होशे 11:1-12

होशे 11:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“जब इस्राएल बालक थियो तब मैले त्‍यसलाई प्रेम गरें, र मैले आफ्‍नो पुत्रलाई मिश्रदेशबाट बोलाएँ। तर जति-जति मैले इस्राएललाई बोलाएँ, त्‍यति-त्‍यति तिनीहरू मबाट टाढ़ा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढ़ाए, र खोपिएका मूर्तिहरूलाई धूप बाले। एफ्राइमलाई हातमा समातेर हिँड्‌न सिकाउने त म नै थिएँ। तर मैले तिनीहरूलाई निको पारें भनी तिनीहरूले जानेनन्‌। मैले तिनीहरूलाई मानिसजातिको मायाको डोरी, प्रेमको बन्‍धनले बाँधेर डोर्‍याएँ। तिनीहरूका काँधबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउन म झुकें। “के तिनीहरू मिश्रदेशमा फर्केर जानेछैनन्, र अश्‍शूरले तिनीहरूमाथि शासन गर्नेछैन र? किनभने तिनीहरूले पश्‍चात्ताप गर्न अस्‍वीकार गरे। तिनीहरूका सहरहरूमा तरवार चल्‍नेछन्, र तिनीहरूका ढोकाहरूका बारहरू भत्‍काइदिनेछन्, र तिनीहरूका योजनाको अन्‍त्‍य गर्नेछन्‌। मेरा प्रजाले मबाट फर्किजाने सङ्कल्‍प गरेका छन्‌। तिनीहरूले सर्वोच्‍चलाई पुकारे तापनि उहाँले तिनीहरूलाई उच्‍च पार्नुहुनेछैन। “ए एफ्राइम, म तँलाई कसरी छोड़िदिन सक्‍छु र! ए इस्राएल, म तँलाई कसरी दुश्‍मनका हातमा सुम्‍पिदिन सक्‍छु? म तँलाई कसरी अदमालाई झैँ व्‍यवहार गर्न सक्‍छु? म तँलाई कसरी सबोयीमलाई झैँ बनाउन सक्‍छु! मेरो हृदय मभित्र परिवर्तित भएको छ। मेरो मन दयाले जागृत भएको छ। म मेरो प्रचण्‍ड रीस प्रयोग गर्नेछैनँ। म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्‍वर हुँ, मानिस होइनँ— तिमीहरूका बीचमा परमपवित्र। म क्रोधमा आउनेछैनँ। तिनीहरूले परमप्रभुलाई पछ्याउनेछन्‌। उहाँ सिंहझैँ गर्जनुहुन्‍छ। जब उहाँ गर्जनुहुन्‍छ, उहाँका बालकहरू थरथर काम्‍दै पश्‍चिमबाट आउनेछन्‌। तिनीहरू मिश्रदेशदेखि चराझैँ र अश्‍शूरदेखि ढुकुरझैँ थरथर काम्‍दै आउनेछन्, म तिनीहरूलाई आ-आफ्‍नै घरमा बसाल्‍नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। एफ्राइमले झूट र इस्राएलका घरानाले छलले मलाई घेरेका छन्‌। यहूदा परमेश्‍वरको विरुद्धमा, परमपवित्रको विरुद्धमा खड़ा भएको छ।

शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्

होशे 11:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“इस्राएल बालक छँदा, मैले त्यसलाई प्रेम गरेँ, मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ। तर मैले इस्राएललाई जति धेरै बोलाएँ, तिनीहरू मदेखि उति नै धेरै टाढा गए। तिनीहरूले बाल-देवताहरूलाई बलिदान चढाए, र तिनीहरूले मूर्तिहरूलाई धूप बाले। एफ्राइमलाई आफ्नो अँगालोमा राखेर, तिनीहरूलाई हिँड्न सिकाउने म नै हुँ; तर तिनीहरूले जानेनन्, कि मैले नै तिनीहरूलाई निको पारेको हुँ। मैले तिनीहरूलाई मानवीय प्रेम र दयाको डोरीले बाँधेर डोर्‍याएँ; मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै मायाले उठाएर आफ्नो गालामा टसाएँ र तिनीहरूलाई खुवाउन म निहुरेँ। “तिनीहरूले पश्‍चात्ताप गर्न अस्वीकार गरेको कारण के तिनीहरू इजिप्टमा फर्कनेछैनन् र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र? तिनीहरूका सहरहरूमा तरवार घुम्‍नेछ; तिनीहरूका झूटा अगमवक्ताहरू मारिनेछन्, र तिनीहरूका योजनाहरूको अन्त्य गरिदिनेछन्। मेरा मानिसहरूले मबाट तर्किएर जाने निश्‍चय गरेका छन्। तिनीहरूले मलाई सर्वोच्‍च परमेश्‍वर भनी पुकारे तापनि म कुनै पनि हालतमा तिनीहरूलाई उचाल्ने छैन। “हे एफ्राइम, म तँलाई कसरी त्याग्न सक्छु? हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिन सक्छु? म तँलाई कसरी अदमा सहरलाई झैँ व्यवहार गर्न सक्छु? म तँलाई कसरी सबोयीम सहरझैँ बनाउन सक्छु? मेरो हृदय मभित्र बदलिएको छ; मेरो मनमा दया जागेको छ। म मेरो भयानक क्रोध पोख्नेछैनँ; म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म त परमेश्‍वर हुँ, मानिस होइनँ; तिमीहरूका बीचमा रहने पवित्र परमेश्‍वर हुँ। म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ। तिनीहरूले याहवेहलाई पछ्याउनेछन्; उहाँ सिंहजस्तै गर्जनुहुनेछ। जब उहाँ गर्जनुहुन्छ, तब उहाँका छोराछोरीहरू काम्दै पश्‍चिमबाट आउनेछन्। तिनीहरू इजिप्टबाट आउनेछन्, भँगेराहरूझैँ काँप्दै आउनेछन्, र अश्शूरबाट ढुकुरहरूझैँ फटफटाउँदै आउनेछन्। म तिनीहरूलाई तिनीहरूका घरहरूमा बसाल्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। एफ्राइमले मलाई झूटले, र इस्राएलले मलाई छलले घेरेको छ। यहूदाले अझै परमेश्‍वरको विरुद्धमा, विश्‍वासयोग्य पवित्र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छ।

शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्

होशे 11:1-12 पवित्र बाइबल (NERV)

परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्रेम गरें। तब मैले आफ्नो छोरालाई मिश्रदेशबाट बोलाएँ। तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ, त्यति-त्यति तिनीहरू मबाट टाढा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढाँइरहे। उनीहरूले मूर्तिको अगाडी धूप जलाए। “एप्रैमलाई मैले हिँड्न सिकाएँ। इस्राएललाई मैले अङ्गालोमा बोकें अनि मैले नै तिनीहरूलाई निको पारें। तर यी सबै कुरा तिनीहरू जान्दैनन्। मैले तिनीहरूलाई प्रेमको डोरी मायाको बन्धनले बाँधेर डोर्याएँ। म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ, म निहुरेर उनीहरूलाई खाना खुवाएँ। “तर इस्राएलीहरूले परमेश्वरतर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, त्यसको सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन्। उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिन्छ। “मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।” “हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ? ए इस्राएल म तिम्रो रक्षा गर्न चाहन्छु। म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ! म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ। म आफ्नो मन बद्ली रहेछु, तिमीप्रति दयाले मन पग्लिरहेछ। म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्। म फेरि एप्रैमलाई नष्ट पार्नेछैन। म त परमेश्वर हुँ, म कुनै मानिस होइन। म तिनीहरू माझ एक पवित्र छु। म तिमीहरूसँगै छु। म आफ्नो रिस देखाउँनेछैन। म सिंह जस्तै गर्जने छु, म गर्जन्छु अनि मेरा सन्तान मसँग आउने छन्, र मेरो पछि-पछि हिँड्नेछन्। मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्। तिनीहरू चरा जस्तै वेगसित मिश्र देशबाट आउनेछन्। तिनीहरू अश्शूरको भूमिबाट ढुकुर जस्तै आउनेछन् अनि म तिनीहरूलाई घरमा पठाउनेछु।” परमप्रभुले यो भन्नु भयो। “एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ। इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्‌यन्त्र रचे। तर यहूदा अहिले सम्म परमेश्वरसँग छ। यहूदा पवित्र र साँच्चो छ।”

शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्

होशे 11:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएल एउटा बालक छँदा मैले त्‍यसलाई प्रेम गरें र त्‍यसलाई मेरो छोरोको रूपमा मिश्रबाट बोलाएँ। तर जति-जति मैले त्‍यसलाई बेलाएँ, त्‍यति-त्‍यति नै त्‍यो मदेखि तर्क्‍यो। मेरा मानिसहरूले बाललाई बलि चढाए, तिनीहरूले मूर्तिहरूलाई धूप बाले। तैपनि इस्राएललाई हिँड्‍न सिकाउने म नै थिएँ। मैले आफ्‍ना मानिसहरूलाई मेरो हातले समातें; तर मैले तिनीहरूलाई हेरचाह गरेको कुरा तिनीहरूले मानिलिएनन्। मैले तिनीहरूलाई आफूकहाँ माया र प्रेमले खिचेर ल्‍याएँ। मैले तिनीहरूलाई उठाएँ र मेरो गालामा टसाएँ र तिनीहरूतिर निहुरेर मैले तिनीहरूलाई खुवाएँ। “तिनीहरू मकहाँ फर्कन मान्‍दैनन् यसैले तिनीहरू मिश्रदेशमा फर्की जानुपर्नेछ र अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्नेछ। तिनीहरूका सहरहरूको विरुद्धमा लडाइँ हुनेछन् र सहरका मूल-ढोकाहरू भत्‍काइनेछन्। तिनीहरूको विचारमा आफूलाई जे असल लाग्‍यो, त्‍यही गर्ने हुँदा मेरा प्रजा नाश हुनेछन्। तिनीहरू मबाट तर्किजाने जिद्दी गर्छन्। जुवामुनि परेर तिनीहरू चिच्‍याउनेछन् तर कसैले त्‍यो जुवा हटाइदिनेछैन। “ए इस्राएल, तँलाई म कसरी छोड्‍न सक्‍छु र? कसरी म तँलाई त्‍याग्‍न सक्‍छु र? के म तँलाई अदमालाई झैँ नाश पार्न सक्‍छु र? कसरी म तँसित सबोयीमसँग झैँ व्‍यवहार गर्न सक्‍छु? त्‍यसो गर्न मेरो मन मान्‍दैमान्‍दैन। तँप्रति मेरो प्रेम साह्रै गहिरो छ। मेरो रिसमा मैले तिमीहरूलाई दण्‍ड दिनेछैनँ; म इस्राएललाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्‍वर हुँ, मानिस होइनँ। म परमपवित्र तिमीहरूको साथमा छु। मेरो क्रोधमा म तिमीहरूकहाँ आउनेछैनँ। “मेरा प्रजाका शत्रुहरूमाथि म सिंहझैँ गर्जंदा, मेरा प्रजाले मलाई पछ्याउनेछन्। पश्‍चिमबाट तिनीहरू हतारसाथ मकहाँ आउनेछन्। मिश्रबाट चराहरूझैँ र अश्‍शूरबाट ढुकुरहरूझैँ तिनीहरू वेगले आउनेछन्। म तिनीहरूलाई फेरि तिनीहरूकै घरमा ल्‍याउनेछु। म परमप्रभुले बोलेको छु।” परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलका मानिसहरूले मलाई झूट र छलले घेरेका छन् अनि यहूदाका मानिसहरूले म पवित्र र विश्‍वासयोग्‍य परमेश्‍वरसित अझै विद्रोह गरिरहेका छन्।

शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्