एस्तर 4:1-17 - Compare All Versions
एस्तर 4:1-17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै कुरा सुनेर मोर्दकैले आफ्नो लुगा च्याते, अनि भाङ्ग्रा र खरानी लाएर चर्को सोरले विलाप गर्दै सहरका चारैतिर गए। उनी राजमहलका मूल ढोकासम्म मात्र गए, किनभने भाङ्ग्रा लाएको कुनै पनि मानिस मूल ढोकाबाट भएर भित्र जान पाउँदैनथ्यो। राजाको आज्ञा र उर्दी पुगेको हरेक प्रान्तमा यहूदीहरूका बीचमा उपवास, रुवाबासी, शोक र विलाप भयो। तिनीहरूमध्ये धेरै जना भाङ्ग्रा लाएर खरानीको ओछ्यानमा बसे। जब एस्तर रानीका चाकर्नी र नपुंसकहरूले आएर तिनलाई यो कुरा बताइदिए, तब तिनी व्याकुल भइन्। भाङ्ग्रा फुकालेर लुगा लगाउन भनी तिनले मोर्दकैको निम्ति लुगा पठाइदिइन्। तर उनले ती ग्रहण गर्न मानेनन्। तब एस्तरले आफ्नो सेवामा खटाइएको राजाको एक नपुंसक हताकलाई बोलाइपठाएर मोर्दकैलाई के दु:ख पर्यो र किन त्यसो गरेको भनी मोर्दकैसित सोध्न हुकुम गरी पठाइन्। हताक राजमहलको अगाड़ि भएको सहरको खुला चोकमा मोर्दकैकहाँ गए। मोर्दकैले आफूलाई के-कसो भएको छ ती सबै कुरा र हामानले यहूदीहरूलाई नाश गर्नका निम्ति कति पैसा राजकोषमा दिएको छ सो पनि हताकलाई बताइदिए। र मोर्दकैले त्यस विषयमा एस्तरलाई भनिदिन र राजाकहाँ गएर निगाह प्राप्त गरेर आफ्नो जातिको निम्ति बिन्ती चढ़ाउन भनी अनुरोध गरी शूशनमा तिनीहरूको सत्यनाशको लागि निकालिएको राजाज्ञाको एउटा नकल पनि एस्तरलाई देखाउन भनी पठाइदिए। हताकले एस्तरकहाँ गएर मोर्दकैले भनेका कुरा बताइदियो। अनि तिनले हताकद्वारा फेरि यो समाचार दिएर पठाइन्, “राजाका सबै अधिकारीहरू र प्रान्तका सारा मानिसहरूलाई यो कुरा विदितै छ, कि यदि कुनै पुरुष वा स्त्री राजाको हुकुमविना राजाको उपस्थितिमा भित्री दरबारमा पस्छ भने त्यसको निम्ति एउटै मात्र कानून यही छ, कि राजाले आफ्नो सुनको राजदण्ड पसार्नुभएन भने त्यो मारिनेछ। अनि सुनको राजदण्ड पसार्नुभयो भने मात्र त्यो बाँच्नेछ। म आफैलाई पनि राजाकहाँ जाने हुकुम नभएको तीस दिन भइसक्यो।” तर जब एस्तरले भनेको कुरा मोर्दकैलाई सुनाइयो, तब उनले एस्तरकहाँ यही जवाफ भनिपठाए: “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्ये तिमी मात्रै बाँच्नेछौ। यस्तो बेलामा तिमी चूपै लागी बस्यौ भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्ट हुनेछन्। शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?” तब एस्तरले मोर्दकैकहाँ यस्तो जवाफ पठाइन्: “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। तीन दिन र तीन रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्तै उपवास बस्नेछौं। त्यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्छ भने पनि होस्।” तब मोर्दकै गइहाले, र एस्तरले हुकुम गरेअनुसार नै गरे।
एस्तर 4:1-17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यी सबै कुरा मोर्दकैले थाहा पाए, तब तिनले आफ्ना लुगाहरू च्याते; अनि भाङ्ग्रा र खरानी लगाएर चर्को सोरमा विलाप गर्दै रुँदै सहरमा गए। तब तिनी राजाको मूलढोकासम्म पनि पुगे, तर भाङ्ग्रा लगाएको कोही पनि भित्र पस्न अनुमति पाउँदैनथ्यो। राजाको हुकुम र तिनको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूको बीचमा ठूलो शोक, रुवाइ, उपवास र विलाप भयो। धेरै जना भाङ्ग्रा र खरानी लगाएर बसे। जब एस्तरका सहेलीहरू र तिनका नपुंसकहरूले तिनलाई मोर्दकैको बारेमा बताइदिए; तब तिनी अति विचलित भइन्। मोर्दकैले भाङ्ग्राको सट्टा लुगा लगाऊन् भनेर रानीले लुगाहरू पठाइदिइन्; तर उनले त्यो स्वीकार गरेनन्। तब एस्तरले आफ्नो रेखदेख गर्ने राजाको नपुंसक हताकलाई बोलाउन पठाइन्; अनि