प्रस्‍थान 1:6-21

प्रस्‍थान 1:6-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

योसेफ र तिनका सबै दाजुभाइहरू र त्‍यस पुस्‍ताका सबै जना मरे। तर इस्राएलका सन्‍तान फल्‍दै-फुल्‍दै र संख्‍यामा अति धेरै हुँदैगए, यहाँसम्‍म कि सारा देश तिनीहरूद्वारा भरियो। तब मिश्रमा योसेफलाई नचिन्‍ने एक जना नयाँ राजाले शासन गर्न थाले। उनले आफ्‍ना प्रजालाई भने, “हेर, इस्राएलीहरू संख्‍यामा हामीभन्‍दा अति धेरै र अति शक्तिशाली भएका छन्‌। अब हामीले तिनीहरूसित बुद्धिले काम लिनुपर्छ, नत्रता तिनीहरू संख्‍यामा अझ बढ्‌दैजानेछन्, र यदि युद्ध भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हाम्रै विरुद्धमा लड़ाइँ गर्नेछन्‌ र देश छाड़ेर जानेछन्‌।” यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्‍ति पिताम र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए। तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्‍या बढ्‌न लाग्‍यो, र तिनीहरू झन्‌-झन्‌ फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे। यसकारण मिश्रीहरूले इस्राएली जातिलाई निर्दयपूर्वक काममा लगाए, अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै तीतो बनाइदिए। तब मिश्रका राजाले शिप्रा र पूआ नाउँ भएका हिब्रू सुँड़ेनीहरूलाई बोलाएर भने, “जब हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्‍माउँछन्‌ र उनीहरूलाई जन्‍माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्‍यसलाई मार। तर छोरी रहिछ भने त्‍यसलाई जिउँदै राख।” तर सुँड़ेनीहरू परमेश्‍वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे। यसैले मिश्रका राजाले सुँड़ेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले छोराहरूलाई किन छोड़्यौ? यसो किन गर्‍यौ?” सुँड़ेनीहरूले फारोलाई भने, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्‍ता छैनन्‌। तिनीहरू हट्टाकट्टा छन्, र सुँड़ेनी पुग्‍नुभन्‍दा अघि नै बच्‍चा जन्‍माइसकेका हुन्‍छन्‌।” अनि परमेश्‍वरले सुँड़ेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्‍यामा झन्‌ बढ्‌दैगए र शक्तिशाली भए। सुँड़ेनीहरूले परमेश्‍वरको डर मानेका हुनाले उहाँले तिनीहरूलाई सन्‍तान दिनुभयो।

