उत्‍पत्ति 28:1-19

उत्‍पत्ति 28:1-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैंले कनानी स्‍त्रीहरूमध्‍ये कसैलाई विवाह नगर्नू। पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌। सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्, र तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, र तँ मानिसहरूको एक समुदाय होस्‌। परमेश्‍वरले तँलाई र तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, कि तँ प्रवासी भएको यस देशमा, जो परमेश्‍वरले अब्राहामलाई दिनुभएको हो, तेरै अधिकार होस्‌।” यसरी इसहाकले याकूबलाई पठाए। तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए। अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्‍नी ल्‍याउन त्‍यहाँबाट पद्दन-आराममा पठाएछन्, र तिनलाई आशीर्वाद दिएर, “तैंले कनानी स्‍त्रीहरूमध्‍ये कसैलाई विवाह नगर्नू” भन्‍ने कुरा एसावले थाहा पाए। र याकूब बाबु-आमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएछ भन्‍ने पनि एसावले थाहा पाए। कनानी स्‍त्रीहरू उनका बुबालाई मन पर्दैन रहेछ भन्‍ने जब एसावले पत्ता लगाए, तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नी तुल्‍याएर ल्‍याए। बेर्शेबा छोड़ेर याकूब हारानतिर लागे। कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ वास बसे। त्‍यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्‍नो सिरान बनाएर सुत्‍नलाई त्‍यहीँ पल्‍टे। तिनले यस्‍तो सपना देखे: जमिनमा खड़ा गरिएको एउटा भर्‍याङ रहेछ, र त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दारहेछन्‌। परमप्रभु त्‍यसमाथि उभिनुभयो, र याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ। जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु। तेरा सन्‍तान पृथ्‍वीको धूलोसरह हुनेछन्‌। पूर्व, पश्‍चिम, उत्तर र दक्षिणतिर फैलिएर तँ जानेछस्‌। तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्‌। हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ।” तब याकूब निद्राबाट ब्‍यूँझेर भने, “निश्‍चय नै यस ठाउँमा परमेश्‍वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन।” तिनी साह्रै डराए र तिनले भने, “यो ठाउँ कस्‍तो भययोग्‍य रहेछ। यो त परमेश्‍वरको घरबाहेक अरू केही होइन रहेछ। यो त स्‍वर्गको ढोका पो रहेछ।” याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्‍तै गरी खड़ा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए। तिनले त्‍यस ठाउँको नाउँ बेथेल राखे। पहिले त्‍यस ठाउँको नाउँ लूज थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्

उत्‍पत्ति 28:1-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण इसहाकले याकोबलाई बोलाएर आशिष् दिए। त्यसपछि उनले यस्तो आज्ञा दिए: “कनानी स्त्रीसँग विवाह नगर्नू। तुरुन्तै पद्दन-अराममा तेरी आमाका पिता बतूएलको घरमा गइहाल्, र आफ्ना लागि तेरी आमाका दाजु लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्नू। सर्वशक्तिमान् परमेश्‍वरले तँलाई आशिष् देऊन्, र तँ जाति-जातिको एक समुदाय नहोउन्जेल तँलाई फलवन्त बनाएर तेरो संख्याको वृद्धि गरून्। उहाँले तँ र तेरा सन्ततिलाई अब्राहामलाई दिनुभएको आशिष् देऊन्, ताकि अब्राहामलाई परमेश्‍वरले दिनुभएको ठाउँ, जसमा तँ अहिले परदेशी भई बसेको छस्, त्यो भूमि तेरो अधिकारमा होस्।” तब इसहाकले याकोबलाई बिदा गरे; अनि तिनी पद्दन-अराममा लाबानकहाँ गए। लाबान अरामी बतूएलको छोरा, अर्थात् याकोब र एसावकी आमा रिबेकाका दाजु थिए। अब इसहाकले याकोबलाई आशिष् दिएर पद्दन-अरामबाट पत्नी ल्याउनू भनी त्यहाँ पठाएछन्, र तिनलाई आशिष् दिँदा “कुनै कनानी स्त्रीलाई विवाह नगर्नू,” भन्‍ने आज्ञा दिएछन्, र याकोबले आफ्ना बुबा र आमाको आज्ञापालन गरेर पद्दन-अराममा गएको कुरा एसावले थाहा पाए। जब तिनका पिता इसहाकलाई कनानी स्त्रीहरू मन पर्दैन रहेछ भनी एसावले थाहा पाए; तब एसाव इश्माएलकहाँ गए, र आफूसित भएका पत्नीहरूबाहेक तिनले अब्राहामको छोरा इश्माएलकी छोरी, नबायोतकी बहिनी महलतलाई विवाह गरे। याकोब बेर्शेबा छोडेर हारानतर्फ लागे। तिनी कुनै एक विशेष ठाउँमा पुगेपछि सूर्य अस्ताइसकेकोले रात कटाउन त्यहीँ रोकिए। त्यस ठाउँमा एउटा ढुङ्गा लिएर त्यसको सिरानी लगाएर सुत्नका लागि तिनी ढल्किए। अनि तिनले सपना देखे। पृथ्वीमाथि अडिएको एउटा भर्‍याङ, जसको टुप्पोचाहिँ स्वर्गसम्म पुगेको थियो; अनि परमेश्‍वरका दूतहरू त्यसमा उक्लँदै र ओर्लंर्दै गरेका देखे। अनि सबैभन्दा माथिचाहिँ याहवेह उभिनुभएको थियो, र उहाँले भन्‍नुभयो: “म याहवेह नै तेरा पिता अब्राहाम र इसहाकका परमेश्‍वर हुँ। तँ ढल्किरहेको यो ठाउँ तँ र तेरा सन्तानहरूलाई म दिनेछु। तेरा सन्तानहरू पृथ्वीको धुलोझैँ हुनेछन्; अनि तँ पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिनेछस्। पृथ्वीका सबै जातिले तँ र तेरा सन्तानहरूद्वारा आशिष् पाउनेछन्। म तँसँग छु, र तँ जहाँ जान्छस्, तँलाई रक्षा गर्नेछु; अनि तँलाई यस देशमा फर्काएर ल्याउनेछु। मैले तँसित गरेको प्रतिज्ञा पूरा नगरेसम्म म तँलाई छोड्नेछैनँ।” जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, “निश्‍चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।” तब तिनी डराएर भने, “यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्‍वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।” भोलिपल्ट बिहानै याकोब उठे, र आफूले सिरानी लगाएको ढुङ्गा लिए; अनि त्यसलाई खाँबोझैँ ठड्याएर टुप्पोमाथि तेल खन्याए। तिनले त्यस ठाउँको नाम बेथेल राखे; पहिला त्यस सहरलाई लूज भनिन्थ्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्

