इजकिएल 21:1-31

इजकिएल 21:1-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, तेरो मोहड़ा यरूशलेमको विरुद्धमा फर्काएर पवित्रस्‍थानको विरुद्धमा प्रचार गर्‌। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्, र त्‍यसलाई भन्‌: ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म तेरो विरुद्धमा छु। म मेरो तरवार म्‍यानबाट थुतेर तेरा धर्मी र दुष्‍ट दुवैलाई तिमीहरूबाट बहिष्‍कार गर्नेछु। धर्मी र दुष्‍ट दुवैलाई म खतम गर्नेछु, यसैकारण दक्षिणदेखि उत्तरसम्‍म हरेकको विरुद्ध मेरो तरवार म्‍यानबाट निस्‍कनेछ। तब सबैले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्‍यानबाट झिकेको छु, र त्‍यो फेरि म्‍यानमा हालिनेछैन’। “यसकारण हे मानिसको छोरो, सुस्‍केरा हाल्‌। टुटेको हृदयमा साह्रै दु:खित हुँदै तिनीहरूका सामुन्‍ने सुस्‍केरा हाल्‌। यदि तिनीहरूले तँलाई ‘तिमी किन सुस्‍केरा हाल्‍दैछौ?’ भनी सोधे भने, यस्‍तो जवाफ दे, ‘समाचार आइरहेको कारणले, हरेकको हृदय गलिजानेछ र हरेकको हात शिथिल हुनेछ, हरेकको आत्‍मा निरुत्‍साहित हुनेछ र हरेकको घुँड़ा पानीजस्‍तै कमजोर हुनेछ’। त्‍यो आउँदैछ! त्‍यो निश्‍चय नै पूरा हुनेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, अगमवाणी कहेर भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: “‘एउटा तरवार, एउटा तरवार, सान लगाएको र टल्‍काइएको छ, मार्नलाई सान लगाइएको छ, बिजुलीझैँ चम्‍कनलाई टल्‍काइएको छ। “‘के हामी यहूदा मेरो छोराको राजदण्‍डमा आनन्‍दित हुने र? तरवारले त त्‍यस्‍तो दण्‍डलाई घृणा गर्छ। “‘तरवार टल्‍काउनलाई नियुक्त गरिएको छ, र हातले अँठ्याउनलाई। त्‍यसमा सान लगाइएको, त्‍यो टल्‍काइएको छ, मार्नेको हातको लागि त्‍यो तयार पारिएको छ। हे मानिसको छोरो, करा र विलाप गर्, किनभने त्‍यो मेरो प्रजाको विरुद्धमा चल्‍नेछ, त्‍यो इस्राएलका सबै राजकुमारका विरुद्धमा चल्‍नेछ। मेरो प्रजासितै तिनीहरू पनि तरवारमा सुम्‍पिएका छन्‌। यसकारण तैंले आफ्‍नो छाती पिट्‌। “‘जाँच निश्‍चय नै आउनेछ। अनि यदि यहूदाको राजदण्‍ड, जसलाई तरवारले तिरस्‍कार गर्छ, त्‍यो रहिरहेन भने? सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ’। “यसकारण हे मानिसको छोरो, अगमवाणी भन्, ताली बजा। तरवारले दुई पल्‍ट, तीन पल्‍टसम्‍मै प्रहार गरोस्‌। यो तरवार ध्‍वंस गर्नका निम्‍ति हो— ठूलो ध्‍वंसको निम्‍ति, हरेक दिशाबाट त्‍यसले तिनीहरूलाई घेर्दैछ। ताकि हृदयहरू गलिजाऊन्, र ढल्‍नेहरू धेरै होऊन्‌। तिनीहरूका सबै मूल ढोकाहरूमा रक्तपातको लागि मैले तरवार नियुक्त गरिदिएको छु। आओ! बिजुलीजस्‍तै चम्‍कनलाई त्‍यो बनाइएको छ, त्‍यो मार्नलाई समातिन्‍छ! हे तरवार, तेरो धार जतातिर फर्काइन्‍छ, दाहिने र देब्रेतिर तेजसित काट्‌। म पनि ताली बजाउनेछु, र मेरो क्रोध शान्‍त हुनेछ। म, परमप्रभुले नै भनेको