हबकूक 3:1-19 - Compare All Versions

हबकूक 3:1-19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

शिग्‍गिओनोथ रागमा हबकूक अगमवक्ताको प्रार्थना। हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्‍कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्‍न दिनुहोस्‌। क्रोधमा कृपा गर्नुहोस्‌। परमेश्‍वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। सेला उहाँको महिमाले स्‍वर्ग ढाक्‍यो, र पृथ्‍वी उहाँको प्रशंसाले भरियो। उहाँको गौरव सूर्योदयझैँ थियो, उहाँको हातबाट किरणहरू चम्‍किनिस्‍के, जहाँ उहाँको शक्ति लुकेको थियो। उहाँको अगि रूढ़ी फैलिँदैगयो, महामारी उहाँका पाइला पछिपछि लाग्‍यो। खड़ा भएर उहाँले पृथ्‍वीलाई हल्‍लाउनुभयो। उहाँले हेर्नुभयो, र जाति-जातिहरू थरथर कामे। सनातनका पर्वतहरू टुक्रा-टुक्रा भए, ती पुराना डाँड़ाहरू मूर्च्‍छा खाएर लड़े। उहाँका चाल अनन्‍त हुन्‍छन्‌। मैले कूशनका पालहरूलाई दु:खमा, र मिद्यानका वासस्‍थानहरू शोकमा परेका देखें। के तपाईंको क्रोध नदीहरूका विरुद्धमा थियो, हे परमप्रभु? के तपाईंको रीस खोलाहरूका विरुद्धमा थियो? जब तपाईं आफ्‍ना घोड़ाहरूमाथि र आफ्‍ना विजयका रथहरूमाथि सवार हुनुभयो, के तपाईं क्रोधित हुनुभएको थियो? तपाईंले आफ्‍नो धनु निकाल्‍नुभयो, तपाईंले धेरै काँड़हरू ल्‍याउनु भनी भन्‍नुभयो। सेला तपाईंले नदीहरूद्वारा पृथ्‍वीलाई चिर्नुभयो। पर्वतहरू तपाईंलाई देखेर मड़ारिए। मुसलधारे पानी छेउबाट बगेर गयो। समुद्र गर्ज्‍यो र आफ्‍ना छाल उठायो। तपाईंका उड़िरहेका काँड़हरूको चमकले, र तपाईंको चम्‍कने भालाको चमकले गर्दा, सूर्य र चन्‍द्र आकाशमा टक्‍क अड़िए। क्रोधमा तपाईं पृथ्‍वीमा हिँड्‌नुभयो, रीसमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभयो। आफ्‍नो प्रजाको उद्धारको लागि, आफ्‍ना अभिषिक्त जनलाई बचाउनका निम्‍ति तपाईं निस्‍कनुभयो। दुष्‍टताका देशको नेतालाई तपाईंले धूलोपीठो पार्नुभयो, त्‍यसलाई टाउकोदेखि खुट्टैसम्‍म नाङ्गो पार्नुभयो। सेला जब लुकिरहेका दु:खितहरूलाई निलौंला भन्‍ने इच्‍छा लिएर त्‍यसका योद्धाहरू आँधीझैँ हामीलाई तितरबितर पार्नलाई आए, तब तपाईंले त्‍यसकै भालाले त्‍यसको शिर छेड्‌नुभयो। तपाईंले ठूला पानीहरूलाई मन्‍थन गर्दै समुद्रलाई आफ्‍ना घोड़ाहरूले कुल्‍चनुभयो। मैले सुनें र मेरो मुटु काम्‍न लाग्‍यो, त्‍यो सोर सुन्‍दा मेरा ओठ थरथर कामे, मेरा हड्डीहरू भित्र-भित्रै मकिए, र मेरा खुट्टाहरू कामे। तापनि हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिका दिनको निम्‍ति म धैर्यसाथ पर्खिरहनेछु। चाहे अञ्‍जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्‍न नउब्‍जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्‍तुहरू रहेनन्‌ भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु। परमप्रभु परमेश्‍वर मेरो बल हुनुहुन्‍छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्‍छ, उहाँले मलाई अग्‍ला-अग्‍ला स्‍थानहरूमा जाने योग्‍यको तुल्‍याउनुहुन्‍छ। सङ्गीत-निर्देशकको निम्‍ति— मेरा तार-वाद्यहरूमा बजाइने राग।

