हिब्रू 12:18-24
हिब्रू 12:18-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्ड अग्नि, कालो बादल, घोर अन्धकार अथवा आँधीको नजिक पनि आएका छैनौ। तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्द सुन्नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्” भनी बिन्ती गरे। किनभने “यदि कुनै जनावरले त्यो पर्वत छोए, त्यसलाई ढुङ्गाले हानेर मार्नू” भन्ने आज्ञा तिनीहरूले सहन सकेनन्। र त्यहाँको दृश्य यस्तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्दछु” भनेका थिए। तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा, र असंख्य स्वर्गदूतहरूको आनन्द-उत्सवमा आएका छौ। स्वर्गमा नाउँ दर्ता भएका पहिला जन्मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्माका बीचमा, र नयाँ करारका मध्यस्थ येशूको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्दा अझ उत्तम वचन बोल्दछ।
हिब्रू 12:18-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू छुन सकिने त्यस सियोन पर्वतमा आएका छैनौ, जहाँ आगोले जलिरहेको, अन्धकार, कालो बादल छाएको र आँधी चलिरहेको थियो। तुरहीको चर्को सोर र शब्द निकालेर बोल्ने आवाजमा पनि आएका छैनौ, जसलाई सुनेपछि तिनीहरूले अब यस्तो शब्द सुन्न नपरोस् भनी बिन्ती गरेका थिए, किनकि, “कुनै जनावरले समेत त्यस पर्वतलाई छोए भने त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू” भन्ने आदेश तिनीहरूले सहन सकेनन्। त्यो दृश्य यति डरलाग्दो थियो, कि मोशाले पनि भने, “म डरले कामिरहेको छु।” तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ, अर्थात् पहिला जन्मेकाहरूको मण्डलीमा, जसका नामहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता परमेश्वरकहाँ, र सिद्ध तुल्याइएका धर्मी मानिसहरूका आत्मामा, नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।
हिब्रू 12:18-24 पवित्र बाइबल (NERV)
तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए। यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे। तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।” तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।” तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आइपुगेकाछौ। तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्। तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।
हिब्रू 12:18-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरू छुन सकिने सीनै पर्वतको छेउमा आएका होइनौ, जहाँ आगाको ज्वाला निस्किरहेथ्यो, कालो बादलले ढाकेर हुरी चलिरहेको र अन्धकार छाइरहेको थियो। तिनीहरूले त फुकेको तुरही र एउटा ठूलो आवाज सुनेका थिए। यस्तो आवाज सुन्दा तिनीहरूले अब फेरि त्यो आवाज कहिल्यै सुन्नुनपरोस् भनेर बिन्ती गरेका थिए किनभने जनावरले पनि यस डाँडालाई छोयो भने ढुङ्गाले हानेर मार्नू भन्ने कडा आज्ञा तिनीहरूले सहन सकेनन्। त्यो दृश्य अति डरलाग्दो थियो। यसैले “म त डरले काम्दै छु,” भनेर मोशा आफैंले पनि भनेका थिए। तर तिमीहरू त सियोन र जिउँदा परमेश्वरको सहर स्वर्गीय यरूशलेममा आएका छौ। हजारौं-हजार स्वर्गदूतहरू रमाउँदै जम्मा भएको ठाउँमा आएका छौ। तिमीहरू परमेश्वरकै जेठो हक पाउनेहरूको मण्डलीमा पुगेका छौ, जसको नाउँ स्वर्गमा पनि लेखिएको छ। तिमीहरू सबै मानिसहरूका न्यायाधीश परमेश्वरकै अदालतमा र असल मानिसका सिद्ध पारिएका आत्माहरू भएको ठाउँमा आइपुगेका छौ। तिमीहरू र परमेश्वरका बीचमा नयाँ करार बाँधिदिनुहुने येशूकहाँ आएका छौ। तिमीहरू हाबिलले चढाएको रगतले भन्दा अझ असल कुरा प्रतिज्ञा गर्ने येशूको रगतमा आएका छौ।