गलाती 3:19-25
गलाती 3:19-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउञ्जेल अपराधको कारणले व्यवस्था थपियो। अनि एक जना मध्यस्थले स्वर्गदूतहरूद्वारा व्यवस्थाको स्थापना गर्यो। एउटैको मात्र मध्यस्थ हुँदैन, तर परमेश्वर एउटै हुनुहुन्छ। तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूका विरुद्ध छ र? कदापि छैन। यदि जीवित पार्न सक्ने व्यवस्था दिइएको भए, धार्मिकता साँच्चै व्यवस्थाबाट हुनेथियो। तर धर्मशास्त्रले बताउँछ, कि सबै कुरा पापको कैदमा छ, ताकि जुन प्रतिज्ञा येशू ख्रीष्टमाथि विश्वासद्वारा दिइएको थियो, त्यो विश्वास गर्नेहरूलाई दिइओस्। तर विश्वास आउन अघि हामी व्यवस्थाको वशमा थियौं, र विश्वास प्रकट नभएसम्म हामी थुनिएका थियौं। विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्याउने जिम्मा दिइयो। तर अब विश्वास आएको हुनाले अब उप्रान्त हामी संरक्षकको अधीनमा छैनौं।
गलाती 3:19-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, त्यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेल यो व्यवस्था स्वर्गदूतहरूद्वारा एक जना मध्यस्थकर्तालाई सुम्पिइएको थियो। एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्वर एउटै हुनुहुन्छ। तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो। तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्टमा विश्वासद्वारा पाइन्छ; अनि जस-जसले विश्वास गर्दछन्, उनीहरूलाई दिइनेछ। तर विश्वास आउनुभन्दा अगि हामी व्यवस्थाको अधीनमा कैदी भएका थियौँ; अनि विश्वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौँ। यसकारण ख्रीष्ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्वासद्वारा धर्मी ठहरिन सकौँ। अहिले त्यो विश्वास आएको छ। अब हामी अभिभावकको अधीनमा छैनौँ।
गलाती 3:19-25 पवित्र बाइबल (NERV)
त्यसो हो भने व्यवस्था किन आवश्यक पर्यौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउन्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे। तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो। के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं। तर यो साँच्चो होइन, किनकि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतिज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो। जब सम्म यो विश्वास आएको थिएन हामीहरू व्यवस्थाको कैदी थियौं। जब सम्म परमेश्वरमा गर्नु पर्ने विश्वास गर्दैनौ, हामी स्वतन्त्र हुँदैनौं। यसले गर्दा ख्रीष्टको आगमन सम्म व्यवस्था हाम्रो अभिभावक थियो। ख्रीष्ट आए पछि विश्वासद्वारा हामी धर्मी बन्न सक्यौं। अब विश्वासको बाटो खुलेकोछ र हामी व्यवस्थाको संरक्षणमा छैनौं।
गलाती 3:19-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो भए व्यवस्था किन दिइयो त? पाप चिनाउन दिइयो अनि प्रतिज्ञा गरेको अब्राहामका सन्तान नआउञ्जेल यसको काम पर्यो। व्यवस्था स्वर्गदूतहरूले मध्यस्थद्वारा दिए। मध्यस्थ हुन दुई पक्ष चाहिन्छ तर परमेश्वर एक हुनुहुन्छ। त्यसो भए के व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरोधी हो? अँहँ, होइन। मानिसले जीवन पाओस् भनेर व्यवस्था दिएको भए, व्यवस्थाले नै मानिसलाई परमेश्वरको अगाडि ठीक ठहराउने थियो। येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई प्रतिज्ञा गरेको आशिष् विश्वास गर्नेहरूले नै पाऊन् भनेर सारा संसार पापको कैदमा छ भनी धर्मशास्त्रले बताउँछ। ख्रीष्टभन्दा अघि विश्वास प्रकट नहुञ्जेलसम्म व्यवस्थाले नै हामी सबैलाई हेरविचार गरेर राखेको थियो। विश्वासद्वारै परमेश्वरका सामु ठीक ठहरिनलाई ख्रीष्ट आउनुभन्दा अघि व्यवस्था हाम्रो गुरु भयो। तर विश्वास आएकोले अब हामीलाई त्यस गोठालाले हेर्नुपर्दैन।