शेयर गर्नुहोस्
हबकूक 3 NNRV

हबकूक 3:1-19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु; हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु! हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्; हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्। तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्! परमेश्‍वर तेमानबाट आउनुभयो, पवित्र परमेश्‍वर पारान पर्वतबाट आउनुभयो। सेला उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो; अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो। उहाँको गौरव सूर्योदय जस्तै थियो; उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो, जहाँ उहाँको शक्ति लुकेको थियो। उहाँको अगाडि महामारी फैलिँदै गयो; उहाँको पछि-पछि रूढी लाग्यो। उहाँ उभिनुभयो र पृथ्वीलाई हल्‍लाउनुभयो; उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले। प्राचीन पर्वतहरू चकनाचुर भए; अनि पुराना पहाडहरू ध्वस्त भए। तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्। मैले कूशनका पालहरू कष्‍टमा परेका देखेँ; मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ। हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो? के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो? जब तपाईं आफ्ना घोडा र विजयका रथहरूमा सवार हुनुहुन्थ्यो, तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो? तपाईंले आफ्नो धनु निकाल्नुभयो, र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो; तपाईंलाई देखेर पर्वतहरू थर्किए। प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए; गहिरो समुद्र गर्ज्यो र त्यसका छालहरू माथिसम्म उठे। वेगले उडेका तपाईंका वाणहरू चम्कँदा, तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा, आकाशमा सूर्य र चन्द्रमा टक्‍क अडिए। क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो, र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो। तपाईं आफ्नो जातिलाई छुटकारा दिन र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो। तपाईंले दुष्‍टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो। जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए, र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए, तब तपाईंले त्यसको आफ्नै भालाले त्यसको टाउको छेडिदिनुभयो। तपाईंले महासागरलाई मन्थन गर्दै, आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो। मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो; त्यो आवाज सुनेर मेरा ओठहरू कामे; मेरा हाडहरू भित्रभित्रै मक्‍किए, र मेरा खुट्टाहरू थरथर कामे। तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु, जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ। चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्, र अङ्‌गुरको बोटमा फल नफलोस्; चाहे जैतुनको रूखले फल नफलाओस्, र खेतबारीले अन्‍नबाली नउब्जाओस्, चाहे खोरमा भेडाबाख्रा र गोठहरूमा गाईबस्तु नरहून्। तापनि म याहवेहमा रमाउनेछु। मेरो उद्धारकर्ता परमेश्‍वरमा आनन्दित हुनेछु। प्रभु याहवेह मेरो बल हुनुहुन्छ; उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ; उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ।

शेयर गर्नुहोस्
हबकूक 3 NCV

हबकूक 3:1-19 NERV (पवित्र बाइबल)

