एफिसी 4:25-32

एफिसी 4:25-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं। क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्, र दियाबलसलाई मौका नदेओ। चोर्नेले अब उसो नचोरोस्‌। बरु उसले परिश्रम गरोस्‌। उसले आफ्‍नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्‌। तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌। अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ। सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ। जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्

एफिसी 4:25-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण झूटलाई त्यागेर तिमीहरू प्रत्येकले आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौँ। “रिसाओ, तर पाप नगर!” घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्, र शैतानलाई कुनै मौका नदेओ! चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस्; आफ्नै हातले केही फाइदाजनक काम गर्दै खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्। तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यक उन्‍नतिमा सहायता पुग्ने र सुन्‍नेहरूलाई अनुग्रह मिल्ने बोली मात्र बोल। अनि परमेश्‍वरको पवित्र आत्मालाई दुःखी नबनाओ, जसद्वारा तिमी मुक्तिको दिनका लागि छाप लगाइएका छौ। सबै तितोपना, क्रोध, रिस, झैझगडा, निन्दा र सबै किसिमका घृणासमेत त्यागिदेओ। एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।

शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्

एफिसी 4:25-32 पवित्र बाइबल (NERV)

यसैले तिमीहरूले झूटो बोल्नु छोड्नुपर्छ। “आपसमा सधैँ साँच्चो बोल।” किनभने हामी आपस्तमा एउटै शरीरका अङ्गहरू हौं। “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाइ बस। शैतानलाई जित्ने मौका नदेऊ। यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ। बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउँछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्। पवित्र आत्मालाई दुःखीत नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो। तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर। आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्

एफिसी 4:25-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो हुँदा अब ढाँट्‍ने बानी छोडिदेओ। एक-अर्कासँग साँचो बोल किनभने हामी सबै ख्रीष्‍टको शरीरमा एक-अर्काका अङ्ग हौं। तिमीहरूलाई रिस उठ्यो भने रिसले गर्दा पापचाहिँ नहोस्। घाम अस्‍ताउनुभन्दा अघि नै तिमीहरूको रिस मरिसकोस्। शैतानले मौका छोप्‍न नपाओस्। चोर्नेले चोर्ने काम छोडोस् र इमानदारिसँग आफ्‍नै हातले कमाओस्। त्‍यसपछि खाँचोमा पर्नेलाई पनि केही दिन सकोस्। तिमीहरूको मुखबाट नराम्रो कुरो ननिस्‍किओस्, चाहिने, राम्रो र भलाइ गर्ने कुरो बोल र सुन्‍नेहरूलाई भलाइ होस्। परमेश्‍वरको पवित्र आत्‍मालाई खिन्‍न नपार किनभने पवित्र आत्‍मा नै तिमीहरूले छुटकाराको दिनको लागि पाएको छाप हो। सबै नराम्रा कुरा, झैझगडा र रिस-राग त्‍यागिदेओ। गाली निन्‍दा गर्दै नगर, सबै किसिमका वैरभाव त्‍यागिदेओ। तर दयालु भई एक-अर्कालाई अनुग्रह गर। परमेश्‍वरले ख्रीष्‍टमा तिमीलाई माफ दिएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ दिने गर।

शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्

एफिसी 4:25-32

एफिसी 4:25-32 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्