हुँ।” परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, बेबिलोनका राजाको तरवार लिनलाई एउटै देशबाट आएका दोबाटो पहिल्‍या। सहरतिर जाने दोबाटोको मुखमा बाटो देखाउने एउटा मार्ग-दर्शक बना। अम्‍मोनीहरूको रब्‍बा सहरमा र यहूदा र किल्‍ला भएको यरूशलेम सहरमा आउनलाई त्‍यस तरवारको निम्‍ति एउटा बाटो देखा। किनभने बेबिलोनका राजा जोखना हेर्नलाई दोबाटोमा, अर्थात्‌ ती दुवै बाटोका मुखमा उभिनेछ, त्‍यसले काँड़हरूको चिट्ठा हाल्‍नेछ। त्‍यसले आफ्‍ना मूर्तिहरूसित सल्‍लाह लिनेछ, र कलेजो जाँच्‍नेछ। भत्‍काउने मूढ़ा राख्‍नलाई, गला खोलेर ध्‍वंस गर्ने हुकुम दिनलाई, युद्ध-ध्‍वनिको पुकारा दिनलाई, मूल ढोका भत्‍काउने ठूला-ठूला मूढ़ाहरू लाउनलाई, घेरा-मचान खड़ा गर्नलाई त्‍यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ। युद्धको निम्‍ति राजासित मित्रताको शपथ खानेहरूलाई त्‍यो झूटो जोखना हेरेजस्‍तो देखिनेछ, तर त्‍यसले तिनीहरूको दोषको सम्‍झना गराइदिनेछ, र तिनीहरूलाई कैद गर्नेछ। “यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूको खुलस्‍त बागीपनद्वारा तिमीहरूले आफ्‍नो दोष मलाई सम्‍झना गराएकाले, र तिमीहरूका पाप सबै काममा प्रकट गरेका हुनाले— तिमीहरूले यो गरेका हुनाले, तिमीहरू कैदमा पर्नेछौ। “‘हे अपवित्र र दुष्‍ट जन, इस्राएलको राजकुमार हो, जसको दिन आइपुगेको छ, जसको आखिरी दण्‍डको सजाय आइपुगेको छ, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: फेटा उतार्‌ र मुकुट उतारिदे, त्‍यो भएजस्‍तो अब हुनेछैन। जो विनम्र छ त्‍यो उच्‍च पारिनेछ, र जो उच्‍च छ त्‍यो तल खसालिनेछ। भग्‍नावशेष! भग्‍नावशेष!! म त्‍यसलाई भग्‍नावशेष बनाउनेछु। जसको त्‍यसमाथि न्‍यायपूर्ण अधिकार छ, जसलाई म यो सुम्‍पिदिनेछु, ऊ नआउञ्‍जेल त्‍यो फेरि पुनर्निर्माण गरिनेछैन’। “हे मानिसको छोरो, तैंले चाहिँ अगमवाणी कहेर भन्, ‘अम्‍मोनीहरू र उनीहरूले गरेको निन्‍दाको विषयमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘एउटा तरवार, एउटा तरवार, मार्नलाई एउटा तरवार थुतिएको छ, बिजुलीजस्‍तै चम्‍कनलाई त्‍यो टल्‍काइएको छ! तेरो विषयमा झूटो दर्शन देखे तापनि— तेरो लागि झूटो जोखना हेरे तापनि ती दुष्‍टहरू, जो मारिनैपर्छ जसको दिन आइपुगेको छ, जसको आखिरी दण्‍डको समय आइपुगेको छ, तिनीहरूका घिच्रामा हान्‍नलाई त्‍यो तरवार निकालिनेछ। त्‍यो तरवार म्‍यानमा हाल्‌। तँ सृजना गरिएकै ठाउँमा, तेरा पिता-पुर्खाहरूकै देशमा म तेरो इन्‍साफ गर्नेछु। म मेरो क्रोध तँमाथि खन्‍याउनेछु, र तेरो विरुद्धमा दन्‍केको मेरो रीस आगोझैँ तँमाथि फुकिदिनेछु। म तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु।

शेयर गर्नुहोस्
इजकिएल 21 पढ्नुहोस्

