इजकिएल 48:1-35

इजकिएल 48:1-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“नाउँ-नाउँको सूचीअनुसार कुलहरू यी नै हुन्‌: उत्तरको सिमानामा दानको एक भाग हुनेछ। त्‍यो हेतलोनको बाटो भएर लेबो-हमाततिर जानेछ। हसर-एनान र हमातको छेउमा भएको दमस्‍कसको उत्तरी सिमानाचाहिँ त्‍यसको सिमानाको पूर्वदेखि पश्‍चिमतिर एक भाग हुनेछ। “पूर्वदेखि पश्‍चिमतिर दानको सिमानासम्‍मै छोएको आशेरको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर आशेरको सिमानासम्‍मै छोएको नप्‍तालीको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर नप्‍तालीको सिमानासम्‍मै छोएको मनश्‍शेको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर मनश्‍शेको सिमानासम्‍मै छोएको एफ्राइमको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर एफ्राइमको सिमानासम्‍मै छोएको रूबेनको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर रूबेनको सिमानासम्‍मै छोएको यहूदाको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर यहूदाको सिमानासम्‍मै छोएको तिमीहरूले छुट्ट्याएको एक विशेष भाग उपहार स्‍वरूप तिमीहरूले दिनुपर्छ। त्‍यसको चौड़ाइ २५,००० हात हुनेछ, र त्‍यसको लमाइ पूर्वदेखि पश्‍चिमसम्‍म अरू कुललाई दिएको भागजत्तिकै हुनेछ। पवित्रस्‍थानचाहिँ त्‍यसको बीचमा हुनेछ। “परमप्रभुलाई तिमीहरूले दिने विशेष भागचाहिँ २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ। योचाहिँ पूजाहारीहरूका निम्‍ति एउटा पवित्र भाग हुनेछ। यो भाग उत्तरपट्टि २५,००० हात, पश्‍चिमपट्टि १०,००० हात, पूर्वपट्टि १०,००० हात र दक्षिणपट्टि २५,००० हात हुनेछ। परमप्रभुको पवित्रस्‍थानचाहिँ त्‍यसको बीचमा हुनेछ। त्‍योचाहिँ अर्पण गरिएका पूजाहारीहरूका निम्‍ति हुनेछ, अर्थात्‌ सादोकीहरू, जसले ईमानदारीपूर्वक मेरो सेवा गरे, इस्राएलीहरू बरालिएर जाँदा जब लेवीहरू पनि बरालिएका थिए, तब ती पूजाहारीहरू तिनीहरूसित बरालिएनन्‌। देशको पवित्र भागबाट, लेवीहरूको इलाका छोएको अति पवित्र भाग तिनीहरूका निम्‍ति एउटा विशेष उपहार हुनेछ। “पूजाहारीहरूका सिमानाको छेउमा लेवीहरूको भाग हुनेछ। त्‍यो २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ। त्‍यसको जम्‍मा लमाइ २५,००० हात र त्‍यसको चौड़ाइ १०,००० हात हुनेछ। तिनीहरूले त्‍यो बेच्‍नु अथवा साट्‌नुहुँदैन। देशको यो सबैभन्‍दा असल जग्‍गा हो, र यो कसैलाई दिनुहुँदैन, किनभने यो परमप्रभुको निम्‍ति पवित्र छ। “जग्‍गाको बाँकी भाग, ५,००० हात चौड़ा र २५,००० हात लामोचाहिँ, सहरका जुनसुकै कामको लागि, घरहरू र चरनहरूका लागि पनि हुनेछ। सहर त्‍यसको बीचमा हुनेछ। त्‍यो जग्‍गाको लमाइ र चौड़ाइ यस्‍ता हुनेछन्‌: उत्तरपट्टि ४,५०० हात, दक्षिणपट्टि ४,५०० हात पूर्वपट्टि ४,५०० हात र पश्‍चिमपट्टि ४,५०० हात। सहरको चरनको निम्‍ति उत्तरपट्टि २५० हात, दक्षिणपट्टि २५० हात, पूर्वपट्टि २५० हात र पश्‍चिमपट्टि २५० हात हुनेछ। पवित्र भागको सिमाना छोएको बाँकी क्षेत्रचाहिँ पूर्वपट्टि १०,००० हात र पश्‍चिमपट्टि १०,००० हात हुनेछ। त्‍यहाँ खनजोत गर्न सहरबाट आउने ज्‍यामीहरू इस्राएलका सबै कुलबाट आउनेछन्‌। त्‍यो जम्‍मै भाग चौतर्फनै २५,००० हात भएको वर्गाकार हुनेछ। सहरका जग्‍गाको साथ त्‍यस पवित्र भाग विशेष उपहार ठानेर अलग्‍गै राख्‍नू। “पवित्र भाग र सहरको जग्‍गाबाट बनिएको क्षेत्रका दुवैपट्टिको बाँकी रहेको भागचाहिँ राजकुमारको हुनेछ। त्‍यो भाग पूर्वपट्टि पवित्र भागको २५,००० हात पूर्वीय सिमानातिर र पश्‍चिमपट्टि २५,००० हात पश्‍चिमी सिमानातिर फैलिनेछ। यी दुवै क्षेत्र लमाइमा कुलहरूका भाग जत्रा हुनेछन्, र ती राजकुमारका हुनेछन्‌। मन्‍दिरको पवित्रस्‍थानसँगै पवित्र भाग तिनका बीचमा हुनेछ। यसरी राजकुमारका क्षेत्रको बीचमा लेवीहरूको जग्‍गा र सहरको जग्‍गा हुनेछन्‌। राजकुमारको क्षेत्रचाहिँ यहूदा र बेन्‍यामीनका सिमानाका बीचमा हुनेछ। “बाँकी कुलहरूका निम्‍ति चाहिँ: पूर्वदेखि पश्‍चिमसम्‍म फैलिएको बेन्‍यामीनको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर बेन्‍यामीनको सिमानासम्‍मै छोएको शिमियोनको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर शिमियोनको सिमानासम्‍मै छोएको इस्‍साखारको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर इस्‍साखारको सिमानासम्‍मै छोएको जबूलूनको एक भाग। “पूर्वदेखि पश्‍चिमतिर जबूलूनको सिमानासम्‍मै छोएको गादको एक भाग। “गादको दक्षिण सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्‍म र मिश्रको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्‍मै हुनेछ। “यही देश हो, जो तिमीहरूले इस्राएलका कुल-कुललाई तिनीहरूका उत्तराधिकारको रूपमा बाँड़िदिनुपर्छ, र यी नै तिनीहरूका भाग हुनेछन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। “सहरबाट बाहिर निस्‍कने ठाउँहरू यी नै हुनेछन्‌: उत्तरपट्टिबाट सुरु गरेर, जुन भाग ४,५०० हात लामो छ, सहरका मूल ढोकाहरूका नाउँ इस्राएलका कुलहरूका नाउँजस्‍तै हुनेछन्‌। उत्तरपट्टिका तीन वटा मूल ढोकाहरू रूबेनको ढोका, यहूदाको ढोका र लेवीको ढोका हुनेछन्‌। “पूर्वपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्‌: योसेफको ढोका, बेन्‍यामीनको ढोका र दानको ढोका। “दक्षिणपट्टि, जो ४,५०० हात नापको छ, तीन वटा मूल ढोका हुनेछन्‌: शिमियोनको ढोका, इस्‍साखारको ढोका र जबूलूनको ढोका। “पश्‍चिमपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्‌: गादको ढोका, आशेरको ढोका र नप्‍तालीको ढोका। “चारैतिरको घेरा १८,००० हात हुनेछ। “त्‍यस समयदेखि उसो त्‍यस सहरको नाउँ हुनेछ: परमप्रभु त्‍यहाँ हुनुहुन्‍छ।”

