प्रस्थान 13:1-16
प्रस्थान 13:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूमध्येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात् पहिले जन्मेका सबै नरहरूलाई मेरो निम्ति अर्पण गर्। ती मेरा हुन्।” तब मोशाले मानिसहरूलाई भने, “दासत्वको देश, मिश्रबाट निस्केर आएको यस दिनको तिमीहरूले सम्झना राख, किनकि परमप्रभुले आफ्नो बाहुलीको शक्तिले तिमीहरूलाई त्यस ठाउँबाट निकालेर ल्याउनुभयो। यस दिन खमिर हालेको कुनै रोटी नखाइओस्। आबीब महिनाको आजकै दिनमा तिमीहरू निस्केर जाँदैछौ। जब परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको देश, अर्थात् दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, जुन देश उहाँले तिमीहरूका पिता-पुर्खासित ‘म दिन्छु’ भन्ने शपथ खानुभएको थियो, तब यही महिनामा यो चाड़ मान्नू। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू, र सातौँ दिनमा चाहिँ परमप्रभुको निम्ति एउटा चाड़ मनाउनू। ती सात दिनसम्म अखमिरी रोटी खानू। तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नू, ‘जब म मिश्रबाट निस्केर आएँ, तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो, यो त्यसैको निम्ति गरिएको हो’। परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अगि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ, किनकि परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। यो विधि वर्षेनी ठहराइएको समयमा मान्ने गर्नू। “जब परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खासित शपथ खाएर प्रतिज्ञा गर्नुभएबमोजिम कनानीहरूको देशमा तिमीहरूलाई पुर्याएर त्यो देश तिमीहरूलाई दिनुहुनेछ, तब हरेक गर्भको प्रथम फल परमप्रभुलाई दिनू। तिमीहरूका पशुहरूबाट पहिले बियाएका सबै नरहरूचाहिँ परमप्रभुको निम्ति हुनेछन्। पहिले बियाएको बछेड़ोलाई एउटा पाठो दिएर छुटाउनू, तर त्यो छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। आफ्ना छोराहरूमध्ये जेठालाई छुटाउनू। “जब भविष्यमा तिमीहरूको छोराहरूले तिमीहरूलाई यो के हो भनी सोध्नेछ, तब तिमीहरूले त्यसलाई भन्नू, परमप्रभुले हामीलाई दासत्वको देश, मिश्रबाट आफ्नो शक्तिशाली बाहुलीले निकालेर ल्याउनुभयो। जब फारोले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्मेकालाई मार्नुभयो। यसैकारण हरेक गर्भको पहिलो बियाएको पाठालाई परमप्रभुको निम्ति बलिदान गर्दछु, र मेरा छोराहरूमध्येका जेठालाई चाहिँ छुटाउँछु। यो परमप्रभुले हामीलाई आफ्नो शक्तिशाली बाहुलीले मिश्रबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूका निम्ति हातमा भएको एउटा चिन्ह र निधारमा भएको एउटा सङ्केत हुनेछ।”
प्रस्थान 13:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “पहिले जन्मेका प्रत्येक पुरुषलाई मेरा निम्ति अर्पण गर। इस्राएलीहरूबीच गर्भको हरेक पहिलो फल मेरो हो—चाहे त्यो मानिस होस् वा पशु।” तब मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर, जुन दिन तिमीहरू इजिप्टबाट, दासत्वको देशबाट निस्केर आयौ; किनकि याहवेहले तिमीहरूलाई शक्तिशाली हातले त्यहाँबाट बाहिर निकालेर ल्याउनुभयो। खमिर भएको कुनै कुरा नखाओ। आज आबीब महिनामा तिमीहरू निस्कँदैछौ। जब याहवेहले तिमीहरूलाई कनानीहरू, हित्तीहरू, एमोरीहरू, हिव्वीहरू र यबूसीहरूको देश—उहाँले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनेर शपथ खानुभएको दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, तब तिमीहरूले यही महिनामा यो उत्सव मनाउनुपर्छः सात दिनसम्म खमिर नमिसाइएको रोटी खानू र सातौँ दिनमा याहवेहका निम्ति चाड मनाउनू। ती सात दिनहरूमा अखमिरी रोटी खानू; तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। त्यस दिन तिमीहरूले आफ्ना छोरालाई भन्नू, ‘म इजिप्टबाट निस्केर आउँदा याहवेहले मेरो लागि जे गर्नुभयो, त्यसका लागि म यो गर्छु।’ याहवेहको व्यवस्था तिमीहरूका ओठमा रहोस् भनी यो रीति तिमीहरूको हातमा एउटा चिन्हस्वरूप र तिमीहरूका निधारमा एउटा सम्झना दिलाउने कुरो हुनेछ; किनकि याहवेहले तिमीहरूलाई इजिप्टबाट उहाँको शक्तिशाली हातले निकालेर ल्याउनुभयो। तिमीहरूले यो रीति वर्षैपिच्छे तोकिएको समयमा पालन गर्नुपर्छ। “उहाँले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूसित शपथद्वारा प्रतिज्ञा गर्नुभएझैँ याहवेहले तिमीहरूलाई कनानीहरूको देशमा ल्याएर त्यो तिमीहरूलाई दिनुभएपछि, तिमीहरूले प्रत्येक गर्भको पहिलो फल याहवेहलाई दिनुपर्छ। तिमीहरूका पशुहरूका पहिले जन्मेका सबै नरहरू याहवेहकै हुन्। पहिले जन्मेको गधालाई एउटा पाठो दिएर छुटाउनू, तर तिमीहरूले त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। तिमीहरूका छोराहरूमध्ये जेठालाई छुटाउनू। “भविष्यमा जब तिमीहरूका छोराले ‘यसको अर्थ के हो?’ भनी सोध्नेछ, तब त्यसलाई भन्नू, ‘याहवेहले हामीलाई शक्तिशाली हातले दासत्वको देश इजिप्टबाट निकालेर ल्याउनुभयो। जब फारोले हठी भएर हामीलाई जान दिएनन्, याहवेहले इजिप्टमा मानिस र पशुबाट प्रथम जन्मेका हरेकलाई मार्नुभयो। यसैकारण म प्रत्येक गर्भको प्रथम नरलाई याहवेहका निम्ति बलिदान चढाउँछु, र मेरा पहिला जन्मेका प्रत्येक छोरालाई छुटाउँछु।’ अनि याहवेहले हामीलाई इजिप्टबाट शक्तिशाली हातले निकालेर ल्याउनुभयो भन्ने यो तिमीहरूका हातमा चिन्हस्वरूप र निधारमा सङ्केतस्वरूप हुनेछ।”
प्रस्थान 13:1-16 पवित्र बाइबल (NERV)
त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “तिमीले इस्राएलमा जन्मेको प्रत्येक पहिले पुरूष शिशु मलाई दिनुपर्छ। त्यसको अर्थ हुन्छ पहिला जन्मेको प्रत्येक बालक अनि पहिला जन्मेको प्रत्येक पाठो मेरो हुनेछ।” मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन। आज, आबीबको महीनामा तिमीहरूले मिश्र छाड्यौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई विशेष वचन दिनुभएको छ। उहाँले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबूसी मानिसहरूको भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लानु हुनेछ जहाँ दूध र मह बग्छन्। यसकारण तिमीहरूले यो रीति प्रत्येक बर्ष यही महीनामा पालन गर्नुपर्छ। “सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानुपर्छ। सातौं दिनमा तिमीहरूले ठूलो भोज गरेर मनाउँनु पर्छ अनि यस भोजले परमप्रभुप्रति सम्मान जनाउँनेछ। यसर्थ सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु हुँदैन। तिमीहरूको भूमिमा सात दिनसम्म खमीर हुनुहुँदैन। यस दिन तिमीहरूले आफ्नो नानीहरूलाई भन्नु पर्छ, ‘हामी यो भोज खाँदैछौं किनभने आजको दिन परमप्रभुले हामीहरूलाई मिश्रबाट बाहिर ल्याउनु भएको थियो।’ “यस पवित्र चाड़ले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो। यसकारण प्रत्येक बर्ष यो दिनलाई ठीकसित सम्झना गर। “परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लैजानु हुनेछ जसलाई उहाँले तिमीहरूलाई दिनेछु भनी वचन दिनु भएको थियो। अहिले त्यस भूमिमा कनानी मानिसहरू बस्छन्। तर परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि तिमीहरूलाई दिन्छु भनी वचन दिनु भएको थियो। परमेश्वरले जब तिमीहरूलाई त्यो भूमि दिनुहुन्छ, तिमीहरूले सम्झना गर्नु पर्छ। तिमीहरूले आफ्नो पहिलो छोरो अनि पहिलो उहाँलाई समर्पण गर्नुपर्छ। तिमीहरूले गधा उद्धार गर्नु एउटा थुमा समर्पण गर्न सक्छौ तर यदि गधा गराउनु सकेनौ भने त्यसलाई गर्दन फुटाएर मार्नु पर्छ। तर पहिले जन्मेको छोरो तिमीहरूले परमप्रभुबाट छुट्याएर ल्याउनु पर्छ। “भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् ‘तिमीहरूले यस्तो किन गर्छौ?’ अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो। मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चढाँउँछु।’ यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैँ सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महा-शक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”
प्रस्थान 13:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “पहिले जन्मने सबै बालक र गाई-वस्तुका बाछाहरू मलाई अर्पण गर् किनभने इस्राएलको हरेक जेठो छोरा र गाई-वस्तुले ब्याएको पहिलो बाछो मेरा हुन्।” मोशाले मानिसहरूलाई भने, “आफू कमारा-कमारी भएर बसेको मिश्रदेशलाई छोडिआएको यस दिनलाई याद राख। यस दिनमा परमप्रभुले आफ्नो महान् शक्तिले तिमीहरूलाई निकाली ल्याउनुभयो। खमिर नहालेको रोटी खानू। आबीब भनिने पहिलो महिनाको यो दिनमा तिमीहरूले मिश्रदेश छोड्दै छौ। परमप्रभुले तिम्रा पुर्खाहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको देश दिने प्रतिज्ञा गर्नुभएको छ। जब उहाँले तिमीहरूलाई त्यस धनी र मलिलो देशमा पुर्याउनुहुन्छ, तब वर्षेनी पहिलो महिनामा तिमीहरूले यो चाड मनाउनू। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू र सातौँ दिनमा परमप्रभुलाई आदर गर्दै यो चाड मनाउनू। सात दिनसम्म तिमीहरूले खमिर लाएको रोटी नखानू, तिमीहरूका देशभरि कहीँ पनि खमिर वा खमिरे रोटी नराख्नू। चाड सुरु भएपछि तिमीहरूले मिश्र छोड्दा परमप्रभुले तिम्रा निम्ति जे-जति गर्नुभएको थियो, त्यसैको सम्झनाको लागि यो चाड मनाइरहेको हो भनी आफ्ना छोराहरूलाई भन। परमप्रभुको कुनै पनि व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति एउटा चिन्ह हातमा र निधारअघि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ किनकि परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। हरसाल तोकिएको समयमा यो चाड मनाउने गर। “तिमीहरूलाई परमप्रभुले कनानीहरूका देशमा ल्याइपुर्याउनुहुन्छ। उहाँले त्यो देश तिमी र तिम्रा पुर्खाहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। जब तिमीहरूले सो देश पाउँछौ, तिमीहरूले आ-आफ्ना जेठा छोराहरू परमप्रभुलाई अर्पण गर्नुपर्नेछ। तिमीहरूका पशुहरूले ब्याएका पहिला भाले बच्चाहरू पनि परमप्रभुकै हुनेछन्। तर गधाको हरेक पहिलो बछेडालाई तिमीहरूले भेडाको पाठो दिएर छुटाउनुपर्नेछ। तिमीहरूले गधा छुटाउन चाहँदैनौ भने त्यसको घिच्रो भाँचिदिनू। तिमीहरूले आ-आफ्ना जेठा छोरालाई दाम दिएर छुटाउनुपर्नेछ। भविष्यमा तिमीहरूका छोराहरूले किन यसो गरिएको हो भनी सोधे भने तिमीहरूले यस्तो जवाफ दिनू, ‘परमप्रभुले हामी कमारा-कमारी भएर रहेको मिश्रदेशदेखि आफ्नो महान् शक्तिले हामीलाई निकाली ल्याउनुभयो। मिश्रका राजाले हठी भएर हामीलाई नछोड्दा परमप्रभुले मिश्रका सबै मानिसका जेठा छोराहरू र पशुका पहिला जन्मेका भाले बच्चाहरूलाई नाश पार्नुभयो। यसैकारण हामी हाम्रा पशुका पहिला जन्मेका भाले बच्चाहरूलाई परमप्रभुका लागि चढाउँछौं; तर जेठा छोराहरूलाई चाहिँ तिनका सट्टामा केही चढाएर छुटाउँछौं। कुनै कुराको याद दिनलाई हात वा निधारमा बाँधेको चिन्हजस्तै यो चाडले हामीलाई परमप्रभुले आफ्नो महान् शक्तिले मिश्रदेखि निकाली ल्याउनुभएको कुराको याद गराउनेछ’।”