इजकिएल 21:1-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानको विरुद्धमा प्रचार गर्। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्; अनि त्यसलाई भन्: ‘याहवेह यसो भन्‍नुहुन्छ: म तेरो विरुद्धमा छु। म म्यानबाट मेरो तरवार थुत्नेछु, र तेरा धर्मी र दुष्‍ट दुवैलाई नाश गर्नेछु। मैले धर्मी र दुष्‍ट दुवैलाई नाश गर्न लागेको कारण, मेरो तरवार म्यानबाट बाहिरै रहेर दक्षिणदेखि उत्तरसम्म सबैको विरुद्धमा हुनेछ। तब सबै मानिसहरूले म याहवेहले नै मेरो तरवार म्यानबाट बाहिर निकालेको छु भनी जान्‍नेछन्; यो फेरि म्यानमा फर्केर आउनेछैन।’ “यसकारण हे मानिसको छोरा, सुस्केरा हाल्! तिनीहरूकै आँखाको सामु व्याकुल र अति दुःखी भएर सुस्केरा हाल्। अनि जब तिनीहरूले तँलाई सोध्छन्, ‘तिमी किन सुस्केरा हाल्दैछौ?’ तब तिनीहरूलाई यसरी भन्, ‘आइरहेको खबरको कारणले सबैको हृदय डरले हताश हुनेछ, र हरेक हात कमजोर हुनेछ; हरेक आत्मा मूर्च्छा पर्नेछ र हरेक घुँडा अति कमजोर हुनेछन्।’ हेर, यो कुरा आइरहेको छ! यो निश्‍चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, अगमवाणी गरेर भन्, ‘प्रभु यसो भन्‍नुहुन्छ: “ ‘एउटा तरवार, एउटा तरवार, उध्याइएको छ, र टल्काइएको छ, अर्थात् काटमारका निम्ति उध्याइएको छ! बिजुलीझैँ चम्कनलाई टल्काइएको छ! “ ‘के हामी मेरो राजकीय छोराको राजदण्डमा खुशी होऔँ? तरवारले यस्तो दण्डलाई तुच्छ ठान्छ। “ ‘तरवार टल्काउनलाई र हातले पक्रिनलाई नियुक्त गरिएको छ। तरवार उध्याइएको छ र टल्काइएको छ, काटमार गर्नेको हातमा तयार पारिएको छ। हे मानिसको छोरा, चर्कोगरी करा र विलाप गर्; किनकि यो मेरा प्रजाको विरुद्धमा छ; यो इस्राएलका सबै राजकुमारहरूको विरुद्धमा छ। तिनीहरू मेरा प्रजाहरूसँगै तरवारमा फ्याँकिएका छन्। यसकारण तँ विलाप गर। “ ‘जाँच निश्‍चय नै आउनेछ। अनि यदि यहूदाको राजदण्ड, जसलाई तरवारले घृणा गर्छ, त्यो रहेन भने? प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ “यसकारण हे मानिसको छोरा, अगमवाणी गर्! अनि दुवै हात ठटाएर ताली बजा। तरवारले दुई पल्ट प्रहार गरोस्, अझ तीन पल्टसम्म नै प्रहार गरोस्। यो काटमारको तरवार हो— तिनीहरूको चारैतिरबाट घेरा हालेर आइरहेको काटमारको एउटा ठूलो तरवार हो। तिमीहरूका हृदय डरले हताश होऊन्, र ढल्नेहरू धेरै जना होऊन्; मैले तिनीहरूका सबै मूलढोकाहरूमा काटमारको निम्ति तरवार नियुक्त गरेको छु। हेर्, बिजुलीजस्तै चम्कन तरवारलाई टल्काइएको छ! यसलाई काटमारको निम्ति समातिन्छ। ए धारिलो तरवार, दायाँतिर काट्; त्यसपछि बायाँतिर काट्, जतातिर तेरो धार जान्छ, उतैतिर काट्। म पनि मेरो दुवै हातले ताली बजाउनेछु; अनि मेरो क्रोध शान्त हुनेछ, म याहवेहले नै भनेको हुँ।” याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, बेबिलोनको राजाको तरवारले लिनुपर्ने दुई वटा बाटोहरूमा चिन्ह लगा, र दुवै चिन्हहरू एउटै देशबाट सुरु भएका होऊन्। एउटा चिन्ह लगाउने खम्बा बना, जहाँबाट बाटो छुट्टिएर सहरतिर जान्छ। अम्मोनीहरूको रब्बाको विरुद्धमा आउने तरवारको निम्ति एउटा