एज्रा 7:11-28

एज्रा 7:11-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

इस्राएललाई दिनुभएका परमप्रभुका आज्ञा र धर्म-विधिको विषय र धार्मिक प्रश्‍नमा निपुण पूजाहारी-शास्‍त्री एज्रालाई अर्तासास्‍त राजाले दिएको राजकीय पत्रको नकल यही हो: “राजाहरूका महाराजा अर्तासास्‍तबाट स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थामा निपुण पूजाहारी-शास्‍त्री एज्रालाई अभिवादन: “म यो उर्दी दिँदैछु कि मेरो देशमा भएका कुनै इस्राएलीहरू, पूजाहारीहरू र लेवीहरूसमेत, जो राजी-खुशीसित यरूशलेममा जान चाहन्‍छन्, तिनीहरू तिमीसँग जान सक्‍छन्‌। तिम्रो जिम्‍मामा भएको तिम्रा परमेश्‍वरको व्‍यवस्‍थाको सम्‍बन्‍धमा यहूदा र यरूशलेममा के भइरहेछ सो हेर-विचार गर्न राजा र तिनका सात जना सल्‍लाहकारहरूले तिमीलाई पठाएका हुन्‌। राजा र तिनका सल्‍लाहकारहरूले यरूशलेममा वासस्‍थान गर्नुहुने इस्राएलका परमेश्‍वरलाई सित्तैँमा दिएका सुन र चाँदी पनि तिमीले लानू। साथै बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति सुन र चाँदी र साथै यरूशलेममा तिनीहरूका परमेश्‍वरका भवनको निम्‍ति मानिसहरू र पूजाहारीहरूले राजीखुशीसित जो भेटीहरू दिन्‍छन्‌ ती पनि तिमीले लैजान सक्‍छौ। यस रकमबाट साँढ़ेहरू, भेड़ाहरू, थुमाहरू र तिनका साथ अन्‍नबलि र अर्घ-बलिका सामानहरू तिमीले निश्‍चय किन्‍नू, र तिनलाई यरूशलेममा तिम्रा परमेश्‍वरका मन्‍दिरको वेदीमा बलि चढ़ाउनू। “त्‍यसबाहेक कुनै सुन वा चाँदी उब्य्रो भने तिम्रा परमेश्‍वरको इच्‍छाबमोजिम तिमी र तिम्रा दाजुभाइहरूले जस्‍तो ठीक लाग्‍छ त्‍यसरी नै त्‍यो चलाउन सक्‍छौ। तिम्रा परमेश्‍वरको मन्‍दिरमा आराधनाको निम्‍ति तिम्रो जिम्‍मामा दिएका भाँड़ाहरूचाहिँ तिमीले यरूशलेमका परमेश्‍वरलाई सुम्‍पिदिनू। र तिम्रा परमेश्‍वरका भवनको निम्‍ति चाहिएका कुनै पनि अरू चीजबीज तिमीले राजकोषबाट जुटाउन सक्‍छौ। “अब म, राजा अर्तासास्‍त, यूफ्रेटिस पारिको प्रान्‍तका सबै कोषाध्‍यक्षहरूलाई यो हुकुम दिँदैछु: स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थामा निपुण पूजाहारी-शास्‍त्री एज्राले तिमीसँग मागेको जुनसुकै थोक निश्‍चय जुटाइदिनू, अर्थात्‌ एक सय तोड़ा, चाँदी, एक सय कोर गहूँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल, र नूनचाहिँ जत्ति चाहिन्‍छ दिइहाल्‍नू। स्‍वर्गका परमेश्‍वरले जे आज्ञा गर्नुभएको छ त्‍यो स्‍वर्गका परमेश्‍वरका मन्‍दिरको निम्‍ति निश्‍चय पूरा गरिओस्, नत्रता राजा र तिनका छोराहरूको राज्‍यमाथि क्रोध आइपर्ला। हामी यो पनि तिमीहरूलाई जनाउँदछौं कि कुनै पनि पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू, मन्‍दिरका सेवकहरू अथवा परमेश्‍वरको यस भवनका अरू काम गर्नेहरूलाई राजकर वा आयकर वा महसूल लाउने तिमीहरूलाई अधिकार छैन। “तिमी, एज्राले चाहिँ तिमीसित भएको तिम्रा परमेश्‍वरको बुद्धिअनुसार यूफ्रेटिस पारिको प्रान्‍तका तिम्रा परमेश्‍वरका विधिविधानलाई जान्‍ने सबै मानिसमाथि न्‍याय गर्न हाकिमहरू र न्‍यायकर्ताहरू नियुक्त गर्नू। ती नजान्‍नेहरूलाई चाहिँ तिमीले सिकाउनू। तिम्रा परमेश्‍वरको व्‍यवस्‍था र राजाको कानून पालन नगर्ने जुनसुकैलाई पनि कठोर दण्‍ड दिइनैपर्छ— मृत्‍युदण्‍ड, वा देश निष्‍कासन, वा सम्‍पत्ति जफत वा कैद।” परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्‍वरको प्रशंसा होस्, जसले यसरी यरूशलेममा भएको परमेश्‍वरका भवनको महिमा बढ़ाउन राजाको मनमा यो विचार हालिदिनुभयो, अनि राजा, उनका सल्‍लाहकारहरू र उनका सबै उच्‍च पदाधिकारीहरूका सामुन्‍ने मप्रति आफ्‍नो कृपा-दृष्‍टि प्रकट गर्नुभयो। यसैले परमप्रभु मेरा परमेश्‍वरको हात ममाथि रहेको छ भनी जानेर मैले साहस गरें, र मसँग जान इस्राएलका मुख्‍य-मुख्‍य मानिसहरूलाई मैले भेला गरें।