मोर्दकैलाई किन र के कारणले दुःखी बनायो, सो पत्ता लगाउन भनी आज्ञा दिइन्। यसकारण हताक राजाको मूलढोकाको अगाडि सहरको खुला चोकमा मोर्दकैकहाँ गए। अनि मोर्दकैले आफूमाथि के आइलागेको थियो र हामानले सारा यहूदीहरूको सर्वनाशको निम्ति राजकोषमा कति रकम जम्मा गरिदिनेछु भनी प्रतिज्ञा गरेको छ, त्यो सबै कुरा हताकलाई बताइदिए। अनि तिनले शूशनमा यहूदीहरूलाई मार्न भनी जारी गरिएको लिखित उर्दीको प्रतिलिपि पनि एस्तरलाई देखाउन र त्यो बुझाइदिन हताकलाई दिए। मोर्दकैले तिनलाई राजाको उपस्थितिमा गएर दयाको याचना गर्न र आफ्ना मानिसहरूका पक्षमा बिन्ती गर्नलाई निर्देशन दिए। तब हताक फर्केर गयो, र मोर्दकैले भनेका सबै कुरा एस्तरलाई बताइदियो। तब एस्तरले मोर्दकैलाई यसो भन्नू भनेर हताकलाई आदेश दिइन्; “राजाले नबोलाएसम्म राजाको भित्री चोकमा जाने कुनै पनि पुरुष अथवा स्त्रीका निम्ति राजाको एउटै कानुन छ भन्ने कुरा राजाका सबै अधिकारी र राजकीय प्रान्तका सबै मानिसहरूलाई थाहा छ: राजाले त्यस मानिसतिर आफ्नो सुनको राजदण्ड पसारे भने मात्र त्यो व्यक्ति जीवित रहन्छ। तर राजाले मलाई आफूकहाँ नबोलाउनू भएको तीस दिन भइसकेको छ।” जब एस्तरका यी कुराहरू मोर्दकैलाई सुनाइयो, तब तिनले यो जवाफ पठाए: “तिमी राजाको घरमा छौ भन्दैमा सारा यहूदीहरूबाट तिमी मात्र उम्कनेछौ भनेर नसोच। किनकि यदि तिमी यस्तो बेलामा चुप लागिरह्यौ भने यहूदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा आउनेछ; तर तिमी र तिम्रा बुबाको परिवारचाहिँ नष्ट हुनेछ। कसले जान्दछ र, तिमी यस्तै समयका निम्ति राजकीय पदमा पुगेकी हौ कि?” त्यसपछि एस्तरले मोर्दकैकहाँ यो जवाफ पठाइन्: “गएर शूशनमा भएका सारा यहूदीहरूलाई एकसाथ भेला गर्नुहोस्; अनि तपाईंहरू तीन दिनसम्म रातदिन केही नखाई र नपिई मेरा निम्ति उपवास बस्नुहोस्। तपाईंहरूले गरेझैँ म र मेरा सहेलीहरूले पनि उपवास बस्नेछौँ। त्यसपछि नियमको विरुद्धै भए तापनि म राजाकहाँ जानेछु। यदि म नाश भएँ भने पनि होस्।” यसकारण मोर्दकै गइहाले, र एस्तरले निर्देशन दिएझैँ गरे।
एस्तर 4:1-17 NERV (पवित्र बाइबल)
मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए। तब तिनी राजा द्वाराको अघि गए तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो। अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए। दासीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन्। अनि तिनले मोर्दकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्। तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्। अनि हताक मोर्दकै कहाँ गए शहर चोकमा जो राजाको द्वारअघि थियो। मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संसकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने। शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइदिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए। यसर्थ हताक गए अनि मोर्दकैले भनेका कुरा उसले एस्तरलाई सुनाए। तब एस्तर ले हताकलाई तिमीले मोर्दकैलाई यसो भन्नु भनी निर्देश गरिन्, “राजाका सबै सेवकहरू र राज-प्रान्तका मानिसहरूले यो जानुन कि कुनै पनि पुरूष वा स्त्री राजाले नबोलाई राजाको आँगनमा भित्र जान्छ त्यसको एउटै नियम छ ‘मृत्यु’। अनुमति लिएर प्रवेश गर्ने मात्र बाँच्छ जसलाई राजाले आफ्ना सुनौला राज दण्ड फैलाउँछन्। अनि मलाई गएको तीस दिन देखि राजा कहाँ जानलाई बोलाइएको छैन।” जब तिनीहरूले मोर्दकैलाई एस्तरले भनेका कुरा सुनाए। तब मोर्दकैले यो जवाफ एस्तरलाई पठाए, “तिमी स्वयंले यो राजाको दरवारमा बस्छु भनेर नसोच, सबै यहूदीहरू मध्ये तिमी उम्कने छ्यौ भनेर नसोच। तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कहीं न कहीं बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताका घर नष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?” तब एस्तरले मोर्दकैलाई भनी पठाइन् “जाऊ, शूशनमा भेट्टिएजति सबै यहूदीहरू भेला गर अनि मेरो निम्ति उपवास बस। तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौं। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।” यसर्थ मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले तिनलाई निर्देश दिएका सबै कुरा गरे।
एस्तर 4:1-17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुरा सुनेर मोर्दकैले मनको वेदनाले आफ्नो वस्त्र च्याते। उनले भाङ्ग्राको लुगा लगाए, टाउकोमा खरानी लाए र चर्को सोरले र साह्रै विलाप गर्दै सहर घुमे। उनी राजमहलको ढोकामा आइपुगे। उनी महल भित्र पसेनन् किनभने भाङ्ग्रा लाएका मानिसलाई भित्र जान दिँइदैनथ्यो। राजाको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूका बीचमा चर्को सोरले विलाप हुन लाग्यो। तिनीहरू उपवास बसे, रोए र विलाप गरे। धेरैजसो यहूदीहरूले भाङ्ग्राका लुगा लाए र खरानीमा सुते। एस्तरका चाकर्नी र नपुंसकहरूले मोर्दकैले के गर्दै थिए, सो तिनलाई सुनाए, तिनी अफसोसमा परिन्। भाङ्ग्राको सट्टामा पहिरिन तिनले मोर्दकैलाई केही लुगा पठाइदिइन्; तर उनले ती लिएनन्। मोर्दकैकहाँ गई के कुरा र के कारणले यस्तो भइरहेको छ, सो बुझी आउन तिनले एउटा नपुंसक चाकर हताकलाई पठाइन्। हताकचाहिँ महलका नपुंसकहरूमध्येबाट राजाद्वारा एस्तरको चाकर हुन खटाइएको व्यक्ति थियो। हताक महलको ढोकानिर भएको सहरको चोकमा मोर्दकैकहाँ गयो। मोर्दकैले हताकलाई आफूसित भएका सबै कुरा साथै सबै यहूदीहरू मारिए भने कति धन हामानले राजकोषमा दिने प्रतिज्ञा गरेको छ, त्यो पनि सुनाइदिए। यहूदीहरूको नाश गर्ने आज्ञा भएको र शूशनमा निकालिएको घोषणा-पत्रको एउटा नकल उनले हताकलाई दिए। त्यो लगेर एस्तरलाई दिनू र सबै कुरा तिनलाई भनिदिनू अनी तिनले राजाकहाँ गई उजूर गरिदेऊन् र आफ्ना जातिका मानिसहरूमाथि राजाको कृपा होस् भनी बिन्ती गरिदेऊन् भनी मोर्दकैले एस्तरकहाँ खबर दिन हताकलाई फर्काई पठाए। हताकले भनेअनुसार गर्यो। एस्तरले यो खबर दिई हताकलाई मोर्दकैकहाँ फेरि पठाइन्, “कुनै पुरुष वा स्त्रीले राजाको आज्ञा नपाई त्यो महलको भित्री चोकमा गई राजाको दर्शन गर्छ भने त्यो मारिन्छ। नियम यस्तै छ। राजाका सल्लाहकारहरूदेखि प्रान्त-प्रान्तका मानिसहरू सबैले यो कुरा जान्दछन्। यो नियमबाट बाँच्ने एउटै मात्र उपाय छ। राजाले आफ्नो सुनको राजदण्ड त्यस व्यक्ति (पुरुष वा स्त्री) तर्फ पसारे भने त्यसको प्राण बाँच्छ। राजाले मलाई नबोलाएको अहिले एक महिना भयो।” एस्तरको खबर पाएपछि मोर्दकैले तिनलाई यस्तो चेतावनी दिएर खबर पठाए, “आफू राजमहलमा छु भनेर अरू यहूदीहरूभन्दा मचाहिँ सुरक्षित छु भनी नचिताऊ। यस्तो समयमा तिमी चुप लागेर बस्यौ भने स्वर्गबाट यहूदीहरूले सहायता पाउनेछन् र तिनीहरू बाँच्नेछन्; तर तिमीचाहिँ मर्नेछौ र तिम्रा बुबाका सन्तान मेटिनेछ। कसले जान्दछ र, यस्तै समयको निम्ति तिमी रानी हुन पुगेकी हौ कि?” एस्तरले मोर्दकैलाई यस्तो जवाफ पठाइन्, “गएर शूशनमा भएका सबै यहूदीहरूलाई भेला गर्नुहोस्। उपवास बसी मेरो निम्ति प्रार्थना गर्नुहोस्। तीन दिन र तीन रात केही नखानुहोस् र केही नपिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि त्यस्तै गर्नेछौं। त्यसपछि नियमविरुद्ध भए पनि म राजाकहाँ जानेछु। त्यसो गर्दा म मर्न परे, मर्न तयार छु।” त्यसपछि मोर्दकै बिदा भए र एस्तरले उनलाई भनेअनुसार सबै कुरा गरे।