बाटोमा चिन्ह लगा, र अर्कोमा यहूदा र सुरक्षित यरूशलेमको विरुद्धमा चिन्ह लगा। किनकि बेबिलोनको राजा जोखना हेर्नलाई दोबाटोमा र बाटोको दोभानमा रोकिनेछ: त्यसले काँडको चिट्ठा हाल्नेछ; राजाले आफ्ना मूर्तिहरूसित सल्‍लाह लिनेछ। त्यसले बलिदान चढाएको पशुको कलेजो जाँच गर्नेछ। त्यसको दायाँ हाततर्फ यरूशलेम आउनेछ, जहाँ त्यसले पर्खाल भत्काउने रूखका ठूला-ठूला मुढाहरू राख्नुपर्छ; काटमार गर्ने आदेश दिनुपर्छ र युद्ध-ध्वनिको आवाज सुनाउनुपर्छ। मूलढोकाहरूको विरुद्धमा भत्काउने रूखका मुढाहरू राख्नुपर्छ र घेरा-मचान खडा गर्नुपर्छ। यरूशलेमका मानिसहरूका निम्ति यो झूटो जोखनाजस्तो लाग्नेछ; किनकि तिनीहरूले राजासित मित्रताको शपथ खाएर सन्धि गरेका थिए; तर नबूकदनेसरले तिनीहरूलाई तिनीहरूका दोष देखाएर तिनीहरूलाई कैद गरेर लैजानेछ। “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूका खुल्‍ला विद्रोहद्वारा तिमीहरूका पापको स्मरण गराएका छौ, जसमा तिमीहरूले गरेका सबै कामहरूबाट तिमीहरूका सबै पापहरू प्रकट भएका छन्। तिमीहरूले यसो गरेको कारण, अथवा तिमीहरूको पापको कारण तिमीहरूका विरोधी शत्रुहरूद्वारा तिमीहरू कैदमा लगिनेछौ। “ ‘हे इस्राएलको अपवित्र र दुष्‍ट राजकुमार, जसको दिन आइपुगेको छ, जसको दण्डको दिन आखिरी विन्दुमा पुगेको छ। प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तेरो फेटा निकाल् र मुकुट उतारिदे। अब यो एकनास रहनेछैन: नम्रहरू उच्‍च पारिनेछन् र उच्‍चमा हुनेहरू होच्याइनेछन्। भग्नावशेष! भग्नावशेष! म यसलाई एउटा भग्नावशेष बनाइदिनेछु! यो मुकुट जबसम्म आधिकारिक रूपमा जसको हो, त्यो सम्बन्धित व्यक्ति नआएसम्म यो फेरि बनिनेछैन; म उसैलाई यो दिनेछु।’ “अनि हे मानिसको छोरा, तँ अगमवाणी गरेर भन्, ‘अम्मोनीहरू र तिनीहरूका अपमानको बारेमा प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘एउटा तरवार, एउटा तरवार, काटमारको निम्ति निकालिएको छ; भस्म गर्नलाई र बिजुलीजस्तै चम्कन टल्काइएको छ! तेरो बारेमा भएको झूटो दर्शन भए तापनि र तेरो बारेमा झूटो जोखना भए तापनि यो मारिनुपर्ने दुष्‍टहरूका घिच्रोमा राखिनेछ, जसको दिन आइपुगेको छ, जसको दण्डको समय आखिरी विन्दुमा पुगेको छ। “ ‘तरवारलाई त्यसको म्यानमा राख्। तँ सृष्‍टि भएकै ठाउँमा, तेरो पितापुर्खाहरूको देशमा, म तेरो न्याय गर्नेछु। म मेरो क्रोध तँमाथि खन्याउनेछु, र मेरो रिसको आगो तेरो विरुद्धमा पोखाउनेछु; म तँलाई नाश गर्न सिपालु मानिसहरू, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु।

शेयर गर्नुहोस्
इजकिएल 21 पढ्नुहोस्

इजकिएल 21:1-31 पवित्र बाइबल (NERV)

