दानिएल 7:1-8

दानिएल 7:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानिएल आफ्‍नो ओछ्यानमा पल्‍टिरहँदा तिनले सपना र दर्शनहरू देखे। तिनले त्‍यस सपनाको सार लेखे। दानिएलले भने, “मेरो दर्शनमा राती मैले हेरिरहँदा मेरो अगि आकाशका चार बतासहरूले ठूलो समुद्रलाई मन्‍थन गरिएका थिए। एक-अर्काबाट फरक चार ठूला पशुहरू समुद्रबाट निस्‍के। “पहिलोचाहिँ सिंहजस्‍तै थियो, र त्‍यसका पखेटाहरू चीलका जस्‍तै थिए। त्‍यसका पखेटाहरू नचुँड़ाएसम्‍म मैले हेरिरहें, र त्‍यो मानिसजस्‍तै दुई खुट्टाले उभिने गरी जमिनबाट उठ्यो र त्‍यसलाई एक जना मानिसको हृदय दिइयो। “अनि मेरो अगि दोस्रो पशु थियो, जुनचाहिँ भालूजस्‍तै देखिन्‍थ्‍यो। त्‍यसलाई शरीरको एकपट्टिबाट उठाइयो, र त्‍यसको मुखको दाँतहरूका बीचमा तीन वटा करङहरू थिए। त्‍यसलाई यस्‍तो आज्ञा दिइयो: ‘उठ्‌ र खानसक्‍ने जत्ति मासु खा!’ “त्‍यसपछि मैले हेरें, र त्‍यहाँ मेरो अगि अर्को पशु थियो, जुनचाहिँ चितुवाजस्‍तै देखिन्‍थ्‍यो। अनि त्‍यसको पिठिउँमा चराको जस्‍तै चार वटा पखेटाहरू थिए। त्‍यस पशुका चार वटा टाउकाहरू थिए, र त्‍यसलाई शासन गर्ने अधिकार दिइयो। “त्‍यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु थियो। त्यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू थिए। “जसै म ती सीङहरूका बारेमा विचार गर्दैथिएँ, मेरो अगि एउटा सानो सीङ थियो, जुनचाहिँ तिनीहरूमध्‍येबाट उम्रेको थियो, र पहिलेका सीङहरूमध्‍ये तीन वटाचाहिँ त्‍यसको सामु जरैसमेत उखेलिए। मानिसका आँखाजस्‍तै त्‍यस सीङका आँखा थिए, र अहङ्कारी कुरा गर्ने त्‍यसको मुख थियो।

शेयर गर्नुहोस्
दानिएल 7 पढ्नुहोस्

दानिएल 7:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बेबिलोनका राजा बेलसजरको शासनकालको पहिलो वर्षमा दानिएल आफ्नो पलङमा ढल्किरहेको बेलामा, तिनले एउटा सपना देखे, र तिनको मनमा दर्शनहरू आए। तब तिनले आफ्नो सपना सारांशमा लेखे। दानिएलले भने: “मेरो रातको दर्शनमा मैले यस्तो देखेँ, मेरो सामु आकाशका चारै दिशाका बतासले महासमुद्रलाई घोलिरहेका थिए। त्यस समुद्रबाट एक-अर्काबाट भिन्दा-भिन्दै चार वटा विशाल पशुहरू बाहिर निस्केर आए। “पहिलो पशु सिंहजस्तै थियो, र त्यसका पखेटाहरू चीलका जस्तै थिए। त्यसका पखेटाहरू नउखेलिउन्जेल मैले हेरिरहेँ; अनि त्यो भुइँबाट माथि उठाइयो। त्यसपछि त्यो पशु मानिसझैँ दुई खुट्टामा उभियो र त्यसलाई मानिसको हृदय दिइयो। “त्यसपछि मैले दोस्रो पशु देखेँ, जुनचाहिँ भालुजस्तै देखिन्थ्यो। त्यो पशु पछाडिको दुई खुट्टामा उभिएको थियो; अनि त्यसको मुखमा दाँतहरूको बीचमा तीन वटा दाह्राहरू थिए। त्यस भालुलाई यसो भनियो, ‘उठ्, र प्रशस्त मासु खा!’ “त्यसपछि मैले मेरो सामु अर्को पशु देखेँ, त्यो चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराका जस्तै चार वटा पखेटाहरू थिए। त्यस जनावरका चार वटा शिरहरू थिए; अनि त्यसलाई चाहिँ शासन गर्ने अधिकार दिइयो। “त्यसपछि रातको दर्शनमा मैले देखेँ, मेरो सामु चौथो पशु थियो—त्योचाहिँ डरलाग्दो, भयङ्कर र अति शक्तिशाली थियो। त्यसका फलामका ठूला-ठूला दाँतहरू थिए; त्यसले आफ्ना शिकारहरूलाई टुक्रा-टुक्रा पारेर खान्थ्यो, र छोडिएका मासुलाई खुट्टाले कुल्चिन्थ्यो। त्यो पशु पहिलेका अरू सबै पशुहरूभन्दा बेग्लै थियो; अनि त्यसका दश वटा सिङहरू थिए। “जब मैले ती सिङहरूको बारेमा सोचिरहेको थिएँ, तब मेरो सामु अर्को एउटा सानो सिङ थियो, जुनचाहिँ ती सिङहरूको बीचबाट आएको थियो; अनि पहिलेका सिङहरूमध्येबाट तीन वटा सिङचाहिँ सानो सिङकै सामु जरैसमेत उखेलिए। त्यस सानो सिङको आँखा मानिसका जस्ता आँखा थिए, र त्यसमा अहङ्कारी कुराहरू बोल्ने एउटा मुख थियो।

