उत्‍पत्ति 4:3-16

उत्‍पत्ति 4:3-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए। तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र उनको मुख अँध्‍यारो भयो। तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्‍यारो छ? यदि तैंले जे ठीक छ त्‍यो गरिस्‌ भने तँ ग्रहणयोग्‍य हुँदैनस्‌ र? तर यदि तैंले ठीक काम गरिनस्‌ भनेता पाप तेरो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तँप्रति हुन्‍छ, तर तैंले त्‍यसलाई अधीन गर्नैपर्छ।” कयिनले आफ्‍ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?” परमप्रभुले भन्‍नुभयो, “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्‍नो मुख उघार्‍यो। तैंले भूमिको खेती गर्दा अब उप्रान्‍त त्‍यसले तँलाई आफ्‍नो उब्‍जनी दिनेछैन। तँ पृथ्‍वीमा एक विनाचैनको डुलुवा हुनेछस्‌।” कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्‍ने कड़ा दण्‍ड मलाई भयो। हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।” तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो। तब कयिन परमप्रभुको उपस्‍थितिबाट निस्‍केर अदनको पूर्वपट्टि भएको नोद भन्‍ने देशमा बस्‍न लागे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्

उत्‍पत्ति 4:3-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

केही समय बितेपछि कयिनले याहवेहलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही ल्याए। अनि हाबिलले पनि आफ्ना बगालका पहिले जन्मेका मोटा पाठाहरूबाट केही असल भागहरू ल्याए। याहवेहले हाबिल र तिनको भेटीलाई निगाहको दृष्‍टिले हेर्नुभयो; तर कयिनलाई र तिनको भेटीलाई चाहिँ निगाहको दृष्‍टिले हेर्नुभएन। यसकारण कयिन रिसले चुर भए, र तिनको मुख अँध्यारो भयो। तब याहवेहले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन उदास छ? तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।” त्यसपछि कयिनले आफ्नो भाइ हाबिललाई भने, “आइज, हामी बाहिर खेतमा जाऔँ।” अनि जब तिनीहरू खेतमा थिए, तब कयिनले आफ्नो भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे। तब याहवेहले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “म जान्दिनँ; के म मेरो भाइको गोठालो हुँ र?” याहवेहले भन्‍नुभयो, “तैँले यो के गरिस्? सुन! तेरो भाइको रगतको आवाजले भूमिबाट मलाई पुकार्दैछ। अब तँमाथि श्राप परेको छ, र भूमिबाट धपाइएको छस्, त्यस भूमिले तेरो हातबाट तेरो भाइको रगत लिनलाई आफ्नो मुख खोलेको छ। जब तैँले भूमिमा खनजोत गर्छस्, अब उसो त्यसले तेरा लागि अन्‍न उमार्नेछैन। तँ पृथ्वीमा एक बेचैन डुलुवा हुनेछस्।” कयिनले याहवेहलाई भने, “मेरो दण्ड मैले सहनै नसक्ने भयो। आज तपाईंले मलाई यस ठाउँबाट निकाल्नुहुँदैछ; अनि म तपाईंको उपस्थितिबाट लुकाइनेछु; यस पृथ्वीमा म बेचैन डुलुवा हुनेछु; अनि जसले मलाई भेट्टाउँछ, त्यसले मलाई मार्नेछ।” तर याहवेहले तिनलाई भन्‍नुभयो, “यस्तो हुनेछैन, यदि कसैले कयिनलाई मार्‍यो भने त्यसको सात गुणा बढ्ता त्यसले भोग्नेछ।” तब तिनलाई कसैले भेटेर नमारून् भनी याहवेहले कयिनलाई एउटा चिन्ह लगाइदिनुभयो। यसरी कयिन याहवेहको उपस्थितिबाट गयो, र अदनको पूर्वपट्टिको नोद भन्‍ने ठाउँमा बस्‍न लाग्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्

उत्‍पत्ति 4:3-16 पवित्र बाइबल (NERV)

केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो। हाबिलले पनि आफ्नो भेंडाको बथानबाट पहिले जन्मेको भेंडाको उत्तम भाग चढाउन ल्यायो। अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो। तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो। परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।” कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरू खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो। तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?” त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसँग कराउँदैछ। तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरू हुने बनाइदिनेछु। जब तैंले त्यो भूमिमा केही रोप्छस् तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिँड्ने छस्।” तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो। हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।” तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तँलाई मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन। तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्

उत्‍पत्ति 4:3-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही समयपछि कयिनले खेतीको केही उब्‍जनी ल्‍याएर परमप्रभुलाई भेटी चढाए। तब हाबिलले आफ्‍ना बथानको एउटा भेडाले ब्‍याएको पहिलो पाठो ल्‍याए र मारे र त्‍यसको सबैभन्दा राम्रो भाग भेटी चढायो। परमप्रभु हाबिल र उनको भेटीसँग प्रसन्‍न हुनुभयो, तर कयिन र उनको भेटीचाहिँ अस्‍वीकार गर्नुभयो। कयिन झोकिए र रिसले अनुहार बिगारे। तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो? तैँले ठीक काम गरेको भए, तँ हाँस्‍न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्‍यसले तँलाई अधीन गर्न खोज्‍छ तर तैँले त्‍यसलाई अधीन गर्नुपर्छ।” तब कयिनले आफ्‍नो भाइ हाबिललाई भने, “आइज, हामी खेतमा जाऔं।” तिनीहरू खेतमा पुगेपछि कयिन भाइमाथि जाइलागे र त्‍यसलाई मारे। परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “मलाई थाहा छैन। के म मेरो भाइको गोठालो हुँ र?” तब परमप्रभुले भन्‍नुभयो, “तैँले किन यो घिनलाग्‍दो काम गरिस्? बदला लिन उचालेको सोरजस्‍तो तेरो भाइको रगतले भूइँबाट मलाई दुहाइ दिइरहेको छ। तँमाथि सराप परेको छ र तैँले जमिनमा खेती गर्न पाउनेछैनस्। तेरो भाइको रगतले जमिन भिजेको छ, तैँले भाइलाई मार्दा जमिनले आफ्‍नो मुख खोलेर रगत पियो। तैँले खेतीपाती गर्ने चेष्‍टा गरिस् भने जमिनले केही उब्‍जनी दिनेछैन। तँ घरबिनाको पृथ्‍वीमा एउटा डुलिहिँड्‍ने मानिस हुनेछस्।” कयिनले परमप्रभुलाई भने, “यो दण्‍ड मैले सहन नसक्‍ने गरी कडा भयो। तपाईंले मलाई जमिन र आफ्‍ना सामुदेखि धपाउँदै हुनुहुन्‍छ। म पृथ्‍वीमा एउटा घरबिनाको डुलिहिँड्‍ने मानिस हुनेछु अनि जसले मलाई भेट्टाउनेछ, उसले मलाई मार्नेछ।” तर परमप्रभुले उत्तर दिनुभयो, “होइन, कसैले तँलाई मार्‍यो भने त्‍यसको सट्टामा सात गुणा बदला लिइनेछ।” यसकारण उनलाई भेट्‍ने कसैले कयिनलाई नमारोस् भनी चेतावनी दिन परमप्रभुले कयिनमाथि एउटा चिन्‍ह लाइदिनुभयो। अनि कयिन परमप्रभुका सामुदेखि निस्‍किए र अदनको पूर्वपट्टि भएको नोद (जसको अर्थ हो ‘डुलुवा’) भनिने देशमा बसोबास गर।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्