उत्‍पत्ति 28:1-19 पवित्र बाइबल (NERV)

इसहाकले याकूबलाई बोलाए अनि उनलाई आशीर्वाद दिए। त्यसपछि इसहाकले उनलाई आज्ञा दिए। उनले भने, “तैंले कनानी आइमाईहरू विवाह गर्ने छैनस्। यसर्थ यस ठाउँलाई छाडेर पद्दन-आराममा। तेरी आमाको माइती-घर जा। तेरी आमाको दाज्यू लाबान त्यहाँ बस्छन्। उनको छोरीहरू मध्ये एक जनासित विवाह गर्। म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्। म प्रार्थना गर्छु, परमेश्वले अब्राहामलाई झैं तलाईं अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वले अब्राहमलाई दिनु भएको भूमि त्यही हो।” यसर्थ इसहाकले याकूबलाई रिबेकाको दाज्यूको घरमा पठाए। यसर्थ याकूब अरामी बतूएलको छोरो लाबान कहाँ गए। लाबान रिबेकाको दाज्यू थिए। रिबेका एसाव र याकूबकी आमा थिइ। एसावले बुझे उसका बाबु इसहाकले याकूबलाई आशीर्वाद दिए। अनि एसावले बुझे विवाह गर्नको निम्ति याकूबलाई इसहाकले पद्दन-आराम पठाए। एसावले बुझे इसहाकले याकूबलाई कनानी आइमाई विवाह नर्गनु भनी आदेश दिएका छन्। अनि एसावले बुझे याकूबले आमा-बाबुको कुरा मानेर पद्दन-आराम गए। एसावले बुझे उनका छोराहरूले कनानी आइमाईहरू विवाह गरेको मन पराउँदैनन्। एसावकी दुइ पत्नीहरू थिए। तर एसाव इश्माएलकहाँ गए र उनकी छोरी महालथसँग विवाह गरे। इश्माएल अब्राहामका छोरा थिए र महालथ नबायोतकी बहिनी थिइन्। याकूब बर्शेबा छोडेर हारानतिर लागे। याकूबले आफ्नो यात्रा शुरू गर्दा घाम डुबि सकेको थियो। यसर्थ रात बिताउनको लागि याकूब एउटा ठाउँमा गए। याकूबले त्यहाँ एउटा चिहान देखे अनि सुत्नको लागि त्यसैमा आफ्नो शिर राखे। याकूबले सपना देखे। एउटा सिंढ़ी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंढ़ीमा तल र माथि गरिरहेको देखे। याकूबले स्वर्गदूतहरूलाई यस सिंढ़ी चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। म इसहाकको परमेश्वर हुँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु। तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्। “म तेरो साथमा रहनेछु र तेरो रक्षा गर्नेछु तँ जहाँ गए पनि तँलाईं म यहाँ फर्काएर ल्याउनेछु। म तलाईं त्यसबेलासम्म छोड्ने छैन जबसम्म तेरो सन्तानहरूलाई म दिएको प्रतिज्ञा मैले पूरा गर्दिन।” तब याकूब ब्यूँझेर उठे अनि भने “म जान्दछु परमप्रभु यही ठाउँमा हुनुहुन्छ। तर जबसम्म म सुतेको थिइन तबसम्म मलाई थाहा थिएन परमप्रभु यहाँ हुनुहुन्छ।” याकूब डराए। उनले भने, “यो एउटा दुःखदायी ठाउँ हो। यो केही पनि होइन तर अवश्य नै परमेश्वरको घर हो। यो स्वर्गको द्वार हो।” अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्यस चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए। पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्