यसकारण परमप्रभुको वचन फेरि मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, यरूशलेमपट्टि ध्यान देऊ अनि त्यसको पवित्र स्थानहरूको विरूद्ध केही भन। मेरो निम्ति इस्राएल देशको विरूद्ध केही भन। इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु। म राम्रो अनि नराम्रो दुवै मानिसहरू तिमीहरूबाट काटेर हटाउँछु। म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु अनि दक्षिणबाट उत्तर सम्मका सबै मानिसहरूको विरूद्ध उपयोग गर्छु। तब सबै मानिसहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले थाहा पाउँनेछन् कि मैले नै तरवार म्यानबाट बाहिर निकाले। मेरो तरवार फेरि म्यानमा पस्ने छैन जबसम्म यो शेष हुदैन।’” परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, दु:खमा परेको मानिसको जस्तो दु:खको आवाज निकाल। मानिसहरूको छेउमा कराऊ। तब तिनीहरूले तिमीलाई सोध्ने छन्, ‘तिमी किन दु:खको आवाज निकालिरहेका छौ?’ त्यस बेला तिमीले भन्नुपर्छ, ‘किनभने कष्टदायक समाचार आउँदै छ। प्रत्येकको हृदय डरले पग्लिने छ। सबै हातहरू कमजोर हुनेछन्। हरेकको आत्मा कमजोर हुनेछ। हरेकको घुँडा पानी जस्तै हुनेछ।’ ध्यान देऊ त्यो नराम्रो समाचार आउँदै छ। यी घटनाहरू घट्नेछन्।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभएको हो। परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ: “‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो, अनि तरवारमा सान लगाइएको छ। तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ। बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ। मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यौ जसले तिमीलाई दण्ड दिन्थ्यो। तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्यौ। यसकारण तरवारलाई टल्काइएको हो। अब यो प्रयोग गर्न सकिन्छ। तरवार धारिलो बनाइएको छ अनि सान लगाइएको छ। अब यो मार्नेको हातमा दिइसकेको छ। “‘हे मानिसको छोरो! चिच्याऊ अनि कराऊ। किनकि तरवारको प्रयोग मेरा मानिसहरू अनि इस्राएलको सबै शासकहरूको विरूद्धमा हुन्छ। ती अगुवाहरू मेरो मानिसहरूसितै तरवारद्वारा मारिनेछन्। यसकारण, तिमीले आफ्नो छाती पीट। किनकि यो परीक्षा मात्र होइन तिमीले काठको लौरोद्वारा दण्डदायी हुन अस्वीकार गर्यौ यसकारण त्यसको अतिरिक्त तिमीलाई दण्ड दिनको निम्ति म के प्रयोग गरूँ? हो, तरवार नै’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन, “तरवार दुइ पल्ट आवोस्, या तीन पल्ट! यो तरवार मानिसहरू मार्नुका निम्ति हो। यो तरवार हो, ठूलो नर-संहारका निम्ति! यो तरवारले मानिसहरूलाई काट्नेछ! तिनीहरूको हृदय डरले पग्लिनेछ, अनि धेरै मानिसहरू लड्नेछन्, धेरै ज्यादा मानिसहरू आफ्नो नगर-द्वारमा मर्नेछन्। तरवार बिजुलि जस्तै चम्कनेछ। यो मानिसहरू मार्नको निम्ति सान लगाएर टल्काइएको हो। हे तरवार! धारिलो हो! तरवार दाहिनेपट्टि काट सीधै छेउमा काट देब्रे पट्टि काट, जाउ प्रत्येक स्थानमा जहाँ तेरो धारले जानका निम्ति छानेकोछ। “तब म ताली बजाउनेछु, अनि म मेरो क्रोध देखाउनु बन्दा गर्नेछु। म, परमप्रभुले नै भनेको हुँ।” परमप्रभुको