उत्पत्ति 26:1-5
उत्पत्ति 26:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए। परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो, “मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस्। त्यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष् दिनेछु, किनकि मैले तेरो बुबा अब्राहामसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानलाई यी नै देशहरू दिनेछु। तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढ़ाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष् पाउनेछन्, किनभने अब्राहामले मेरो वचन पालन गर्यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्यो।”
उत्पत्ति 26:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा फेरि अर्को एउटा अनिकाल पनि पर्यो; अनि इसहाक गरारमा भएका पलिश्तीहरूका राजा अबीमेलेककहाँ गए। याहवेह इसहाककहाँ देखा पर्नुभयो र भन्नुभयो, “तल इजिप्टमा नजा; तर मैले तँलाई भनेकै देशमा गएर बस्। यस देशमा केही समय परदेशी भएर बस्, र म तँसित हुनेछु र तँलाई आशिष् दिनेछु। किनकि म तँलाई र तेरा सन्तानहरूलाई यी सबै देशहरू दिनेछु; र मैले तेरा पिता अब्राहामसित खाएको शपथ पूरा गर्नेछु। म तेरा सन्तानहरूलाई आकाशमा भएका ताराझैँ असंख्य तुल्याउनेछु; अनि तिनीहरूलाई यी सबै देशहरू दिनेछु; र तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्; किनकि अब्राहामले मेरो आज्ञापालन गर्यो, र मेरा आज्ञाहरू, मेरा उर्दीहरू र मेरा निर्देशनहरू पालन गर्दै मैले चाहेका सबै कुरा गर्यो।”
उत्पत्ति 26:1-5 पवित्र बाइबल (NERV)
एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पलिश्ती राजा अबीमेलेककहाँ गए। परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। उहाँले इसहाकलाई भन्नुभयो, “मिश्र देश नजाऊ, त्यस ठाउँमा जाऊ जुन म तिमीलाई देखाउनेछु। त्यहीं देशमा बस तब म तँलाईं सहायता गर्नेछु। म तँलाईं आशीर्वाद दिनेछु। तेरो परिवार र तँलाईं यो सबै देश दिनेछु। म त्यही गर्नेछु जुन मैले तेरो बाबु अब्राहामलाई वचन दिएको थिएँ। म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउँनेछन्। म यस्तो यसैले गरिरहेकोछु किनभने तेरो बाबु अब्राहामले मेरो आज्ञा पालन गरे अनि मैले जे-जे भने ती सब गरे। अब्राहामले मेरो आज्ञा, मेरो विधिहरू र मेरो नियमहरूको पालन गरे।”
उत्पत्ति 26:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो देशमा अघि अब्राहामको समयमा परेको अनिकालबाहेक अर्को एउटा अनिकाल फेरि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरारमा गए। परमप्रभुले इसहाकलाई दर्शन दिएर भन्नुभएको थियो, “मिश्रमा नजा। यही देशमा बस्। म जहाँ तँलाई बस् भन्छु, त्यही देशमा बस्। म तँसित रहनेछु र तँलाई आशिष् दिनेछु। यो सारा देश तँलाई र तेरा सन्तानलाई दिनेछु। तेरा बुबा अब्राहामसित मैले गरेको प्रतिज्ञा म पूरा गर्नेछु। आकाशमा जति तारा छन्, त्यति नै म तँलाई सन्तान दिनेछु र यो सारा देश तिनीहरूलाई दिनेछु। मैले तेरो सन्तानलाई दिएको जस्तो आशिष् अरू सबै जातिहरूले मसँग माग्नेछन्। अब्राहामले मेरो वचन मान्यो र सबै नियमहरू र आज्ञाहरू पालन गर्यो। यसकारण म तँलाई आशिष् दिनेछु।”