प्रस्थान 3:1-10
प्रस्थान 3:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोशाले आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्थानको पारितिर परमेश्वरको पर्वत, अर्थात् होरेबसम्मै लगे। त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो— तापनि भस्म हुँदैनथ्यो। मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्यलाई हेर्नेछु। त्यो पोथ्रा किन भस्म हुँदोरहेनछ?” जब हेर्नलाई तिनी त्यतातिर लागेका परमप्रभुले देख्नुभयो, तब परमेश्वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो। अनि तिनले भने “म यहीँ छु।” तब परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।” उहाँले अझै भन्नुभयो, “म तेरा पिता-पुर्खाका परमेश्वर हुँ। अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।” तब मोशाले आफ्नो मुख ढाके, किनकि तिनी परमेश्वरलाई हेर्न डराए। तब परमप्रभुले भन्नुभयो, “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात् दूध र मह बग्ने देश— कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनलाई म ओर्लिएको छु। अब हेर्, इस्राएलीहरूको पुकारा मकहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। यसकारण अब जा, मेरा प्रजा, अर्थात् इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारोकहाँ पठाउँदैछु।”
प्रस्थान 3:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्लो छेउतिर लगे; अनि तिनी परमेश्वरको पर्वत होरेबमा आए। त्यहाँ याहवेहका दूत पोथ्राको माझमा जलिरहेको ज्वालाको रूपमा तिनीकहाँ देखा पर्नुभयो। मोशाले देखे, कि त्यो पोथ्रा जलिरहेको थियो; तापनि भस्म भएको थिएन। अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।” जब याहवेहले तिनले हेर्न गएको देख्नुभयो, तब परमेश्वरले त्यस पोथ्राभित्रबाट तिनलाई बोलाएर भन्नुभयो, “मोशा! ए मोशा!” अनि मोशाले भने, “हजुर, म यहाँ छु।” परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज! तेरो जुत्ता फुकाल; किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।” तब उहाँले भन्नुभयो, “म तेरा पितापुर्खाका परमेश्वर हुँ; अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर।” यो सुनेर मोशाले आफ्नो अनुहार छोपे; किनकि तिनी परमेश्वरलाई हेर्न डराए। याहवेहले भन्नुभयो, “मैले इजिप्टमा भएका मेरा प्रजाका कष्ट साँच्चै देखेको छु। परिश्रममा जोतिएकाहरूलाई यातना दिने ठेकेदारहरूका कारण मैले तिनीहरूको चीत्कार सुनेको छु; र तिनीहरूका दुःखप्रति मेरो वास्ता छ। यसकारण म तिनीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन, र त्यस देशबाट निकालेर एउटा असल र ठूलो देश, दूध र मह बग्ने, जो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो, त्यहाँ ल्याउनलाई म ओर्लिएको छु। अब इस्राएलीहरूको चीत्कार मेरो सामु आइपुगेको छ; अनि इजिप्टियनहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो मैले देखेको छु। यसकारण अब जा। म मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउन तँलाई फारोकहाँ पठाउँदैछु।”
प्रस्थान 3:1-10 पवित्र बाइबल (NERV)
त्यस समय मोशा उसको ससूराका भेंडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेंडाहरू मरुभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए। पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन। मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?” जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!” मोशाले उत्तर दिए, “म यहाँ छु।” तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल। म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।” मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए। परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरजस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु। अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्। मैले इस्राएलका मानिसहरूको पुकार सुनेकोछु। मैले देखें मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्। यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।”
प्रस्थान 3:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन मोशाले आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडाबाख्रा चराइरहेका थिए। उनले पशुका बथानलाई मरुभूमि पार गराएर पवित्र पर्वत सीनैमा पुर्याए। त्यहाँ परमप्रभुका दूत एउटा पोथ्राको बीचमा जलिरहेको ज्वालाको रूपमा उनको अघि प्रकट भए। मोशाले देखे कि पोथ्रा जलिरहेको थियो; तर भस्म भएको थिएन। “यो त उदेकको कुरा हो, पोथ्राचाहिँ किन भस्म हुँदैन? म छेउमै गएर हेर्नुपर्यो,” उनले मनमा भने। मोशालाई नजिक आएको देखेर पोथ्राको बीचबाट परमप्रभुले उनलाई बोलाउनुभयो, “मोशा! ए मोशा!!” मोशाले उत्तर दिए, “हजुर, म यहाँ छु।” परमेश्वरले भन्नुभयो, “छेउमा नआइज। तेरो खुट्टामा भएको जुत्ता फुकाल् किनभने तँ पवित्र भूमिमा उभिएको छस्। म तेरा पुर्खाहरूका परमेश्वर हुँ, अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ।” मोशाले आफ्नो अनुहार छोपे किनभने उनी परमेश्वरलाई हेर्न डराए। परमप्रभुले भन्नुभयो, “मिश्रमा मेरा प्रजालाई कति निष्ठुरतासित सताइँदै छ, मैले देखेको छु। निष्ठुरी नाइकेहरूका हातदेखि छुटकारा पाउन तिनीहरूले गरेको पुकार मैले सुनेको छु। तिनीहरूका दु:ख र पीडा म सबै जान्दछु। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट बचाउन र मिश्रदेशबाट निकाली एउटा फराकिलो देशमा पुर्याउन म आएको छु। त्यो देश धनी र मलिलो छ, त्यहाँ अहिले कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू बसेका छन्। मैले साँच्चै आफ्ना प्रजाको पुकार सुनेको छु र मिश्रीहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो देखेको छु। अब म तँलाई मिश्रदेशको राजाकहाँ पठाउँदै छु र तैँले मेरा प्रजालाई त्यसको देशदेखि डोर्याएर निकाली ल्याउनेछस्।”