शेयर गर्नुहोस्
दानिएल 7 पढ्नुहोस्

दानिएल 7:1-8 पवित्र बाइबल (NERV)

बाबेलको राजा बेलसजरको शासन कालको पहिलो बर्ष दानियल आफ्नो ओछ्यानमा सुतिरहेको बेला सपनामा एउटा दर्शन देखे। उनले तुरन्तै त्यो सपना लेखे, त्यसको प्रमुख विवरण र विशेषताहरू दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो। तब मैले चारवटा ठूल्ठूला पशुहरू समुद्रबाट बाहिर आइरहेको देखें। तिनीहरू चार विभिन्न प्रकारका पशुहरू थिए। “तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पखेंटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पखेंटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दुइ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो। “तब मैले भालू जस्तै अर्को एउटा पशु देखें। त्यसले शरीरको एक भाग उठाएर उभिएको थियो। यसका दाँतहरूको बीचमा तीनवटा करङ्गहरू थिए। त्यस भालूलाई आदेश दिइयो, ‘उठ् अनि तँलाई जति चाहिन्छ सबै मासु खा।’ “त्यसपछि मैले देखें त्यहाँ मेरो सामुन्ने अर्को पशु थियो। त्यो एउटा चितुवा जस्तो थियो अनि त्यसका चारवटा पखेंटाहरू अनि चारवटा टाउकाहरू थिए। यसलाई शासन गर्ने अधिकार स्वीकार गरिएको थियो। “यसपछि मैले चौथो पशु मेरो दर्शनमा पाएँ। त्यो एउटा साह्रै डरलाग्दो हिंस्रक पशु थियो। यो फलामको लामो दाँत भएको साह्रै बलियो थियो। यसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दै खाँदै थियो। खाइसके पछि यसले आफ्नो बाँचेको शिकार कुल्चियो। त्यो पशु मैले सपनामा देखेको अरू पशुहरू भन्दा एकदमै बेग्लै थियो। त्यसका सिङ्गहरू दशवटा थिए। “अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो।

शेयर गर्नुहोस्
दानिएल 7 पढ्नुहोस्

दानिएल 7:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बेलसजर बेबिलोनका राजा भएको पहिलो वर्ष राती मैले एउटा सपना देखें र दर्शन पाएँ। त्‍यो सपनाको विषयमा मैले देखें र त्‍यो रात मैले देखेका कुराको वर्णन यस्‍तो छ: चारै दिशाबाट बतास आएर समुद्रको पानीमाथि प्रहार गरिरहेको थियो। समुद्रबाट चार वटा ठूल्‍ठूला भिन्‍दा-भिन्‍दै प्रकारका जन्‍तुहरू निस्‍किआए। पहिलो जन्‍तु सिंहजस्‍तो देखिन्‍थ्‍यो; तर त्‍यसको चिलका जस्‍ता पखेटाहरू थिए। मैले हेर्दा-हेर्दै ती पखेटाहरू उखेलिए। त्‍यो जन्‍तु उचालियो र मानिसझैँ दुई खुट्टामा उभ्‍याइयो अनि त्‍यसलाई मानिसको मन दिइयो। दोस्रो जन्‍तु पछिल्‍ला खुट्टामा उभिएको भालुजस्‍तै थियो। त्‍यसले आफ्‍ना दाँतले तीन वटा करङहरू च्‍यापेको थियो। तब एउटा सोरले त्‍यसलाई भन्‍यो, “जा, पेटभरी मासु खा!” मैले हेर्दा-हेर्दै तेस्रो जन्‍तु देखा पर्‍यो। त्‍यो हेर्दा चितुवाझैँ देखिन्‍थ्‍यो तर त्‍यसको ढाडमा चराको झैँ चार वटा पखेटा थिए र त्‍यसका चार वटा टाउका थिए। त्‍यसलाई अख्‍तियार दिएको थियो। म हेर्दै नै थिएँ, चौथो जन्‍तु देखा पर्‍यो। त्‍यो अत्‍यन्‍त बलियो, डरलाग्‍दो र भयङ्कर थियो। त्‍यसको फलामका ठूल्‍ठूला दाँतले आफ्‍ना शिकार कर्‍याक-कुरुक चपाउँथ्‍यो र त्‍यसले पैतालाले कुल्‍चन्‍थ्‍यो। त्‍यो अरू जन्‍तुजस्‍तो थिएन र त्‍यसका दश वटा सिङ थिए। मैले हेर्दा-हेर्दै ति सिङहरूका बीचमा अर्को एउटा सिङ पलाएको देखें। त्‍यो नयाँ सिङले पहिलेका तीन वटा सिङ उखेलिदियो। त्‍यस सिङमा मानिसका जस्‍ता आँखा र ठूल्‍ठूला कुरा गर्ने मुख थिए।

शेयर गर्नुहोस्
दानिएल 7 पढ्नुहोस्