शेयर गर्नुहोस्
प्रस्‍थान 1 पढ्नुहोस्

प्रस्‍थान 1:6-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि, योसेफ, तिनका दाजुभाइहरू र त्यस पुस्ताका सबै जना मरे। तर इस्राएलीहरू फलवन्त हुँदै संख्यामा वृद्धि हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो। तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले। उनले आफ्ना प्रजालाई भने, “हेर, इस्राएलीहरू हामीभन्दा संख्यामा धेरै र बलवान् भएका छन्। अब हामीले तिनीहरूसित बुद्धि पुर्‍याएर व्यवहार गर्नुपर्छ; नत्रता तिनीहरू अझ धेरै हुनेछन्, र यदि युद्ध भइहाल्यो भने तिनीहरू हाम्रा शत्रुहरूसित लागेर हाम्रो विरुद्धमा लडाइँ गरी देशलाई छोडिदिनेछन्।” यसकारण उनीहरूले तिनीहरूलाई जबरजस्ती कामले लदाएर सताउनको लागि तिनीहरूमाथि हाकिमहरू खटाए; अनि उनीहरूले फारोको निम्ति पिताम र रामसेस भन्‍ने भण्डारका सहरहरू बनाए। तर तिनीहरू जति-जति सताइन्थे, उति-उति नै तिनीहरूका संख्या बढ्दै गए, र देशमा फिँजिदै गए। यसकारण इजिप्टियनहरू इस्राएलीहरूसित डराउन थाले। त्यसकारण इजिप्टियनहरूले इस्राएलीहरूलाई कठोरतापूर्वक काममा दलाउन थाले। उनीहरूले तिनीहरूलाई माटो, इँटा र खेतबारीका सबै किसिमका काम र कठोर परिश्रम गर्न लगाएर तिनीहरूको जीवन नै तितो बनाइदिए; इजिप्टियनहरूले तिनीहरूलाई सबै काममा कठोरतापूर्वक लगाए। इजिप्टका राजाले शिप्रा र पुवा नाम गरेका हिब्रू सुँडेनीहरूलाई बोलाएर भने, “जब तिमीहरूले हिब्रू स्त्रीहरूलाई बच्‍चा जन्माउन मदत गर्छौ, र जन्माएका हेर्छौ, तब त्यो छोरा हो भने त्यसलाई मारिदिनू; तर छोरी हो भने त्यसलाई चाहिँ नमार्नू।” तर ती सुँडेनीहरू परमेश्‍वरको डर राख्थे। इजिप्टको राजाको आज्ञाअनुसार तिनीहरूले गरेनन्; तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्। तब इजिप्टको राजाले ती सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले यस्तो किन गर्‍यौ? तिमीहरूले ती छोराहरूलाई किन जिउँदै छोडिदियौ?” ती सुँडेनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्त्रीहरू इजिप्टियन स्त्रीहरूजस्ता छैनन्; तिनीहरू बलिया हुन्छन्; अनि सुँडेनीहरू तिनीहरूकहाँ पुग्नुभन्दा पहिल्यै सजिलैसँग बच्‍चा जन्माइसकेका हुन्छन्।” यसकारण परमेश्‍वर ती सुँडेनीहरूप्रति कृपालु हुनुभयो; अनि ती इस्राएलीहरू संख्यामा बढ्दै गए, र झन् शक्तिशाली भए। ती सुँडेनीहरू परमेश्‍वरसित डराएका हुनाले उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू दिनुभयो।

शेयर गर्नुहोस्
प्रस्‍थान 1 पढ्नुहोस्

प्रस्‍थान 1:6-21 पवित्र बाइबल (NERV)

यूसुफ, उनका दाज्यू-भाइहरू अनि त्यस पुस्ताका सबै मानिसहरूको मृत्यु भयो। तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो। तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए। त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्। यी इस्राएलीहरूको संख्या वृद्धिमा अंकुशे लगाउन हामीले केही योजनाहरू बनाउनु पर्छ। यदि हामीसित कसैले लडाइँ गरे यी इस्राएलीहरू शत्रु पक्षपट्टि लाग्न सक्छन्। अनि तिनीहरूले हामीलाई जितेर हामीबाट उम्कन सक्छन्।” मिश्रीहरूले इस्राएलीहरूको जीवन कष्टपूर्ण पार्ने निर्णय गरे। यसर्थ मिश्रीहरूले इस्राएलीहरूमाथि कमारा-स्वामीहरू नियुक्त गरे। ती स्वामीहरूले फिरऊनको निम्ति पिताम र रामसेस शहरहरू बनाउन ती इस्राएलीहरूलाई जोर लगाए। राजाले यी शहरहरू अन्न र अरू चीजहरू राख्न प्रयोग गरे। मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढथ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसँग अझै डराउन थाले। यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए। मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै अप्ठयारोमा पारे। हिब्रू स्त्रीहरूले नानी जन्माउने समयमा हेरचाह गर्ने त्यहाँ दुइजना सुँडेनीहरू थिए। तिनीहरूको नाउँ शिप्रा र पूआ थियो। मिश्रदेशका राजाले ती दुइ सुँडेनीसँग कुरा गरे। राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मेछ भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।” तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए। तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले बालकहरूलाई किन बाँच्न दियौ? यसो किन गर्यौ?” सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूभन्दा ज्यादै बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नअघिनै नानी जन्माइसकेका हुन्छन्।” परमेश्वर सुँडेनीहरूसित खुशी हुनुहुन्थ्यो, यसकारण परमेश्वर तिनीहरू प्रति राम्रो हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू बनाउने अनुमति दिनुभयो। हिब्रू मानिसहरूका धैरे नानीहरू हुँदै गए अनि तिनीहरू साह्रै शक्तिशाली भए।