उत्‍पत्ति 28:1-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इसहाकले याकूबलाई बोलाएर आशिष् दिएर भने, “कनानी केटी विवाह नगर्‌। बरु पद्दन-अराममा तेरा बाजे बतूएलको घरमा जा र त्‍यहाँ तेरो मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌। सर्वशक्तिमान्‌ परमेश्‍वरले तेरो विवाहमा आशीर्वाद देऊन् र तँलाई धेरै सन्‍तान देऊन् र तँ धेरै जातिहरूका पुर्खा भएस्! उहाँले अब्राहामलाई जस्‍तै तँ र तेरा सन्‍तानलाई आशिष् देऊन् र यो तँ बसेको देश, जुन देश परमेश्‍वरले अब्राहामलाई दिनुभयो, त्‍यसमाथि तेरो अधिकार होस्!” इसहाकले याकूबलाई लाबानकहाँ पद्दन-अराममा पठाए। लाबान अरामी बतूएलका छोरा अनि एसाव र याकूबकी आमा रिबेकाका दाजु थिए। बुबाले याकूबलाई आशिष् दिएर स्‍वास्‍नी खोज्‍न पद्दन-अराममा पठाएको कुरा एसावले थाहा पाए। आशिष् दिँदा बुबाले याकूबलाई कनानी स्‍त्री विवाह नगर्नू भनेको पनि उनले थाहा पाए। आमा-बुबाका कुरा मानेर याकूब पद्दन-अराममा गएको पनि उनले चाल पाए। त्‍यसबाट बुबाले कनानी स्‍त्री मन नपराउँदा रहेछन् भनी एसावले बुझे। उनी इश्‍माएलकहाँ गए र उनकी छोरी अनि नबायोतकी बहिनी महलतलाई विवाह गरे। इश्‍माएल अब्राहामका छोरा थिए। याकूब बेर्शेबा छोडेर हारानतिर लागे। घाम अस्‍ताउँदा उनी एउटा पवित्र स्‍थानमा पुगेर त्‍यहाँ आफ्‍ना पाल टाँगे र त्‍यहाँ बास बसे। एउटा ढुङ्गाको सिरानी लाएर उनी त्‍यहाँ सुते। उनले एउटा सपना देखे। सपनामा उनले पृथ्‍वीदेखि स्‍वर्गसम्‍म पुगेको एउटा भर्‍याङ देखे। भर्‍याङमा स्‍वर्गदूतहरू उक्‍लँदै-ओर्लंदै गरिरहेका थिए। त्‍यहाँ उनको छेउमा परमप्रभु उभिरहनुभएको रहेछ। उहाँले भन्‍नुभयो, “म परमप्रभु अब्राहाम र इसहाकका परमेश्‍वर हुँ। तँ सुतिरहेको यो ठाउँ तँ र तेरा सन्‍तानलाई म दिनेछु। तिनीहरूका सङ्‍ख्‍या पृथ्‍वीमा भएका बालुवाका कणका सङ्‍ख्‍या जतिकै हुनेछन्। तिनीहरूले चारैतिर आफ्‍नो देश फैलाउनेछन्। तँ र तेरा वंशद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु। म तँसित रहनेछु, जहाँ गए पनि तँलाई म रक्षा गर्नेछु र यस देशमा म तँलाई फर्काइल्‍याउनेछु भनी याद राख्। तँसित प्रतिज्ञा गरेका सबै कुरा पूरा नभइञ्‍जेल म तँलाई छोड्‍नेछैनँ।” याकूब ब्‍यूँझे र उनले भने, “परमप्रभु यहाँ हुनुहुन्‍छ! उहाँ यस ठाउँमा हुनुहुन्‍छ तर मलाई थाहा थिएन।” उनले डराएर भने, “यो कस्‍तो भययोग्‍य ठाउँ रहेछ! यो परमेश्‍वरको भवन हुनुपर्छ, यो स्‍वर्गको ढोका नै हुनुपर्छ।” भोलिपल्‍ट बिहान सबेरै याकूब उठे र सिरानको ढुङ्गा लिए। त्‍यो ढुङ्गा ठड्याएर उनले त्‍यसलाई एउटा स्‍मारक बनाए, त्‍यसलाई अभिषेक गरेर त्‍यसको टुप्‍पामा तेल खनाए। उनले त्‍यस ठाउँको नाउँ बेथेल राखे। (पहिले त्‍यस सहरको नाम लूज थियो।)

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्