शेयर गर्नुहोस्
एज्रा 7 पढ्नुहोस्

एज्रा 7:11-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

राजा अर्तसास्तले पुजारी एज्रालाई दिएको पत्रको प्रतिलिपि यही हो। ती एज्रा व्यवस्थाका शिक्षक थिए, जसले याहवेहले इस्राएललाई दिनुभएका आज्ञाहरू र आदेशहरूको विषयमा तिनले सिकेका थिए: राजाहरूका राजा अर्तसास्तको तर्फबाट, स्वर्गका परमेश्‍वरको व्यवस्थाका शिक्षक, पुजारी एज्रालाई: अभिवादन। अब म यो उर्दी जारी गर्दछु; मेरो राज्यमा भएका कुनै पनि इस्राएली, पुजारीहरू र लेवीहरूले तिमीसँग यरूशलेम जाने इच्छा गर्छन् भने तिनीहरू जान सक्छन्। तिमीलाई तिम्रो जिम्मामा रहेको तिम्रा परमेश्‍वरको व्यवस्थाअनुसार यहूदा र यरूशलेमको विषयमा पत्ता लगाउन भनी राजा र उनका सात जना सल्‍लाहकारहरूद्वारा पठाइएका छौ। यसबाहेक राजा र उनका सल्‍लाहकारहरूले यरूशलेममा वास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई राजीखुशीले दिएको सुन र चाँदी तिमीले लिएर जानू। साथै बेबिलोनको प्रान्तबाट लैजान सक्ने सबै सुन र चाँदी, मानिसहरू र पुजारीले यरूशलेममा तिनीहरूका परमेश्‍वरको मन्दिरका निम्ति चढाएका स्वेच्छा-भेटीहरू तिमीले लिएर जान सक्छौ। यस रकमले साँढेहरू, भेडाहरू, थुमाहरू यसकासाथै तिनीहरूका निम्ति अन्‍नबलिहरू, अर्घबलिहरू निश्‍चय नै किन्‍नू। अनि तिमीले यी वस्तुहरूलाई यरूशलेममा परमेश्‍वरको मन्दिरको वेदीमा बलि चढाउनू। बाँकी रहेका सुन र चाँदीले तिम्रो परमेश्‍वरको इच्छाअनुसार तिमी र तिम्रा यहूदी दाजुभाइहरू मिलेर जे असल लाग्छ, त्यही गर्न सक्छौ। तिम्रा परमेश्‍वरको मन्दिरमा सेवाका निम्ति तिमीलाई जिम्मा दिइएका सबै भाँडाहरू यरूशलेमका परमेश्‍वरलाई सुम्पिदिनू। अनि तिम्रा परमेश्‍वरको मन्दिरका निम्ति चाहिने कुनै पनि चीज खाँचो पर्‍यो भने त्यसको प्रबन्ध गर्ने जिम्मेवारी तिम्रो हो, त्यो तिमीले राजकीय कोषबाट लैजान सक्छौ। अब, म राजा अर्तसास्त, यूफ्रेटिस पारिका प्रान्तहरूका कोषाध्यक्षहरूलाई यो आदेश दिँदछु, स्वर्गका परमेश्‍वरको व्यवस्थाका शिक्षक र पुजारी एज्राले तिमीहरूसँग मागेका जुनसुकै कुरा पनि जुटाइदिनू। एक सय टालेन्ट चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ जैतुनको तेल, र चाहिए जति नुन पनि दिनू। स्वर्गका परमेश्‍वरले आज्ञा दिनुभएअनुसार सबै थोक इमानदारसाथ स्वर्गका परमेश्‍वरको मन्दिरका निम्ति गरियोस्, ताकि राजा र तिनका छोराहरूका राज्यमाथि उहाँको क्रोध आइनपरोस्। यसबाहेक तिमीहरूले यो कुरा पनि याद राख: पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अथवा परमेश्‍वरको भवनका सेवकहरू र अरू कर्मचारीहरूबाट कर, सलामी अथवा अरू कुनै पनि महसुलहरू उठाउने अधिकार तिमीहरूलाई छैन। अनि हे एज्रा, तिमीले पाएको तिम्रा परमेश्‍वरको बुद्धिअनुसार, यूफ्रेटिस पारिका सबै मानिसहरू जसले तिम्रा परमेश्‍वरको व्यवस्थालाई जान्दछन्, तिनीहरूमाथि न्याय गर्न शासकहरू र न्यायकर्ताहरू नियुक्त गर्नू; अनि जसले व्यवस्थाहरू जान्दैनन् तिनीहरूलाई तिमीले सिकाउनू। जसले तिम्रा परमेश्‍वरको व्यवस्था पालन गर्दैन र राजाको हुकुम मान्दैन, त्यसलाई मृत्युदण्ड वा देश निकाला वा त्यसको सम्पत्ति जफत गरियोस्, अथवा झ्यालखानाको सजाय दिइयोस्। हाम्रा पितापुर्खाहरूका परमेश्‍वर, याहवेहलाई महिमा होस्, जसले यरूशलेममा याहवेहको भवनको सम्मान ल्याउने विचार राजाको हृदयमा हालिदिनुभयो। अनि उहाँले राजा, उनका सल्‍लाहकारहरू र राजाका शक्तिशाली अधिकारीहरूका सामु, उहाँको अचुक कृपा ममाथि राखिदिनुभएको छ। याहवेह मेरा परमेश्‍वरको हात ममाथि भएको हुनाले मैले साहस गरेँ; अनि मसँग इस्राएलबाट यरूशलेममा जानलाई अगुवाहरू जम्मा गरेँ।

