हिब्रू 10:16-25

हिब्रू 10:16-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“ती दिनपछि तिनीहरूसँग बाँध्‍ने मेरो करार यही हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरूका हृदयमा म मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्‍यो लेखिदिनेछु।” तब उहाँ भन्‍नुहुन्‍छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्‍कर्महरू म फेरि सम्‍झनेछैनँ।” अब जहाँ यी सबैको क्षमा हुन्‍छ, त्‍यहाँ अब फेरि पापको निम्‍ति कुनै बलि छैन। यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्‍थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्‍छ। हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं। परमेश्‍वरको घरानामा हाम्रा एक जना महान्‌ पूजाहारी हुनुभएको हुनाले, हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं। हामीले दृढ़ स्‍वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्‍वासयोग्‍य हुनुहुन्‍छ। हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्

हिब्रू 10:16-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“त्यसपछि म तिनीहरूसित यो करार बाँध्नेछु, प्रभु भन्‍नुहुन्छ, म आफ्नो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र म ती तिनीहरूका मनमा लेखिदिनेछु।” तब उहाँ फेरि भन्‍नुहुन्छ: “म तिनीहरूका पाप र कुकर्महरू फेरि सम्झनेछैनँ।” अनि जब यी क्षमा हुन्छन्, तब पाप क्षमाको लागि कुनै बलिदान आवश्यक पर्दैन। यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीलाई येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र पस्‍ने आत्मविश्‍वास प्राप्‍त भएको छ; येशूले हाम्रो निम्ति एउटा नयाँ र जीवन दिने मार्ग खोलिदिनुभएको छ, अर्थात् त्यस पर्दाद्वारा, जो उहाँको शरीर हो। परमेश्‍वरको परिवारमा हामीसँग एक जना प्रधान पुजारी हुनुभएकोले, हामी विश्‍वासको निश्‍चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्‍वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ। प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ। अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौँ। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ।

शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्

हिब्रू 10:16-25 पवित्र बाइबल (NERV)

“त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँनेछु। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिन्छु, प्रभु भन्नुहुन्छ।” तब उहाँ भन्नुहुन्छ: “अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु, र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।” अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन। यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम-पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ। अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोर्याउँछ, जुन ख्रीष्टको शरीर हो। जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ। शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ। हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं। हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ। हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।

शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्

हिब्रू 10:16-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘आउने दिनहरूमा तिनीहरूसँग बाँध्‍ने नयाँ करार यही हो। मेरो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु अनि त्‍यो तिनीहरूका मनमा लेखिदिनेछु’।” उहाँले अझै भन्‍नुहुन्‍छ, “फेरि म तिनीहरूका पाप र नराम्रा कामहरू सम्‍झनेछैनँ।” यसकारण यी सबै पाप क्षमा भएपछि फेरि पाप मेटाउन बलिदान चाहिएन। यसकारण हे भाइहरू हो, येशूको रगतले गर्दा हामी महापवित्र स्थानमा साहससँग पस्‍न सक्‍छौं। उहाँले आफ्‍नो शरीररूपी पर्दाबाट हाम्रो लागि नयाँ र जीवन दिने बाटो खोलिदिनुभयो। परमेश्‍वरको घरमा अधिकारसम्‍पन्‍न अब हाम्रो एक जना ठूला पूजाहारी हुनुहुन्‍छ। खराब विवेकबाट हाम्रा मन चोख्‍याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्‍का विश्‍वासले निर्धक्‍क भएर हामी परमेश्‍वरकहाँ जाऔं। हामीले राखेका आशा बलियोसँग समातिराखौं किनभने आफूले गरेको प्रतिज्ञा परमेश्‍वरले पूरा गर्नु नै हुनेछ। हामी आपसमा एक-अर्कालाई प्रेम र भलाइ गर्ने कुरामा, उत्‍साह दिने कुरामा विचार गर्ने गरौं। कसै-कसैको संगतिमा नआउने बानी छ। त्‍यसो नगरौं। त्‍यसमा पनि बरु प्रभुको दिन आउन आँट्यो भन्‍ने जानेर एक-अर्कालाई अझ हौसला दिने गरौं।

शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्