शेयर गर्नुहोस्
इजकिएल 48 पढ्नुहोस्

इजकिएल 48:1-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“नामअनुसार सूचित गरिएका कुलहरू यिनै हुन्: “उत्तरी सिमानाबाट दानले एक भाग पाउनेछ; त्यो हेत्लोनको बाटोहुँदै लेबो-हमातसम्म जानेछ; हसर-एनान र हमात पछिको उत्तरी दमस्कसको सिमाना पूर्व भागदेखि पश्‍चिम भागसम्म फैलिएको दानको सिमाना हुनेछ। आशेरको एक भाग हुनेछ; त्यसको सिमाना दानको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। नप्‍तालीको एक भाग हुनेछ; त्यसको सिमाना आशेरको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। मनश्शेको एक भाग हुनेछ; त्यसको सिमाना नप्‍तालीको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। एफ्राइमको एक भाग हुनेछ; त्यसको सिमाना मनश्शेको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। रूबेनको एक भाग हुनेछ; त्यसको सिमाना एफ्राइमको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। यहूदाको एक भाग हुनेछ; त्यसको सिमाना रूबेनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। “यहूदाको पूर्वदेखि पश्‍चिमसम्म एक भाग तिमीहरूले एउटा विशेष उपहारको रूपमा दिनुपर्छ। त्यो पच्‍चीस हजार क्यूबिट चौडाइ हुनेछ, र त्यसको लम्बाइ पूर्वदेखि पश्‍चिमसम्म एक कुलको भाग बराबर हुनेछ; पवित्रस्थान त्यसको बीच भागमा हुनेछ। “तिमीहरूले याहवेहलाई चढाउनुपर्ने विशेष भाग पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ हुनेछ। यो भाग पुजारीहरूका निम्ति पवित्र भाग हुनेछ। त्यो उत्तरपट्टि पच्‍चीस हजार क्यूबिट लम्बाइ, पश्‍चिमपट्टि दश हजार क्यूबिट चौडाइ, पूर्वपट्टि दश हजार क्यूबिट चौडाइ र दक्षिणपट्टि पच्‍चीस हजार क्यूबिट लम्बाइ हुनेछ। त्यसको बीच भागमा याहवेहको पवित्रस्थान हुनेछ। यो भाग सादोकवंशीहरूबाट पवित्र पारिएका पुजारीहरूका निम्ति हुनेछ, जो मेरो सेवा गर्नमा इमानदारी थिए; अनि तिनीहरूचाहिँ इस्राएलीहरू बरालिएर गएको बेलामा अरू लेवीहरू बरालिएर गएझैँ बरालिएनन्। देशको पवित्र भागबाट यो भाग तिनीहरूका निम्ति एक विशेष उपहार हुनेछ; एक महा-पवित्र भाग, जुन लेवीहरूको इलाकाको दक्षिणी सिमानामा जोडिएको एक विशेष भाग हुनेछ। “पुजारीहरूको इलाकाको दक्षिणी सिमानाको छेउमा लेवीहरूले पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइको ठाउँ पाउनेछन्। त्यसको पूरै लम्बाइ पच्‍चीस हजार क्यूबिट र त्यसको चौडाइ दश हजार क्यूबिट हुनेछ। तिनीहरूले त्यस पवित्र जग्गाको कुनै पनि भाग बेच्न अथवा साट्न पाउनेछैनन्। त्यो देशको सबैभन्दा उत्तम भाग हो, र त्यो अरूको हातमा जानुहुँदैन; किनकि त्यो भाग याहवेहको निम्ति पवित्र