शेयर गर्नुहोस्
एज्रा 7 पढ्नुहोस्

एज्रा 7:11-28 पवित्र बाइबल (NERV)

यो पत्रको प्रतिलिपि हो, जो राजा आर्ट-जारसजले पूजाहारी लेखक अनि परमप्रभुबाट विधिका गूरू, एज्रा अनि उसका नियमहरू इस्राएललाई दिएका थिए। राजा आर्ट-जारसेज बाट, स्वर्गका परमेश्वरको व्यवस्थाका शिक्षक, पूजाहारी एज्रा प्रतिः अभिवादन! अब-म यो आदेश दिंदछु कि मेरो राज्यमा कोहि पनि इस्राएलका मानिसहरू वा तिनीहरूका पूजाहारीहरू वा लेवीहरू स्वेच्छाले तिमीसित यरूशलेममा जान चाहन्छन् भने जानसक्छन्। म राजा अनि मेरा सातजना सल्लाहकारहरूले तिमीलाई यहूदा अनि यरूशलेममा पठाएका छौं। गएर हेर तिम्रा मानिसहरूले कसरि परमेश्वरको व्यावस्था पालन गरिरहेका छन्। जुन व्यावस्था तिमीसँग छ। तिमीलाई राजा र उनका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको मन्दिर यरूशलेममा छ, मुक्त रूपले अर्पण गरेका सुन र चाँदीहरू लिन पठाएका छन् साथै यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरको निम्ति मानिसहरू अनि पूजाहारीहरूले गरेका स्वेच्छिक अर्पणहरू सहित बाबेल प्रदेश भरि तिमीले प्राप्त गर्न सकेका सुन र चाँदीहरू लानु। त्यसकारण, तिमीले यो पैसाले निर्दिष्ट रूपमा साँढे, भेंडा, थुमाहरू अनि अन्नवलि एवं अर्घबलि किन्नु पर्छ, अनि तिमीले ती यरूशलेममा तिम्रो परमेश्वरको मन्दिरको बेदीमा अर्पण गर्नुपर्छ। बाँकी रहेका सुन अनि चाँदीद्वारा तिम्रो परमेश्वर को इच्छा अनुसार तिमी अनि तिम्रा यहूदी भाइहरूका निम्ति के गर्दा राम्रो हुन्छ त्यही गर्न सक्ने छौ। तिम्रा परमेश्वरकको उपासनाका निम्ति तिमीलाई प्रदान गरिएका भाँडा-वर्त्तनहरू तिमीले यरूशलेमको मन्दिरमा परमेश्वरको समक्ष राख्नुपर्छ। अनि तिम्रा परमेश्वरको मन्दिरका निम्ति चाहिएका अन्य चीज-बीजहरू, जसको प्रबन्ध गर्ने जिम्मावारी तिम्रोहो तिमीले राज खजानाबाट प्रबन्ध गर्न सक्नेछौ। म, राजा आर्ट-जारसेजले यो आदेश पनि ती कोषाध्यक्षहरूलाई दिदंछु जो यूफ्रेटिस नदीपारिका प्रदेशमा छन् कि पूजाहारी, स्वर्गका परमेश्वरका एक विद्वान एज्राले जे भने पनि त्यसलाई पूर्ण परिश्रम सहित गर। 3,400 किलो ग्राम चाँदी, 250 मूरी गहुँ, 22,000 लीटर दाखरस 22,000 लीटर भद्राक्षेको तेल अनि चाहिएजती नुन समेत पूर्णरूपले तुरून्तै दिनु। स्वर्गका परमेश्वरले गर्नु भएको जेसुकै आदेश पनि पूर्णरूपले तुरून्तै गर्नु। परमेश्वरको मन्दिरको निम्ति सम्पूर्ण परिश्रमले गर्नु जसमा कि परमेश्वरको क्रोध राजा अनि उनका छोराहरूका राज्य माथि पर्न नपरोस्। हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन। अनि एज्रा, तिमीसित भएका तिम्रा परमेश्वरका ज्ञान अनुसार तिमीले नदीपारीको प्रदेशका मानिसहरूको न्याय गर्न न्यायकर्त्ता अनि हाकिमहरूको नियुक्ति गर्नु जसले तिम्रो परमेश्वरको व्यवस्था जान्दछन्। अनि जसले जानदैनन्, तिनीहरूलाई तिमीले सिकाउने छौ। जसले तिम्रा परमेश्वरका व्यवस्था अनि राजाका व्यवस्थाको पालन गर्देन त्यसमाथि मृत्यु वा देश निकाला वा जरिमाना कि त कारावास पूर्णरूपले पूर्ण परिश्रमद्वारा तुरून्तै न्याय गरियोस्। परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर! उहाँले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए। अनि उहाँले मलाई राजा, तिनका सल्लाहकार अनि राजाका प्रमुख अधिकारीहरूका उपस्थितिमा उहाँको प्रेम दर्शाए। परमप्रभु, मेरा परमेश्वरले मलाई सहायता गरिरहनु भएको हुनाले म उत्साहित भएको छु। अनि मसँग यरूशलेमसम्म जानका निम्ति इस्राएलका अगुवाहरूलाई एकत्रित गरें।

