उपदेशक 3:1-14
उपदेशक 3:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ: जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय। मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, र बनाउने एउटा समय। रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय। ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय। अँगाल्ने एउटा समय छ, र अलग रहने एउटा समय। खोज्ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्ने एउटा समय छ, र फाल्ने एउटा समय। च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय। चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय। प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय। काम गर्नेले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र? परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्। म जान्दछु कि मानिसको निम्ति आफू जीवित रहँदा आनन्दित रहनु र असल गर्नुभन्दा अरू असल कुरो केही छैन। परमेश्वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्नो सारा परिश्रममा सन्तुष्ट रहोस्। मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ। त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भनी परमेश्वर यसो गर्नुहुन्छ।
उपदेशक 3:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हरेक कुराका लागि समय छ; र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ: जन्मने एउटा समय र मर्ने एउटा समय; रोप्ने एउटा समय र उखेल्ने एउटा समय। मार्ने एउटा समय र निको पार्ने एउटा समय; भत्काउने एउटा समय र निर्माण गर्ने एउटा समय। रुने एउटा समय र हाँस्ने एउटा समय; शोक गर्ने एउटा समय र नाच्ने एउटा समय। ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय; अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय। खोज्ने एउटा समय र छोडिदिने एउटा समय; राख्ने एउटा समय र फाल्ने एउटा समय। च्यात्ने एउटा समय र टाल्ने एउटा समय; चुप बस्ने एउटा समय र बोल्ने एउटा समय। प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय; युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय। काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र? मानव जातिहरूमाथि परमेश्वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्। म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन। आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्वरको दान हो। म जान्दछु, परमेश्वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्वरले यसो गर्नुहुन्छ।
उपदेशक 3:1-14 पवित्र बाइबल (NERV)
प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ। जन्म लिने एउटा निश्चित समय छ, र मृत्युको पनि। रूख रोप्ने एउटा समय हुन्छ, अनि त्यसलाई उखेल्ने एउटा समय छ। त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय छ, भत्काउने एउटा समय छ, बनाउने एउटा समय। कराउने र रूने एउटा समय हुन्छ, अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ, र नाच्ने र गाउने एउटा समय हुन्छ। एक समय हुन्छ ढुङ्गा फ्याँक्ने, एक समय हुन्छ ढुङ्गा थुपार्ने। कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ, त्यसै छोडिदिने एउटा समय हुन्छ। कुनै चीज खोज्ने एक समय हुन्छ, हराओस् भन्ने एकसमय हुन्छ, कतै फालि दिने एक समय हुन्छ, र राख्ने एक समय हुन्छ। त्यहाँ लुगा च्यात्ने एउटा समय छ, र लुगा सिलाउने एउटा समय। त्यहाँ चुपचाप रहने एउटा समय छ, बोल्ने एउटा समय छ। एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा़ गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने। के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ? मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ। परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ। मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो। परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्। म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्।
उपदेशक 3:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस संसारमा जे-जति हुन्छ, परमेश्वरको निर्धारित समयमा नै हुन्छ। जन्मने एउटा समय छ, मर्ने एउटा समय। रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय। मार्ने एउटा समय छ, निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, बनाउने एउटा समय। रुने एउटा समय छ, हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय। ढुङ्गा फ्याँक्ने एउटा समय छ, ती बटुल्ने एउटा समय। अँगालो हाल्ने एउटा समय छ, अँगालो नहाल्ने एउटा समय। भेट्टाउने एउटा समय छ, हराउने एउटा समय। राख्ने एउटा समय छ, फाल्ने एउटा समय। च्यात्ने एउटा समय छ, सिउने एउटा समय। चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय। प्रेम गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय। आफ्ना सबै कामबाट हामीले के लाभ पाउँछौं? परमेश्वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्दछु। प्रत्येक कुरा उहाँले त्यसको ठीक समयमा सुन्दर बनाउनुभयो। उहाँले हामीलाई अनन्तबारे जान्ने इच्छा दिनुभएको छ तर उहाँले गर्नुभएको काम पूरा गरी बुझ्न सकिंदैन। जीवन रहुञ्जेल आफूले सकभर भलो जीवन बिताउनु र सुखी रहनु मात्र हाम्रो काम रहेछ भनी मैले थाहा पाएँ। मानिसले खान, पिउन र आफ्नो काममा सन्तोष पाओस्। त्यो परमेश्वरको दान हो। म जान्दछु कि परमेश्वरले जे गर्नुहुन्छ, त्यो सधैँभरि रहँन्छ। त्यसमा केही थप्न वा हटाउन सकिंदैन। अनि उहाँले हामीलाई उहाँको भय मान्न सिकाउनुहुन्छ।