वचन फेरि मकहाँ आयो, “हे मानिसको छोरो! दुइवटा बाटोको नक्शा बनाऊ त्यो बाबेलका राजाले तरवार इस्राएलमा ल्याउन छाने। दुवै बाटोहरू एउटै भूमिमा आउनु पर्छ। एउटा संकेत शहरको शुरूमा लगाउनु पर्छ। जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनी शहर अनि अर्को यहूदा यरूशलेमको बलियो शहर तिर लैजान्छ। यसले स्पष्ट पार्छ कि बाबेलको राजाले त्यो बाटोको योजना बनाउँदैछ, जसद्वारा उसले त्यस क्षेत्रमा आक्रमण गर्न सकोस्। बाबेलको राजा त्यो बिन्दु सम्म आइपुगिसकेकोछ जहाँ दुइवटा बाटो छुटिन्छ। बाबेलको राजाले जादूको संकेतको प्रयोग भविष्य जान्नुको निम्ति गरेको हो। उसले केही बाण हल्लायो, उसले परिवारको मूर्तिहरूसँग प्रश्न गर्यो, उसले मारेको जनावरको कलेजो हेर्यो। “संकेतले उसलाई दाहिनेपट्टिको बाटोबाट यरूशलेम पुग्छ भन्ने बताउँदैछ! उसले आफूसँग नष्ट गर्ने हतियार ल्याउने योजना बनाएको छ। उसले आदेश दिनेछ अनि उसको सैनिकले ज्यान मार्न शुरू गर्नेछन्। उसले युद्ध घोषणा गर्छ। त्यस समयमा उसले शहरको चारैतिर माटोको पर्खाल बनाउँनेछ। उसले पर्खाल सम्म पुग्ने एउटा माटोको बाटो बनाउँनेछ। उसले शहरमा आक्रमण गर्नका निम्ति काठको धरहराहरू बनाउँनेछ। इस्राएलका मानिसहरूको निम्ति त्यो जादूको चिन्हको केही अर्थ हुँदैन। तिनीहरूले त्यो वचनको पालन गर्छन जुन तिनीहरूलाई दिइएको छ। तर परमप्रभुले तिनीहरूको पाप याद राख्नु हुनेछ। अनि इस्राएलीहरू कैदी हुनेछन्।” परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिमीले तिमीहरूको कुकर्महरू स्मरणीय पारेकाछौ। तिम्रो पापहरू पुरै प्रकाशमा आएको छ। तिमीले मलाई तिमी दोषी थियो भन्ने याद गर्न बाध्य गरायौ। यसकारण शत्रुले तिमीलाई आफ्नो हातमा लिनेछ। अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!” परमप्रभु मेरो मालिक यो संदेश दिनुहुन्छ, “फेटा उठा। मुकुट उठा! परिवर्तनको समय आइपुग्यो। महत्वपूर्ण चीजहरू तल ल्याइनेछ अनि जो मानिसहरू महत्वपूर्ण छैनन् तिनीहरू महत्वपूर्ण बनिनेछन्। म त्यो शहरहरू पूर्णरूपमा नष्ट पार्नेछु। तर यो त्यस बेला सम्म हुँदैन जब सम्म उपयुक्त मानिस राजा हुँदैन। त्यसपछि म बाबेलको राजालाई शहरमाथि अधिकार गर्नदिन्छु।” परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति मानिसहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले यी कुराहरू अम्मोनका मानिसहरू अनि तिनीहरूको लज्जित देवतासँग भन्नुहुन्छ: “‘ध्यान देऊ, एउटा तरवार! एउटा तरवार म्यानबाट बाहिर छ। तरवार टल्काइएको छ! तरवार मार्नको निम्ति तयार छ! बिजुली जस्तो चम्काउनका निम्ति यसलाई टल्काइएको थियो! “‘तिम्रो दर्शन व्यर्थ छ। तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन। यो झूठ्ठो अगमवाणी हो। अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ। तिनीहरू चाँडै मर्नेछन्। अन्त्यको दिन आइपुगेको छ। तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ। “‘अब तिम्रो तरवार (बाबेललाई) म्यानभित्र राख। बाबेल! म तिमीसित न्याय त्यही गर्छु तिमी जहाँ बसेकाछौ। अथवा त्यहीं देश जहाँबाट तिमी उत्पन्न भएका थियौ। म तिम्रो विरूद्ध आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँनेछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मार्नु सिपालु छन्।