शेयर गर्नुहोस्
एज्रा 7 पढ्नुहोस्

एज्रा 7:11-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अर्तासास्‍तले पूजाहारी र शास्‍त्री एज्रालाई, जो परमप्रभुले इस्राएललाई दिनुभएको व्‍यवस्‍था र आज्ञाहरूको पूरा ज्ञान राख्‍थे, यस प्रकारको अधिकार-पत्र दिए: “महाराजा अर्तासास्‍तबाट स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थाको शास्‍त्री, पूजाहारी एज्रालाई: “म आज्ञा दिँदछु कि मेरो सम्‍पूर्ण साम्राज्‍यबाट सबै इस्राएलीहरू, पूजाहारीहरू र लेवीहरू, ज-जसले जाने इच्‍छा गर्छन्, तिनीहरूलाई तिमीसित यरूशलेममा जाने अनुमति दिँदछु। मेरा सात जना सल्‍लाहकारसहित म तिमीलाई यरूशलेम र यहूदामा पठाउँदै छु कि तिमीले त्‍यहाँ तिम्रा परमेश्‍वरको व्‍यवस्‍था जो उहाँले तिमीहरूलाई पालन गर्न दिनुभएको छ, त्‍यो कति राम्रो गरी पालन गरिंदै छ वा छैन र त्‍यहाँका अवस्‍था कस्‍तो छ, सो जाँचबुझ गर्न सक्‍नेछौ। तिमीले आफूसित म र मेरा सल्‍लाहकारहरूले इस्राएलका परमेश्‍वरलाई दिन इच्‍छा गरेका सुन र चाँदीका भेटीहरू लिएर जानू, जसको मन्‍दिर यरूशलेममा छ। तिमीहरूले सम्‍पूर्ण बेबिलोन प्रान्‍तमा बटुल्‍न लागेका सारा सुन र चाँदी र इस्राएली मानिसहरू र तिनका पूजाहारीहरूले यरूशलेममा भएको आफ्‍ना परमेश्‍वरको मन्‍दिरको लागि दिएका भेटीहरू पनि लिएर जानू। “तिमीहरूले त्‍यो धन होशियारसित खर्च गर्नू, साँढेहरू, भेडाहरू, थुमाहरू, अन्‍न, दाखमद्य किन्‍नू र यरूशलेमको मन्‍दिरको वेदीमा चढाउनू। उब्रेका सुन र चाँदी तिमी र तिम्रा स्‍वदेशी बन्‍धुहरूको इच्‍छा भएअनुसार चलाउन सक्‍छौ तर ती परमेश्‍वरको इच्‍छाबमोजिम हुनुपर्छ। तिमीलाई दिएका भाँडा-कुँडा यरूशलेममा मन्‍दिरको सेवामा चलाउन तिमीले परमेश्‍वरलाई चढाउनू। मन्‍दिरको निम्‍ति अरू कुनै कुरा