उपदेशक 11:4-6 - Compare All Versions
उपदेशक 11:4-6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन। जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसरी नै सब थोक बनाउनुहुने परमेश्वरका हातको कामलाई तिमी बुझ्न सक्दैनौ। बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्छ, अथवा दुवै नै राम्रा होलान् भनी तिमी जान्दैनौ।
उपदेशक 11:4-6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन; अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन। जसरी बतासको बाटो तिमी जान्दैनौ, अथवा आमाको गर्भमा बच्चा कसरी बन्दछ बुझ्दैनौ; त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने परमेश्वरका कामहरू बुझ्न सक्दैनौ। बिहानै तिमीले आफ्नो बिउ छर, साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ; किनकि कुनचाहिँ सप्रन्छ, यो कि त्यो; वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।
उपदेशक 11:4-6 NERV (पवित्र बाइबल)
तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिऊ छर्न सक्दैन। अनि कोहीले हर बादल बर्षन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन। तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ, यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ। यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।
उपदेशक 11:4-6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हावापानी ठीक हुने बेला पर्खिरह्यौ भने तिमीले कहिल्यै अन्न लाउने र त्यसको कटनी गर्नेछैनौ। परमेश्वरले सबै थोक बनाउनुभयो तर तिमी जसरी गर्भवती स्त्रीको गर्भमा जीवन सुरु भएको बुझ्न सक्दैनौ, त्यसरी नै परमेश्वरको काम बुझ्न सक्दैनौ। बिहानै बिउ छर्ने गर, बेलुका पनि खाली हात नबस। राम्रो उब्जनी हुन्छ कि हुँदैन अथवा अहिले छरेको बिउ वा गरेको काम राम्रो हुन्छ, त्यो तिमी कहिल्यै जान्दैनौ।