उत्‍पत्ति 3:6-10

उत्‍पत्ति 3:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए। अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके। तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?” उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:6-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब स्त्रीले त्यस रूखको फल खानका निम्ति असल, हेर्नमा रहरलाग्दो र बुद्धि प्राप्‍त गर्न चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले केही फल टिपेर खाइन्। तब तिनले आफ्ना पतिलाई पनि दिइन्; जो तिनीसँगै थिए, र तिनले पनि खाए। तब ती दुवैका आँखा खुले, र आफू नाङ्गा भएका तिनीहरूले थाहा पाए। यसकारण तिनीहरूले ढाक्नका लागि नेभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए। जब याहवेह परमेश्‍वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्‍वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके। तर याहवेह परमेश्‍वरले मानिसलाई, “तँ कहाँ छस्?” भनी बोलाउनुभयो। तिनले जवाफ दिए, “मैले बगैँचामा तपाईंको सोर सुनेँ, र मलाई डर लाग्यो, किनकि म नाङ्गो थिएँ; त्यसैले म लुकेँ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:6-10 पवित्र बाइबल (NERV)

तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो। तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए। जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके। परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?” तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यो रूख हेर्नमा कति सुन्‍दर अनि त्‍यसका फल खानलाई कति रहरलाग्‍दा थिए, त्‍यो स्‍त्रीले देखिन्‌। ज्ञानी हुन पाए कति असल हुनेथियो, उनले सोचिन्‌। उनले केही फल टिपेर खाइन्‌, केही आफ्‍ना लोग्‍नेलाई दिइन्‌ र उनले पनि त्‍यो खाए। त्‍यो खाने बित्तिकै तिनीहरूले समझशक्ति पाए र आफू नाङ्गै रहेछौं भनी चाल पाए। यसकारण तिनीहरूले नेभाराको पात गाँसेर त्‍यसले आफ्‍ना शरीर ढाके। त्‍यही बेलुका तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा डुलिरहनुभएको सुने र रूखका बीचमा उहाँका सामुदेखि लुके। तर परमप्रभु परमेश्‍वरले “तँ कहाँ छस्?” भनी मानिसलाई बोलाउनुभयो। उनले जवाफ दिए, “मैले तपाईंको सोर बगैँचामा सुनें। म नाङ्गै थिएँ, यसैले म डराएँ र तपाईंदेखि लुकें।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्