प्रस्थान 14:2-4
प्रस्थान 14:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्। फारोले इस्राएलीहरूका विषयमा भन्नेछन्, ‘तिनीहरू त अलमल्ल परी मुलुक घुमिरहेछन्, र उजाड़-स्थानले तिनीहरूलाई थुनिदिएछ’। अनि म फारोको हृदय कठोर पार्नेछु र त्यसले इस्राएलीहरूलाई खेद्नेछ। तर फारो र त्यसको सारा सेनाद्वारा म आफ्नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्।” तब इस्राएलीहरूले त्यसै गरे।
प्रस्थान 14:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“इस्राएलीहरूलाई पछि फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोतको छेउमा पाल टाँगेर बस्नू भन्। तिनीहरू बाल-सेफोनको ठिक विपरीत समुद्रनिर डेरा हालेर बसून्। फारोले विचार गर्नेछ, ‘इस्राएलीहरू त उजाडस्थानमा थुनिएर अलमलमा परी देशमा भौँतारिरहेका छन्।’ अनि म फारोको हृदय कठोर पार्नेछु, र त्यसले तिनीहरूलाई खेद्नेछ। तर म फारो र त्यसका सेनाद्वारा आफ्नो महिमा लिनेछु, र इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।” यसकारण इस्राएलीहरूले त्यसै गरे।
प्रस्थान 14:2-4 पवित्र बाइबल (NERV)
“इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ। फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन। म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”
प्रस्थान 14:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“इस्राएलीहरूलाई फर्केर गई मिग्दोल र लाल समुद्रका बीचमा भएको बाल-सेफोनको नजिकको पी-हहीरोतको सामुन्ने पाल टाँग्नू भन्। तब मिश्रका राजाले इस्राएलीहरू यही देशमा डुलिरहेका छन् र मरुभूमिले तिनीहरूको बाटो थुनिदिएको छ भनी ठान्नेछ। म त्यसको मन कठोर गराउनेछु र त्यसले तिमीहरूलाई खेद्नेछ; तर त्यो र त्यसको सेनामाथि विजय गर्नेछु र मेरो महिमा हुनेछ। तब मिश्रीहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्।” इस्राएलीहरूले त्यसै गरे।