शिग्गिओनोथ रागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्। हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ। हे परमप्रभु! बिगतमा जुन महानकार्यहरू गर्नु भयो म त्यसमा छक्कपरें। अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु। म तपाईसँग बिन्ति गर्छु कि यो हाम्रो दिनहरूमा ती कुराहरू हुन दिनुहोस् तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्। परमेश्वर तेमानवाट आउँनु हुँदैछ। पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ, आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो, अनि पृथ्वी उहाँको प्रशंसाले भरियो। उहाँको गौरम चम्कन्छ, उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ। उहाँको अघि रूढी फैलिंदै गयो अनि विनाशक उहाँको पछि-पछि गयो। परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो। उहाँले सबै जातिका मानिसहरूलाई तीब्र दृष्टिले हेर्नु भयो, र तिनीहरू डरले काम्न थाले अनि प्राचीन पहाडहरू ढलेर टुक्रा-टुक्रा भएर फुटे, परमेशवर सदा यस्तै हुनुहुन्छ। मैले कूशनका शहरहरूलाई सङ्कटमा परेको देखें। मैले मिद्यानका घरहरू डरले कामिरहेको देखें। हे परमप्रभु के तपाईं नदीहरूको बिरूद्धमा क्रोधित हुनुभयो? के समुद्र तपाईंको क्रोधको पात्र बन्यो? के खोलाहरू प्रति तपाईं क्रोधित हुनुभयो जब तपाईंको बिजयमा घोडाहरू अनि रथहरूमा सवार हुनुभयो, के तपाईं क्रोधित हुनुहुन्थ्यो? तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो। यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो। तपाईंले पृथ्वीलाई नदीहरूले छुट्याउनु भयो। तपाईंलाई देखेर पहाडहरू काम्न थाले, पानी पृथ्वीमा बग्न शुरु गर्यो। जव गहिरो समुद्र भूमिबाट झर्यो यसले ठुलो हल्ला गर्यो। सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो। जव तिनीहरूले तपाईंको उज्वल प्रकाश देखे, तिनीहरूले तिनीहरूको प्रकाश दिन बन्द गरे। त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरू, अथवा काँडहरू जस्तै थियो। क्रोधमा तपाईं पृथ्वीमाथि हिँड्नुभयो, अनि देशहरूलाई दण्ड दिनु भयो। तपाईं आफैंले आफ्ना मानिसहरूलाई बचाउँन आउनुभयो। जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो। पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर परिवारका प्रत्येक दुष्ट अगुवाहरूलाई तपाईंले मार्नुभयो। शत्रुका सेनाहरू जसले हामीलाई शक्तिशाली आँधीले झैं पछ्याए। हामीलाई मार्ने चेष्टा गरे तिनीहरूलाई रोक्न तपाईले मोशाको लौरो प्रयोग गर्नु भयो। गुप्तरूपले गरीबलाई लुटे झैं तिनीहरूले सोचे कि हमालाई सजिलै जित्न सक्नेछौं। तर तपाईं गहिरो समुद्रमा तपाईंको आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो। मैले यी कुराहरू सुनें, अनि मेरो शरीर काम्न थाल्यो। मैले जोडसँग सुस्केरा हालें। मैले मेरो हड्डीहरू एकदमै कमजोरी भएको अनुभव गरें। म त्यहाँ थर-थर काम्दै उभिरहें। यसकारण जब शत्रुहरू मानिसहरूलाई आक्रमण गर्न आउँछन्, म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु। चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरू होस् अथवा नहोस्, गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्। तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु। परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ, उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ। उहाँले मलाई सुरक्षासँग पहाडमा चढाउँनु हुन्छ।