छ। “बाँकी रहेको पाँच हजार क्यूबिट चौडाइ र पच्‍चीस हजार क्यूबिट लम्बाइको इलाका सहरको साधारण प्रयोगको निम्ति, घरहरू र खर्कको निम्ति हुनेछ। अनि सहर त्यसको बीच भागमा हुनेछ। अनि त्यसका नापहरू यस्ता हुनेछन्: उत्तर भाग चार हजार पाँच सय क्यूबिट, दक्षिण भाग चार हजार पाँच सय क्यूबिट, पूर्व भाग चार हजार पाँच सय क्यूबिट र पश्‍चिम भाग चार हजार पाँच सय क्यूबिट। सहरको निम्ति खर्क उत्तरमा दुई सय पचास क्यूबिट, दक्षिणमा दुई सय पचास क्यूबिट, पूर्वमा दुई सय पचास क्यूबिट र पश्‍चिममा दुई सय पचास क्यूबिट हुनेछ। बाँकी रहेको भाग, पवित्र भागको दक्षिणी सिमाना र त्यसको लम्बाइपट्टि जाने पूर्व भागमा दश हजार क्यूबिट र त्यसको पश्‍चिम भागमा दश हजार क्यूबिट हुनेछ। त्यस भागको उत्पादनबाट सहरका काम गर्ने मजदुरहरूका निम्ति भोजनको आपूर्ति हुनेछ। त्यस भागमा खेती गर्न आउने श्रमिकहरू सहरका इस्राएलका सबै कुलहरूबाट हुनेछन्। त्यो सम्पूर्ण खेतीको भाग एक वर्गाकार हुनेछ, जसको चारैपट्टि पच्‍चीस हजार क्यूबिट हुनेछ। सहरको सम्पत्तिसँगै एक विशेष उपहारको रूपमा तिमीहरूले पवित्र भाग छुट्याएर राख्नेछौ। “पवित्र भाग र सहरको सम्पत्ति मिलेर बनिएको इलाकाका दुवै छेउमा बाँकी रहेको भागचाहिँ राजाको हुनेछ। यो पच्‍चीस हजार क्यूबिट पवित्र भागदेखि पूर्वतिर गएर पूर्व सिमानासम्म, र पश्‍चिमतिर पच्‍चीस हजार क्यूबिटदेखि पश्‍चिम सिमानासम्म जान्छ। कुलको भागहरूको लम्बाइतिर जाने यी दुवै भागहरू राजकुमारको हुनेछ; अनि मन्दिरको पवित्रस्थानको बीचमा तिनीहरूको पवित्र भाग हुनेछ। यसरी लेवीहरूको सम्पत्ति र सहरको सम्पत्ति राजकुमारको इलाकाको बीचमा पर्नेछ। राजकुमारको इलाका यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बीचमा हुनेछ। “बाँकी कुलहरूका निम्ति यस प्रकार हुनेछ: “बेन्यामीनको एक भाग हुनेछ; त्यसको भाग विशेष भागको सिमानाको पूर्वी भागदेखि पश्‍चिमी भागसम्म फैलिनेछ। शिमियोनको एक भाग हुनेछ; त्यसको भाग बेन्यामीनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। इस्साखारको एक भाग हुनेछ; त्यसको सिमाना शिमियोनको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। जबूलूनको एउटा भाग हुनेछ; त्यसको सिमाना इस्साखारको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। गादको एउटा भाग हुनेछ; त्यसको सिमाना जबूलूनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। गादको दक्षिण सिमाना तामारदेखि मेरीबा कादेशको पानीसम्म दक्षिणतिर जानेछ; त्यसपछि इजिप्टको बेँसीहुँदै भूमध्य सागरसम्म हुनेछ। “यो त्यो भूमि हो, जुन तिमीहरूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा अंशबण्डा गर्नेछौ; अनि तिनीहरूका भागहरू यिनै