उत्‍पत्ति 45:1-8

उत्‍पत्ति 45:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब आफ्‍ना वरिपरि उभिने सबै सेवकका सामुन्‍ने आफूलाई सम्‍हाल्‍न नसकेर योसेफले कराएर भने, “सबै जनालाई यहाँबाट बाहिर पठाइदेओ।” यसैले योसेफले आफ्‍ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्‍यहाँ अरू कोही थिएन। अनि तिनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले यो सुने, र फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए। योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ। के मेरा बुबा जीवितै हुनुहुन्‍छ?” तर तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्‍ने उनीहरू डराएका थिए। तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ। तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्‍ति परमेश्‍वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो। देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्‍म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन। अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्‍वीमा जोगाएर राख्‍न र तिमीहरूको जीवन बचाउन भनी परमेश्‍वरले मलाई तिमीहरूभन्‍दा अगि यहाँ पठाउनुभएको हो। “यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले मलाई फारोका बुबातुल्‍य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्‍याउनुभएको छ।

शेयर गर्नुहोस्
उत्‍पत्ति 45 पढ्नुहोस्

उत्‍पत्ति 45:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब योसेफले आफ्ना सबै कर्मचारीहरूको सामु आफैँलाई थाम्न सकेनन्; अनि तिनी “सबै जना मेरो उपस्थितिबाट गइहाल!” भनेर चिच्याए। त्यसैले योसेफले आफ्ना दाजुभाइहरूकहाँ आफैँलाई प्रकट गर्दा तिनीसित अरू कोही थिएनन्। अनि तिनी यति डाँको छोडेर रोए, कि इजिप्टियनहरूले पनि सुने, र फारोका परिवारले यो कुरा थाहा पाए। योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ! के मेरा पिता अझै जीवित हुनुहुन्छ?” तर तिनका दाजुभाइहरूले तिनलाई जवाफ दिनै सकेनन्; किनकि उनीहरू तिनको उपस्थितिमा चकित भएका थिए। त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो नजिक आउनुहोस्।” जब उनीहरू आए, तब तिनले भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो! अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्‍वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो। देशमा दुई वर्षदेखि अनिकाल छाएको छ; अनि अब आउने पाँच वर्षहरूमा जोत्ने र कटनी गर्ने काम हुनेछैन। तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्‍वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो। “यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्‍वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 45 पढ्नुहोस्

उत्‍पत्ति 45:1-8 पवित्र बाइबल (NERV)

यूसूफले अब केही क्षण पनि आफूलाई नियन्त्रणमा राख्नु सकेन। तिनी त्यहाँ भएका सबै मानिसहरूको अघाडी रोए। यूसुफले भने, “प्रत्येकलाई यो ठाउँ छोडी जानु भन।” यसर्थ मानिसले त्यो ठाउँ छोडी दिए। खाली ती दाज्यू-भाइहरू मात्र यूसुफसित बसे। त्यसपछि यूसुफले तिनी को हुन् भने। यूसुफ रोइरहे अनि फिरऊनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने। यूसुफले उनका दाज्यू-भाइहरूलाई भने, “म तिमीहरूका भाइ यूसुफ हुँ। के मेरा बाबु कुशल हुनुहुन्छ?” तर दाज्यू भाइहरूले तिनलाई उत्तर दिएनन्। तिनीहरू अलमल्ल परे अनि घबराएका थिए। यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ। अहिले चिन्ता नगर। तिमीहरू आफैंसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु। यस भयंकर अनिकाल दुइ बर्षसम्म चल्यो अनि अझै पाँच बर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ। यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अगि पठाउनु भयो। यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 45 पढ्नुहोस्

उत्‍पत्ति 45:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

योसेफले मन थाम्‍न सकेनन्। आफ्‍ना चाकरहरूको अघि आफूलाई सम्‍हाल्‍न सकेनन् र तिनीहरूलाई बिदा गरे। म योसेफ हुँ भनी आफूलाई प्रकट गर्दा योसेफसित आफ्‍ना दाजुभाइहरूबाहेक अरू कोही थिएन। उनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले पनि सुने र राजाको दरबारमा पनि त्‍यो खबर पुग्‍यो। योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ।” के मेरा बुबा अझै जिउँदै छन्? तिनको कुरा सुनेर योसेफका दाजुभाइहरू यस्‍तो हड्बडाए कि तिनीहरूले केही पनि बोल्‍न सकेनन्। तब योसेफले तिनीहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” तिनीहरू उनको नजिक गए। उनले भने, “म तिमीहरूको भाइ योसेफ हुँ, जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ। मलाई बेच्‍यौ भनेर अब सुर्ता नगर र आफूलाई अपराधी नठान। वास्‍तवमा परमेश्‍वरले मलाई तिमीहरूको अघि नै मानिसहरूको प्राण बचाउनलाई यहाँ पठाउनुभएको हो। देशमा परेको अनिकालको यो दोस्रो वर्ष मात्र हो। अरू पाँच वर्ष बाँकी छ, जब कहीँ हलो जोत्‍न सकिनेछैन न अन्‍नको कटनी हुन सक्‍छ। यस्‍तो उदेक तरिकाले तिमीहरूलाई बचाउन र तिमीहरू र तिमीहरूका सन्‍तानको प्राण जोगाउन परमेश्‍वरले मलाई पहिले नै पठाउनुभयो र मलाई यहाँ पठाउने खासमा तिमीहरू होइनौ तर परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले मलाई राजाको सबैभन्दा ठूलो कर्मचारी बनाउनुभएको छ। म यो सारा देशमाथि हाकिम खटाइएको छु। म सम्‍पूर्ण मिश्रदेशको शासक बनेको छु।

शेयर गर्नुहोस्
उत्‍पत्ति 45 पढ्नुहोस्