शेयर गर्नुहोस्
हबकूक 3 NERV

हबकूक 3:1-19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यो हबकूक अगमवक्ताको प्रार्थना हो: हे परमप्रभु! मैले तपाईंको कामको बारेमा सुनेको छु र म अचम्‍मित भएँ। तपाईंले गर्नुभएका ती महान् कार्यहरू हाम्रो समयमा अब फेरि गर्नुहोस्। रिसाउनुहुँदा पनि हामीप्रति कृपालु हुनुहोस्। परमेश्‍वर फेरि तेमानबाट आउँदै हुनुहुन्‍छ, पवित्र परमेश्‍वर पारानका डाँडाहरूबाट आउँदै हुनुहुन्‍छ। उहाँको महिमाले स्‍वर्ग ढाकिन्‍छ, पृथ्‍वी उहाँको प्रशंसाले भरिएको छ। उहाँ बिजुलीको ज्‍योतिसित आउनुहुन्‍छ, उहाँको हातबाट प्रकाश चम्‍कँदछ, त्‍यहीँ उहाँको शक्ति लुकेको छ। आफ्‍नो अघि-अघि उहाँले महामारी पठाउनुहुन्‍छ र मृत्‍युलाई आफ्‍नो पछि-पछि आउने आज्ञा गर्नुहुन्‍छ। उहाँ खडा हुँदा पृथ्‍वी हल्‍लन्‍छ, उहाँको नजर पर्दा जाति-जातिका मानिसहरू काँप्‍दछन्, सनातनका पर्वतहरू टुक्रा-टुक्रा हुँन्‍छन्, अनन्‍तका डाँडाहरू भासिन्‍छन्, जुनचाहिँ अनादिदेखि उहाँ हिँड्‍ने मार्ग हो। मैले कूशनका मानिसहरूलाई डराएका देखें, मिद्यानका मानिसहरू काँपेका देखें, हे परमप्रभु! के नदीहरूले तपाईंको क्रोधलाई जगाएका थिए? के समुद्रले गर्दा तपाईं रिसले चुर हुनुभएको थियो? तपाईं बादलमा सवारी हुनुहुन्‍थ्‍यो। तपाईंले आफ्‍ना प्रजालाई विजय दिनुहुँदा आँधी ल्‍याउने बादल तपाईंको रथ थियो। तपाईंले आफ्‍नो धनु चलाउन निकाल्‍नुभयो, वाणहरू हान्‍ने तयारी गर्नुभयो। तपाईंले नदीहरूद्वारा पृथ्‍वी चिर्नुभयो। तपाईंलाई देखेर पर्वतहरू थरथर काँमे, आकाशबाट अविरल वर्षा भयो। सागरको पानीबाट गर्जन भयो र तिनीहरूका छालहरू अग्‍ला-अग्‍ला उठे। तपाईंको चम्‍किलो भालाको झलक र वेगले उडेको वाणका चमकले गर्दा सूर्य र चन्‍द्र आफ्‍ना आकाशमा टक्‍क अडिए। आफ्‍नो रिसमा लम्‍कँदै तपाईंले पृथ्‍वी वारपार गर्नुभयो, आफ्‍नो क्रोधमा जाति-जातिहरूलाई कुल्‍ची-मिल्‍ची गर्नुभयो, आफ्‍ना प्रजालाई र आफूले चुनेको राजालाई बचाउन तपाईं निस्‍की आउनुभयो, तपाईंले दुष्‍टहरूका अगुवालाई हिर्काएर लडाउनुभयो र त्‍यसका पछि लाग्‍नेहरूलाई पूरा नाश गर्नुभयो। गरीबहरूलाई गुप्‍तमा थिचोमिचो गर्दै रमाउनेहरूझैँ हामीलाई छरपष्‍ट गर्न आँधीझैँ आउने सेनाका सेनापतिलाई तपाईंका वाणहरूले छेडे। तपाईंका घोडाहरूले समुद्रलाई कुल्‍चे, शक्तिशाली समुद्रमा फिँज उठ्‌यो। मैले यी सबै सुन्‍दा मेरो मुटु काँप्‍दछ। डरले मेरा ओठहरू थरथराउँछन्। मेरा हड्डीहरू गलिजान्‍छ, मेरा खुट्टाहरू काँप्‍दछन्। म त्‍यस समयलाई चुपचाप पर्खिरहनेछु, जब परमेश्‍वरले हामीमाथि हमला गर्नेहरूलाई दण्‍ड दिनुहुनेछ। चाहे नेभाराको रूखमा मुना नलागोस् र दाखका बोटहरूमा अङ्‌गुर नफलोस्, जैतुनको बोटमा फल नफलोस्, र खेतमा अन्‍न नउब्‍जोस्, खोरमा भेडा-बाख्रा नभए पनि र गोठमा गाई-वस्‍तुहरू रहेनन् भने पनि मचाहिँ परमप्रभुमा रमाउनेछु र आनन्‍द मनाउनेछु किनभने परमप्रभु परमेश्‍वर मेरा उद्धारकर्त्ता हुनुहुन्‍छ। सार्वभौम परमप्रभु मेरो बल हुनुहुन्‍छ, उहाँले मेरा खुट्टाहरू हरिणका खुट्टाहरूझैँ छिटो बनाउनुहुन्‍छ र पर्वतहरूमाथि मलाई कुशल राख्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
हबकूक 3 सरल नेपाली