शेयर गर्नुहोस्
प्रस्‍थान 1 पढ्नुहोस्

प्रस्‍थान 1:6-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

रहँदा-बस्‍दा योसेफ तिनका दाजुभाइहरू र त्‍यस पिँढीका सबै मरे। तर तिनका इस्राएली सन्‍तानहरूका धेरै बालबच्‍चाहरू भए। तिनीहरू असङ्‍ख्य अनि अति शक्तिशाली भए। सारा मिश्र इस्राएलीहरूले भरियो। तब मिश्रमा योसेफको बारेमा केही नजान्‍ने एउटा नयाँ राजाले राज्‍य गर्न थाले। तिनले आफ्‍नो प्रजालाई भने, “यी इस्राएलीहरू यति धेरै शक्तिशाली भएका छन् कि अब हामीलाई डर भयो। कतै लडाइँ भइगयो भने तिनीहरू हाम्रा शत्रुहरूपट्टि लागेर हाम्रा विरुद्धमा लड्लान् र यो देशबाट भागेर जालान्। केही उपाय गरेर हामीले तिनीहरूको सङ्‍ख्‍या अझ बढ्‍नबाट रोक्‍नुपर्छ।” यसैकारण मिश्रीहरूले तिनीहरूमाथि निष्‍ठुरी मानिसहरू खटाए, जसले तिनीहरूलाई कठोर र गाह्रो काम लगाएर तिनीहरूको मनलाई मार्ने काम गर्थे। राजकीय सर-सामान भण्‍डारको लागि इस्राएलीहरूले पिताम र रामसेस सहरहरू बनाए। तर मिश्रीहरूले जति-जति इस्राएलीहरूलाई थिचोमिचो गरे, उति-उति तिनीहरूको सङ्‍ख्‍या बढ्यो र तिनीहरू देशमा झन्-झन् फैलँदै गए। मिश्रीहरू तिनीहरूसित डराउन थाले, निष्‍ठुरतासँग कमाराको काममा पेलेर इस्राएलीहरूको जीवन कष्‍टमय पारिदिए। घर निर्माण गर्ने काम र इँटाको काम अनि खेतको काममा तिनीहरूलाई मिश्रीहरूले जोत्‍दथे र केही दया गर्दैनथे। तब मिश्रका राजाले हिब्रू स्‍त्रीहरूलाई स्‍याहार्ने शिप्रा र पूआ नाम गरेका दुई सुँडेनीहरूसित कुरा गरे। उनले तिनीहरूलाई भने, “जब हिब्रू स्‍त्रीहरूले बच्‍चाहरू जन्‍माउँदा तिनीहरूलाई मद्दत गर्न तिमीहरू जान्‍छौ, तब छोरो जन्‍मियो भने त्‍यसलाई मारिदिइहाल्‍नू, छोरी जन्‍मियो भने जिउँदै छोडिदिनू।” तर ती सुँडेनीहरूले परमेश्‍वरको डर मान्‍थे र राजाको आज्ञा मानेनन्। तिनीहरूले छोराहरूलाई पनि जिउँदै छोडिदिए। यसकारण राजाले ती दुई सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले के गर्दै छौ? किन छोराहरू पनि जिउँदै छोड्दै छौ?” तिनीहरूले उत्तर दिए, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्‍ता छैनन्; तिनीहरूले सजिलै बच्‍चा जन्‍माउँछन्, हामी पुग्‍नुभन्दा अघि नै तिनीहरूले बच्‍चाहरू जन्‍माइसक्‍छन्।” ती सुँडेनीहरूले परमेश्‍वरको भय मानेका हुनाले उहाँले तिनीहरूको कल्‍याण गर्नुभयो र तिनीहरूलाई सन्‍तान दिनुभयो। इस्राएलीहरू बढ्दै र अझै शक्तिशाली हुँदैगए।

शेयर गर्नुहोस्
प्रस्‍थान 1 पढ्नुहोस्