उत्पत्ति 2:18-25
उत्पत्ति 2:18-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।” परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्यही-त्यही नै त्यसको नाउँ भयो। यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे। तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। यसैकारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्येको एउटा निकाल्नुभई त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो। मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्।” यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्। मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, र लजाउँदैनथे।
उत्पत्ति 2:18-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।” याहवेह परमेश्वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्यो। यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे। तर आदमको लागि कुनै सुहाउँदो सहयोगी पाइएन। यसकारण याहवेह परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो। अनि याहवेह परमेश्वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो। अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।” यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्। मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे।
उत्पत्ति 2:18-25 पवित्र बाइबल (NERV)
तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो ऊ जस्तै नै हुनेछे।” यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरू र आकाशमा चरा-चुरूङ्गीहरू सृष्टि गरी तिनीहरूको के-के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरूलाई जे भने तिनीहरूको त्यही नाउँ रह्यो। अनि मानिसले पाल्तू गाई-वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरू र जङ्गली जनावरहरूको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन। त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग त्यस मानिसबाट निकाल्नु भयो तब परमेश्वरले करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो। त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो। तब त्यस मानिसले भने, “आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो, अनि उसको शरीर मेरो शरीरबाट आयो। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।” यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्। त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरू लाज मान्दैन थिए।
उत्पत्ति 2:18-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एक्लै बस्न असल छैन। त्यसको लागि म एउटा सुहाउने सहयोगी बनाइदिनेछु।” उहाँले जमिनबाट केही माटो लिनुभयो र सबै पशु र चरा-चुरुङ्गीहरू बनाउनुभयो। तब तिनीहरूलाई के-के नाम दिने रहेछ भनी हेर्नलाई उहाँले तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। त्यसरी तिनीहरूले आ-आफ्ना नाम पाए। त्यसरी मानिसले सबै चरा-चुरुङ्गी र पशुहरूलाई नाम दियो तर तीमध्ये कुनै पनि उसलाई सुहाउने र सहायता दिने साथी भएन। तर परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र त्यसरी सुतेको बेलामा उहाँले उसको एउटा करङ निकाल्नुभयो र त्यसमा मासु भरिदिनुभयो। त्यस करङबाट उहाँले एउटी नारी बनाउनुभयो र उसकहाँ ल्याउनुभयो। तब मानिसले भन्यो: “अन्तमा, यो त मजस्तै रहेछ। मेरो हाडबाट लिएको हाड र मेरो मासुबाट लिएको मासु, यिनलाई ‘स्त्री’ भनिनेछ किनभने यिनी पुरुषबाट निकालिएकी थिइन्।” त्यसैकारण मानिसले आफ्ना बुबाआमा छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र ती दुई एउटै शरिर हुन्छन्। ती मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए तर तिनीहरू लजाउँदैनथे।