उत्पत्ति 6:1-4
उत्पत्ति 6:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब मानिसहरूको संख्या पृथ्वीमा बढ्दैगयो र तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आ-आफ्ना रुचिका पत्नीहरू ल्याए। तब परमप्रभुले भन्नुभयो, “मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्यो मरणशील हो। त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।” त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफिलीमहरू थिए। परमेश्वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।
उत्पत्ति 6:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब पृथ्वीमा मानिसहरूको संख्या बढ्न थाल्यो र तिनीहरूका छोरीहरू जन्मिए; तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई राम्री देखे; र तिनीहरूले आ-आफूले चुनेकाहरूसित विवाह गरे। तब याहवेहले भन्नुभयो, “मेरो आत्माले सदाको निम्ति मानिससित विवाद गर्नेछैन; किनकि तिनीहरू मरणशील हुन्; त्यसको आयु एक सय बीस वर्ष हुनेछ।” ती दिनहरूमा पृथ्वीमा नेफिलीमहरू थिए; र त्यसपछि पनि, जब परमेश्वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; अनि तिनीहरूबाट छोराछोरीहरू जन्मिए। तिनीहरू पुरानो समयका बलिया-बलिया र नाम चलेका पुरुषहरू थिए।
उत्पत्ति 6:1-4 पवित्र बाइबल (NERV)
पृथ्वीमा जब मानिसहरूको संख्या बढ्दै गयो, तिनीहरूले कन्याहरूलाई जन्म दिए। परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे। तब परमेश्वरले भन्नुभयो, “तिनीहरू मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 बर्षसम्म मात्र हुने छ।” यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।
उत्पत्ति 6:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब मानिसहरू सारा संसारभरि फैलिदैगए र तिनका छोरीहरू जन्मे, परमेश्वरका कोही-कोही छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे र आफूलाई मन परेकाहरूलाई बिहे गर्न लगे। तब परमप्रभुले भन्नुभयो, “म मानिसहरूलाई सधैँभरि बाँच्न दिनेछैनँ, तिनीहरू मर्नुपर्छ। अबदेखि उसो, कोही पनि १२० वर्षभन्दा बढ्ता बाँच्नेछैन।” ती दिनमा र यसपछि पनि पृथ्वीमा मानवका छोरीहरू र परमेश्वरका छोराहरूबाट जन्मेका सन्तान शूरवीरहरूजस्ता थिए। तिनीहरू उहिलेका शूरवीर र नाम चलेका मानिसहरू थिए।