शेयर गर्नुहोस्
इजकिएल 21 पढ्नुहोस्

इजकिएल 21:1-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु मसित बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, यरूशलेमको विरुद्धमा बोल्। मानिसहरूले पूजा गर्ने ठाउँहरूको विरोध गर्‌। म परमप्रभु यसो भन्‍दछु कि इस्राएल देशलाई चेतावनी दे, म तेरो शत्रु भएको छु। म आफ्‍नो तरवार निकालेर तिमी धर्मी र दुष्‍ट सबैलाई मार्नेछु। दक्षिणदेखि उत्तरसम्‍म सबैमाथि म आफ्‍नो तरवार चलाउनेछु। म परमप्रभुले आफ्‍नो तरवार म्‍यानबाट निकालेको छु र फेरि त्‍यसमा हाल्‍नेछैन भनी सबैले जान्‍नेछन्। “ए मरणशील मानिस, निराशाले तेरो मुटुबाट सबैले सुन्‍ने गरी पीडाको आवाज निकाल्। किन त्‍यसरी आवाज गरेको भनी कसैले सोध्‍यो भने तिनीहरूलाई भन्‍नू कि आउन लागेको समाचारको कारणले गर्दा त्‍यस्‍तो आवाज गरेको हुँ। त्‍यो समाचार आइपुग्‍दा तिनीहरूका हृदय डरले थरथर हुनेछन्, हात-खुट्टा लुला हुनेछन्, साहस हराउनेछ र घुँडाहरू लगलग काम्‍नेछन्। त्‍यो समय आइपुग्‍यो। त्‍यो समय यही हो।” सार्वभौम परमप्रभु बोल्‍नुभएको छ। परमप्रभुले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, तँ अगमवाणी बोल्। म परमप्रभुले के भन्‍दै छु, त्‍यो मानिसहरूलाई सुना: “एउटा तरवार टल्‍काइएको छ र त्‍यसमा सान लगाइएको छ। मार्नलाई सान लगाइएको छ, बिजुलीझैँ चम्‍कनलाई टल्‍काइएको छ। कतै पनि आनन्‍दको कुरा हुनेछैन किनभने मेरो प्रजाले प्रत्‍येक चेतावनी र दण्‍डलाई वास्‍तै गरेको छैन। प्रयोग गर्न तरवार तयार गरिंदै छ, हत्‍याराको हातमा दिनलाई त्‍यो टल्‍काइँदै छ, त्‍यसमा सान लगाइँदै छ र टल्‍काइँदै छ, ए मरणशील मानिस, विलाप गर्‌, मेरा प्रजा तरवारले मर्नेछन्, इस्राएलका अगुवाहरू पनि त्‍यही तरवारले मर्नेछन्, मेरा प्रजा साथसाथ सबै मर्नेछन्, निराशाको भारले छाती पिट्दै विलाप गर्‌! मेरा प्रजालाई म जाँच गर्नेछु र यदि तिनीहरूले पश्‍चात्ताप गर्न अस्‍वीकार गरे भने तिनीहरूमाथि यी सबै कुराहरू आइपर्नेछ।” “अब हे मरणशील मानिस, अगमवाणी बोल्। ताली बजा अनि तरवारले बारम्‍बार प्रहार गर्नेछ। त्‍यो मार्ने र अत्‍याउने तरवार हो। त्‍यो संहार गर्ने हतियार हो। त्‍यसले मेरा प्रजालाई हतास पार्नेछ, ठोकर खुवाउनेछ। तिनीहरूका सहरलाई म एउटा तरवारले तर्साउनेछु। त्‍यो तरवार बिजुलीझैँ चम्‍कन्‍छ र मार्न तयार छ। ए धारिलो तरवार, दायाँ-बायाँ दुवैतिर काट्। धार जता फर्काउँछस्, त्‍यतै काट्। म पनि ताली बजाउनेछु र मेरो क्रोध