यै हाम्रा परमेश्वर हौ भनी हामी भन्नेछैनौं। हे परमप्रभु, टुहुरा-टुहुरीलाई तपाईंले कृपा देखाउनुहुन्छ।” परमप्रभु भन्नुहुन्छ, “म आफ्नो प्रजालाई मकहाँ फर्काई ल्याउनेछु, म सम्पूर्ण हृदयले तिनीहरूलाई प्रेम गर्नेछु; अबदेखि उसो म तिनीहरूसित रिसाउनेछैनँ। म इस्राएलीहरूका निम्ति सुखा भूमिमा पर्ने वर्षाझैँ छु। तिनीहरू फूलहरूका कोपिलाझैँ फक्रिनेछन्। तिनीहरूले लेबनानका रूखहरूजस्तै जमिनभित्र जरा गड्नेछन्। तिनीहरू नयाँ भई जैतुनका रूखहरूझैँ जिउनेछन् र तिनीहरू लेबनानका देवदारुहरूझैँ सुगन्धित हुनेछन्। फेरि एक पटक तिनीहरू मेरो सुरक्षामा जिउनेछन्। तिनीहरू अन्नझैँ लहलह बढ्नेछन् र रूखको बोटझैँ फलदायी हुनेछन्। तिनीहरू लेबनानको ख्याति प्राप्त दाखमद्यझैँ हुनेछन्। इस्राएलका मानिसहरूको अब मूर्तिहरूसित कुनै सम्बन्ध हुनेछैन; म तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु र तिनीहरूलाई हेरचाह गर्नेछु। सधैँ हरियो रहने रूखझैँ म तिनीहरूलाई आश्रय दिनेछु; म नै तिनीहरूका सबै आशिष्हरूको स्रोत हुँ। जो-जो बुद्धिमान् छन्, तिनीहरूले यहाँ लेखिएका कुराहरू बुझून् र आ-आफ्ना मनमा गुनून्। परमप्रभुका मार्गहरू ठीक छन्, तिनमा हिँडेर धर्मी मानिसहरू बाँच्छन्। तर पापीहरूचाहिँ तिनमा ठोकर खाएर लड्छन्।