चाहिन्‍छ भने राज-कोषबाट लैजानू। “पश्‍चिम-यूफ्रेटिस प्रान्‍तका सबै राज-कोषका खजान्‍चीहरूलाई म आज्ञा गर्दछु कि पूजाहारी तथा स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थाका शास्‍त्री एज्राले मागेको हरेक थोक चाँदी ३,४०० किलोग्रामसम्‍म, गहुँ १०,००० किलोग्रामसम्‍म, दाखमद्य २,००० लिटरसम्‍म, जैतुनको तेल २,००० लिटरसम्‍म र चाहिए जति नुन झट्टै तिनलाई दिइहाल्‍नू। स्‍वर्गका परमेश्‍वरलाई मन्‍दिरको निम्‍ति आवश्‍यकता पर्ने हरेक चीज तिमीहरूले होशियारसाथ दिनू र म र मपछिका शासकहरूमाथि उहाँको क्रोध नपरोस्। यो काम पक्‍का होस्। पूजाहारी, लेवी, गवैया, पहरादार, काम गर्नेहरू वा मन्‍दिरसित सम्‍बन्‍ध राख्‍ने अरू कोहीबाट पनि तिमीहरूले केही राजकर नउठाउनू। “तिमीलाई आफ्‍ना परमेश्‍वरले दिनुभएको बुद्धि लाएर तिमी एज्राले तिम्रा परमेश्‍वरको व्‍यवस्‍था पालन गरी यूफ्रेटिसको पश्‍चिमी प्रान्‍तमा बस्‍ने सबै मानिसहरूमाथि शासन गर्न शासक र न्‍यायकर्ताहरू नियुक्त गर्नू। व्‍यवस्‍था नजान्‍नेलाई ती सिकाऊन्। कसैले तिम्रा परमेश्‍वरको व्‍यवस्‍था वा राज्‍यका ऐन पालन गरेन भने त्‍यसलाई झट्टै दण्‍ड दिनू: प्राण दण्‍ड होस् वा देशबाट निकाल्‍नू वा उनको धन-सम्‍पत्ति जफत वा कैद जे होस्, दण्‍ड दिइहाल्‍नू।” एज्राले भने, “परमप्रभु हाम्रा पिता-पुर्खाका परमेश्‍वरको प्रशंसा गर! यस प्रकारले उहाँले महाराजालाई यरूशलेमको आफ्‍नो मन्‍दिरलाई आदर दिन राजी गराउनुभयो। परमेश्‍वरको अनुग्रहले मैले महाराजा, उनका सल्‍लाहकार र सबै शक्तिमान् भारदारहरूको कृपा-दृष्‍टि पाएको छु। परमप्रभु मेरा परमेश्‍वरले मलाई साहस दिनुभएको छ र मैले इस्राएलका धेरै गोत्रका प्रधानहरूलाई मसित इस्राएलमा फर्किआउन राजी गराउन सकें।”

शेयर गर्नुहोस्
एज्रा 7 पढ्नुहोस्