एस्‍तर 1:1-9

एस्‍तर 1:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यहाँ वर्णन गरिएका घटनाहरू अहासूरस राजाको पालामा भएका थिए। उनी त्‍यही अहासूरस थिए जसले भारतदेखि लिएर कूश देशसम्‍म एक सय सत्ताईस प्रान्‍तहरूमाथि राज्‍य गर्थे। त्‍यस बेला उनी आफ्‍नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे। उनका शासनकालको तेस्रो वर्षमा उनले आफ्‍ना सबै भारदार र अधिकारीहरूलाई एउटा ठूलो भोज दिए। राजकुमारहरू, फारसी र मादी सेनाका प्रतिष्‍ठित नायकहरू, र प्रान्‍त-प्रान्‍तका मुख्‍य मानिसहरू उनको सामुन्‍ने उपस्‍थित भए। उनले एक सय असी दिनसम्‍म आफ्‍ना राज्‍यका धन-सम्‍पत्ति र आफ्‍नो रवाफ र ऐश्‍वर्य प्रदर्शन गरे। ती दिन खतम भएपछि राजाले आफ्‍नो राजधानी शूशनका ठूला र साना सबै मानिसहरूलाई ठूलो भोज दिए। त्‍यो भोज राजाका राजदरबारको बगैँचामा सात दिनसम्‍म भइरह्यो। त्‍यहाँ बगैँचामा सूती कपड़ाका सेता र नीला पर्दाहरू झुण्‍डिएका थिए, जो सेता र बैजनी रङ्गका डोरीहरूले सिङ्गमरमरका खम्‍बाहरूमा भएका चाँदीका गोलचक्रसित बाँधिएका थिए। त्‍यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमरका र अरू मूल्‍यवान्‌ पत्‍थरहरूले छापिएको फर्शमाथि सुन र चाँदीका बस्‍ने आसनहरू थिए। राजाले एक-अर्काबाट भिन्‍नाभिन्‍नै भएका सुनका कचौराहरूमा दाखमद्य दिए। राजाले दिएको दाखमद्य राजसी उदारताको प्रशस्‍ततामा थियो। त्‍यहाँ कसैलाई जबरजस्‍तसँग पियाउने नियम थिएन। हरेक मानिसका इच्‍छाको ख्‍याल राख्‍नू भनी राजाले आफ्‍ना भण्‍डारका मद्य टक्र्याउने सबै सेवकहरूलाई हुकुम गरेका थिए। यसबाहेक रानी वश्‍तीले पनि राजा अहासूरसकै राजमहलमा स्‍त्रीहरूलाई एउटा ठूलो भोज दिइन्‌।

शेयर गर्नुहोस्
एस्‍तर 1 पढ्नुहोस्

एस्‍तर 1:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अहासूरस जसले भारतदेखि कूशसम्म फैलिएको 127 वटा प्रान्तहरूमाथि शासन गर्थे, तिनको शासनकालमा घटेका घटनाहरूको विवरण यही हो: त्यस बेला राजा अहासूरसले शूशनको राजधानीमा रहेको आफ्नो राजकीय सिंहासनबाट शासन गर्थे। आफ्नो शासनको तेस्रो वर्षमा तिनले आफ्ना सबै हाकिम र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। त्यस भोजमा परसीया र मादीका सेनाका अगुवाहरू, राजकुमारहरू र प्रान्त प्रान्तका मुख्य मानिसहरू राजाको सामु उपस्थित भए। त्यस बेला तिनले आफ्नो राज्यको विशाल समृद्धि, वैभव र तिनको गौरवको महिमा 180 दिनसम्म प्रदर्शन गरिरहे। ती दिनहरू पूरा भएपछि राजाले शूशनको राजधानीमा भएका सानादेखि ठूला सबै मानिसहरूका निम्ति राजमहलको भित्रपट्टिको बगैँचामा सात दिनसम्म भोज लगाए। त्यस बगैँचामा सिङ्गमरमरका स्तम्भहरूमा चाँदीका गोलचक्रहरूमा लगाइएका सेता मसिनो र बैजनी कपडाहरूमा गाँसिएका सेता र निलो सुती कपडाका पर्दाहरू झुन्ड्याइएका थिए। त्यहाँ रातो-स्फटिक शिला, सिङ्गमरमर, मोती र अन्य मूल्यवान् पत्थरहरूले सिँगारिएको भुइँमाथि सुन र चाँदीका बस्‍ने आसनहरू राखिएका थिए। हरेक भिन्‍नाभिन्‍नै प्रकारका सुनका कचौराहरूमा दाखमद्य टक्राइन्थे; अनि त्यहाँ राजाको उदारताअनुसार राजकीय दाखमद्य प्रशस्त मात्रामा पाइन्थ्यो। राजाको आदेशमा सबै पाहुनाहरूलाई रोकटोकविना तिनीहरूको इच्छाअनुसार पिउन दिइएको थियो; किनकि राजाले आफ्ना सबै मद्य टक्राउनेहरूलाई हरेक मानिसको इच्छाअनुसार दिनू भन्‍ने आदेश दिएका थिए। तब रानी वश्तीले पनि त्यसै समयमा राजा अहासूरसको राजमहलका स्त्रीहरूका निम्ति एउटा ठूलो भोज लगाइन्।