हुनेछन्,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ। “सहरबाट बाहिर निस्कने मूलढोकाहरू यिनै हुन्: “उत्तरको भागबाट सुरु भएर, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, सहरका मूलढोकाहरूका नाम इस्राएलका कुलहरूको नामअनुसार राखिनेछन्। उत्तर भागमा भएका तीन वटा मूलढोकाहरू, रूबेनको मूलढोका, यहूदाको मूलढोका र लेवीको मूलढोका हुनेछन्। पूर्वको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, र सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: योसेफको मूलढोका, बेन्यामीनको मूलढोका र दानको मूलढोका। दक्षिणपट्टिको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट नापको हुनेछ; सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: शिमियोनको मूलढोका, इस्साखारको मूलढोका र जबूलूनको मूलढोका। पश्‍चिमपट्टिको भागमा, चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, सहरको तीन वटा मूलढोकाहरू हुनेछन्; गादको मूलढोका, आशेरको मूलढोका र नप्‍तालीको मूलढोका। “सहरको चारैतिरको घेरा अठार हजार क्यूबिट हुनेछ।

शेयर गर्नुहोस्
इजकिएल 48 पढ्नुहोस्

इजकिएल 48:1-35 पवित्र बाइबल (NERV)

“उत्तरी सीमाना पूर्वमा हेतलोनबाट महासागरबाट हमात छाडेर अनि तब हसर-एनान सम्म लगातार जान्छ। यो दश्मिक अनि हमातको सीमानाहरूको बीचमा छ। कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्। उत्तरबाट दक्षिण, यो क्षेत्रको कुल समूह हुन, दान, आशेर, नप्ताली, मनश्शे, एप्रैम, रूबेन र यहूदा। “भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यहूदाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौंडा हुन्छ जति अरू कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ। तिमीले यो भूमि परमप्रभुलाई समर्पण गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौंडा हुनेछ। भूमिको यो विशेष क्षेत्र पूजाहारीहरू अनि लेवीहरूमा बाँडिनेछ। “पूजाहारीले यस क्षेत्रबाट एक भाग पाउँछन्। यो भूमि उत्तरपट्टि 25,000 हात लामो, पश्चिम पट्टि 10,000 हात चौंडा, पूर्व पट्टि 10,000 हात चौंडा अनि दक्षिण पट्टि 25,000 हात लामो हुन्छ। भूमिको यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर हुन्छ। यो भूमि सादोक परिवारको निम्ति हुनेछ। यी मानिसहरू मेरो पवित्र पूजाहारीको लागि छानिएका थिए। किनभने तिनीहरूले त्यति बेला पनि मेरो सेवा जारी राखे, जति बेला इस्राएलका अरू मानिसहरूले मलाई छोडिसकेका थिए। सादोकको परिवारले मलाई लेवी कुल समूहको अरू मानिसहरूले जस्तै छोडेनन्। यो भूमिको विशेष भू-भागको विशेष भाग अत्यन्तै पवित्र हुनेछ विशेष रूपले यी पूजाहारीहरूको हुनेछ। यो लेवीहरूको सन्तानको भूमिको अर्को भाग हो। “पूजाहारीहरूको निम्ति छेउमा लेवीहरूले जमीनको भाग