उत्‍पत्ति 3:1-11

उत्‍पत्ति 3:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन-पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?” स्‍त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्‍छौं, तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्‍योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।” सर्पले स्‍त्रीलाई भन्‍यो, “तिमीहरू मर्दैनौ। किनकि परमेश्‍वर जान्‍नुहुन्‍छ कि जुन दिन तिमीहरू त्‍यो खान्‍छौ त्‍यही दिन तिमीहरूका आँखा खुल्‍नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्‍तै हुनेछौ।” जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए। अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके। तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?” उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।” उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब याहवेह परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्प सबैभन्दा बढी धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के याहवेह परमेश्‍वरले ‘यस बगैँचाको कुनै पनि रूखका फल तिमीहरूले नखानू’ भनी साँच्‍चै भन्‍नुभएको हो?” तब स्त्रीले सर्पलाई भनिन्, “बगैँचामा भएका रूखहरूका फल हामी खान सक्छौँ, तर परमेश्‍वरले यो पनि भन्‍नुभएको छ, ‘तिमीहरूले बगैँचाको बीचमा भएको रूखको फल खाँदै नखानू, र तिमीहरूले त्यो नछुनू; नत्रता तिमीहरू मर्नेछौ।’ ” तब सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू कदापि मर्नेछैनौ!” “किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जब तिमीहरूले यो खान्छौ, तिमीहरूका आँखा खुल्नेछन्; अनि असल र खराब थाहा पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।” जब स्त्रीले त्यस रूखको फल खानका निम्ति असल, हेर्नमा रहरलाग्दो र बुद्धि प्राप्‍त गर्न चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले केही फल टिपेर खाइन्। तब तिनले आफ्ना पतिलाई पनि दिइन्; जो तिनीसँगै थिए, र तिनले पनि खाए। तब ती दुवैका आँखा खुले, र आफू नाङ्गा भएका तिनीहरूले थाहा पाए। यसकारण तिनीहरूले ढाक्नका लागि नेभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए। जब याहवेह परमेश्‍वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्‍वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके। तर याहवेह परमेश्‍वरले मानिसलाई, “तँ कहाँ छस्?” भनी बोलाउनुभयो। तिनले जवाफ दिए, “मैले बगैँचामा तपाईंको सोर सुनेँ, र मलाई डर लाग्यो, किनकि म नाङ्गो थिएँ; त्यसैले म लुकेँ।” अनि उहाँले भन्‍नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो? मैले नखानू भनी आदेश दिएको त्यस रूखबाट तैँले खाइस्?”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:1-11 पवित्र बाइबल (NERV)

परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरू मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?” त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरूको फल खान सक्छौं।” तर परमेश्वरले भन्नुभयो, “तिमीहरूले बगैंचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरूले छुनु पनि हुँदैन, नत्र तिमीहरू मर्नेछौ।” तर सर्पले स्त्रीलाई भने, “तिमीहरू निश्चय मर्ने छैनौ। परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरूले त्यस रुखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।” तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो। तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए। जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके। परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?” तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।” तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्

उत्‍पत्ति 3:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु परमेश्‍वरले बनाउनुभएका पशुहरूमध्‍ये साँप सबैभन्दा धूर्त थियो। साँपले स्‍त्रीलाई सोध्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाका कुनै रूखको फल नखानू भन्‍नुभएको छ?” स्‍त्रीले उत्तर दिई, “बगैँचाका बीचमा भएको रूख छोडी अरू कुनै पनि रूखका फल हामी खान सक्‍छौं। परमेश्‍वरले त्‍यो रूखको फलचाहिँ नखानू र नछुनू पनि भन्‍नुभएको छ। हामीले त्‍यो खायौं भने हामी मर्नेछौं।” साँपले जवाफ दियो, “त्‍यो कुरा साँचो होइन, तिमीहरू मर्नेछैनौ। तिमीहरूले त्‍यसको फल खायौ भने परमेश्‍वरजस्‍तै हुनेछौ र असल र खराबको ज्ञान पाउनेछौ भनी उहाँले जान्‍नुहुन्छ र नै त्‍यसो भनेका हुन्।” त्‍यो रूख हेर्नमा कति सुन्‍दर अनि त्‍यसका फल खानलाई कति रहरलाग्‍दा थिए, त्‍यो स्‍त्रीले देखिन्‌। ज्ञानी हुन पाए कति असल हुनेथियो, उनले सोचिन्‌। उनले केही फल टिपेर खाइन्‌, केही आफ्‍ना लोग्‍नेलाई दिइन्‌ र उनले पनि त्‍यो खाए। त्‍यो खाने बित्तिकै तिनीहरूले समझशक्ति पाए र आफू नाङ्गै रहेछौं भनी चाल पाए। यसकारण तिनीहरूले नेभाराको पात गाँसेर त्‍यसले आफ्‍ना शरीर ढाके। त्‍यही बेलुका तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा डुलिरहनुभएको सुने र रूखका बीचमा उहाँका सामुदेखि लुके। तर परमप्रभु परमेश्‍वरले “तँ कहाँ छस्?” भनी मानिसलाई बोलाउनुभयो। उनले जवाफ दिए, “मैले तपाईंको सोर बगैँचामा सुनें। म नाङ्गै थिएँ, यसैले म डराएँ र तपाईंदेखि लुकें।” “तँ नाङ्गै छस् भनेर कसले तँलाई भन्‍यो? मैले नखानू भनेको फल तैँले खाइस् कि कसो?” परमेश्‍वरले सोध्‍नुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 3 पढ्नुहोस्