शेयर गर्नुहोस्
एस्‍तर 1 पढ्नुहोस्

एस्‍तर 1:1-9 पवित्र बाइबल (NERV)

अहासूरसको समयमा यो कुरा घट्‌यो यी अहासूरस थिए जसले भारतबर्षदेखी इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे। ती दिनहरूमा अहासूरस राजाले राजधानी शूशनबाट शासन गर्थे। आफ्नो शासनकालको तेस्रो बर्षमा, राज्यमा भव्य बडाई अनि प्रतिनीधिहरूलाई ठूलो भोज दिन ऐश्वर्यका प्रदर्शन गर्दा तिनले आफ्ना सबै अधिकारीहरू अनि सेवकहरू फारसी अनि मादी सेनापतिहरू, कुलीनहरू अनि आफ्ना अधिनका प्रदेशबाट आएर अधिकारीहरूका निम्ति 180 दिनसम्म भोजको आयोजन गरे। अनि त्यो उत्सव पुरा भयो राजाले शूशनमा भेट्न सकिने सबै धनी एवं गरीब मानिसहरूका निम्ति राजमहलसँगै बारेको बगौंचामा सातदिनसम्म भोजको आयोजन गरे। त्यहाँ मिहीन सुती वस्त्रका हातले बुनेका जाली बनावटका वस्त्र। नीला अनि सेता सुतीका पर्दाहरूको घेरामा मलमलको डोरी अनि बैजनी लुगा, चाँदीका खामाहरू सँगर्ममरको ढुङ्गाहरू थिए। तलमाथि बुट्टा बनाईएका राता सेता मोती अनि मुल्यावान पत्थर लाएको अनि चाँदीका आराम-आसनहरू राखिएका थिए। दाखरस सुनका कचौराहरूमा थिए। कचौरा विभिन्न प्रकारका थिए। अनि त्यहाँ धेरै राजकीय दाखरस थियो, किनभने राजा धेरै दयालू थिए। पेय वस्तु प्रचुर थियो प्रत्येक पाहुनाले जति इच्छा गर्छ त्यति पिउन दिनु भनी राजाले आफ्ना सेवकहरूलाई आदेश गरेका थिए। त्यसै समयमा रानी वश्तीले स्त्रीहरूका निम्ति एक भोजको आयोजना राजा अहासूरस को राजमहलमा गरिन।

शेयर गर्नुहोस्
एस्‍तर 1 पढ्नुहोस्

एस्‍तर 1:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

फारस देशको राजधानी शूशन सहरको राजकीय सिंहासनबाट अहासूरस राजाले भारतवर्षदेखि इथियोपिया देशसम्‍म जम्‍मा एक सय सत्ताईस प्रान्‍तहरूमाथि राज्‍य गर्थे। उनका राज्‍यकालको तेस्रो वर्षमा उनले आफ्‍ना सबै अधिकृतहरू र भारदारहरूलाई एउटा ठूलो भोज दिए। त्‍यहाँ फारस र मादी देशका सेना हाजिर थिए। प्रान्‍त-प्रान्‍तका बडा-हाकिम र ठूल्‍ठूला घरानाका मानिसहरू हाजिर थिए। पूरा छ महिनासम्‍म उनले राजदरबारका सम्‍पत्ति र तिनका चहक-महक र गौरव प्रदर्शन गरे। त्‍यसपछि राजाले आफ्‍नो राजधानी शूशन सहरका धनी, गरीब सबै मानिसहरूलाई भोज खुवाए। राज-दरबारको बगैँचामा सो भोज एक सातासम्‍म चल्‍यो। त्‍यहाँका आँगन नीला र सेता रङ्गका सुती कपडाको पर्दाले सिङ्गारिएका थिए। ती पर्दाहरू सिङ्गमरमरका खामामा लगाइएका चाँदीका कुण्‍डलहरूसित बैजनी रङ्गका मिहिन सुती धागोले बाँधेर जोडिएका थिए। आँगनमा सेता सिङ्गमरमर प्रकार-प्रकारका राता र नीला पत्‍थरहरू र मोती छापेका थिए। त्‍यसमा सुन र चाँदीका आराम गर्ने आसनहरू राखिएका थिए। राजाले विभिन्‍न प्रकारका कचौरामा राजसी दाखमद्य प्रशस्‍त मात्रामा बाँडे। दाखमद्यको केही हिसाब थिएन। हरेकलाई चाहेअनुसार पिउन दिन राजाले महलका चाकरहरूलाई आज्ञा दिएका थिए। त्‍यही बेला वश्‍ती रानीले राजमहलमा स्‍त्रीहरूलाई एउटा भोज दिँदै थिइन्।

शेयर गर्नुहोस्
एस्‍तर 1 पढ्नुहोस्