पाउँनेछन्। यो 25,000 हात लामो, 10,000 हात चौंडा हुनेछ। यो भूमिको पुरा लम्बाई अनि चौंडाई क्रमशः 25,000 हात लामो अनि 10,000 हात चौंडा हुनेछ। लेवीहरूले यो भूमिको कुनै पनि भाग बेच बिखन गर्न पाउनें छैनन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार पाउनें छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष भूमि हो। यो भूमिको सर्वोत्तम भाग हो। “भूमिको एक क्षेत्र 5,000 हात चौंडा अनि 25,000 हात लामो हुनेछ, जुन पूजाहारीहरू अनि लेवीहरूलाई दिइएको भूमिबाट अतिरिक्त हुन्छ। यो भूमि शहरका पशुहरूको चर्ने ठाँउ अनि घर बनाउँनको लागि हुन्छ। साधरण मानिसहरूले यसको प्रयोग गर्न सक्छन्। शहर यसको बीचमा हुन्छ। शहरको नाप यस प्रकार छ उत्तर पट्टि यो 4,500 हात हुन्छ। पूर्व पट्टि 4,500 हात हुन्छ। दक्षिण पट्टि यो 4,500 हात हुन्छ। पश्चिम पट्टि यो 4,500 हात हुन्छ। शहर घाँसै-घाँसको चउर हुनेछ। यो चउर 250 हात उत्तर पट्टि, 250 हात दक्षिण पट्टि हुन्छ। 250 हात पूर्व पट्टि अनि 250 हात पश्चिम पट्टि हुन्छ। पवित्र क्षेत्रको किनारमा जुन लम्बाई रहन्छ, त्यो 10,000 हात पूर्वमा अनि 10,000 हात पश्चिममा हुन्छ। यो भूमि पवित्र क्षेत्रको छेउमा हुन्छ। यो भूमिमा शहरको मजदूरहरूको लागि अन्न उमारिन्छ। शहरका मजदूरहरूले यसमा खेती गर्नेछन्। मजदूरहरू इस्राएलका सबै कुल समूहबाट हुनेछन्। “यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौंडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ। “यो विशेष भूमिको एक भाग देशको शासकको लागि हुन्छ। यो विशेष भूमिको क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौंडा छ। यसको एक भाग पूजाहारीहरूको लागि, एक भाग लेवीहरूको लागि अनि एक भाग मन्दिरको लागि हुनेछ। मन्दिर यो भूमि क्षेत्रको बीचमा छ। शेष भूमि शासकको हुनेछ। शासकले बिन्यामीन अनि यहूदाको भूमिको बीचको भूमि पाउँछ। “विशेष क्षेत्रको दक्षिणमा त्यस कुल समूहको भूमि हुन्छ जुन यर्दन नदीको पूर्वमा बस्छन्। प्रत्येक कुल समूहले त्यस भूमिको एक हिस्सा पाउँछ, जुन पूर्वी सीमानाबाट महा-सागर सम्म गएको छ। उत्तरबाट दक्षिण सम्म यो परिवार समूह हो बिन्यामीन, शिमोन, इस्साकार, जबूलून अनि गाद। “गादको भूमि दक्षिणी सीमाना तामारबाट मरीबोत-कादेशको नखलिस्तान सम्म जान्छ। तब मिश्रको खोला महा-सागर सम्म पुग्छ। अनि यो त्यो भूमि हो जुन तिमीहरूले इस्राएलको कुल समूहमा बाँड्नेछौ। त्यो प्रत्येक इस्राएलका कुल समूहले पाउनेछन्।” परमप्रभु मेरा मालिकले यस्तो भन्नुभयो। “यो शहरको मूल-ढोका हो। मूल-ढोकाको नाम इस्राएलको कुल समूहको नाममा हुन्छ। “उत्तरपट्टि नगर 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन। रूबेनको मूल-ढोका, यहूदाको मूल-ढोका अनि लेवीको मूल-ढोका। “पूर्व