मर्नेछ। म परमप्रभु बोलेको छु।” परमप्रभु मसित बोल्‍नुभयो, “ए मरणशील मानिस, दुई वटा सडकहरूको चित्र कोर्‌, जहाँबाट बेबिलोनको राजा तरवार लिएर आउनेछ। ती दुवै सडकहरू एउटै देशमा सुरु हुन्‍छन्। तिनका दोबाटोमा एउटा नाम लेख्‍ने खामो गाड्। एकपट्टिको निशानाले राजालाई अम्‍मोनी सहर रब्‍बा जाने बाटो देखाउनेछ। अर्कोपट्टिको निशानाले यहूदाको किल्‍लाले घेरेको सहर यरूशलेम जाने बाटो देखाउनेछ। बेबिलोनको राजा दोबाटोको नाम लेख्‍ने खामोछेउ आएर उभिनेछ। कुनचाहिँ बाटो जाने भनी पत्ता लगाउन त्‍यसले काँड हल्‍लाउनेछ, देवी-देवताको सल्‍लाह लिनेछ र बलि चढाएको पशुको कलेजो पनि जाँच गर्नेछ। अब त्‍यसको दाहिने हातमा ‘यरूशलेम’ लेखिएको एउटा काँड पर्नेछ। त्‍यसले राजालाई त्‍यता जाने, पर्खाल भत्‍काउने मुढा तयार गर्ने, लडाइँको हुँकार लाउने, मूल-ढोकामा ती भत्‍काउने ठूल्‍ठूला मुढाहरू लगाउने, माटोको घेरा-मचान बनाउने र देवल लगाउने इशारा गर्दछ। यरूशलेमका बासिन्‍दाहरूले त्‍यो कुरो पत्‍याउनेछैनन् किनभने आपसमा तिनीहरूले सन्‍धि गरेका थिए। तर त्‍यो अगमवाणीले तिनीहरूलाई तिनीहरूका पापको सम्‍झना गराउँछ र तिनीहरू कैदमा पर्नेछन् भनी चेतावनी दिनेछ। यही कुरा म सार्वभौम परमप्रभु भन्‍दछु कि तिमीहरूका पाप प्रकट भएका छन्। तिमीहरू कस्‍ता अपराधीहरू हौ, त्‍यो सबैले जान्‍दछन्। आफ्‍ना हरेक काममा तिमीहरू आफ्‍नो पाप देखाउँदछौ। तिमीहरू दोषी ठहराइएका छौ। यसकारण म तिमीहरूलाई तिमीहरूका शत्रुका हातमा दिनेछु। “ए इस्राएलको दुष्‍ट र अधर्मी राजा, तेरो दिन पुग्‍यो। अब तेरो अन्‍तिम दण्‍डको दिन आउँदै छ। म सार्वभौम परमप्रभु बोलेको छु। तेरा फेटा र मुकुट फुकाल्। अब फेरि केही कुरो अघिजस्‍तो हुनेछैन। होचाहरू उच्‍च पारिनेछन्। उच्‍च भएकाहरू होचो बनाइनेछन्। नाश हुनेछ, नाश हुनेछ! हो, म त्‍यस सहरलाई ध्‍वस्‍त पार्नेछु। जसलाई जबसम्‍म यो सहरमाथि अधिकार दिइएको छ, ऊ नआएसम्म यो सहर फेरि बनाइँदैन। ऊ आएपछि म यो उसलाई दिनेछु। “ए मरणशील मानिस, अगमवाणी बोल्। म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो इस्राएललाई अपमान गर्ने अम्‍मोनीहरूलाई सुना: “नाश गर्नलाई एउटा तरवार तयारी छ, मार्नलाई त्‍यो टल्‍काइएको छ, त्‍यो बिजुलीझैँ चम्‍कँदछ।’ “तिमीहरूले देखेका दर्शन झूटा छन् र तिमीहरूले भनेका अगमवाणी असत्‍य छन्। तिमीहरू दुष्‍ट र खराब छौ र तिमीहरूको दिन पुग्‍यो। तिमीहरूको अन्‍तिम दण्‍डको दिन आइपुग्‍यो। तरवार तिमीहरूका गर्दनमा पर्नेछ। “तिमीहरूका तरवार म्‍यानमा हाल! जुन ठाउँमा तिमीहरू सृष्‍टि भएका थियौ, जहाँ तिमीहरू जन्‍मेका थियौ, त्‍यहीं म तिमीहरूको न्‍याय गर्नेछु। जब म मेरो क्रोध दन्‍केको आगोझैँ तिमीहरूमाथि खन्‍याउनेछु, तब तिमीहरूले त्‍यसको प्रकोप थाहा पाउनेछौ। अनि म तिमीहरूलाई नाश गर्न सिपालु र क्रुर मानिसहरूका हातमा सुम्‍पिदिनेछु।

शेयर गर्नुहोस्
इजकिएल 21 पढ्नुहोस्