उत्पत्ति 45:4-13
उत्पत्ति 45:4-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ। तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो। देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन। अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्वीमा जोगाएर राख्न र तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले मलाई तिमीहरूभन्दा अगि यहाँ पठाउनुभएको हो। “यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई फारोका बुबातुल्य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्याउनुभएको छ। अब झट्टै मेरा बुबाकहाँ गएर उहाँलाई भन, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सारा मिश्रका मालिक तुल्याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्। तपाईं गोशेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्चाहरू र तपाईंका नाति-नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्। त्यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै पाँच वर्ष बाँकी नै छन्, नत्रता तपाईं र तपाईंका परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्।’ “अब तिमीहरूसँग बोल्ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्नै आँखाले र मेरो भाइ बेन्यामीनले पनि देखेका छौ। मिश्रदेशमा मेरो सबै गौरव र तिमीहरूले जे-जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्य भन्नू, र झट्टै मेरा बुबालाई यहाँ ल्याउनू।”
उत्पत्ति 45:4-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो नजिक आउनुहोस्।” जब उनीहरू आए, तब तिनले भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो! अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो। देशमा दुई वर्षदेखि अनिकाल छाएको छ; अनि अब आउने पाँच वर्षहरूमा जोत्ने र कटनी गर्ने काम हुनेछैन। तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो। “यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो। अब झट्टै मेरा पिताकहाँ फर्किजानुहोस् र यसो भन्नुहोस्, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सम्पूर्ण इजिप्टका मालिक बनाउनुभएको छ। ढिलो नगरी मकहाँ आउनुहोस्। तपाईंहरू, तपाईंका छोराछोरीहरू र तपाईंका नातिनातिनाहरू, तपाईंका पशुहरूका बगाल र बथान, र तपाईंसित भएका सबै गोशेनको प्रान्तमा मेरो छेवैमा बस्नुहुनेछ। त्यहाँ म तपाईंहरूका निम्ति बन्दोबस्त गरिदिनेछु; किनकि पाँच वर्षको अनिकाल आउन बाँकी नै छ। नत्रता तपाईंसहित तपाईंको परिवार सबै बिचल्लीमा पर्नेछन्।’ “हेर्नुहोस्! तपाईंहरूसँग साँच्चै नै म बोल्दैछु भनेर तपाईंहरू आफैँले र मेरो भाइ बेन्यामीनले पनि देखेको छ। मेरा पितालाई इजिप्टमा मलाई दिइएको सम्मानको विषयमा तपाईंहरूले देख्नुभएको प्रत्येक कुराको विषयमा भन्नुहोस्। अनि मेरा पितालाई झट्ट यहाँ ल्याउनुहोस्।”
उत्पत्ति 45:4-13 पवित्र बाइबल (NERV)
यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ। अहिले चिन्ता नगर। तिमीहरू आफैंसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु। यस भयंकर अनिकाल दुइ बर्षसम्म चल्यो अनि अझै पाँच बर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ। यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अगि पठाउनु भयो। यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।” यूसुफले भने, “चाँडो गर अनि मेरा बाबुकहाँ जाऊ। उनलाई भन उनका छोरो यूसुफले यो समाचार पठाएको छ।” परमेश्वरले मलाई मिश्रदेशको शासक बनाउनु भएको छ। यसर्थ मकहाँ आउनु। अबेर नगरी। अहिले नै आउनु। तिमीहरू गोशेनमा मेरो नजिकै बस्न सक्छौ। तिमी, तिमीहरूका बाल-बच्चाहरू, नाति-नातिनाहरू साथै सबै तिम्रा पशुहरूलाई यहाँ स्वागत गरिन्छ। म आउँदो पाँच बर्षसम्म हुने अनिकालमा तिमीहरूको हेरचाह गर्नेछु। यसर्थ तिमीहरू र तिमीहरूका परिवारहरूले आफूसँग भएका कुनै चीज पनि हराउने छैनौ। यूसुफले आफ्ना दाज्यू-भाइहरूसित कुरा गरी रहे। उनले भने, “अब तिमीहरू जान्नेछौ म साँच्चै नै यूसुफ हुँ र तिमीहरूको भाइ बिन्यामीनले जान्दछ म यूसुफ नै हुँ। म तिमीहरूको भाइ तिमीहरूसितै बात गरी रहेको छु। यसर्थ मेरा बुबालाई मैले मिश्र देशमा पाएको सम्मानको विषयमा भनिदेऊ। तिमीहरूले यहाँ देखेको प्रत्येक कुरा सुनाई देऊ। अब झट्टै जाऊ अनि मेरा बुबालाई यहाँ लिएर आऊ।”
उत्पत्ति 45:4-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब योसेफले तिनीहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” तिनीहरू उनको नजिक गए। उनले भने, “म तिमीहरूको भाइ योसेफ हुँ, जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ। मलाई बेच्यौ भनेर अब सुर्ता नगर र आफूलाई अपराधी नठान। वास्तवमा परमेश्वरले मलाई तिमीहरूको अघि नै मानिसहरूको प्राण बचाउनलाई यहाँ पठाउनुभएको हो। देशमा परेको अनिकालको यो दोस्रो वर्ष मात्र हो। अरू पाँच वर्ष बाँकी छ, जब कहीँ हलो जोत्न सकिनेछैन न अन्नको कटनी हुन सक्छ। यस्तो उदेक तरिकाले तिमीहरूलाई बचाउन र तिमीहरू र तिमीहरूका सन्तानको प्राण जोगाउन परमेश्वरले मलाई पहिले नै पठाउनुभयो र मलाई यहाँ पठाउने खासमा तिमीहरू होइनौ तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई राजाको सबैभन्दा ठूलो कर्मचारी बनाउनुभएको छ। म यो सारा देशमाथि हाकिम खटाइएको छु। म सम्पूर्ण मिश्रदेशको शासक बनेको छु। “अब हतार गरेर मेरा बुबाकहाँ जाओ र तपाईंको छोरा योसेफले यसो भनी पठाएका छन् भन: ‘परमेश्वरले मलाई सारा मिश्रदेशको शासक बनाउनुभएको छ। झट्टै मकहाँ आउनुहोस्। तपाईं गोशेनको इलाकामा बस्न सक्नुहुनेछ। त्यसो भए तपाईं, तपाईंका छोरा-छोरी र नाति-नातिनाहरू, भेडा-बाख्रा, गाई-गोरु र आफ्ना साथमा भएका सबै थोकहरू मेरो नजिकमा बास गर्न सक्नुहुन्छ। तपाईं गोशेनमा बस्नुभयो भने म तपाईंको हेरचाहा गर्न सक्छु। अझ पाँच वर्ष अनिकाल बाँकी नै छ र तपाईं र तपाईंका परिवार र गाई-वस्तुहरू भोकै रहेको म चाहँदिनँ।” योसेफले फेरि भने, “तिमीहरू सबैले अँ, बेन्यामीनले पनि देख्न सक्छौ कि म साँच्चै योसेफ हुँ। मेरा बुबालाई गएर भन कि म यहाँ मिश्रमा कति सामर्थी भएको छु। तिमीहरूले आफ्ना आँखाले देखेका सबै कुरा उहाँलाई सुनाओ। त्यसपछि छिटो गरेर उहाँलाई लिएर यहाँ आओ।”