पट्टिको शहर 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् यूसुफको मूल-ढोका, बिन्यामीनको मूल-ढोका अनि दानको मूल-ढोका। “दक्षिण पट्टि 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् शिमोनको मूल-ढोका, इस्साकारको मूल-ढोका अनि जवूलूनको मूल-ढोका। “पश्चिमको मूल-ढोका 4,500 हात लामो हुन्छ। यसमा तीनवटा मूल-ढोका हुन्छन् गादको मूल-ढोका, आशेरको मूल-ढोका अनि नप्तालीको मूल-ढोका। “चारैतिर वरीपरि शहरको घेराको नाप 18,000 हात हुनेछ। अब देखि शहरको नाम हुनेछ परमप्रभु त्यहाँ हुनुहुन्छ।”

शेयर गर्नुहोस्
इजकिएल 48 पढ्नुहोस्

इजकिएल 48:1-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

देशको उत्तरी सिमाना भूमध्‍य सागरबाट पूर्वपट्टि हेतलोन सहर, हमात घाटी, हसर-एनान सहर हुँदै दमस्‍कस-राज्‍य र हमात-राज्‍य बीचका सिमानासम्‍म पुग्‍छ। इस्राएलका कुलहरूले देशमा जमिनको आफ्‍नो हिस्‍सा पाउनेछन्। ती जमिनका हिस्‍साहरू देशका पूर्वीय सिमानाबाट फैलिएर पश्‍चिमतिर भूमध्‍य सागरसम्‍म पुग्‍नेछन् र त्‍यसको उत्तर खण्‍डमा दानले र त्‍यसपछि दक्षिण दिशातिर क्रमैसित आशेर, नप्‍ताली, मनश्‍शे, एफ्राइम, रूबेन र यहूदा गर्दै हरेक कुलले आ-आफ्‍नो हिस्‍सा पाउनेछ। त्‍यसपछिको हिस्‍साचाहिँ विशेष कामको लागि अलग गरिनुपर्नेछ। त्‍यो भाग उत्तरदेखि दक्षिणसम्‍म साढे बाह्र किलोमिटर चौडा हुनेछ र पूर्वदेखि पश्‍चिमसम्‍मको लमाइचाहिँ कुलहरूलाई दिएको भू-भागको लमाइ बराबर हुनुपर्छ। मन्‍दिर यही भागमा रहनेछ। यस भागको बीचमा साढे बाह्र किलोमिटर लामो र दश किलोमिटर चौडा एउटा विशेष खण्‍ड लिएर परमप्रभुलाई अर्पण गर्नुपर्नेछ। यस पवित्र खण्‍डको एक भाग पूजाहारीहरूले पाउनेछन् र त्‍यसको लमाइ पूर्वदेखि पश्‍चिमसम्‍म साढे बाह्र किलोमिटर र चौडाइ उत्तरदेखि दक्षिणसम्‍म पाँच किलोमिटर हुनेछ। यस क्षेत्रको बीचमा परमप्रभुको मन्‍दिर रहनेछ। यो पवित्र क्षेत्र सादोकका वंशमा जन्‍म भएका पूजाहारीहरूको निम्‍ति हुनेछ। तिनीहरूले विश्‍वासयोग्‍य भई मेरो सेवा गरे र अरू इस्राएलीहरूसित मिलेर त्‍यस्‍ता दुष्‍ट कर्म गरेनन्, जसरी लेवी कुलका अरू पूजाहारीहरूले गरेका थिए। यसकारण तिनीहरूले लेवीहरूले पाएकै खण्‍डको छेउमा एक विशेष खण्‍ड पाउनेछन् र त्‍यो सबैभन्दा पवित्र खण्‍ड हुनेछ। लेवीहरूले पनि पूजाहारीहरूले पाएको जमिनछेउ त्‍यसको दक्षिणपट्टि एउटा विशेष भाग पाउनेछन्। त्‍यो भाग पनि पूर्वदेखि पश्‍चिम, साढे बाह्र किलोमिटर लामो र उत्तरदेखि दक्षिण पाँच किलोमिटर चौडा हुनेछ। परमप्रभुलाई अर्पण गरिएको क्षेत्र देशको सबैभन्दा असल जमिन हुनेछ र त्‍यसबाट एक टुक्रा पनि बेचिने, साटिने वा कसैलाई दिइनेछैन। त्‍यो पवित्र क्षेत्र परमप्रभुको हो। बाँकी रहेको साढे बाह्र किलोमिटर लामो र अढाइ किलोमिटर चौडा जमिनचाहिँ मानिसहरूले साधारण काममा चलाउन हुनेछ। तिनीहरू त्‍यहाँ बास गर्न सक्‍छन् र त्‍यो जमिन काममा लाउन सक्‍छन्। त्‍यसको बीचमा सहर हुनेछ। अनि त्‍यो २,२५० मिटर लामो र त्‍यति नै चौडा भएको वर्गाकार सहर हुनेछ। सहरको चारैपट्टि हरेक सुरमा एक सय पच्‍चीस मिटर लामो खुल्‍ला जग्‍गा हुनेछ। पवित्र क्षेत्रको दक्षिणपट्टि सहर बनेपछि बाँकी रहेको जमिन सहरका बासिन्‍दाहरूले खेतबारी बनाई आफ्‍नो काममा लाउनेछन्। यसरी बाँकी रहेको जमिन पूर्वपट्टि पाँच किलोमिटर लामो र अढाइ किलोमिटर चौडा भएको र पश्‍चिमपट्टि पनि त्‍यही नापको हुनेछ। सहरमा बास गर्ने कुनै पनि कुलको मानिसले त्‍यस जमिनमा बोट-बिरुवा लाउनेछ। यसरी त्‍यस जमिनको बीचमा अलग गरी छुट्ट्याउनलाई भू-भाग एउटा वर्गाकार क्षेत्र हुनेछ, जसको लमाइ साढे बाह्र किलोमिटर र चौडाइ पनि त्‍यही नापको हुनेछ र सहर पनि त्‍यसभित्रै पर्नेछ। मन्‍दिर बनेको जमिन, पूजाहारीहरूले पाएको जमिन, लेवीहरूले पाएको जमिन र सहर बसालिएको जमिनबाहेक यो क्षेत्रको बाँकी रहेको पूर्व र पश्‍चिमका सबै जमिन राज्‍य गर्ने शासकको हुनेछ। त्‍यो शासकको जमिन पूर्व दिशातिर त्‍यतैपट्टिको सिमानासम्‍म र पश्‍चिम दिशातिर भूमध्‍य सागरसम्‍म फैलिएर गएको हुनेछ। त्‍यसको उत्तरमा यहूदा कुलको जमिन र दक्षिणमा बेन्‍यामीन कुलको जमिन रहनेछ। यो विशेष क्षेत्रको दक्षिणपट्टि बाँकी कुलहरूले आ-आफ्‍ना जमिनको हिस्‍सा पाउनेछन्। तिनीहरूका जमिनको क्षेत्र पूर्वीय सिमानाबाट सुरु भई पश्‍चिमतर्फ भूमध्‍य सागरसम्‍म जानेछ र त्‍यसभित्र उत्तरमा बेन्‍यामीन र त्‍यसपछि क्रमैसित दक्षिण दिशातर्फ शिमियोन, इस्‍साखार, जबूलून र गाद गर्दै बाँकी कुलहरूले आ-आफ्‍नो भाग जमिन पाउनेछन्। गादले पाएका जमिनको दक्षिणपट्टिको सिमाना तामारबाट दक्षिण-पश्‍चिम हुँदै मेरीबा कादेशको मरुद्यान भएर उत्तर पश्‍चिम हुँदै मिश्रको सिमानासँगै गएर भूमध्‍य सागरसम्‍म पुग्‍नेछ। सार्वभौम परमप्रभुले भन्‍नुभयो, “त्‍यस प्रकारले जमिन अंश-बन्‍डा गरी इस्राएलका कुलहरूलाई बाँडिनेछ।” सहर पस्‍ने बाह्र वटा मूल-ढोकाहरू छन्। सहर चारैपट्टिका हरेक पर्खाल २,२५० मिटर लामो छ र प्रत्‍येकमा तीन-तीन वटा मूल-ढोकाहरू छन् अनि एक-एक वटा मूल-ढोकाको नाम इस्राएलको कुल-कुलका नामअनुसार राखिएको छ। उत्तरी पर्खालका मूल-ढोकाहरू रूबेन, यहूदा र लेवी कुलका नाममा, पूर्वीय-पर्खालका मूल-ढोकाहरू योसेफ, बेन्‍यामीन र दान कुलका नाममा, दक्षिण-पर्खाल शिमियोन, इस्‍साखार र जबूलूनका नाममा अनि पश्‍चिम-पर्खाल गाद, आशेर र नप्‍तालीका नाममा राखिएका छन्। सहरका चारैपट्टिका पर्खालको जम्‍मा लमाइ ९,००० मिटर हुन्‍छ। अबदेखि उसो त्‍यस सहरको नाम “परमप्रभु यहीं हुनुहुन्‍छ” रहनेछ!

शेयर गर्नुहोस्
इजकिएल 48 पढ्नुहोस्